केन्द्रीय संस्करण
विज्ञान जानकारी

विज्ञानसम्बन्धी जानकारी : किन र कसरी ?

person explore access_timeकात्तिक २९, २०७७ chat_bubble_outline0

 

पानीमुनि ताली बजाउँदा किन सुनिँदैन ?

मैले पनि यसको प्रयास गरेको छु र यो कुरासँग म सहमत छु । साँचिक्कै टाउकोलाई पानीमुनि राखेर सुन्दा पानीमुनि ताली बजाउँदा ठूलो आवाज आउँदैन । तैपनि पानीमुनि नै दुईवटा ढुँगालाई हिर्काउने हो भने निकै ठूलो आवाज आउँछ । वास्तवमा भन्ने हो भने आवाज हावामा भन्दा पानीमा निकै छिटो कुद्ने गर्छ ।

हातलाई सामान्य रुपमा जोड्दाभन्दा ताली बजाउँदा ठूलो आवाज आउँछ । मुठ्ठी पारेर बेस्सरी हातलाई जोडे पनि खुला हातले ताली बजाउँदा जस्तै ठूलो आवाज आउँदैन । यस्तो किन हुन्छ भने बिस्तारी जोड्दा र मुठ्ठी पारेर हिर्काउँदा हावामा निकै कम तरङ्गहरु पैदा हुन्छन् । यो एउटा सानो बम पड्केर भएको विस्फोट जस्तो मात्र हुन्छ ।

पानीमा भने कुरा अर्कै हुन्छ । पानीका अणुहरु हावाको जस्तै खुला हुँदैनन् । त्यसैले पानीमा हात चलाउन निकै गाह्रो हुन्छ । त्यसैले त्यहाँ खुला हावामा जस्तै जोडले हात जोडिदैन र ठूलो ताली बज्न पाउँदैन ।

हिरा किन कडा हुन्छ ?

हिरा संसारकै बहुमुल्य वस्तुहरु मध्ये एक हो । यसलाई विभिन्न गरगहनाहरु बनाउन प्रयोग गरिन्छ । हिरा कार्बोन नामक तत्वले बनेको हुन्छ । त्यसैले यसका सबै अणुहरु एकै प्रकारका हुन्छन् । हरेक अणुलाई कार्बोनका अन्य चार अणुहरुले घेरेका हुन्छन् । तिनीहरु बीचको दूरी पनि सँधै एउटै हुन्छ । एक पटक हिरा बनेपछि ती अणुहरुलाई हल्लाउन सकिँदैन । त्यसैले हिरा संसारकै सबैभन्दा कडा वस्तुमध्येका एक हुन्। यसको प्रयोग अन्य चीजहरु काट्नलाई गरिन्छ ।

हामीले सिनेमामा कहिलेकाहीँ हिरोइनले हिरा खाएर आत्महत्या गर्ने गरेको पनि देखेका छौँ होला । त्यसैले हामी धेरैलाई हिरा विषालु हुन्छ भनेर लाग्न सक्छ । तर वास्तवमा त्यस्तो हुँदैन । हिरा पटक्कै विषालु हुँदैन । यो कडा भएको हुँदा यसलाई हाम्रो शरीरले पचाउन सक्दैन । यसलाई खायो भने हाम्रो भित्री अंगहरुलाई काट्दै जान्छ । भित्री अंगमा हुने घाउकै कारण हाम्रो मृत्यु हुन भने सक्छ।

कार्बोनलाई अन्य तरिकाहरुबाट पनि मिलाएर राख्न सकिन्छ । कार्बोनलाई अरु नै तरिकाहरुबाट मिलाएर राख्ने हो भने कोइला, ग्राफाइट जस्ता तत्वहरु बन्ने गर्छन् । यी सबै बस्तुहरु एकै प्रकारको अणुले बनेपनि तिनीहरुलाई जोड्ने तरिका फरक–फरक भएको कारण अर्कै वस्तुको निर्माण हुन्छ । रसायनशास्त्रमा कार्बोनको अध्ययनलाई निकै महत्व दिइन्छ ।

जाडोमा किन हाम्रो सास फेरेको देखिन्छ ?

https://storage.googleapis.com

हाम्रो सास अरु केही नभएर केवल हावा मात्र हो । हामी हावा भित्र लिने गर्छौँ, जसबाट हामीलाई चाहिने अक्सिजन लिन्छौँ । त्यसमा हाम्रो शरीरलाई नचाहिने कार्बोनडाइअक्साड भने सास बाहिर निस्कदाँ फाल्ने गर्छौं। यसरी सास बाहिर फाल्दा हाम्रो फोक्सो र मुखबाट अलिअलि पानीका कणहरुलाई पनि वाफको रुपमा लिएर निस्कन्छ । बाहिर चिसो मौसम भएको कारणले त्यो बाफ फेरि पानीका स–साना थोपाहरुमा परिवर्तन हुने गर्छ । पानीको थोपामा परिवर्तन भएपछि हामी तिनीहरुलाई देख्ने गछौँ । तिनीहरु निकै साना भएका हुँदा तिनीहरु हुस्सु जस्तै देखिन्छन् । गर्मीको मौसममा भने ती बाफलाई पानीको थोपामा परिवर्तन गर्न नसक्ने हुँदा हामी त्यसबेला भने तिनलाई हामी देख्न सक्दैनौँ ।

सबैले प्रयोग गर्दा पनि अक्सिजन किन सकिँदैन ?

सबै जीवित प्राणीहरुलाई बाँच्नका लागि अक्सिजन चाहिन्छ । अक्सिजन नहुने हो भने सबै प्राणीहरु मर्न सक्छन् । एकजना मानिसलाई मात्र एक दिनमा ५०० क्वार्ट (१ पाउण्ड) अक्सिजन चाहिन्छ । अब कल्पना गर्नुहोस् विश्वभरिका मानिसलाई दैनिक कति पाउण्ड अक्सिजन चाहिन्छ होला । अझ त्यसमाथि जनवारहरुलाई थप्ने हो भने त हामी एक दिनमा कति धेरै अक्सिजनको प्रयोग गर्दा रहेछौँ ?

हामी एकै दिनमा यति धेरै अक्सिजन प्रयोग गर्छौँ । तर पनि अक्सिजन सकिँदैन । यस्तो किन हुन्छ भने विश्वभरिका सबै हरिया वनस्पतिले अक्सिजनको निर्माण गर्ने गर्छन् । हामी मानिस लगायत अन्य जनवारहरु भने वनस्पतिलाई चाहिने कार्बोनडाइअक्साइड निर्माण गर्छौँ । यो प्रक्रिया निरन्तर चलिरहेको हुन्छ । वनस्पतिले हाम्रो आवश्यकता पूरा गर्छ र हामी तिनीहरुको आवश्यक्ता पूरा गर्ने गर्छौँ ।

हावामा अक्सिजनको मात्रा २०.९४ प्रतिशत रहेको छ । यो मात्रा अहिलेसम्म पनि परिवर्तन भएको छैन । अक्सिजन बनाउने प्रक्रिया सही रुपमा नै चलिरहेको छ । त्यसैले अहिलेसम्म अक्सिजन सकिने खतरा हामीलाई छैन । तर प्रदुषणले गर्दा भने स्वच्छ र सफा अक्सिजनको कमी भने अवश्य नै देखा परेको छ ।

खुट्टा किन निदाउँछ ?

कहिलेकाहीँ हामी बसिरहँदा हाम्रो खुट्टा झमझम गर्छ । हामीलाई हिँड्न पनि निकै अप्ठ्यारो हुन्छ । यस्तो भयो भने हामी हाम्रो खुट्टा निदायो भन्ने गर्छौं ।

खुट्टा निदाउनुमा हामी बस्ने तरिकाले निकै ठूलो भूमिका खेलेको हुन्छ । उदाहरणका लागि हामी खुट्टामाथि खुट्टा राखेर बस्यौं भने त्यसो गर्दा हाम्रो खुट्टा निदाउँछ । यस्तो किन हुन्छ भने यसरी बस्दा हाम्रो नशाको एकै भागमा चाप परिरहेको हुन्छ । धेरै बेरसम्म एकै ठाउँमा त्यसरी चाप दिई बस्दा नशा रोकिने गर्छ, जसले गर्दा नशाबाट संकेतहरु पनि आदानप्रदान हुँदैनन् । यसले गर्दा खुट्टा र मस्तिष्कको सम्बन्ध टुट्छ र हामी खुट्टामा केही महशुस गर्दैनौँ । बस्ने तरिका परिवर्तन गर्दा भने नशामा चाप कम हुन्छ ।  एकाएक चाप हट्दा एकैचोटी रगत र संकेतहरु चल्न खोज्छन्, जसले गर्दा हामी कसैले खुट्टामा घोचिरहेको महसूस गर्छौं। अनि हामी हाम्रा खुट्टा निदायो भन्छौं ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.