बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेपाली सङ्गीतको विकासक्रम’ पुस्तक बिमोचन

आइतबार, ३० कात्तिक २०७७, १८ : २९
आइतबार, ३० कात्तिक २०७७

सहप्राध्यापक एवं संगीतज्ञ मनोहर गोपाल गुर्वाचार्यद्धारा लिखित शोधग्रन्थ (पुस्तक) ‘नेपाली सङ्गीतको विकासक्रम’ बिमोचन भएको छ । बरिष्ठ संस्कृतिविद् वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा उक्त पुस्तकको बिमोचन तथा लोकार्पण गरे ।

पुस्तकमा ललितपुर, काठमाडौं र भक्तपुरका दफा र मृदङ्ग भजन मण्डलहरुमा गाउँदै आएका प्राचीन तथा मौलिक गीत सङ्गीतलाई समेटिएको छ । त्यसबाहेक विगत ४ सय वर्ष देखि निरन्तर रुपमा ज्येष्ठ पूर्णिमाका दिन मंगलबजार कात्र्तिक डबलीमा गाउँदै आएका कृष्णभक्त कबि राजा सिद्धिनरसिंह मल्लाका गीतहरु समेत पुस्तकमा समावेस छन् । 

यस्तै विश्व प्रसिद्ध चर्या नृत्य नेपालमा श्रृजना भएको तथ्य आठौं शताब्दिको अन्त्य तिर लेखिएको ‘‘हेबज्रतन्त्र’’ ग्रन्थको आधार पनि प्रस्तुत गरिएको छ । पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ संस्कृतिविद् शताब्दी पुरुष जोशीले यस्तो किसिमको पुस्तकले देशभित्र सङ्गीतको विधालाई फडको मार्न ठूलो मद्दत पु-याउने बताए ।

कार्यक्रममा लेखक गुर्वाचार्यले काठमाडौं उपत्यका भित्र रहेको प्रचिन सङ्गीतलाई अनुसन्धान गरी पुस्तकमा समेटने प्रयास गरिएको बताए । करिब १ हजार वर्ष पहिला नै विश्वबाट लोप भइसकेका ‘‘जातिगान’’का क्रियात्मक स्वरुप र शैली जस्ता अमूल्य सांस्कृतिक धरोहरहरु अहिलेपनि नेपाली समुदायमा संरक्षित भई व्यवहारमा आइरहेकाले त्यस्ता सङ्गीतलाई पुस्तकमा समेटिएको छ ।

यसबाट परम्परागत सङ्गीतको क्षेत्रमा ठूलो उपलब्धि हुने र देशको छवि विश्वसामु उजागर गर्न सफल हुने  विश्वास समेत गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप