मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षाविद् केदारभक्त माथेमाद्वारा शैक्षिक सूचनामुलक वेव पोर्टलको शुभारम्भ

बिहीबार, २७ कात्तिक २०७७, १५ : ५३
बिहीबार, २७ कात्तिक २०७७

शिक्षाविद् प्रा.डा. केदारभक्त माथेमाले बिहीबार डब्लुडब्लुस्टडीइन्फोसेन्टरडटकम (www.studyinfocentre.com) नामक शैक्षिक सूचनामुलक वेव पोर्टलको शुभारम्भ गरेका छन् । विश्वका विभिन्न देशवाट सहभागी शिक्षाविद्, विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरु, विद्यार्थीहरु तथा संचारकर्मीहरु जुम मार्फत सहभागी भएको कार्यक्रमबाट वेव पोर्टलको शुभारम्भ गरिएको हो । डब्लुडब्लुस्टडीइन्फोसेन्टरडटकम (www.studyinfocentre.com) नेपाली नागरिक तथा गैरआवासीय नेपाली नागरिकहरुको संयुक्त लगानीमा स्थापित स्टडी इन्फो सेन्टरद्वारा संचालित वेव पोर्टल हो । 

आफूलाई उपयुक्त कलेज खोज्न, ती कलेजहरु बीच तुलना गर्न, कलेजसँग सम्पर्क गर्न र आफूले छनौट गरेको कलेजमा भर्ना आवेदन दिन यो पोर्टल उपयोगी हुने विश्वास लिइएको छ । साथै, यसमा विद्यार्थी तथा अभिभावकलाई लक्षित गरेर विद्यार्थीले यस पोर्टलमा संलग्न विज्ञहरुसँग प्रत्यक्ष संवाद गर्न सक्ने सुविधा पनि यसमा उपलब्ध रहेको छ । यस्तो प्रकृतिको यो नेपाल कै पहिलो वेव पोर्टल भएको जानकारी स्टडी इन्फो सेन्टरले दिएको छ । 

आफ्नो देशमा तथा विदेशमा समेत आफूले अध्ययन गर्न चाहेको विषय, शैक्षिक संस्था, लाग्ने खर्च, त्यस स्थानमा रोजगारीका अवसरहरु, अध्ययन गर्न चाहेको देशमा शिक्षा तथा भिषा नितिहरुको सूचना समेत यस पोर्टलमा समावेव गरिएको छ ।

विद्यार्थीलाई सुचनामा सुलभ पहुच पुर्याउने उद्येश्यका साथ स्थापित यो संस्थाले यस्तै प्रकारका विभिन्न सूचना प्रदायक अन्य पोर्टलहरु पनि संचालनमा ल्याउन लागिएको हुँदा सवै पक्षको सुझाव र हौसलाको अपेक्षा गरिएको जानकारी कार्यक्रममा आयोजकहरुले दिएका थिए । 

कार्यक्रममा उपस्थित शिक्षाविद्हरु, विभिन्न शैक्षिक संस्थाहरुका प्रतिनिधिहरु, संचारकर्मीहरु, गैरआवासीय नेपाली संघका प्रतिनिधि लगायतले शुभकामना प्रदान गरेका थिए ।
हिसानका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, रमेश सिलवालले विद्यार्थीलाई आफ्नो लागि उपयुक्त विषय स्वतन्त्र रुपमा छनौट गर्न यस पोर्टलले सहयोग पुर्याउने अपेक्षा गर्दै शुभकामना प्रदान गरे ।
त्यस्तै, एनआरएन अन्तराष्ट्रिय कमिटीका उपाध्यक्ष, मन केसीले नेपालीहरुको विश्वका विभिन्न स्थानमा प्रभाव विस्तार गर्न यसले सकारात्मक प्रभाव पार्न सक्ने अपेक्षा गर्दै सफलताको कामना व्यक्त गरे । 

पोखरा विश्वविद्यालयका उपकुलपति, प्रा. डा. प्रेम नारायण अर्यालले नेपाली शिक्षा क्षेत्रलाई विश्वका विभिन्न देशका विश्वविद्यालयसंग सन्जाल विस्तार गर्न र शिक्षा सम्वन्धि विविध सूचना एक आपसमा आदान प्रदान गर्न यो पोर्टल उपयोगि हुने अपेक्षा गर्दे शुभकामना दिए  । 

त्रिभुवन विश्व विद्यालयका पूर्व उपकुलपति, प्रा. डा. कमलकृष्ण जोशीले देशको विकासका लागि गुणस्तरीय शिक्षा अनिवार्य छ र गुणस्तरिय शिक्षाको लागि विद्यार्थी देश विदेशका जुनसुकै विश्वविद्यालयमा जानु स्वभाविक रहेको जानकारी गराए  । 

यसैगरी त्रिविकै पूर्वउपकुलपति, प्रा. डा. तीर्थ खनियाले उपयुक्त विकल्पको सुचनाको अभावले समस्यामा परेका विद्यार्थी माझ यस पोर्टलले पर्याप्त सूचना र विकल्पहरुमा सहज पहुच स्थापित गर्न र विद्यार्थीलाई उपयुक्त परामर्श प्रदान गर्न र उच्च शिक्षाको क्षेत्रमा नयाँ बहसहरुको सृजना गर्न यसले सहयोग पुर्याउने अपेक्षा गर्न सकिने बताए । 

कार्यक्रमका प्रमुख अतिथि तथा त्रिभुवन विश्व विद्यालयका पूर्वउपकुलपति समेत रहेका केदारभक्त माथेमाले विद्यार्थीहरु एक देशबाट अर्को देशमा अध्ययन गर्न जाने परम्परा आजको युगमा मात्र नभएर परम्परागत रुपमा नै चलिआएको अभ्यास रहेको जानकारी गराए  । उनले एक देशबाट अर्को देशमा गएर पढ्दा विचारमा विविधिकरण हुन, नविनतामा बृद्धि हुने र विचार फराकिलो हुने आफ्नो विचार रहेको धारणा राखे ।  

कार्यक्रममा उपस्थितलाई धन्यवाद दिदै संस्थाका निर्देशक टी एन अर्यालले पोर्टलका उद्येश्य तथा विशेषताहरुको बारेमा जानकारी गराएका थिए। आम विद्यार्थी, अभिभावक, शिक्षा सम्वन्धि अनुसन्धानकर्ता, शैक्षिक परामर्शदाता तथा शैक्षिक संस्थाहरुलाई एउटै थलोमा ल्याएर सूचना आदान प्रदान गर्न सहजीकरण गर्न यसले विशेष भूमिका खेल्ने जानकारी अर्यालले दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप