शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय सुनुवाई समितिको बैठकमा युवराज खतिवडाको आलोचना

बिहीबार, २७ कात्तिक २०७७, १८ : ३२
बिहीबार, २७ कात्तिक २०७७

काठमाडौं । अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडाको सुनुवाईमा सांसदहरुले एमसीसी, क्यापिटल मर्चेन्ट बैंकिङ प्रकरण, एनसेल, स्वेतपत्र लगायतका विषय उठाउँदै प्रश्न गरेका छन् । संघीय संसदको संसदीय सुनुवाई समितिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेताहरुले अर्थमन्त्री खतिवडाले विगतमा गरेका कामहरुलाई लिएर कडा प्रश्न गरेका हुन् । सुनुवाइका क्रममा नेकपाका सांसद एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री भएको बेला एमसिसी पारित गराउन भूमिका खेल्न नसक्नेले राजदूत भएर कसरी भूमिका खेल्नुहुन्छ भन्दै प्रश्न गरे ।

यस्तै डा. खतिवडा अर्थमन्त्री भएलगत्तै ल्याएको स्वेतपत्रमा अर्थतन्त्रको अवस्था कमजोर देखाइएको भन्दै पाण्डेले प्रश्न गरे । देशमा उच्च आर्थिक वृद्धि भएको अवस्थामा अर्थतन्त्र कोल्याप्स हुन लागेको जस्तो स्वेत पत्र जारी गर्नु अनुचित भएको उनले बताए । यस्तै क्यापिटल मर्चेन्ट बैंकिङ प्रकरणको सम्बन्धमा समेत सांसद पाण्डेले स्पष्ट पार्न आग्रह गरे । त्यसबाहेक एनसेल प्रकरणमा सर्वोच्च अदालतको फैसलाको बारेमा केही मुद्दा चलेको भन्ने सुनिएको र त्यसमा अर्थमन्त्री हुँदा मुद्दाको प्रतिवादी नलगाउन निर्देशन दिएको भन्ने प्रश्न उठेको भन्दै स्पष्ट पार्न सांसद पाण्डेले आग्रह गरे ।

नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डा.खतिवडा अर्थमन्त्री हुने वित्तिकै ल्याएको स्वेत पत्रलाई लालपत्रको संज्ञा दिए । उनले स्वेतपत्र प्रस्तुत गरेर आफ्नै विश्वसनियतामाथि प्रश्न उठाउने काम गरेको बताए ।
सुनुवाईमा नेपाली काँग्रेसकी सांसद पुष्पा भुषालले डा.खतिवडा अर्थमन्त्री भएपछि धेरै गलत निर्णयहरु गरेको बताइन् ।

विद्युतीय मोटर र पुस्तकमा कर बढाउने र चक्लेटमा घटाउने काम गरेको र अर्थमन्त्रीबाट हट्ने वित्तिकै सरकारले नै त्यसलाई उल्ट्याउने निर्णयले डा.खतिवडाका निर्णयहरु गलत थिए भन्ने पुष्टि भएको उनले बताइन् । राजदूत भएर एमसीसीको प्रक्रिया अगाडि बढाउन भूमिका खेल्ने आधार स्पष्ट पार्न समेत उनले आग्रह गरिन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद शिवकुमार मण्डलले अर्थमन्त्री भएको बेला आफ्नै नातेदारले चक्लेटजन्य वस्तुहरु आयात गर्ने व्यवसाय गर्ने भएकाले कर घटाइदिएको आरोप लागेको भन्दै स्पष्ट पार्न आग्रह गरे ।

नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले डा.खतिवडालाई राजदूत नियुक्त गरेर प्रधानमन्त्री ओली चुकेको बताए । देशलाई आवश्यक पर्ने व्यक्ति देशभित्रै बसेर काम गर्नपर्नेमा राजदूत बनेर अमेरिका पुग्नु व्यक्तिगत स्वार्थको लागि मात्रै हुने उनले बताए । नेपाली काँग्रेसका अर्का सांसद भिमसेनदास प्रधानले डा.खतिवडालाई जहिले पनि पद चाहिने गरेको आरोप लगाए । आर्यघाट नपुग्दासम्म पदमै बसिरहनुपर्ने प्रवृतिले देशको विकासमा बाधा पुगेको उनको भनाई छ ।

सुनुवाईमा जनता समाजवादी पार्टीका सांसद राजेन्द्रप्रसाद श्रेष्ठले क्यापिटल मर्चेन्ट बैंकिङ प्रकरणमा डा.खतिवडा गभर्नर भएको बेला मतियारको रुपमा काम गरेको आरोप लगाए । तत्कालिन समयमा बैंकिङ कसुर अनुरुप कारबाही हुनुपर्ने व्यक्तिहरुलाई कारबाही गर्न डा.खतिवडाले उपयुक्त कारबाही चलाउन नसकेको सन्दर्भमा प्रश्न गरे ।

सांसदहरुको प्रश्नको जवाफमा पूर्वअर्थमन्त्री एवं अमेरिकाका लागि प्रस्तावित राजदूत डा.खतिवडाले अहिले पनि अर्थतन्त्र सही ठाउँमा नरहेको बताए । उनले देशको राजस्व र खर्च प्रणाली चापमा रहेको र सबै बजेट खर्च गर्नेहो भने स्रोतमा चाप पर्न सक्ने स्थिति अहिले पनि रहेको बताए । उनले आफुले स्वेतपत्रमा उल्लेख भएका समस्याहरु अहिले पनि रहेको तर केही हदसम्म आफुले सुधार गरेको दावी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप