
बाँकेमा ४ करोडको कपास थन्कियो

बाँके । जिल्लाको खजुरा कपास विकास समितिमा २०३ मेट्रिक टन प्रशोधित कपास ६ वर्षदेखि बिक्री नहुँदा गोदाममा थन्किएको छ । समितिले कृषकबाट खरिद गरी प्रशोधन गरेर बिक्रीका लागि तयारी अवस्थामा राखेको करिब रु चार करोड मूल्य बराबरको कपास बिक्री नभएपछि गोदाममै थन्किएको हो ।
पहिले हेटौंडा कपडा उद्योग र बुटवल धागो कारखानाले कपास खरिद गर्दै आएकामा ती दुवै उद्योग बन्द भएपछि उत्पादित कपास खेर जाने अवस्था रहेको समितिका निमित्त प्रमुख विजयकुमार जोशीले बताए । सरकारी उदासीनताका कारण पश्चिम तराईका कृषकलाई कपास खेतीमा आत्मनिर्भर बनाई मुलुकमा आवश्यक पर्ने कपासको परिपूर्ति गर्ने उद्देश्यले स्थापना भएको सो समिति अहिले धरासायी बनेको उनको भनाइ छ ।
लसुन–प्याज खेतीमा अनुदान
बाँके जिल्लामा ३९ हेक्टर क्षेत्रफलमा लसुन–प्याज खेती गर्ने लक्ष्य रहेको छ । कृषि ज्ञान केन्द्रले यस आर्थिक वर्षमा लसुन प्याजमा कृषकलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताएको छ । ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले लसुन र प्याज खेतीका लागि प्रतिहेक्टर एक लाख रुपैयाँका दरले रु ३९ लाख अनुदान दिइने बताए । अहिले लसुन र प्याजको अभाव भएकाले यसमा प्राथमिकता दिएको उनको भनाइ छ । यो वर्ष लसुन–प्याजको व्यावसायिक खेती गर्न १४ वटा फर्म र सहकारीले अनुदानका लागि दरखास्त दिएका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ