शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चुनौतीपूर्ण ‘थापाथली र एयरपोर्ट’ ट्राफिक प्रभाग महिला कमाण्डरको जिम्मामा

बिहीबार, २७ कात्तिक २०७७, १४ : ००
बिहीबार, २७ कात्तिक २०७७

काठमाडौँ उपत्यकाको एयरपोर्ट र थापाथली चोक ट्राफिक व्यवस्थापनको हिसाबले चुनौतीपूर्ण मानिन्छ । चुनौतीका बाबजुद महानगरीय ट्राफिक महाशाखाले महानगरीय ट्राफिक प्रहरी प्रभाग थापाथली र विमानस्थलमा महिला ट्राफिक प्रहरीलाई इन्चार्ज बनाएर पठाएको छ ।

यतिबेला प्रहरी निरीक्षक प्रसिद्धिका कँडेलले थापाथली ट्राफिक प्रहरी प्रभागको जिम्मेवारी सम्हालेकी छिन् भने विमानस्थल प्रभागको जिम्मेवारी प्रहरी निरीक्षक कमला सुवेदीलाई दिइएको महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले जानकारी दिए ।

तुलनात्मक रूपमा महिला प्रहरीको काम बढी प्रभावकारी देखिएकोले संवेदनशील मानिएको थापाथली र विमानस्थल जस्तो क्षेत्रमा महिला प्रहरी नै उपयुक्त भएको एसएसपी ढकाल बताउँछन् । नियम उल्लघंन गर्नेलाई महिला प्रहरीले तत्कालै कारबाही गर्नसक्ने एसएसपी ढकालले बताए ।

‘महिला ट्राफिक प्रहरीको इमान्दार, कार्यदक्षता र प्रभाव धेरै देखिएकाले थापाथली र विमानस्थल क्षेत्रको जिम्मा उहाँहरूलाई दिइएको हो,’ एसएसपी ढकालले रातोपाटीसँग भने, ‘महिलाहरू अनुशासित हुन्छन् । काममा उनीहरू लगनशील भएर लाग्छन् ।’ उपत्यकाको अन्य केही ठाउँमा महिला ट्राफिकलाई जिम्मेवारी दिइने तयारी भइरहेको ढकालको भनाइ छ ।

इन्चार्ज मात्र नभएर थापाथली र विमानस्थल प्रभागमा कार्यरत सबै महिला प्रहरी हुन् । ट्राफिक व्यवस्थापनको चुनौती सामना गर्नसक्ने क्षमता महिला प्रहरीसँग रहेको एसएसपी ढकालले बताए । हाल काठमाडौँ उपत्यकामा २०४ जना महिला ट्राफिक प्रहरी कार्यरत रहेको महाशाखाले जनाएको छ ।

महिला प्रहरी मात्र हुँदा आपसी समस्या साट्न र बुझ्न धेरै मद्दत हुने : प्रसिद्धिका कँडेल, थापाथली प्रभाग

थापाथली आएको छोटो समयमा ट्राफिक व्यवस्थापन चुस्त बनाउन नियमित रुपमा खटिरहेकी छिन् इन्सपेक्टर कँडेल । महिला प्रहरी मात्र हुँदा आपसी समस्या साट्न र बुझ्न धेरै मद्दत हुने कँडेलले बताइन् । उनले भनिन्, ‘अवरसर पाए महिलाले मात्रै पनि सम्पूर्ण जिम्मेवारी सम्हाल्न सक्छन् भन्ने पुष्टि हुन्छ ।’

थापाथली प्रभागकी इन्चार्ज इन्सपेक्टर प्रसिद्धिका कँडेलेको टोलीमा ३८ जना महिला ट्राफिक प्रहरी छन् । सबै महिलाबीच काम गर्दा धेरै कुरामा सहज हुने र आफ्नो आत्मविश्वासका साथै कार्यक्षमता बढ्ने इन्सपेक्टर कँडेल बताउँछिन् ।

यसअघि महानगरीय प्रहरी रानीपोखरीमा कार्यरत इन्सपेक्टर कँडेलले १२ कात्तिकमा थापाथली प्रभागमा इन्चार्जको जिम्मेवारी सम्हालेकी हुन् । कँडेल ट्राफिक प्रहरीमा फ्रेस अधिकृत हुन् । महिला प्रहरीहरु सतर्क रहने र तुरुन्तै कारबाही गर्नसक्ने कँडेलको बुझाइ छ ।

थापाथली आएको छोटो समयमा ट्राफिक व्यवस्थापन चुस्त बनाउन नियमित रुपमा खटिरहेकी छिन् इन्सपेक्टर कँडेल । महिला प्रहरी मात्र हुँदा आपसी समस्या साट्न र बुझ्न धेरै मद्दत हुने कँडेलले बताइन् । उनले भनिन्, ‘अवरसर पाए महिलाले मात्रै पनि सम्पूर्ण जिम्मेवारी सम्हाल्न सक्छन् भन्ने पुष्टि हुन्छ ।’

काठमाडौँबाट ललितपुर छिर्ने मुलबाटो रहेको थापाथली चोक दिनभर व्यस्त हुन्छ । व्यस्त सडकमा दैनिक हजारौंको संख्यामा गाडीहरु गुड्छ । व्यस्तताको अनुपातमा थापाथली चोकको ट्राफिक व्यवस्थापन चुस्त रहेको महाशाखाले जनाएको छ ।

महिलाहरू नै यसरी एउटा पूरै क्षेत्र हाँकेर बस्दा आत्मविश्वास बढ्छ : कमला सुवेदी, विमानस्थल प्रभाग

महानगरीय प्रहरी प्रभाग विमानस्थलकी प्रहरी निरीक्षक कमला सुवेदीको टोलीमा ३४ जना महिला ट्राफिक प्रहरी छन् । २५ जना प्रभागमा कार्यरत छन् भने ९ जना अस्थायी ट्राफिक प्रहरी पोष्ट विमानस्थलभित्र कार्यरत छन् । सुवेदी विमानस्थल प्रभागमा इन्चार्ज भएर आएको करिब एक महिना भयो ।

महिला प्रहरी साथीहरुसँग मात्र काम गर्न पाउँदा निकै गर्व महसुस भएको सुवेदीले बताइन् । ‘यो काम गर, त्यो काम गर भनेर सकैलाई अह्राइरहन पर्दैन । एकआपसमा सरसल्लाह गरेर आफ्नो ड्युटी पूरा गर्छन्,’ सुवेदीले रातोपाटीसँग भनिन्, ‘महिलाहरू नै यसरी एउटा पूरै क्षेत्र हाँकेर बस्दा आत्मविश्वास बढ्छ ।’

ट्राफिक प्रहरीमा पहिलो अुनभव रहेको सुनाउँदै इन्सपेक्टर सुवेदीले आफूहरूले कुनै काममा कसर बाँकी नराख्ने बताउँछिन् । ‘महिला ट्राफिक प्रहरी भनेर त लापरबाही गर्ने विमानस्थलका ट्याक्सी चालकहरू पनि हच्किन्छन्,’ सुवेदीले भनिन् । ट्राफिक नियम पालना र चुस्त व्यवस्थापन गर्नु ट्राफिक प्रहरीको कर्तव्य रहेको उनी बताउँछिन् ।

महिला प्रहरी साथीहरुसँग मात्र काम गर्न पाउँदा निकै गर्व महसुस भएको सुवेदीले बताइन् । ‘यो काम गर, त्यो काम गर भनेर सकैलाई अह्राइरहन पर्दैन । एकआपसमा सरसल्लाह गरेर आफ्नो ड्युटी पूरा गर्छन्,’ सुवेदीले रातोपाटीसँग भनिन्, ‘महिलाहरू नै यसरी एउटा पूरै क्षेत्र हाँकेर बस्दा आत्मविश्वास बढ्छ ।’

विमानस्थलमा विदेशी नागरिकहरुसँग समेत व्यवहार गर्नुपर्ने भएकाले काममा चुनौती रहेको इन्सपेक्टर सुवेदी भन्छिन्, ‘तर पनि अन्तर्राष्ट्रिय स्तरमा काम गरेको महसुस हुन्छ । मुल्याङकन गर्नेले कसरी गर्छ थाहा भएन ।’ महाशाखाबाट नेतृत्व आएर आफूहरुको कामको अवस्थाबारे बुझ्ने गरेको उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप