केन्द्रीय संस्करण
व्यवसायी उमेशलाल श्रेष्ठसँगको चुनावी वार्ता

अहिले महासंघमा समस्याको प्रमुख जड नै ‘म’ हो

जबसम्म ‘म’ को धारणा हट्न सक्दैन तबसम्म संस्थाको उन्नति असम्भव छ

person explore access_timeकात्तिक २६, २०७७ chat_bubble_outline0
फोटो : कृष्ण खड्का

नेपालका एक सफल व्यवसायी हुन् उमेशलाल श्रेष्ठ । राजनीतिक घरानाबाट आएका उनी राजनीति र व्यवसायमा उत्तिकै सक्रिय छन् । कलिलो उमेरमा (१९ वर्ष नपुग्दै) सामान्य कामदारको रुपमा व्यावसायिक क्षेत्रमा छिरेका श्रेष्ठले व्यापार–व्यवसायमा जरो गाड्दै गए । नेपाल उद्योग वाणिज्य महासंघमा मात्र श्रेष्ठले करिब १२ वर्ष व्यथित गरिसकेका छन् । सो अवधिमा दुई कार्यकाल महासंघको इन्जुरी कमिटीमा विताएका श्रेष्ठले एक कार्यकाल वस्तुगत परिषदमा र अर्को एक कार्यकाल वस्तुगत संघको उपाध्यक्ष भएर आफ्नो जिम्मेवारी पूरा गरे । अहिले उनले पुनः महासंघको वस्तुगततर्फको उपाध्यक्षमा आफ्नो उम्मेदवारी दिँदैछन् । महासंघमा विभिन्न जिम्मेवारीसहित लामो समय बिताएका उनीसँग महासंघभित्रको राजनीति, आगामी दिनका लागि उनको भूमिका र योजना लगायतका विषयमा केन्द्रित रहेर रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, व्यवसायी श्रेष्ठसँग गरिएको संक्षिप्त वार्ता :

नेपाल उद्योग वाणिज्य महासंघमा अहिले चुनावी माहोल कस्तो छ ?
बल्ल शुरु भयो । कोभिड–१९ को बीच हुँदै गरेको निर्वाचनका लागि हामी क्रियाशील हुन थालेका छौं । सीमित भोटरमात्र काठमाडौंमा भएकाले कोभिडलाई ध्यानमा राख्दै सानो–सानो समूहमा एक÷दुई जना, चार÷पाँच जना गरेर आपसी भेटघाट, छलफललाई निरन्तरता दिइरहेका छौं । पहिलाजस्तो भए त ठुलै जमघट गरेर जान सकिन्थ्यो, तर अहिले त्यो अवस्था छैन । स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राख्दै भेटघाट गर्नुपर्ने हुँदा एक–एक घण्टा गरेर ८÷१० जना गरेर दिनमा २० देखि २५ जनासँग भेटघाट गर्दैछौं । विशेषतः यो समयमा हामीले डिजिटल प्लेटफर्म प्रयोग गरेर एक आपसमा शुभकामना आदानप्रदान तथा छलफललाई तीव्रता दिइरहेका छौं ।

फेरि पनि तपाईले महासंघको केन्द्रीय पदाधिकारीमा वस्तुगततर्फ उपाध्यक्षको उम्मेदवारी दिँदै हुनुहुन्छ, तपाईको उम्मेदवारी केका लागि ?
म महासंघमा लागेको करिब १२ वर्ष भयो । त्यसमध्ये मैले दुई कार्यकाल महासंघको इन्जुरी कमिटीमा बिताइसकेको छु । एक कार्यकाल वस्तुगत परिषदमा र अर्को एक कार्यकाल वस्तुगत संघको उपाध्यक्ष भएर बिताएँ । फेरि पनि म किन महासंघको कमिटीमा आउन चाहेँ भने मेरो लक्ष्य भनेकै एकदिन सगरमाथा चढ्ने हो । लामो तरिकाले व्याख्या नगरिकन भन्नुपर्दा अहिले अनुकुल वातावरण मिलेकोले र साथीहरुको विशेष अनुरोधका कारण मैले महासंघको वस्तुगततर्फ उपाध्यक्षमा आफ्नो उम्मेदवारी दिन लागेको हुँ । साथीहरु सबै मिलेर मलाई भन्नुभयो, ‘दाइ एक चोटीलाई उठ्नुस्, हामी तपाईलाई साथ दिन्छौं ।’ उहाँहरुको यही विशेष अनुरोधलाई स्वीकार्दै मैले आफ्नो उम्मेदवारी दिएको हुँ । अरु विशेष कारण केही छैन ।
 
महासंघमा अहिले तपाईहरु स्पष्ट दुई ध्रुवमा विभाजित हुँदै प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । यसलाई सामान्य चुनावी प्रक्रियाका रुपमा मात्र हेर्न मिल्छ ?
यो धेरैजनाको प्रश्न हो । मलाई धेरैजनाले भन्नुहुन्छ– महासंघमा राजनीति भयो । तर मलाई के लाग्छ भने हामी सबै समान हौं । महासंघभित्रकै हौं । उहाँहरु (विपक्षी) पनि महासंघमा केही गरांै भनेर आउनुभएको हो र हामी पनि । महासंघभित्र पनि मन मिल्ने, विचार मिल्नेहरु एक ठाउँमा उभिनु स्वाभाविक पनि हो । 

मेरो अनुभवको कुरा गर्नुपर्दा म महासंघमा छिरेपछि सम्भवतः यो मेरो पाँचौ पटकको चुनाव हो । जब म छिरेँ, प्रायः महासंघको निर्वाचन यस्तै रहँदै आएको छ । एक÷दुईवटा कार्यकालबाहेक सबैजसो निर्वाचन यसरी नै भएका छन् । तर एक÷दुई पटक भने सहमतिका आधारमा सर्वसम्मत् रुपमा महासंघको अध्यक्ष चुनिएको थियो । 

फेरि यो कुनै आइडोलोजिक चुनाव पनि त होइन । मन मिल्ने विचार मिल्ने साथीहरु एक ठाउँमा बस्छन्, नमिल्ने साथीहरु अर्को ठाउँमा बस्छन् । यसरी नै चुनावी प्रक्रियामा सामेल हुन्छन् । तर यसो भन्दैमा महासंघमा विभाजन हुन्छ वा विभाजन भयो भन्ने होइन । चुनावपछि हामीबीच कुनै विभाजन हुँदैन । अहिलेसम्म भएको पनि छैन । तर यो ध्रुवीकरणको प्रक्रिया भने हुँदै जान्छ । कहिले यता, कहिले उता, कहिले कुन पक्षसँग त कहिले कुन पक्षसँग भइरहन्छ । त्यसैले यसलाई नकारात्मक दृष्टिकोणले, अनावश्यक तरिकाले हेर्नुपर्छ जस्तो मलाई लाग्दैन । 

मंसिर १२ गतेसम्म एउटा माहोल रहन्छ र मंसिर १३ गतेपछि महासंघमा अर्को माहोल बन्नेछ । मलाई विश्वास छ, १३ गतेदेखि नै सबै साथीहरु एकठाउँमा उभिनुहुन्छ ।

उसो भए महासंघमा कुनै राजनीतिक गन्ध छैन त ?
निश्चय नै । अहिलेसम्म महासंघमा वैचारिक राजनीति छिरिसकेको छैन । तर महासंघभित्र विभिन्न विचारधारा बोक्ने, विचार, वादहरुको प्रतिनिधित्व गर्ने साथीहरु हुनुहुन्छ । त्यो उहाँहरुको समूहमा पनि छ र हाम्रो समूहमा पनि छ । तर हामी त्यो विभेद राख्दैनौं । हामीलाई काँग्रेस भए पनि, कम्युनिष्ट भए पनि, राप्रपा भए पनि केही समस्या छैन । समाजवादी, राजावादी जो कोही भए पनि समस्या छैन । हामी उद्यमी व्यवसायीहरुको एउटै सरोकारको विषय के हो भने व्यवसायी र सरकारबीच नीति, नियम तथा कानुनका विषयमा एउटा पुलको भूमिका निर्वाह गर्ने हो । उद्योगधन्दा, व्यापार, व्यवसायबाट कसरी मुलुकको अर्थतन्त्र मजबुत पार्न सकिन्छ र कुल जिडिपीको करिब ७० प्रतिशत योगदान बोकेको निजी क्षेत्रलाई कसरी सस्टेन गर्न सकिन्छ भन्ने अहिले हाम्रो मुख्य चासोको विषय हो । यो हाम्रोमात्र नभएर अर्का पट्टिका (म विपक्षी पनि भन्न रुचाउँदिनँ) मित्रहरुको मुद्दा पनि यही हो । योभन्दा बढी अरु केही हुनै सक्दैन । 

प्रमुखतः आर्थिक उन्नति नभएसम्म देशको उन्नति हुनै सक्दैन । अहिले कम्युनिस्टहरुको सरकार छ । कम्युनिस्ट नीतिले के भन्छ भने मुलुकको आर्थिक समृद्धिका लागि राष्ट्रिय पुँजीपति वर्ग र राष्ट्रिय पुँजीको विकास गर्नुपर्छ । यो निजी व्यावसायिक क्षेत्रको विकास र विस्तार विना सम्भव छैन । हामीले सकारसँग भिड्ने भनेको यही कुरामा हो । अहिले पनि सरकारले निजी क्षेत्रलाई त्यति महत्व दिइरहेको छैन, सपोर्ट गरिरहेको छैन । यस्तो अवस्थामा हामी नेतृत्वकर्ताहरुले निजी क्षेत्रको पक्षबाट सरकारलाई दबाब दिने हो, सहज वातावरण सिर्जना गर्ने हो, न कि राजनीति गर्ने ।

उम्मेदवारीका लागि ढकाल प्यानललाई नै तपाईले किन रोज्नुभयो ?
चन्द्र (ढकाल)जीको र मेरो पास्ट झण्डैझण्डै उस्तै छ । तर प्रजेन्ट उस्तै छैन । उहाँ मभन्दा धेरै माथि पुगिसक्नु भएको छ । हामी समान भूधरातलबाट माथि उठेका व्यक्ति हौं । चन्द्रजी एउटा सहायक पदमा काम गर्नु हुन्थ्यो, म कुनै एक औषधि पसलमा मेडिकल रिप्रेन्जिटिभको काम गर्थेँ । भन्दाखेरी हामी दुवैले ग्राउण्ड लेभलबाट काम सुरु गरेका हौं । यो कारणले गर्दा मैले उहाँलाई रोजेँ । 

र, अर्को कारण भनेको उहाँसँग यत्रो इन्टायर टिम हुँदा पनि उहाँ अत्यन्त शालीन व्यक्तित्व हुनुहुन्छ । नेपालीमा भन्ने चलन छ नि, ‘आँखामा राख्दा पनि नबिझाउने’, उहाँ त्यस्तोखालको व्यक्ति हुनुहुन्छ । साथै उहाँको व्यवसायदेखि राजनीतिक पहुँचसमेत धेरै राम्रो छ । जसले गर्दा हामीले अहिले जुन खालको उद्देश्य लिएर घुमिरहेका छौं, प्राइभेट सेक्टरको विशेष रोल हुनुपर्ने भनेर सरकारसँग लबिङ्ग गरेर हिँडिरहेका छौं, यसका लागि पनि चन्द्रजी उपयुक्त पात्र हो । त्यसैले म, ममात्र नभएर हाम्रो समूह नै चन्द्रजीको समूहमा एकीकृत भएका हौं ।

तपाईहरुले जित्नुभयो भने निर्वाचनको भोलिपल्ट अर्थात् मंसिर १४ गतेदेखि महासंघमा कस्तो खालको परिवर्तन देख्न सकिन्छ ? केलाई पहिलो प्राथमिकता दिनुहुन्छ ?
पहिलो कुरा त महासंघ डेमोक्राइट हुन्छ । हामीले निर्वाचन जित्नेबित्तिकै महासंघमा अहिलेको जस्तो कोही एक व्यक्तिको अन्डरमा हुनेछैन । महासंघमा कुनै पनि मुद्दामा एकआपसमा सल्लाह, छलफल गरेरमात्र अघि बढ्ने परिपाटीको विकास हुनेछ । महासंघको विधान अनुसार भावी अध्यक्ष फिक्स भइसकेको छ । शेखरजी आफैमा प्रोफेसनल व्यक्तित्व हुनुहुन्छ । उहाँसँग काम गर्न हामीलाई गाह्रो छैन । उहाँलाई हाम्रो पूर्ण साथ र सहयोग रहनेछ । 
प्राथमिकताका विषयहरुमा भन्नुपर्दा पहिलो कुरा, महासंघको सचिवालयलाई सुधार गर्नुपर्ने हुन्छ । जबसम्म कुनै संस्थाको सचिवालय संघ हुँदैन, तबसम्म संस्थाको उन्नति गर्न सकिँदैन । मुख्य कुरा त कम्युनिकेशन हो । संस्थामा च्यानलवाइज कम्युनिकेट गर्न सकेनौं भने जस्तोसुकै राम्रो काम गरे पनि त्यसको कुनै अर्थ रहँदैन । हामीले त चुनावपछि नीति, नियम निर्माण गर्ने र निर्देशनमात्र गर्ने हो । आखिर काम गर्ने भनेको त सचिवालयले नै हो । यसो भयो भनेमात्र संस्थाको उद्देश्यहरु पुरा हुन पाउँछन् । त्यसैले आजको दिनमा महासंघको सचिवालय चुस्त–दुरुस्त र प्रोफेसनल हुन आवश्यक छ । हाम्रो पहिलो काम यसैमा हुनेछ र बाँकी रहेका अन्य मुद्दाहरु क्रमशः सम्बोधन गर्दै जानेछौं ।

महासंघको अबको नेतृत्वकर्ता शेखर गोल्छाले नै महासंघमा क्यान्सर छ, यसको उपचार नगरी संस्थाको उन्नति सम्भव छैन भन्दै हुनुहुन्छ । उहाँले भनेजस्तै महासंघमा क्यान्सर लागेकै हो त ? 
शेखरजी ले यसो भनेको मैले पनि सुनेको थिएँ । एकजना मित्रले यसबारेमा मसँग कुरा पनि गर्नुभएको थियो । तर क्यान्सर भनेर मात्र हुँदैन, कुन क्यान्सर हो, त्यो भन्नु प¥यो नि । ब्लड क्यान्सर हो कि, ब्रेन क्यान्सर हो कि, प्रोस्टेट क्यान्सर हो कि वा लिभर क्यान्सर हो, पहिचान गर्नुप¥यो । उहाँले के कुरामा संकेत गर्न खोज्नुभएको हो, मैलेचाहिँ बुझ्न सकिनँ । 

उहाँले महासंघभित्रको सुव्यवस्थाको कुरा गर्नु भएको हो भने त्यो ठिकै हो । नत्र आफै महासंघमा १५–२० वर्ष बसेर सोही संस्थामा क्यान्सर छ भन्नु बचपना बाहेक केही होइन । मेरो हिसाबमा संस्थाको क्यान्सर भन्नु पर्दा सचिवालयको सुव्यवस्था हो । हाम्रो सचिवालय अत्यन्त कमजोर छ । तर यसको विपरित कुनै व्यक्ति विशेषलाई भन्न खोजिएको हो भने यो पूर्णतः गलत हो ।

महासंघको प्रमुख समस्याको जड कहाँनिर छ ? 
अहिले महासंघको प्रमुख समस्याको जड ‘म’ को हो । जबसम्म हामीबाट ‘म’ को धारणा हट्न सक्दैन, तबसम्म संस्थाको उन्नति प्रायः असम्भव नै छ । ‘म’ भन्ने शब्दलाई ‘हामी’मा कन्भर्ट गर्न सकियो भने समस्या आफै समाधान भएर जान्छ । यहाँ प्रायःजसो साथीहरु ‘म’बाट सुरु हुन्छन् र ‘म’मै अन्त्य हुन्छन् । मेरो भाग, मेरो फाइदा, मेरो लागि भनिरहेका हुन्छन् । यही भावले महासंघमा समस्या ल्याइरहेको छ । त्यसको ठाउँमा हाम्रो भाग, हाम्रो फाइदा, हाम्रोलागि भने कति उत्तम हुन्थ्यो ! महासंघमा मात्र होइन, नेपालभरका उद्योगी व्यवसायीहरुको बीचमा ‘म’ होइन ‘हामी’ शब्दको भाव ल्याउन आवश्यक छ । सोही भावना अनुरुप काम गर्ने हो भने कहीँ कतै पनि समस्या आउँदैन । र, महासंघको गरिमा पनि सधैँ उच्च रहन्छ भन्ने मलाई लाग्छ ।

महासंघमा तपाईको एजेण्डा के रहन्छ ? 
महासंघमा मेरो एउटा निर्दिष्ट एरिया छ, निर्दिष्ट क्षेत्र छ– वस्तुगत परिषद, जसको म सभापतिको हैसियतले रहन्छु । यसमा १०३ वटा संस्था छन् । यी संस्थाहरुमा नीति नियमका समस्याहरु आइरहेका छन्, व्यवस्थापनका समस्याहरु आइरहेका छन् । यस्ता थुप्रै समस्यालाई सम्बोधन गर्नुपर्ने हुन्छ । यसका लागि हामीले सरकारसँग सरकारका विभिन्न निकायहरुसँग लबिङ्ग गर्नुपर्ने हुन्छ । मेरो नेतृत्वले यी यावत समस्याहरुको समाधान खोज्नेछ । यसैलाई नै मेरो एजेण्डा मानौं । 

जितको सम्भावना कत्तिको देख्नु हुन्छ ?  
म ढुक्क छु, जित्छु । यसमा दुईमत छैन । हुन त चुनावमा उठ्दै गरेको उम्मेदवारले म हार्छु त भन्दैन तर पनि मेरो जित सुनिश्चित छ । किनकि मलाई साथीभाइहरुको ठुलो साथ र समर्थन छ । उहाँहरुकै विशेष अनुरोधमा मैले उम्मेदवारी दिएको हुँ । उहाँको साथ, समर्थन र मायाले गर्दा मैले चुनाव जित्नेछु ।

तपाई एक राजनीतिक घरानाको सदस्य पनि हुनुहुन्छ । तपाईको पृष्ठभूमि भनेको त राजनीति हो । फेरि कसरी एक फरक व्यावसायिक क्षेत्रमा आउनु भयो ?
रोचक कुरा त के छ भने राजनीतिक पृष्ठभूमि हुँदाहुँदै पनि म १९ वर्ष पनि पुरा नहुँदै व्यावसायिक क्षेत्रमा छिरेको व्यक्ति हुँ । अझ व्यवसायमा भन्दा पनि श्रमिकबाट मैले काम थालेको हुँ । कारण के भने पञ्चायती शासनकालमा राजनीतिकै कारण मेरो मुमा (आमा) को जागिर खोसियो । त्यसपछि घरव्यवहार, दालभातकै समस्या प-यो र बाध्य भएर म काममा धकेलिएँ । त्यसबेला मैले बीएस्सी सक्दै थिएँ । एउटा औषधि कम्पनीमा काम पाएँ । त्यहाँ मैले ५–६ वर्ष काम गरेँ । त्यसपछि जागिरे पेसा नै छाडेँ । 

अब मसँग दुईवटा विकल्प थियो । एउटा राजनीतिमा जाने र अर्को व्यावसायिक क्षेत्रमा नै केही गर्ने । राजनीति त मेरो रोजाइमा परेन किनकी राजनीतिक परिवर्तनले मात्र हुँदैन, मुलुकको आमुल परिवर्तनका लागि आर्थिक क्षेत्रको विकास हुन आवश्यक छ भन्ने कुरा मेरो सोचमा थियो । त्यसैले मैले फरक क्षेत्र, व्यावसायिक क्षेत्र रोजेँ । अरुको काम गर्नु त मलाई छँदैथिएन । त्यो त मेरो लागि केही समयको विश्राममात्र थियो । उद्योग, कलकारखाना खोल्ने, व्यापार व्यवसाय गर्ने नै मेरो इच्छा थियो । त्यसपछि मैले केही समय व्यापार गरेँ । पछि २०४१ सालमा आएर एउटा औषधि उद्योग खोलेँ । उद्योग चल्दै थियो, यत्तिकैमा २०४६ सालतिर फेरि म एक पटक दोबाटोमा आइपुगेँ । मुलुकमा बहुदलीय व्यवस्थाका लागि आन्दोलन चल्दै थियो । सोही समयमा ममा राजनीतिक दबाब आयो । केही समय त के गरौं, के गरौंको दोधारमा परेँ । पछि अन्ततः मैले राजनीतिमा नलाग्ने निर्णय गरेँ । सबैजना राजनीतिमा लाग्नुपर्छ भन्ने छैन । बुबामुमा राजनीतिमा लाग्नु भए पनि एकै घरको तेस्रो व्यक्ति म पनि राजनीतिमै लाग्नुपर्छ भन्ने छैन भन्ने सोचेँ र व्यावसायिक क्षेत्र नै रोजेँ ।

त्यति बेलासम्म मैले यो क्षेत्रमा १५–१६ वर्ष बिताइसकेको थिएँ । व्यावसायिक क्षेत्रमा स्थापित पनि भइसकेको थिएँ । त्यसैले यही क्षेत्रबाट केही गर्छु भनेर लागेँ । बुबामुमा राजनीतिक तथा सामाजिक परिवर्तनका लागि राजनीतिमा लाग्नु भए पनि म आर्थिक क्षेत्रको परिवर्तनमा लाग्छु भनेर अठोट गरेर अघि बढेँ । आजको दिनसम्म यही क्षेत्रमा निरन्तर लागिरहेको छु । भोलिका दिनमा पनि लागि नै रहने छु ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.