केन्द्रीय संस्करण

उपल्लो डोल्पामा चार महिनामा एक पटक पनि पुगेनन् स्वास्थ्यकर्मी

person explore access_timeकात्तिक ३०, २०७७ chat_bubble_outline0

उपल्लो डोल्पा क्षेत्रमा पर्ने फोक्सुण्डो स्वास्थ्य चौकी करार कर्मचारीको भरमा चलेको छ । स्वास्थ्यचौकीमा कार्यरत तीन जना स्थायी कर्मचारी चार महिनासम्म पनि कार्यालयमा नपुगेपछि स्थानीय दुई जना करार कर्मचारीका भरमा स्वास्थ्य चौकी चलेको हो । अहिले स्थानीय पासाङ्ग टोमा रोकाय र हितकुमारी रोकायले स्वाथ्यचौकी धानेका छन् ।

शे–फोक्सुण्डो गाँउपालिका वडा नं ८ मा पर्ने उक्त स्वास्थ्य चौकीमा लामो समयसम्म पनि स्थायी कर्मचारी नआएपछि स्थानीय आक्रोशित भएका छन् । स्वास्थ्यचौकीमा कार्यरत अहेब पारस शाही, अहेव चन्द्रदेव यादव र अनमी नाज्मा बानु चार महिनासम्म पनि कार्यालयमा नपुगेको वडा नं ८ का बासिन्दा तेजेन्द्र गुरुङ्गले बताए ।

“गत साउनदेखि शाही र बानु गायब छन्, स्वास्थ्य चौकी करार कर्मचारीका भरमा चलेको छ, चार महिनाको अवधिमा एक पटक पनि कार्यरत कार्यालयमा नपुग्नु कतिसम्मको गैरजिम्मेवारीपन हो”, गुरुङ्गले भने ।  साउनमा घर गएका चन्द्रदेव पनि असोज पहिलो साता आएर दुई हप्ता पनि नबसी घर फर्केको स्थानीयवासीको भनाइ छ ।

स्वास्थ्य चौकीमा हाजिरी रजिष्टर हेर्दा नभेटिएकाले उनहरुले घरमै हाजिरी लिएको हुनसक्ने आशङ्का गरिएको गुरुङ्गको भनाइ छ । स्वास्थ्य संस्थामा कर्मचारी फर्किने दिन कुर्दाकुर्दै पनि चार महिनासम्म नपुगेपछि बाध्य भएर सञ्चार माध्यमलाई जानकारी गराइएको बताइएको छ ।

तीनै जना कर्मचारीलाई स्वास्थ्य चौकीमा फर्कन बारम्बार ताकेता गरे पनि अझै नर्फकिएको वडा नं ८ का अध्यक्ष निमा लामाले बताए । “स्वास्थ्य चौकीमा औषधि छ या छैन त्यो पनि थाहाँ छैन्, कति बिरामी आउँछन् कस्ता बिरामि आउँछन् त्यसको रेकर्ड पनि छैन्, उनीहरुले नियमित कार्यालयमा नपुगेरै तलब खाने काम गरेका छन्”, लामाले भने ।

स्वास्थ्यकर्मी नहुँदा वडा नं ८ मा पर्ने रिग्मा, सुम्दुवा, -याँची, छेक्पा र वडा नं ९ मा पर्ने पुग्मो गाउँका जनताले पाउने स्वास्थ्य सेवा प्रभावित हुँदै आएको उनको भनाइ छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.