शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा महामारीबीच नेपालीहरुले यसरी मनाए भाइटिका

मङ्गलबार, ०२ मङ्सिर २०७७, ०८ : ४५
मङ्गलबार, ०२ मङ्सिर २०७७


कोरोना महामारीको प्रभावमा परेको अमेरिकामा बसोबास गर्ने नेपालीहरुले यमपञ्चकको पाँचौंँ दिन भाईटीका मनाएका छन् । अमेरिकाका ५० वटै राज्यहरुमा कोरोना संक्रमण अझ द्रुतगतिमा व्यापक हुदै गएको अवस्थालाई मध्यनजर गर्दै अधिकांश राज्यहरुमा नेपालीहरुले बिगत वर्षहरुमा झैँ मनाउन र रमाइलो गर्न अवसर पाएनन् । तथापी सिमित परिवार ,सुरक्षित हुदै स्वास्थ्यलाई ध्यान दिँदै अमेरिकाका विभिन्न राज्यहरुमा दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरेका छन् ।

भाइटीकाको टीका दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्याह्न ११ः३७ बजेको समय उत्तम भनिएकोले अमेरिकामा बसोबास गर्ने नेपाली अधिकांशले ११ः३७ मिनेटमा अमेरिकाका विभिन्न शहर तथा राज्यहरुमा टिका ग्रहण गरेका छन् ।

अमेरिकामा सोमबार कामको दिन यमपञ्चकको पाँचौ दिन भाइटिका परेकोले समय मिलाउन सक्ने नेपालीले बिदा लिई र बिदा नमिल्नेलहरुले कामबाट फर्के पछि भाईटीका मनाएका छन् । अमेरिकामा विभिन्न राज्य तथा शहरहरुको समय कतै एक घण्टा, कतै दुई घण्टा र कतै तीन घण्टाको समेत फरक भएकोले स्थानीय समय अनुसार नेपाली समुदायले भाईटीका मनाइरहेका छन ।  भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएकोले यसै गरी टीका ग्रहण गरेका छन् ।

नेपालमा जस्तै काग तिहार देखि नै भाईटीका सम्म ५ दिन झिलीमिलि बनाएका छन् । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टिका लगाइदिएका छन् ।

नेपालबाट सानोमा अमेरिका आएका तथा अमेरिकामा जन्मेका दोस्रो पुस्तालाई पनि पहिलो पुस्ताले यस्ता पर्वमा उनीहरुलाई संलग्न गराउँदै नेपालीहरुका चाडपर्वको महत्त्व बारेमा जानकारी दिने र उनीहरुलाई अझ संलग्न गराउदै तिहार मनाउन अभिभावकहरुले ठूलो भूमिका निर्वाह गरेका छन् ।

अमेरिकामा खोलिएका नेपाली पाठशालाका बिधार्थीहरु र आफ्ना सन्तानलाई देउसी र भैलो समेत अमेरिकाका विभिन्न राज्य ,शहर ,टोल र गल्ली गल्लीमाहरुमा खेल्न प्रोत्साहन गरेका छन् । दोश्रो पुस्ताले देउसी र भैलो मज्जाले खेलेका छन् । यस पटक अत्यधिक रुपमा परोक्ष (भर्चुअल प्रविधि) मार्फत गीत ,नृत्य,कविता ,आदी इत्यादी समेत तिहारमा प्रस्तुत समेत गरेका छन् ।

अमेरिकामा तिहारका सबै सामाग्रीहरु पाइने हुनाले दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइ दिएका छन् । सेलरोटी र अन्य सामाग्रीहरु दिदीबहिनिहरुले आफै बनाएका छन् ।

टिका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर,क़ाजु ,किसमिस ,मरमसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका दक्षिणा दिइ सम्मान प्रकट गरेका छन् ।

लक्ष्मी पूजाः

अमेरिकामा विभिन्न राज्य ,शहर,गाउँ क्षेत्रमा बसोबास गर्ने नेपालीले यमपञ्चकको दोस्रो दिन लक्ष्मी पूजा पनि श्रद्धाभक्तिको साथ मनाए । नेपालमा जस्तै पूजा सामग्रीहरु प्राय हरेक ठाउँमा सर्वसुलभ तरिकाले पाइने हुनाले पूजा सामग्री,दियो,कलस,फलफुल, मिठाई लगायत सामग्रीहरु नेपाली समुदायले जुटाए ।

तर यस पटक कोरोना भाइरस महामारीको कारण बिगत वर्षभन्दा खल्लो हुन पुग्यो  । आफन्त र आफ्नै परिवार बीच समेत आउने जाने नहुनाले नेपालीहरुको दोश्रो महान चाड तिहार उल्लासमय हुन सकेन । तथापी परिवार रमाएर चाड मनाए । लक्ष्मी पूजाको दिन साँझ भए पछि ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप