‘बसपार्क स्थापना गर्न नसक्ने सरकारले कसरी चलाउँछ गाडी ?’
जनकपुर । प्रदेश २ सरकारले साढे ३ करोड रुपैयाँ लागतमा ५ वटा बस खरिद गरि सञ्चालनमा ल्याउने तयारी गरेको छ । सरकारले खरिद गरेका ५ वटा बस प्रदेश २ मा आएलगत्तै प्रदेशका जनता खुसी भएपनि यातायात व्यवसायीले भने असन्तोष प्रकट गरेका छन् ।
सरकारले नै बस सञ्चालन गर्ने भएपछि आफ्नो व्यवसाय धरापमा पर्ने हो कि भन्ने चिन्ता व्यवसायीहरुमा देखिएको छ । कोभिड १९ को नियन्त्रण तथा रोकथामलाई व्यवस्थित गर्न ध्यान दिनुपर्ने सरकारले बस खरिद गरेर के गर्न खोजिरहेको भन्दै व्यवसायीहरुले सरकारलाई प्रश्न गरेका छन् ।
माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज कुमार चौधरी सस्तो लोकप्रियता कमाउन र कमिसन बटुल्नका लागि मात्रै प्रदेश सरकारले बस खरिद गरेकोे आरोप लगाउँछन् । ‘कोभिड-१९ को महामारीमा व्यवसायीहरु समेत संकटबाट गुज्रिरहेको अवस्थामा प्रदेश सरकारले झन् पीडा थप्ने काम गरेको छ’, अध्यक्ष चौधरी भन्छ्न, ‘बस किनेर प्रदेश सरकार काम देखाउन र दाम असुल्न लागिपरेको छ ।’
उनले प्रदेशमा निजी स्तरबाट सञ्चालन भइरहेका बसहरुलाई व्यवस्थित गर्न नसकेको भन्दै प्रदेशमा एउटा राम्रो बसपार्क बनाउन नसक्ने सरकारले बस किनेर कसरी गुँडाउने होला भन्दै प्रश्न गरे ।
‘जनता तिरेको करको दुरुपयोग गरि कमिसन खानैका लागि हतारमा बस किनेको हो नत्रभने बस खरिद गर्नुपूर्व यातायात क्षेत्रको गतिविधि, बस पार्कको अनुगमन र यसलाई व्यवस्थित पार्ने योजनासहित नीजि क्षेत्रसँगको सहकार्य गरेको भए बस किन्नुको अर्थ रहन्थ्यो’, चौधरीको भनाइ छ ।
व्यवसायीहरुले विगतमा नेपाल सरकारले काठमाडौँमा ट्रली र साझा यातायातका नाममा कर्मचारी भर्ना र कमिसन खाने काम भएजस्तै प्रदेश सरकारको पनि त्यस्तै नियत रहेको आरोप लगाएका छन् ।
प्रा.डा सुरेन्द्र लाभ यातायात व्यवसायका क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औल्याउँछन् ।
उनले प्रदेश सरकारले सीमित बस किनेर आम जनतालाई फाइदा नहुने भन्दै बरु त्यो पैसाले कलकारखाना स्थापना गरे प्रदेशवासीले रोजगारी पाउने बताउँछन् ।
‘महामारीको समयमा यातायात व्यवसायीका समस्या बुझेर भाडादर पनि न्यून गराएको भए आमजनतालाइ पनि राहत हुनेथ्यो, तर केही बस खरिद गरेर सरकारले परफरमेन्स ठिक देखाएन’, लाभको भनाइ छ ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य रहेका नेपाल पत्रकार महासंघ धनुषाका पूर्वअध्यक्ष उमेश साह भने प्रदेश सरकारको कदमलाई सकारात्मक ठान्छन् ।
‘प्रदेश सरकारले जनताप्रति उत्तरदायी भएर बस संचालनमा ल्याउनु सकारात्मक छ’साहको भनाइ छ ।
उनले सरकारले बस चलाउने कुरा कमिसन र कार्यकर्ता भर्ति केन्द्रसँग जोडिन नहुने भन्दै विगतबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए । ‘विगतबाट पाठ सिक्दै बस सेवा दीर्घकालिन रुपमा संचालन गर्न तथा व्यवस्थित, पारदशी र स्पष्ट नीतिको टड्कारो आवश्यकता रहेको छ’ साहको भनाइ छ ।
सचिवलाई नै थाहा छैन बस किनेको कुरा
भौतिक विकास पूर्वाधार मन्त्रालयका सचिव रामआधार साहले भने बस खरिदबारे आपफूलाई थाहा नै नभएको प्रतिक्रिया दिए । रातोपाटीसँग सचिव साहले भने, ‘प्रदेश सरकारले बस किनेकोबारे मलाई जानकारी छैन ।’
तर ५ वटा बस किनेर २ वटा जनकपुरदेखि वीरगंज, २ वटा जनकपुर देखि राजविराज तथा एउटा राजविराज देखि वीरगंजसम्म सञ्चालन गर्ने तयारी गरेको भौतिक विकास पूर्वाधार मन्त्रालयका ईन्जिनीयर विनोद यादवको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन