कोरोना कहरबीच तिहार : यस्ता छन् कलाकारका योजना
काठमाडौँ । हामी नेपालीहरूको दसैँपछिको ठूलो चाड हो तिहार । दिदीभाइ तथा दाजुबहिनीको प्रेमको पर्वका रूपमा चिनिने तिहार ५ दिनको भए पनि विशेष गरेर तीन दिन लक्ष्मीपूजा, गोवद्र्धन पूजाका साथै भाइटीकामा दिदीबहिनीसँग टीका, आशीर्वाद तथा शुभकामना लिने गरिन्छ । तिहार दाजुभाइ र दिदीबहिनी बीचको प्रेमको पर्व पनि हो । यो पर्वमा घर झिलिमिली बत्ती र धेरै थरीका फूलले सिँगार्ने गरिन्छ । सहर बजार पनि बत्ती, फूल, मिठाई र मसलाको परिकारले सिँगारिएका देख्न सकिन्छ ।
तर कोरोनका कारण यो वर्षको तिहार विगतको जस्तो रौनक छैन । परम्परा जोगाइराख्न मात्र हामीले यसलाई मनाउनुपर्ने बाध्यता छ । गरिब, धनी, नेतादेखि सर्वसाधारण नेपालीसम्मको तिहार मनाउने आआफ्नो योजना होलान् । हाम्रा कलाकारहरु पनि रौनक नभए पनि सुरक्षित तिहार मनाउने सुरसारमा छन् । कलाकारको तिहार योजना उनीहरुकै शब्दमा :
करिस्मा मानन्धर (अभिनेत्री)
यसपालि तिहारको केही योजना छैन । एकअर्काे घरमा आवतजावत बन्द छ । देउसीभैलो पनि आउँदैनन् होला । अहिले विनोदजी पनि घरमा हुनुहुन्न । म तिहारमा एकअर्काेको घरमा बत्ती हेर्ने, साथीभाइ भेट्न गर्दथेँ । यो पटक त्यो क्रियालापा हुँदैन । मेरो भाइटीका पनि छैन । जुन दाइलाई भाइटीका लगाउँथे । उहाँ गत महिना बित्नुभयो ।
दीपकराज गिरी (अभिनेता)
तिहार खासै रौनकमय छैन । जहाँ डर, त्रास रोग र भोक रहन्छ । त्यहाँ केको रमाइलो । यो वर्ष तिहार परम्परा धान्नका लागि मात्र मनाउने हो । म ताक्छु मुडो, बन्चरो ताक्छ घुँडो भने झै यो पटक हजारौँले रोजगारी गुमाए, कतिको व्यावसाय चौपट भयो, कतिले ज्यान गुमाए । त्यसैले मन प्रसन्न छैन । पीडामा हाँस्ने जाति संसारमा एउटा छ– त्यो हो नेपाली । देउसीभैलो टिभीमा हेर्ने, रेडियोमा सुन्ने हो ।
ऋचा शर्मा (अभिनेत्री)
आमा बित्नु भएकाले यस पटक मेरो तिहार छैन ।
सुनिता दुलाल (गायिका)
विश्व नै कोरोनाको कहरमा छ । नेपाली पनि यसबाट पीडित, त्रासित छन् । म तिहार त मनाउँछु । तर मन तिहारको झिलिमिली झैँ उज्यालो छैन । तिहारको रमाइलो भनेको सप्तरङ्गी माहोल हो । रङ्गीचङ्गी बत्ती, ढकमक्क फूल्ने अनेकथरी फूलले मनै फुरुङ्ग बनाउँछ । तिहारमा दाजुभाइ दिदीबहिनीबीच बाडिने माया र ममता हो । म यही दिन्छु र आशीर्वाद लिन्छु ।
दीपाश्री निरौला (अभिनेत्री, निर्देशक)
तिहारकै लागि विराटनगर आएकी छु । यहाँ दाजुभाइसँग तिहार मनाउन पाउँदा निकै रमाइलो लाग्छ । यो मेरो मनपर्ने चाड पनि हो । यो पर्वले दाजुभाइसँगको सम्बन्धलाई अझै गाढा बनाउँछ । दाजुभाइका लागि कपडा, खानेकुरा र धेरै माया दिन्छु ।
गजित विष्ट (अभिनेता)
कोरोना सङ्क्रमित भएको कारण आइसोलेसनमा छु । मेरो यो तिहार आइसोलेसनमै कोरोनासँगको युद्धमा बित्छ । कोरोनाको युद्ध जितियो भने अर्काे वर्ष भव्य मनाउनेछु ।
नवीन पौडेल (गायक)
परम्परादेखि चल्दै आएको रीतिरिवाज जोगाउन पनि तिहार मनाउँछु । बहिनीको हातबाट टीका थाप्छु । साथीभाइ भेटघाट गर्ने, तास खेल्ने लगायतका काम यस पटक गर्दिनँ । सेलरोटी, मिठाई, विभिन्न परिकार खान्छु । तिहारको मनपर्ने, रमाइलो पक्ष भनेको देउसीभैलो हो । तर यो पटक हुँदैन, गर्न पाइन्न ।
अनु शाह (अभिनेत्री)
तिहार रमाइलो पर्व हो । मेरो मनपर्ने चाड पनि । तिहारमा जताततै झिलिमिली उज्यालो हुने र लक्ष्मीपूजा र भाइपूजा हुने भएकाले पनि मनपर्छ । तिहारमा सेलरोटी घरमै बनाउने गर्नुहुन्छ । खान पनि मनर्छ । देउसीभैलो घरमा आएको रमाइलो लाग्थ्यो । यसपालि कोरोनका कारण देउसीभैलो हेर्न र खेल्न पाइँदैन । भाइलाई गिफ्ट चाहिँ दिन्छु । तर यही भन्ने सोचेकी छैन ।
दिनेश काफ्ले (हास्य कलाकार)
यो पटक कुनै पनि चाड आएजस्तो लागेको छैन । कोरोनाले हामी कलाकारको सबै काम खोसेको छ । तिहार परिवारसँग मनाउँछु । पहिलेभन्दा अलि फरक घरमै बसेर रमाइलो गर्ने हो । सबै आफूभन्दा सानो भएकाले गिफ्ट दिनेभन्दा पनि उनीहरुको सबै जिम्मेवारी आफैले उठाउनुपर्छ ।
साहिमा श्रेष्ठ (गायिका)
कोरोनाका कारणले यो तिहारमा खासै रौनक छैन । यो पटकको तिहार म काठमाडौँमै मनाउँछु । तिहारको झिलिमिली बत्ती, सब्तरङ्गी टीको र देउसीभैलो मनपर्ने पक्ष हुन् । लक्ष्मीपूजा पनि विशेष हुन्छ, म पनि पूजा गर्छु । कोरोनाले गर्दा तिहारमा सबै जम्मा हुन पाए त्यही विशेष हुन्थ्यो । नपाइएला जस्तो छ ।
इन्दिरा भट्टराई (गायिका)
कोरोनाका कारण यो वर्ष कुनै पनि चाडको रौनक लागेको छैन । यो तिहार रोयल कम्पनी यूएईमा कार्यरत नेपाली दाजुभाइसँग स्वास्थ्य सुरक्षाको मापदण्ड कायम राखेर मनाउँछु । तिहारको लक्ष्मीपूजा, सप्तरङ्गी टीका, देउसी भैलो, झिलिमिली बत्ती, फूलमाला एकदमै मनपर्छ ।
टीका प्रसाईं (गायिका)
यस पटकको तिहार काठमाडौँमै मनाउँछु । तिहारमा पकाउने सेलरोटी मलाई धेरै मनपर्छ । दाजुभाइ दिदीबहिनीको प्रेम सम्बन्धको प्रतीक हो तिहार । यो पटक देउसीभैलो मिस गर्छु । खेल्न मात्र होइन हेर्न पनि पाइँदैन होला यस पटक ।
युवराज चौलागाईं (गायक)
यो पटकको तिहार खासै रौनक लागेको छैन । कोरोनाले गर्दा तिहारको उत्साह र उमङ्ग हराएको छ । विभिन्न फूलका माला, झिलिमिली बत्ती, मीठोमीठो सेलरोटी र दिदीबहिनीको दाजुभाइप्रतिको प्रेम एकदमै राम्रोपक्ष हो तिहारको । तिहारमा दिदीबहिनीलाई उपहार दिने चलन पनि छ । तर कोरोनाको कारणले यो पटक किनमेल गर्ने सोच मेरो छैन । सकेको दक्षिणा, माया र आशीर्वाद दिन्छु । म सतर्क भएर तिहार मनाउँदैछु । सबैलाई पनि कोरोनाबाट सतर्क रहन सुझाएँ ।
रजनी केसी (अभिनेत्री)
अघिल्लो वर्षको जस्तो तिहारको रौनक लागेको छैन । किनभने अहिले कोरोनाको त्रासमा बाँच्नु परेको छ । सेलरोटी, झिलिमिली बत्तीको अलवा कागदेखि दाजुभाइसम्म पूजा गर्न पाइने भएकाले तिहार विशेष लाग्छ । ममीसँग मिलेर विभिन्न परिकार पकाउँछु । नओइलिने मखमली फूलको माला उन्छु । दाजुभाइलाई टीका लगाएर आशीर्वाद लिन्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’
-
सोमबार प्रधानमन्त्रीले चीन भ्रमणका विषयमा छलफल गर्ने
-
कुनै पनि उडान प्रभावित नपार्न पाइलटहरुलाई निगमको अनुरोध
-
१० बजे १० समाचार : रवि लामिछाने अझै दुई साता हिरासतमै रहनेदेखि बालेनको पत्र बुझ्न एमालेको अस्वीकारसम्म
-
सार्क राष्ट्रबिच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ
-
रूखले च्यापिएर एकको मृत्यु, दुई जना गम्भीर घाइते