शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड-नेपालले बिहीबार बोलाएको बैठकमा सहभागी होलान् त ओली ?

बुधबार, २६ कात्तिक २०७७, १६ : ४५
बुधबार, २६ कात्तिक २०७७

काठमाडौं । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अनिच्छाका बाबजुद सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यले बिहीबारका लागि बैठक बोलाएका छन् ।  तर, उक्त बैठकमा ओली लगायत उनी निकटका अन्य सचिवालय सदस्यहरु सहभागी हुने या नहुने भन्ने अन्योल कायमै रहँदा बैठक बस्छ या बस्दैन भन्ने पनि निश्चित भैसकेको छैन । यद्यपि ओलीसँग असन्तुष्ट रहेका नेताहरुले भने बिहीबारको बैठक नरोकिने बताइरहेका छन् । 

मंगलबार अध्यक्ष प्रचण्डसहितका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीचको अनौपचारिक छलफलले बिहीबार बैठक बोलाउने निर्णय गर्दै उक्त बैठकमा अर्का अध्यक्ष ओली पनि सहभागी हुने अपेक्षा गरेका थिए । तर, ओलीले बुधबार बेलुकासम्म पनि सो बैठकमा सहभागी हुने वा सहमति दिने कुनै सिंग्नल दिइसकेका छैनन् ।

यद्यपी, मंगलबारै ओली र प्रचण्डबीच भएको भेटवार्तामा ओली बैठकका लागि थोरै लचिलो बनेको नेताहरुले बताउँदै आएका छन् । बुधबार ओली दिनभर उपत्यका बाहिरको कार्यक्रममा सहभागी भएकाले प्रचण्डसहितका ५ नेताले बिहीबारका लागि बैठक बोलाउने निर्णय गरेका हुन् । ओली आज बुधबार केही आयोजनाहरुको निरीक्षण गर्न संखुवासभा पुगेर फर्किसकेका छन् । 

नेकपाको हालको विधानअनुसार दुई अध्यक्षको सहमतिमा महासचिवले बैठक बोलाउने व्यवस्था छ । यो व्यवस्था अनुसार पनि बैठकका लागि दुवै अध्यक्षको सहमति जरुरी देखिन्छ । एक अध्यक्षको सहमतिबेगर बैठक बोलाए त्यसको कुनै बैधानिकता नै नरहने अवस्थामा बिहीवारका लागि बोलाइएको बैठक के होला ? भन्ने चासो नेकपा बृत्तमा बढेको छ । खासगरी बिहीबारको बैठकमा ओली सहभागी होलान् ? या नहोलान् ? ओली सहभागी नभए त्यो बैठकको उपादेयता के रहला ? वा पार्टी फुटको घोषणा त्यहीबाट होला कि भन्ने चिन्ता कार्यकर्ता तहमा बढेको छ । 

नेकपा स्थायी समिति सदस्य समेत रहेका नेता सुवास नेम्वाङ पनि महासचिव विष्णु पौडेल सहमतिमा बैठक बोलाउने प्रयासस्वरुप दुवै अध्यक्षसँग वारम्वार सम्पर्कमा रहिरहेको बताउँछन् ।  ‘महासचिवज्युले बैठकका लागि निरन्तर प्रयास गरिरहनु भएको छ । दुबै अध्यक्षसँग सम्वाद पनि गरिरहनुभएको छ । सायद उहाँले चाडै बैठक आह्वान गर्नुहोला’, नेम्वाङको भनाइ छ ।

बिहीबार सचिवालय बैठक बोलाएकोबारे आफुलाई कुनै जानकारी नभएको पनि नेम्वाङले बताए ।  ‘बिहीबार कसले बैठक बोलायो र ? मलाई त बिहीबार बैठक बोलाएकोबारे जानकारी छैन’, मंगलबार ५ नेताले छलफल गरेर बैठक बोलाएकोबारे नेम्वाङले अनविज्ञता प्रकट गरे । 

बैठक बसे के हुन्छ ?

ओलीको सहमतिविनै बैठक बसे के होला ? यसको सिधा जवाफ छ ‘विवाद थप बढ्छ ।’ नेकपाका एक स्थायी समिति सदस्य भन्छन्, ‘अहिले पार्टी फुट्ने नै तहमा पुगेको छैन । यदि त्यस्तो हुने हो भने ठुलै हल्लाखल्ला र रुवाबासी हुने थियो । त्यो भएकाले पनि भोलिको बैठक राखेर प्रचण्ड नेपाल समूहले दवाव सिर्जना गर्न खोजेका मात्रै हुन् ।’ उनका अनुसार एकपक्षीय रुपमा बैठक बोलाएर बस्दा त्यसले पार्टी फुटतिर जान्छ भन्ने कुरामा ओली र प्रचण्ड नेपाल पनि जानकार छन् । 

‘अहिले खासगरी दुवै पक्ष एकले अर्कालाई दवाव दिइरहेका छन् । बैठक बोलाउनुपर्छ भन्ने पक्ष र तत्कालै बैठकको आवश्यक्ता नदेख्ने दुवै पक्षको रणनीति एकले अर्कालाई गलाउने नै देखिन्छ  । अन्तिममा दुवै पक्षको सहमतिमा बैठक बस्छ र चिसो पानीले नुहाएको अनुभव गर्ने हुन्’, ती सदस्यको भनाई छ । 

नेता नेम्वाङ पनि अध्यक्ष ओलीले महासचिवलाई बैठक बोलाउन आदेश दिइसकेकाले चाँडै बैठक बोलाउने तयारीमा रहेको बताउँछन् । उनकाअनुसार विधानअनुसार दुई अध्यक्षको परामर्शमा महासचिवले बैठक बोलाउने व्यवस्था छ । त्यसरी बोलाएको बैठकमा दुई अध्यक्षले प्रस्ताव लैजाने र त्यसमा छलफल गरेर बैठकका एजेण्डा तय गर्नुपर्ने हुन्छ । यद्यपि सचिवालय बैठक यति दिनभित्र बस्ने भन्ने छैन । आवश्यक्ताअनुसार सो समितिको बैठक बस्न सक्ने व्यवस्था छ । महासचिव पौडेल निकट स्रोतका अनुसार ओली संखुवासभाबाट फर्केपछि अध्यक्ष ओलीलाई भेटेर बैठकबारे परामर्श गर्ने तयारीमा छन् । 

ओली आउने अपेक्षा 

मंगलबार पार्टी कार्यालय धुम्बराहीमा भएको ५ नेताको अनौपचारिक छलफलपछि वरिष्ठ नेता माधवकुमार नेपालले पनि प्रधानमन्त्री ओलीकै सहभागितामा बिहीबार केन्द्रीय सचिवालय बैठक बस्ने सम्भावना रहेको प्रतिक्रिया दिएका थिए । ‘बिहीबार सचिवालयको औपचारिक बैठक बस्छ, सम्भवतः प्रधानमन्त्री पनि सहभागी हुनुहुनेछ,’ नेपालको संक्षिप्त प्रतिक्रिया थियो । 

प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहीबार बैठक बस्न अध्यक्ष प्रचण्डले प्रस्ताव गरेअनुसार प्रधानमन्त्री ओलीले समेत सहमति जनाउने र सहभागी हुने आशा राखिएको बताएका छन् । ‘हामी अपेक्षा गर्छौं कि, अध्यक्ष प्रचण्डको प्रस्तावअनुसार बुधबारको कार्यक्रम सकिएपछि उहाँ (प्रधानमन्त्री)ले बिहीबार बैठक बस्ने कुरामा सहमति जनाउनुहुनेछ र सहमतिकै आधारमा सचिवालय बैठक बस्नेछ,’ श्रेष्ठको भनाई छ ।

यद्यपी मंगलबार प्रचण्डसँगको भेटमा ओलीले दुई अध्यक्षको सहमति नभएसम्म बैठक बसाल्न नसकिने स्पष्ट पारिसकेका छन् । एकपक्षीय बैठक बसाले त्यसको बदलामा अर्को कदम चाल्ने चेतावनी पनि ओलीले मंगलबार पुनः दोहोर्याइसकेका छन् । 

यसअघि प्रचण्डसहितका पाँचजना सचिवालय सदस्यले २२ गते प्रधानमन्त्रीलाई भेटेर लिखित रूपमै सचिवालय बैठक बस्ने कुरामा सहमति जनाउन अनुरोध गरेका थिए । ओलीको सहमति हुने अपेक्षा गरेका उनीहरुले त्यस्तो संकेत नपाएपछि मंगलबार पुनः छलफल गरेर थप दुई दिन कुर्ने निश्कर्षमा पुगेका हुन् । 

के छ नेकपाको विधानमा ?

नेकपाको अन्तरिम विधानको धारा ५९ को उपधारा २ मा केन्द्रीय सचिवालय बैठक आवश्यकताअनुसार बस्ने उल्लेख छ । त्यस्तै, उपधारा ४ मा कमिटीका २५ प्रतिशत सदस्यले लिखित माग गरेको खण्डमा केन्द्रीय कमिटीको बैठक एक महिनाभित्र र मातहत कमिटीको बैठक १५ दिनभित्र बोलाउनुपर्ने व्यवस्था छ । सोमबार महासचिव विष्णु पौडेललाई बोलाएर प्रधानमन्त्री ओलीले लिखित अनुरोधपत्रमा बैठकको माग भएकाले विधान बमोजिम हुने गरी प्रक्रियामा लैजान निर्देशन दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप