शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीले पार्टी, देश र संघीय गणतन्त्रका लागि कस्तो योगदान गर्लान् ?

नेताहरु भन्छन्, ‘प्रचण्डको प्रस्ताव फिर्ता हुनु र नहुनुमा कुनै अर्थ छैन’
मङ्गलबार, ०२ मङ्सिर २०७७, १२ : ५९
मङ्गलबार, ०२ मङ्सिर २०७७

काठमाडौं । ‘म आशा गर्दछु कि कमरेड केपी ओलीले प्रमुख रुपमा गम्भीर आत्मसमीक्षा र आत्मालोचना गर्दै पार्टी एकता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवम् देशको निर्माणमा आवश्यक त्यागसहित पहल लिइ समुचित योगदान गर्नुहुनेछ’, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रबारको सचिवालय बैठकमा पेश गरेको ५ बुँदे प्रस्तावको निष्कर्ष हो यो । 

प्रचण्डले बैठकमा राखेको लिखित प्रस्तावलाई लिएर अहिले नेकपामा बहस जारी छ । यो बहस सामूहिक नभएर आ–आफ्नो ढंगबाट भइरहेको छ । प्रस्तावबारे सामूहिक छलफल चाहिँ अब बस्ने सचिवालय बैठकमै हुनेछ । शुक्रबारै बसेको सचिवालय बैठकले मंसिर ३ गते दिउँसो १ बजेलाई अर्को बैठकको मिति निर्धारण गरेको छ । तर, प्रचण्डले राखेको लिखित प्रस्तावलाई लिएर प्रधानमन्त्री तथा अध्यक्ष ओली पक्षले चर्को विरोध गरिरहेको छ । यो पक्षले प्रचण्डको प्रस्तावलाई अवैधानिक भन्दै ओलीमाथिको आरोप र प्रहारको संगालो भन्दै फिर्ता गर्न दवाव दिइरहेको छ । त्यसका लागि ओली स्वयंले आफू निकटका नेताहरुलाई परिचलान गरेर प्रचण्डमाथि दवाव बढाइरहेका छन् । 
नेताहरु माधव कुमार नेपाल, वामदेव गौतम र महासचिव विष्णु पौडेललगायतका नेताहरुलाई बालुवाटारमै बोलाएर ओलीले प्रचण्डको प्रस्ताव फिर्ता लिन अनुनय विनय गरिरहेका छन् । सोही योजनाअनुसार प्रधानमन्त्री समेत रहेका ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटेर नेकपाको विवादमा सहजीकरण गर्न आग्रह गरिसकेका छन् । प्रधानमन्त्री ओलीले शनिबार राष्ट्रपति भण्डारीलाई झण्डै २ घण्टा भेटेर यस्तो आग्रह गरेका हुन् । राष्ट्रपतिलाई भेटेको भोलिपल्ट ओलीले नेकपाका वरिष्ठ नेता नेपाल, उपाध्यक्ष गौतम र महासचिव विष्णु पौडेललाई भेटेर कि प्रस्ताव फिर्ता नलिए एकै अब एकै ठाउँ बस्न नसक्ने सन्देश दिइसकेका छन् । 

ओलीको यो आशय र सन्देशलाई नेपाल, गौतम र पौडेलले अस्वीकार गरेपनि ओली समझदारीमा आइसकेका छैनन् । यसबाट के बुझ्न सकिन्छ भने ओली आफ्नो पुरानो व्यवहारमा परिवर्तन चाहँदैनन् । बरु आफू नेता नेपाल लगायतका नेताहरुलाई के चाहिने हो त्यही पद दिएर प्रचण्डलार्ई एक्ल्याउने प्रयासमै केन्द्रीत भएका छन् । 

‘अध्यक्ष प्रचण्डको प्रस्ताव पार्टी एकता नटुटाउन, देश र संघीय गणतन्त्रको रक्षाका लागि हो । तर प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली त्याग गर्नुको साटो आफ्नो घमण्डबाट अझै मुक्त हुन खोजेको देखिँदैन’, एक सचिवालय सदस्य भन्छन्, ‘उहाँको तिकडम र जालझेल अझै बढ्दै गएको छ । यसले निकास भन्दा पनि हामी विनासको बाटोतिर त गइरहेका छैनौँ भनेर बुझ्नुपर्ने हुन्छ ।’ ती सचिवालय सदस्यका अनुसार प्रधानमन्त्री ओलीले मार्गप्रशस्त गर्नुपर्ने प्रस्ताव पार्टी कमिटीमा लिखित रुपमा प्रस्तुत भएको हो । यसमा बहुमत सचिवालय सदस्यको समर्थन छ ।

ती सचिवालय सदस्यका अनुसार ‘योगदान’ शब्दको अर्थ हो ओलीको राजीनामा । पार्टी र सरकार सञ्चालनमा ओली असफल भएको निष्कर्षसहित आएको प्रस्तावले कि पार्टीको कोर्स करेक्सन हुने कि त विभाजन नै हो जसका लागि ओलीको भूमिका जिम्मेवार हुनेछ । 

प्रचण्डकोे प्रस्ताव अनुसार अहिलेकै अवस्थामा पार्टी अघि बढ्न सक्दैन । ‘यही स्थिति कायम रहिरहने हो र तत्काल निर्वाचन हुने हो भने पार्टीले निकै ठुलो चुनौती सामना गर्नुपर्ने स्थिति छ’, नेकपाको भविष्यलाई लिएर प्रचण्डको प्रस्तावमा आँकलन गरिएको छ । 

प्रचण्डसहित ५ नेताको नजरमा ओलीका कमजोरी 
१.ओलीको राष्ट्रवाद नक्कली 
२.महामारीबाट अक्रान्त जनतामा थप निराशा 
३.यति होल्डिंग्सदेखि ओम्नी समूहसम्म साँठगाँठ, ‘रअ’ प्रमुखलाई समान हैसियतमा भेटेर देशको शिर झुकाएको ठहर 
४.बजेटअघि राजश्वको दररेटसम्बन्धी सुचना चुहाएर कमिसन 
५.न्यायपालिका प्रमुखलाई राजनीतिमा तान्ने प्रयास 
६.विमति राख्ने नेतालाई प्रतिशेध साँध्न राज्यशक्तिको दुरुपयोग 
७.एमसीसीबारे पार्टी प्रतिवेदनमा छलफल नगरी बजेटमा समावेश 
८.परिवर्तनको र समाजवादको विपक्षमा निरन्तरका गतिविधि 
९.समकक्षी नेताहरुलाई धम्की र प्रलोभन 
१०.ओलीको व्यक्तिवादी प्रवृत्तिको चिरफार देशका लागि अत्यावश्यक  
११.ओलीबाट आत्मालोचना र त्यागको अपेक्षा 

ओलीको अराजक शैली 
नेकपा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य सचिवालय बैठकमा पेश भएको प्रस्तावबाट अध्यक्ष ओली भाग्न खोजेर पुनः अराजकता निम्त्याउन खोजेको बताउँछिन् । ‘उहाँको बानी व्यहोरा, काम गराइको शैलीकै कारण समस्या भएको हो । बाहिरबाट हेर्दा पदकै लागि ओलीको आलोचना गरेजस्तो देखिएको छ तर वास्तविकता त्यो होइन’, शाक्यले रातोपाटीसँग भनिन्, ‘तर यो सवै कुरा बिग्रिएको उहाँको नेतृत्वले नै हो । पदमा बसेर नेतृत्व ठिक ढंगले नगर्दा अहिले नेकपामा समस्या आएको हो ।’

उनले ओलीको कार्यशैलीका कारण नेकपाका लाखौ नेता कार्यकर्ताको राजनीतिक भविष्य नै संकटमा पर्ने तथा समग्र पार्टी नै बद्नाम हुन दिनु नहुने बताइन् । ‘लाखौँ नेता कार्यकर्ताको भविष्यमाथि खेलवाड गर्नुभएको छ केपी ओलीजीले । उहाँ आफू बसुन्जेल केही मतलव छैन, भन्नेजस्तो देखियो । देश, पार्टी, आन्दोलन डुबेपनि मतलव छैन । उहाँलाई । यो ढंगको सोचाइ रह्यो । एउटा नेताले त्यस्तो गर्न पाइन्छ पाइँदैन ? गर्न हुन्छ हुँदैन ? मेरो विचारमा त्यो त अपराध ठहरिन्छ ।’

उनले एक व्यक्तिका कारण लाखौँले पीडा भोग्नुपरेको भन्दै ओलीकै समूहमा पनि केपी ओलीको काम कारवाही र शैली ठिक छ भन्ने एकाधबाहेक अरु नरहेको बताइन् । ‘एकाध व्यक्तिहरु जो स्वार्थ र सुविधाको राजनीति गरिरहेका छन् । उनीहरुबाहेक आम रुपमा पार्टी फुट्नु पनि हुँदैन र आन्दोलन सकिनु हुँदैन र पार्टी बच्नुपर्छ भन्ने मानिस उहाँहरुकै पंक्तिमा पनि देखिन्छ, त्यसैले उहाँ (ओली) ले योगदान गर्नुपर्छ’, शाक्यको भनाइ छ ।
शाक्यले पार्टी अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रस्ताव उनी एक्लैको नभएर सचिवालयका बहुमत सदस्यबीच छलफल र विश्लेषण गरेर ल्याएको बताइन् । उनले उक्त प्रस्ताव फिर्ता हुने कुनै सम्भावना नरहेको भन्दै बरु त्यसमा ओलीले योगदान गर्नु नै उपयुक्त बाटो रहेको सुझाइन् । 

‘योगदानमा त्याग पनि हुनसक्छ, सकारात्मक भूमिका पनि हुनसक्छ । उहाँले छोड्नुभयो भने संघीय लोकतान्त्रिक गणतन्त्र बच्न सक्छ । अर्को सवै पक्षको त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र आएको भनेर सकारात्मक सोचका साथ भूमिका खेल्न सक्नुहुन्छ’,शाक्यले प्रचण्ड प्रस्तावको व्याख्या गर्दै भनिन्, ‘ त्यसलाई ’प्रभावकारी बनाउन विचार विमर्श गर्ने र सुझावहरु लिने नयाँ योजना बनाएर जाने कुरापनि हुन्छ ।’
पद छोड्ने कुरा पनि नगर्ने र काम पनि गर्न नसक्ने अवस्था अव दिनु नहुनेमा शाक्यको जोड छ । ‘काम पनि केही गर्न नसक्ने अनि पद पनि च्यापेर बस्ने हुनै सक्दैन । यसो भइरह्यो भने थप संकट आउने निश्चित छ’, शाक्यको बुझाइ छ । 

उनले पार्टी कमिटीमा लिखित रुपमै पेश भएको प्रस्ताव फिर्ता लिन नराखिएको भन्दै बुझेरै, जानेरै र विश्लेषण गरेरै लगिएको भन्दै ओली पक्षले भनेजस्तो प्रचण्डले एकलौटी ढंगले उक्त प्रस्ताव नलगेको दावी गरिन् ।
 ‘सवैले सल्लह गरेर, विचारविमर्श गरेर लगिएको प्रस्ताव हो त्यो । त्यसैले त्यो साझा प्रस्ताव भएकाले त्यसमा उहाँलाई बेठिक लाग्ने र तर्क गर्न मन भए बैठकमा आएर बहस छलफल गर्नुपर्छ’, शाक्यको भनाइ छ । उनले ओलीले बैठकमा आउदिनँ र छलफल गर्दिनँ वा फिर्ता लिनुस् भन्नु अराजकता भएको भन्दै त्यो सम्भावना नरहेको बताइन् । 

‘मंसिर ३ को बैठकमा म आउदिनँ र जवाफ पनि दिन्नँ भनिरहनुभएको छ, त्यो अराजक र अलोकतान्त्रिक शैली भयो,’ उनले भनिन् ।

ओली पक्षकै स्थायी समिति सदस्य तथा नेता रघुवीर महासेठ पनि पार्टीलाई विधि विधान र पद्दतिमा हिँडाउनुपर्छ भन्ने कुरामा सहमत छन् । महासेठ पार्टीभित्र जुनजुन विषयमा विवाद भइरहेको छ त्यसको समाधानको बाटो एउटै देख्छन् । ‘पार्टी विवादमा समाधानको बाटो एउटै छ, त्यो भनेको पार्टी विधि र विधानबाट चल्नुपर्यो र दुुवै अध्यक्ष एकएक स्टेप पछि हटेर कम्परमाइज गर्नुपर्छ’, महासेठको भनाइ छ । 

उनले पार्टी कमिटीमा प्रवेश गरेको विषय कमिटीमै छलफल गरेर निकास खोज्नुपर्ने पनि बताए । ‘पार्टी कमिटीमा प्रस्ताव पेश भइसकेको छ । त्यो फिर्ता लिनु र नलिनुको कुनै अर्थ छैन । किनकी अव त्यो प्रस्ताव फिर्ता लिएपनि छलफलमा गैसकेको मानिन्छ । यदि दुवै अध्यक्ष कन्भिन्स भएर फिर्ता लिए त ठिकै होला यदि फिर्ता लिइएन भने त्यो प्रस्ताव सचिवालय,र स्थायी कमिटीमा पनि छलफलको विषय अवस्य बन्न सक्छ’, महासेठको भनाइ छ । 

उनले नेपालको गणतन्त्रलाई नै स्थापित गर्नतिर लाग्नुपर्नेमा नेताहरु दन्तबझानमै अल्मलिएको भन्दै आपत्ति जनाए । ‘कम्युनिस्ट आन्दोलनको एउटा भाग गणतन्त्र हो । जुन हामीले पाइसकेका छौँ । पाइसकेको चिजलाई संरक्षण गर्नु पहिलो आवश्यकता हो । त्यसका लागि नेताहरुको त्याग र बलिदान महत्त्वपूर्ण हुन्छ । यसको संरक्षण नगरी र हाम्रा न्युनतम विधि विधानअनुसार गएनौँ भने भोलि हामीलाई अप्ठ्यारो अवश्य पर्नसक्छ’, महासेठको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप