बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यूएईको कानूनमा व्यापक संशोधनः मद्यपान गर्न पाइने, अविवाहित जोडी सँगै बस्न सक्ने; प्रवासी खुसी

शुक्रबार, २८ कात्तिक २०७७, ०६ : ५९
शुक्रबार, २८ कात्तिक २०७७

संयुक्त अरब इमिरेट्सले हालै आफ्ना नागरिक र आपराधिक कानूनमा केही व्यापक परिवर्तन गरेको छ । यहाँ ८४ लाखभन्दा बढी (सन् २०१८ मा भएको एक सर्वेक्षण अनुसार) व्यक्तिको बसोबास छ ।

यूएईका नागरिक र त्यहाँ बसिरहेका प्रवासीको जीवन थप सकारात्मक र अनुकूल बनाउनका लागि यो संशोधन गरिएको हो । संयुक्त अरबमा बस्ने प्रवासीको एउटा ठूलो संख्या दक्षिण एशियाको छ ।

यो संशोधन अनुसार जो विदेशमा बसिरहेका छन्, उनीहरुलाई अब व्यक्तिगत मामिलामा उनीहरुलाई  आफ्नो देशको कानून अनुसार काम कारवाही गर्ने अनुमति हुनेछ । उदाहरणको रुपमा सम्बन्धविच्छेद वा सम्पत्ति बाँडफाँटको विषयमा, रक्सीको खपत सम्बन्धमा, आत्महत्या, नाबालिगसँग शारीरिक सम्बन्ध स्थापित गरेको विषयमा, महिला सुरक्षा र अनर क्राइमको विषयमा ।

केही हप्ताअघि संयुक्त अरब इमिरेट्सले इजराइलसँग आफ्नो सम्बन्धलाई सामान्य गर्नका लागि ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेको छ । यो कदमका साथै यूएईमा इजराइली पर्यटक वा लगानीकर्ताका संख्या वृद्धि हुने आशा गरिएको छ ।

कानूनमा परिवर्तनको अर्थ

यो परिवर्तनमा प्रवासी समुदाय र कानूनी विशेषज्ञको निकै प्रतिक्रिया आइरहेको छ ।

अन्तर्राष्टिय कानूनी फर्म बेकर म्याकेन्जीका वकिल आमिर अलखजाले भनेका छन्, ‘नयाँ संशोधन लगानीकर्तालाई विश्वास दिलाउने कोसिसको रुपमा उठाइएको कदम हो ।’

उनी थप्छन्, ‘पछिल्ला दिनमा संयुक्त अरब इमिरेट्सको सरकारले थुप्रै कानूनमा संशोधन गरेको छ जसले प्रत्यक्ष रुपमा प्रवासी जनसंख्यालाई प्रभावित गर्छ । त्यो चाहे गोल्डने भिसा स्किममार्फत् गरिएको संशोधन होस् वा उद्यमीलाई रेजिडेन्स भिसाको शर्तमा गरिएको संशोधन होस् ।’

अलखजाका अनुसार सरकारले संशोधन गरेर त्यो कानूनलाई खुकुलो बनाएको छ जसमा मानिसहरुलाई (चाहे नागरिक होस् वा प्रवासी) दण्डित गरिँदै आएको छ ।

 संयुक्त अरब इमिरेट्का राष्ट्रपति शेख खलिफा बिन जायेदले ७ नोभेम्बरमा फरमान जारी गरेर यी परिवर्तनको घोषणा गरेका हुन् र यो संशोधन तत्काल लागू गरिने जानकारी दिए ।

अलखजाले भने, ‘यो एक संघीय कानून हो । एकपटक प्रकाशित भएपछि सबै नागरिकले यसको पालना गर्नुपर्छ ।’

अलखजाका अनुसार नयाँ संशोधनले देशमा पर्यटनको वृद्धि हुनेछ र सबै महत्वपूर्ण घटनामाथि यसको सकारात्मक प्रभाव पर्नेछ । जसमध्ये एक बहुप्रतिक्षित आयोजना एक्स्पो २०२१ पनि हो । यो अन्तर्राष्ट्रिय आयोजनामा थुप्रै महत्वपूर्ण लगानीकर्ता र लाखौं दर्शक पनि समावेश हुनेछन् ।

प्रवासीका लागि सम्बन्धविच्छेद र सम्पत्तिसँग जोडिएको कानूनमा हुन लागेको संशोधन सबैभन्दा महत्वपूर्ण हो । यो कानूनी संशोधनपछि अब कुनै जोडीले आफ्नो देशमा विवाह गरेर संयुक्त अरब इमिरेट्समा सम्बन्धविच्छेद गर्छन् भने यसका लागि उनीहरुमा विवाह गरेकै देशको कानून लागू हुनेछ । अर्थात्, उनीहरुको आफ्नो देशको कानून उनीहरुका लागि मान्य हुनेछ ।

अलखजालाई लाग्छ कि यी संशोधन लागू गर्न सहज हुनेछ र यो प्रभावकारी पनि हुनेछ । उनले भने, ‘संयुक्त अरब इमिरेट्स समाज प्रवासी र यहाँका मूल नागरिकको एक मिश्रण हो । दुबै बहुसंख्यकका बीच एक–अर्काबीच स्विकारको भाव छ र उनीहरु सबै संस्कृतिलाई सम्मान पनि गर्छन् ।’

साथै ती कानूनमा पनि परिवर्तन गरिएको छ जसमा अनर क्राइमले अहिलेसम्म संरक्षण प्राप्त थियो । अब यसलाई अपराधको श्रेणीमा राखिएको छ । नाबालिग र मानसिक रुपमा कम विकसित व्यक्तिलाई बलात्कार गर्ने व्यक्तिलाई अब मृत्युदण्ड दिइने प्रावधान छ ।

लाइसेन्स बिना मद्यपान गर्दा अब कुनै पनि प्रकारको सजायको सामना गर्नुपर्ने छैन । यद्यपि, मद्यपान र मदिरा खरिदका लागि केही शर्त भने लगाइएको छ । जसमध्ये एक रक्सी पिउनेहरुको उमेर २१ वर्षभन्दा माथि हुनुपर्नेछ ।

एक प्रवासीले भने, ‘पहिला रक्सी पिउन सधैं डराउनुपर्दथ्यो । अब कानूनमा भएको परिवर्तनले हामी थोरै भएपछि सुरक्षित महसुस गरिरहेका छौं ।’

यी परिवर्तनका साथै अब अविवाहित जोडीलाई सँगै बस्ने छुट दिइएको छ । संयुक्त अरब इमिरेट्समा यसअघि अविवाहित जोडी सँगै बस्नु अपराध थियो ।

यो नयाँ संशोधन विदेशी नागरिकलाई विरासत, विवाह र सम्बन्धविच्छेदसहित विभिन्न मुद्दामा इस्लामिक शरिया अदातलबाट बच्ने अनुमति पनि दिन्छ । –बीबीसी

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप