जीर्ण बन्दै राप्ती लोकमार्ग : सुविधाभन्दा सास्ती धेरै
राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान–रुकुम खण्ड जीर्ण बन्दै गएको छ । लोकमार्गमा गरिएको वटासिल उप्किएपछि केही समयअघि टालटुल गरिएको थियो तर टालटुल गरिएको वटासिल उप्किएपछि पुनः उस्तै समस्या देखिएको छ ।
राप्ती लोकमार्गका विभिन्न स्थानमा अहिले कतै सडक खाल्डाखुल्डी छ त कतै कालोपत्र उप्किएर धुलाम्य भएको छ । यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । अधिकांश स्थानमा ठेकेदारले गुणस्तरीय काम नगर्दा छोटो समयमै कालोपत्र उप्किएको स्थानीयवासीको भनाइ छ । वटासिल उप्किएपछि सडक धुलाम्य बन्दै गएको छ ।
दाङसल्यानरुकुम खण्ड जीर्ण बन्दा स्थानीयवासीलाई सास्ती भएको स्थानीय लालबहादुर खत्रीले बताए । उनका अनुसार दाङ–सल्यान खण्डको राम्रीबाट शीतलपाटी र शीतलपाटीबाट खौलासम्म सबैभन्दा बढी खाल्डाखुल्डी छन् । “सडकको अवस्था दयनीय हुँदा पनि सम्बन्धित निकाय मौन छ”, उनले भने, “सडक पूर्णरूपमा कालोपत्र भए तुलसीपुरबाट सल्यान खलङ्गा आउन बढीमा डेढ घण्टा लाग्छ, तर जीर्ण सडकका कारण गाडीले चार घण्टाभन्दा बढी समय लगाउने गरेका छन् ।”
गाडी चालकसमेत रहनुभएका खत्रीका अनुसार सडक जीर्ण बनेपछि यात्रा गर्दा गाडीले उछार्नेपछार्ने गर्दछ, यात्रु गन्तव्यमा नपुग्दै बिरामी हुने अवस्था छ, यात्रा गर्न जोखिम पनि उत्तिकै छ । बर्सातमा हिलो र हिउँदमा धुलोका कारण नागरिकले सास्ती पाउँदा पनि सम्बन्धित निकाय मौन रहेको उनको गुनासो छ ।
यातायात व्यवसायी प्रकाश भण्डारीले राप्ती लोकमार्गको सबै क्षेत्रमा खाल्डाखुल्डी परेकाले गाडी चलाउन कठिनाइ हुने गरेको बताए । “जीर्ण सडकका कारण गाडी छिटो बिग्रने र दुर्घटना हुने जोखिम पनि त्यत्तिकै मात्रामा रहन्छ”, उनले भने । सडक मर्मतको नाममा करोडौँ रकम विनियोजन गरिए पनि सडकको अवस्था बिग्रँदै गएको उनको भनाइ छ । सम्बन्धित निकाय मौन बस्दा समस्या भएको उनको दुखेसो छ ।
अस्तव्यस्त राप्ती लोकमार्गका कारण गाडी दुर्घटना पनि बढेको छ । सडक निर्माण भएको लामो सममसम्म पनि सडक चौडा नभएका कारण सडक जीर्ण बनेसँगै दुर्घटना बढेको हो । सडक साँघुरो हुनु, खाल्डाखुल्डी हुनु तथा गाडीलाई घुम्तीमा साँघुरो हुनुका कारण दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका इन्चार्ज प्रहरी सहायक निरीक्षक सन्दीप विकले जानकारी दिए ।
विगतका केही ठूला दुर्घटनालाई हेर्ने हो भने राप्ती लोकमार्गमा दुर्घटना धेरै हुने गरेको देखाउँछ । विसं २०६३ मा सल्यानको भाण्टाखोलामा गाडी दुर्घटना हुँदा ४० भन्दा बढीको मुत्यु भएको थियो । यस्तै विसं २०७५ मा राम्रीमा स्कूलबस दुर्घटना हुँदा २२ भन्दा बढीको मृत्यु भएको थियो । राप्ती लोकमार्गअन्तर्गत अमेलियाबाट रुकुमको सल्लेसम्म १६८ दशमलव ५४ किलोमिटर सडक पर्दछ । यसमा दाङ क्षेत्रमा सडकको अवस्था सन्तोषजनक नै भए पनि सल्यान खण्ड र रुकुम खण्ड जीर्ण बनेको छ ।
सडक डिभिजन कार्यालय दाङले राप्ती लोकमार्गको सडक स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ । कार्यालयका प्रमुख नीरज शाक्यले ठेक्का व्यवस्थापनको काम भइरहेको र दुई प्याकेजमा काम अगाडि बढाउने तयारी भइरहेको जानकारी दिए । उनले चोरखोलाबाट शीतलपाटीसम्म र शीतलपाटीबाट मुसीकोटसम्म गरेर दुई प्याकेजमा काम गरिने जानकारी दिए ।
“शीतलपाटी–मुसीकोट खण्डमा कामको थालनी भएको छ, चोरखोलाबाट शीतलपाटीसम्मका लागि ठेक्का व्यवस्थापनको काम भइरहेको छ, डबल कटिङसहित सडकको स्तरवृद्धि गरिनेछ”, उनले भने । उनका अनुसार चोरखोला–शीतलपाटीका लागि रु १५ करोड विनियोजन भएको छ भने शीतलपाटी–मुसीकोटको काम रु चार करोड ९५ लाखमा शुरु गरिएको छ । चोरखोला–शीतलपाटी सडकको ठेक्का प्रक्रिया अगाडि बढाएको बताउँदै बहुवर्षीय आयोजनाअन्तर्गत काम गरिने उनले जानकारी दिए ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जीर्ण बन्दै गएको राप्ती लोकमार्गको स्तरोन्नतिका लागि पहल भइरहेको जानकारी दिनुभयो । उहाँले अबको केही समयमा नै ठेक्का प्रक्रिया शुरु गरेर कामको थालनी गरिने जानकारी दिनुभयो । यसका लागि बजेट सुनिश्चित भइसकेको उनको भनाइ छ ।
“कर्णाली र लुम्बिनी प्रदेशलाई जोड्ने मुख्य मार्गका रूपमा रहेको राप्ती लोकमार्गको स्तरोन्नतिका लागि विगतदेखि नै पहल गर्दै आएको छु, आर्थिक वर्ष २०७५÷७६ मा सल्यान–दाङको सिमानाबाट सल्यानतर्फको सडकको स्तरोन्नति गर्न दुई प्याकेजका लागि करिब रु ९६ करोड सुनिश्चित भएको थियो, तर एउटा बोलपत्र भएर पनि रद्द भयो, अर्को बोलपत्र नै हुन सकेन”, उनले भने ।
गत वर्ष निर्माण भएको नयाँ नियमावलीमा बहुवर्षीय ठेक्कामा लैजानका लागि बजेट कम भएकाले समस्या भएको उनको भनाइ छ । मन्त्री ज्वालाले यस वर्ष बजेट सुनिश्चित भएकाले बहुवर्षीय ठेक्कामा लैजाने तयारी भएको र अबको केही महिनामा काम सञ्चालनका लागि सडक डिभिजन कार्यालयले बोलपत्र आह्वान गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आचारसंहिता मिच्ने थप २ सञ्चारमाध्यम कालोसूचीमा
-
पाँच महिनामा लुम्बिनी प्रदेश सरकारको बजेट खर्च १३ प्रतिशतमात्र
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
सामाजिक सुरक्षा कोषद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान