शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नाफामा वाणिज्य बैंकभन्दा विकास बैंक अगाडि, कुन बैंकको कस्तो अवस्था ?

सोमबार, ०१ मङ्सिर २०७७, १२ : ५१
सोमबार, ०१ मङ्सिर २०७७

काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफामा १४ प्रतिशत वृद्धि भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म राष्ट्रिय स्तरको मान्यताप्राप्त ८ वटा विकास बैंकहरुले अघिल्लो वर्षको ३ महिनाको तुलनामा १३.८९ प्रतिशत नाफा वृद्धि गरेका हुन् । 

यो वर्ष यी ८ वटा बैंकहरुको कुल नाफा १ अर्ब ३ करोड ८९ लाख रुपैंया छ । अघिल्लो वर्षको यही अवधिमा यो नाफा ९१ करोड २२ लाख रुपैंया रहेको थियो । यो करिब १२ करोड ६७ लाख रुपैंया बराबरको बृद्धि हो । 

विकास बैंकहरुमध्ये ४ वटा बैंकको नाफामा उल्लेख्य सुधार देखिँदा राम्रो बैंकको रुपमा रहेका शाइन रेसुङ्गा ठेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र ज्योति विकास बैंकको नाफा भने घटेको छ । यो अवधिमा कामना सेवा बैंकले अघिल्लो वर्षको भन्दा करिब १० गुणाले नाफा वृद्धि गरेर कुल नाफा २० करोड पुर्याएको छ । अघिल्लो वर्ष यस्तो नाफा १ करोड ८६ लाख रुपैंया मात्रै थियो । 

महालक्ष्मी बैंकको नाफा पनि करिब ४९ प्रतिशतको वृद्धि भएर १५ करोड ९७ लाख रुपैंया पुगेको छ । अघिल्लो वर्ष यस्तो नाफा १० करोड ६८ लाख रुपैंया थियो । 

विकास बैंकहरुकै विरासत मानिने मुक्तिनाथ विकास बैंकले कोभिड–१९ कै महामारीकाबीच २८.५९ प्रतिशत नाफा वृद्धि गर्न सफल भएको छ । अघिल्लो वर्ष २२ करोड ८७ लाख रुपैंया रहेको सो बैंकको नाफा यो वर्ष २९ करोड ४१ लाख रुपैंया पुग्दा नाफामा यो वृद्धि देखिएको हो । 

लुम्बिनी विकास बैंकको नाफा भने यो वर्ष सामान्य मात्रै बढेको छ । अघिल्लो वर्ष करिब ९ करोड ५७ लाख रुपैंया रहेको बैंकको नाफा यो वर्ष ११ करोड १७ लाख पुगको हो । 

तर बाँकी ४ बैंकको नाफा वृद्धिको अवस्था भने नाजुक छ । विकास बैंकहरुमा मुक्तिनाथ पछिकै दोस्रो ठूलो बैंकको रुपमा रहेको यो बैंकको नाफामा अघिल्लो वर्षभन्दा  ४०.७८ प्रतिशतको कमी आएको छ । अघिल्लो वर्ष १३ करोड ७१ लाख रुपैंया खुद नाफा कमाएको गरिमाको नाफा यो वर्ष ८ करोडमा १२ लाखमा सीमित भएको हो । 

उता शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा पनि यो अवधिमा ७७ प्रतिशतले । अघिल्लो वर्ष १२ करोड ७४ लाखमा सीमित रहेको नाफा चालु आर्थिक वर्षमा २ करोड ८८ लाख पुगेको हो । यो बैंकले अघिल्लो वर्ष लुम्बिनी प्रदेशका दुई क्षेत्रीय विकास बैंकलाई आफूमा गाभेको थियो । मर्जरका कारण सिनर्जी प्रभाव पर्नुको सट्टा झनै गिरावट देखिएको छ । 

ज्योति विकास बैंकको नाफामा समेत सामान्य गिरावट आएको छ । अघिल्लो वर्ष १३ करोड ६९ लाख रहेको ज्योतिको नाफा यसपालि घटेर १३ करोड १५ लाख पुगेको छ । यो करिब ४ प्रतिशतको गिरावट हो । उता ज्योति विकास बैंकको नाफामा समेत सामान्य गिरावट आएको छ । अघिल्लो वर्ष १३ करोड ६९ लाख रहेको ज्योतिको नाफा यसपालि घटेर १३ करोड १५ लाख पुगेको छ । यो करिब ४ प्रतिशतको गिरावट हो । 

सांग्रिला डेभलपमेन्ट बैंकले पनि यो त्रैमासमा लगानीकर्तामा उत्साह भर्न सकेन । बैंकको नाफा अघिल्लो वर्षभन्दा करिब ४७ प्रतिशतले घट्दा बैंकको कार्यसम्पादन कमजोर देखिएको हो । योसँगै अघिल्लो वर्ष असोजसम्म ५ करोड ९५ लाखको नाफा ३ करोड १५ लाखमा सीमित हुन पुगेको हो । 

थप समाचार

विकास बैंकको राम्रो पर्फमेन्स
वाणिज्य बैंक र विकास बैंकको नाफामा यो त्रैमासमा निकै उतारचढाव देखियो । कुनै बैंकको नाफा अस्वाभाविक धेरै देखिँदा कुनै बैंकको नाफामा अस्वाभाविक गिरावट आएको अवस्था वाणिज्य बैंक र विकास बैंक दुवैमा देखिएको छ । तर समग्रमा हेर्दा भने वाणिज्य बैंकभन्दा विकास बैंककै कार्यसम्पादन राम्रो देखिएको छ । 

असोजसम्मको अवधिमा यो वर्ष २५ वटा वाणिज्य बैंकको नाफामा करिब १.४३ प्रतिशत कमी आएको थियो । विकास बैंकमा भने यो अवस्था ठ्याक्कै उल्टो देखिएको छ । राष्ट्रिय स्तरका ८ वटा विकास बैंकको नाफा याही अवधिमा भने करिब १३ प्रतिशतले बढेको देखिएको छ । 

कुन बैंकको नाफा किन बढ्यो ? किन घट्यो ? 
यो वर्ष सबैभन्दा बढी नाफा वृद्धि भएको बैंक कामना सेवा हो । अघिल्लो वर्ष २ करोडभन्दा कम रहेको नाफालाई एकैपटक २० करोड रुपैंयाभन्दा बढी पुर्याएर यो बैंकले चमत्कार गरेको छ । यो बैंकको नाफा यसरी बढ्नुको पछाडि कुल ब्याज आम्दानीमा भएको वृद्धि र अन्य शुल्क तथा कसिनबाट आउने आम्दानी प्रमुख कारण मानिएको छ । गत वर्ष एकैपटक १ सय १२ वटा शाखा खोलेको कामना सेवा बैंकको शाखा सञ्जालकै कारण ग्राहक संख्या बढ्दा यस्तो आम्दानी बढेको देखिएको छ । 

उता महालक्ष्मी विकास बैंकले भने यो वर्ष अघिल्लो वर्षको तुलनामा खराब कर्जाको लागि कम रकम प्रोभिजन गरे पुग्ने भएकोले यो रकम नाफमा देखाउन पाउने भएकोले नाफा बढेको देखिएको हो । अघिल्लो वर्ष ८ करोड प्रोभिजन गरिएकोमा यो वर्ष यो रकम साढे २ करोडमा झरेको छ । 

मुक्तिनाथ विकास बैंकले भने प्राभिजनमा राख्ने रकम दोब्बरभन्दा बढी पुग्दा पनि नाफा बढाउन सफल भएको छ । बैंकको खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी समेत बढ्दा खुद नाफा बढेको हो । 

नाफामा उच्च गिरावट आएको गरिमा विकास बैंकले पनि सम्भावित कर्जा नोक्सानीका लागि कर्जा रिजर्भमा पैसा छुट्याउँदा नाफामा यो गिरावट सहनु परेको हो । गरिमाले करिब साढे ६ करोड रुपैंया बढी रकम यस्तो प्रोभिजनमा राखेको छ । बैंकको अरु पक्षहरु भने सामान्य अवस्थामै छ । 

शाइन रेसुंगा बैंकको नाफा रिजर्भकै कारण घटेको हो । अघिल्लो वर्ष ऋण असुली जोखिमबापत ४ करोड ८८ लाख रुपैंया रिजर्भ राखेको बैंकले यो वर्ष यो आकार १४ करोड ९६ लाख रुपैंया पुर्याएको छ । त्यसबाहेक शाइनको खुद ब्याज आम्दानीमा समेत सामान्य गिरावट आएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप