केन्द्रीय संस्करण
टिप्पणी

प्रधानमन्त्री ओलीज्यू, हजुरआमाको आँसु भुल्नुभयो ?

person explore access_timeकात्तिक २६, २०७७ chat_bubble_outline0

कमरेड उत्तम अर्थात् खड्गप्रसाद (हाल केपी) शर्मा ओली र मोहनचन्द्र अधिकारी २०३० साल असोज २३ गते रौतहटबाट पक्राउ परे । पक्राउपछि वीरगञ्ज जेलमा राखिँदा होस्, काठमाडौं केन्द्रीय कारागार, जगन्नाथ देवल ल्याएपछि होस् वा नख्खु कारागार पुर्‍याउँदा– नौ वर्षसम्म ओलीलाई परिवार, आफन्त, नातागोता कोही पनि भेट्न आएका थिएनन् । जेलमा सँगै रहेका कमरेड बलभद्र अर्थात् राधाकृष्ण मैनालीलगायत झापाली विद्रोहीसँग ओलीले बेला–बेलामा हजुरआमालाई भेट्ने इच्छा गर्दथे ।

ओलीभन्दा पाँच वर्ष जेठा राधाकृष्णले आफ्ना काइँला भाइ डिल्लीरामलाई खबर पठाए– एक पटक कमरेड उत्तमकी हजुरआमालाई भेट्न ल्याइदिनू । त्यसबेला एउटै यात्रा र संगठनमा भएकाले परिवारका सदस्यहरुका भन्दा बढी सहकर्मीहरुका कुरा सुन्ने, विश्वास गर्ने, निकट मान्ने संस्कार थियो । लेश बराबर तिक्तता थिएन । घरको जेठो दाजु हुनुको नाताले मात्र होइन, भाइहरु सबैजना कुनै न कुनै रुपमा संगठनमा आवद्ध भएका हुनाले राधाकृष्णको निर्देशनलाई डिल्लीरामले हुबहु कार्यान्वयन गरे । 

२०३९ सालको दसैँ । ओलीको हजुरआमा, राधाकृष्ण पत्नी राधिका र उनका तीन छोराछोरी लीला, दिनेश र संगीतालाई लिएर डिल्लीराम नख्खु जेलको द्वारमा उपस्थित भए । राधाकृष्ण पत्नी राधिका लालाबाला लिएर श्रीमानको ‘दर्शन’ गर्न जेलमा दोस्रो पटक आएकी थिइन् भने ओलीकी हजुरआमा राममाया भने नातिलाई भेट्न पहिलो पटक । नातिलाई भेट्न आउने क्रममा राममायालाई आफूहरुले नै चप्पल, कपडा किनिदिएको र मासु, च्युरालगायत खानेकुरा लिएर आएको राधिका मैनाली यो पक्तिकारसँगको संवादमा स्मरण गर्छिन् । 

राधाकृष्ण मैनाली

झापा विद्रोहीका प्रथम सचिव तथा पूर्वमन्त्री राधाकृष्ण मैनालीका शब्दमा दसैँको समयमा आफन्तहरु भेट्न आउँदा जेल प्रशासनले अरु बेलाजस्तो कडिकडाउ गर्दैनथ्यो । त्यसैले उनीहरुले निकैबेर भलाकुसारी गरे । जसै छुट्ने बेला भयो, ओलीकी हजुरआमा सुरुवाती भेटमा भन्दा भक्कानिएर रुन थालिन् । राधाकृष्णका अनुसार उनले रुँदै भनिन् ‘ध्रुब (ओलीको न्वारनको नाम, पछिसम्म पनि उनकी हजुरआमा र पिताले उनलाई यही नामले बोलाउँथे) घर त जानु नि, घर गएर खाने सामल नै छैन ।’ शरीर गलिसकेकी वृद्धाले त्यो वाक्य उच्चारण गरेपछि जेलभित्र कोचिएका राधाकृष्ण पनि भक्कानिए । उनले भाइ डिल्लीरामलाई भने ‘ए काइँला ∕ हाम्रोमा धान छैन ?’ डिल्लीरामको उत्तर आयो, ‘छ नि । किन नहुनु ?’

राधाकृष्णले आदेश दिए, ‘त्यसो भए यी आमालाई वार्षिक ६ बोरा (क्वीन्टल) धान दिनू ।’ डिल्लीरामले तुरुन्तै स्वीकृति जनाए । ०४६ सालको आन्दोलन सफल नहुन्जेलसम्म आफूहरुले ओलीकी हजुरआमालाई वार्षिक ६ बोरा धान दिइरहेको र आन्दोलन सफल भएपछि भने दिन छाडेको राधाकृष्णले यो पंक्तिकारलाई धेरै पटक बताएका छन् ।  

तेह्रथुम जिल्लाको तत्कालीन इवा–२ मा २००८ साल फागुन ११ गते जन्मिएका हुन् ओली । पारिवारिक सदस्यहरुका अनुसार २०११ सालमा बिफर रोगले ओलीको आमाको निधन भयो । जुनबेला उनी दुधे बालक नै थिए । आमाको निधनपछि हजुरआमा राममायाले उनलाई हुर्काइन् । ओली परिवारका एक सदस्यका अनुसार २०१९ सालमा उनीहरु इवाबाट झापाको गरामुनीमा बसाइ सरे । भलै, ओलीले आफ्नो वेबसाइटमा २०२० सालमा बसाइ सरेको उल्लेख गरेका छन् । २०२१ सालमा उनी गरामुनीबाट झापाकै चप्रामारीमा स्थानान्तरण भए । चप्रामारी नजिकै चार सिमलमा ओलीका पिता मोहनप्रसादलाई जिम्दार देवीप्रसाद उप्रेतीले पहाड बेचेर ल्याएको केही नगद लिएर मालपोत बुझाएर श्रेस्ता कायम गरी तीन बिघा जमिन दिएका थिए । जुन जमिनमा काँसघारी फाँडेर खेत बनाउने जिम्माचाहिँ ओली परिवारकै थियो । 

पहाड थलो आठराई नै भएका जिम्दार उप्रेतीको झापामा ठुलो मौजा जमिन थियो । अर्थात् झण्डै आधा झापा जिल्ला बराबर । राधाकृष्ण मैनालीका पितालाई समेत उप्रेतीले नै केही जमिन दिएका हुन् । पहाडबाट झर्ने उप्रेती, ओली, मैनाली, बिमलीहरुलगायतलाई उप्रेतीले नै श्रेस्ता कायम गरी सस्तो मूल्यमा जमिन दिन्थे । दुर्भाग्य के भने ओलीका बुबा मोहनप्रसादले जोडेको तीन बिघा जमिन २०२२ सालमा कन्काइको बाढीले उजाड बनाइदियो । यसपछि ओली परिवारको बिल्लीबाठ सुरु भयो ।


कोरोना संक्रमितको संख्या उच्च दरमा बढिरहँदा व्यवस्थित उपचार छैन । लाखौं सर्वसाधारण बेरोजगार भएका छन्, विदेशबाट अलपत्र परेर फर्किएका छन् । ती निमुखालाई रोजगारी छैन । किसानलाई मल छैन । दर्जनौँ आयोगमा नियुक्ति छैन । भ्रष्टाचार खुलेआम छ । सेक्युरिटी प्रेस खरिददेखि ओम्नीसम्म, वाइडबडीदेखि यतिसम्मका काण्डहरु दङदङ गन्हाइरहेका छन् । भनसुन भएन भने पद्धति, प्रणालीले कहीँ कतै काम गर्दैन । सत्ता सञ्चालकहरुकै आपराधिक मानसिकता र उच्छृङ्खलताले समाज आक्रान्त छ । प्रधानमन्त्री ओलीज्यू, साँच्चै तपाईं यी विषयमा जानकार हुनुहुन्न ? हुनुहुन्छ भने खोइ सुशासन ?



पर्वतका हरीहर पोखरेलले २०७५ सालमा ‘स्वाभिमानका सतीसाल’ शीर्षकमा प्रधानमन्त्री ओलीको जीवनी लेखेका छन् । जसको प्रकाशक ब्रदर बुक्स प्रकाशन प्रा.लि.हो । प्रधानमन्त्री ओलीको अतिसय गुनगान गाउने क्रममा पुस्तकमा थुप्रै तथ्यगत त्रुटी त छन् । तर, उनको पारिवारिक दुखान्त पुस्तकमा केही हदसम्म समेटिएको छ । बाढीले बेहाल बनाएपछिको अवस्था पुस्तकमा चित्रित छ, ‘...झापामा भएको सबै खेत खोलाले बगाएर के खाउँ, के लाउँको अवस्था भएको थियो । ओलीका बुबा मोहनप्रसादले केपी ओलीलाई जन्म दिने आमाको निधन भएपछि अर्को विवाह गरे । त्यतापट्टिबाट एक छोरा र तीन छोरी जन्मे । मोहनप्रसाद आफ्नो परिवार पाल्न ०२९ देखि ०३४ सालसम्म अरुहरुकै जग्गामा टहरो बनाउँदै गर्न थाले । यसरी सात जनाको जग्गामा चहार्दै, उनीहरुकै जग्गा कमाउँदै जीवन धान्दै बसे । उनलाई के खाउँ, कहाँ बसुँ, कसरी परिवार पालौँ भन्ने चिन्ताले नै पिरल्यो ।’ (पृष्ठ ३७–३८)
जानकारहरुका अनुसार झापा बसाइँ सरेपछि पनि ओली हजुरआमासँगै हुर्केका थिए । हजुरआमा अर्का छोरासँग बस्थिन् अर्थात् ओली हजुरआमासँग बडाबाको घरमा हुर्केका थिए । ०४४ साल असारमा जेलबाट छुटेपछि पनि उनी बडाबाकै घरमा गएर बसेका थिए । ०४८ मा सांसद हुनु अघिसम्म पनि ओलीको पिता मोहनप्रसादसँग हार्दिक सम्वन्ध थिएन । ०५१ सालमा गृहमन्त्री भएपछि मात्र झापाको पृथ्वीनगरमा एक तले चार कोठे घर र दुई बिघा जमिन किनेर ओलीले पिता मोहनप्रसादको बसोबासको व्यवस्था गरेका हुन् । ओलीको जीवनी ‘स्वाभिमानको सतिसाल’मा उल्लेख छ, ‘आमाको बिफरबाट मृत्यु भएपछि ओलीलाई चार वर्षको उमेरदेखि हजुरआमा राममायाले पालनपोषण गरी हुर्काएकी हुन् । केपी जान्ने हुँदा उनले मातृवात्सल्य हजुरआमाबाटै पाईरहेका थिए । उनी बारम्बार रामनाथको घरमा आएर मेरो ध्रुवको केही खबर आएको छ ? भन्दै सोधिरहन्थिन् । आमाको मृत्युपछि टुहुरा बनेका केपी ओलीलाई भेट्न उनकी हजुरआमा झापाबाट केरा बोकी काठमाडौं जाने ट्रकमा चढी काठमाडौंको जेलमा भेट्न पुगिन् । जेलमा उनलाई परिवारको तर्फबाट भेट्ने हजुरआमा नै प्रथम सदस्य थिइन् । उनले नातिलाई भेटिन्, जेलमा थुनिएको दुब्लो पातलो तर दृढ इच्छाशक्ति भएको चम्किलो, हँसिलो नातिलाई टीका लगाइदिइन् । आशीर्वाद दिइन् र गहभरी आँसु बनाउँदै पछ्यौरीको टुप्पोले आँखा पुछ्दै फर्किन् ।’ (पृष्ठ ३८)

२०२२ सालको बाढीले ओली परिवारलाई ‘सुकुम्वासी’ बनाएपछि तेह्रथुम इवामै जन्मथलो भएका रामनाथ दाहालले उनलाई आफ्नो घर चारपानेमा ल्याएर राखे । र, नजिकैको घैलाडुबा माध्यामिक विद्यालयमा कक्षा ६ मा भर्ना गरिदिए । ओलीलाई आफ्नो घरमा ल्याएर पढाउने रामनाथको चारपानेमा २८ बिघा जमिन थियो । रामनाथकै घरमा बसेर ओलीले २०२७ सालमा एसएलसी दिएर २०२८ सालमा उत्तीर्ण गरे । झापा विद्रोहमा सहभागी भएको आरोपमा पक्राउ गरिएका रामनाथ, नेत्र घिमिरे, कृष्ण कुँइकेल, नारायण श्रेष्ठलगायत पाँच जनालाई २०२९ साल फागुन २१ तत्कालीन सत्ताले इलाम जेल सार्ने बहानामा सुखानीको जंगलमा पुर्‍याएर हत्या गर्‍यो । आफू पक्राउ परेर पनि रामनाथले ओलीलाई संयोगले जोगाएका थिए । भलै, यसको कथा छुट्टै छ ।

राजनीतिज्ञ राधाकृष्ण मैनालीका शब्दमा खासमा रामनाथ दाहालकै संगतले ओली झापाली विद्रोही बन्न पुगेका थिए । जुन ओलीको जीवनी पुस्तकमा समेत उल्लेख छ । मैनालीले आफ्नो संस्मरणात्मक पुस्तक ‘नलेखिएको इतिहास’मा लेखेका छन्, ‘..घैलाडुबा माध्यमिक विद्यालयमा अध्ययनरत केपी ओलीलाई पनि पार्टी कमिटीमा जोडियो । रामनाथ दाहालको मातहत रहेर घैलाडुबा एरिया कमिटी तथा विद्यार्थी फाँटमा काम गर्ने गरी केपीलाई पार्टी सदस्यता र जिम्मेवारी दिइएको थियो ।’ (पृष्ठ १७)
०४४ साल असारमा जेलबाट छुटेपछि ओलीको दाम्पत्य जीवनका लागि झापा, तेह्रथुमतिरकै झण्डै आधा दर्जन युवती र उनीहरुका अभिभावकसँग प्रस्ताव राखिएको थियो । प्रायश: ‘लमी’ राधाकृष्ण नै थिए । राधाकृष्णलाई लमी बन्न किन पनि सजिलो थियो भने एक– उनी अलि पाका र विवाहित थिए । दुई– जेलमा सँगै बसेका थिए । तीन– एउटै जिल्लावासी थिए ।


तपाईंले ती निमुखा जनतालाई फगत नारा र ओठे जवाफबाहेक के दिनु भयो ? यो पंक्तिकारले यति लामो पृष्ठभूमि बाँध्नुको कारण तपाईंलाई तपाईंको विगत स्मरण गराउँ भन्ने हो । तर, तपाईंका भित्रियाहरुले सुनाउँछन्, तपाईं ‘भो विगतका कुरा नगरौँ । विगत नसम्झौँ’ भन्नुहुन्छ । अहिले तपाईंलाई विगतमा गरिब भएकोप्रति पश्चाताप छ ? त्यो हो भने तपाईंले जीवनलाई चारैतिरबाट हेर्न बिर्सनुभयो । अभावसँग जुधेर प्रधानमन्त्रीको पदमा पुग्नु लाजको कुरा होइन, गर्वको विषय हो ।


तत्कालीन महासचिव झलनाथ खनाल, उपत्यका इन्चार्ज माधवकुमार नेपालले पनि विवाह गर्न सुझाइरहेका थिए । एकातिर टिबीले ग्रस्त भएर छुटेको मरन्च्याँसे केटो, अर्कातिर पारिवारिक अवस्था कमजोर । ओलीले इच्छाएका कुनै पनि युवतीले दाम्पत्य सम्बन्ध गाँस्न मानेनन्, न त अभिभावक नै ‘कन्यादान’ गर्न इच्छुक भए । कमजोर स्वास्थ्य, अभाव र गरिबीले उनको विवाह समेत हुन सकेको थिएन । 

ललितपुर पाटनकी राधिका शाक्य तत्कालीन भूमिगत नेकपा मालेमा आवद्ध थिइन् । ओलीको हालत र हैसियत देखेर शाक्यमा करुणा पलायो । २०४४ सालमा तत्कालीन महासचिव झलनाथ खनाल, उपत्यका इन्चार्ज माधवकुमार नेपाल, अमृत बोहोरा, अष्टलक्ष्मी शाक्य, विष्णु रिमाललगायतको उपस्थितिमा भूमिगत रुपमा ओली र शाक्यको दाम्पत्य जीवन गाँसियो । ओली र शाक्यबीच दाम्पत्य गाँस्न ‘लमी’ को भूमिका रिमालले निर्वाह गरेका थिए । हाल प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल त्यसबेला पुल्चोक इन्जिनियरिङ क्याम्पसमा ओभरसियरमा अध्ययन गर्दै विद्यार्थी राजनीति र पार्टी काममा समेत संलग्न थिए । शाक्य पनि विद्यार्थी राजनीति र पार्टी काममा परिचालित थिइन् । ओलीले रिमाललाई निरन्तर च्यापिरहनुको एउटा प्रमुख कारण यही ‘लमी’ भूमिका रहेको पाका राजनीतिज्ञ मैनालीको ठम्याइ छ ।

‘स्वाभिमानको सतिसाल’मा लेखिएको छ ‘दुब्लो, पातलो, परिवारको मायाबाट बञ्चित, सानैमा मातृवात्सल्य गुमाएका केपी ओलीप्रति त्यही देखाइमा राधिका शाक्यलाई माया पलाएको हो । उनलाई लाग्यो, मैलें केपी ओलीलाई सहयोग गर्न सकेँ भने देश र क्रान्तिका लागि राम्रै हुन्थ्यो ।...वास्तवमा राधिकाका लागि केपी ओलीलाई जीवनसाथी चयन गर्न चानचुने बहादुरी काम थिएन । घरबासको ठेगान नभएको, कति बेला कहाँ मारिने हो भन्ने जीवनको कुनै भरोसा नभएको, धन सम्पति केही नभएको व्यक्ति, झापाको ब्राह्मण परिवारको व्यक्ति, १४ वर्ष जेल बसेर निस्केको, अनेकौं रोगले च्यापेको व्यक्ति एकातर्फ थिए ।..’ (पृष्ठ ६१)   

आजका दिनमा ओली प्रधानमन्त्रीको जुन तातो कुर्सीमा छन्, बाल्यकालमा कहेर नसक्नु गरिबी, अभाव, पीडा भोगेको उनी जतिको पात्र कोही पनि प्रधानमन्त्रीको कुर्सीमा पुगेका छैनन् । ‘जनयुद्ध’ लडेर आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई हुन् वा शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल नै, बाल्यकालमा उनीहरु ओलीले जतिको दु:ख, पीडा, अभाव भोगेका पात्रहरु होइनन् । 

कोरोना संक्रमित उच्च दरमा बढिरहँदा व्यवस्थित उपचार छैन । भलै, सर्वोच्च अदालतको बाध्यकारी आदेशपछि कात्तिक २४ गते साँझ बसेको मन्त्रिपरिषदको बैठकले सरकारी अस्पतालमा नि:शुल्क उपचार गर्ने निर्णय गर्न सरकार बाध्य भयो । नत्र ओली सरकारले उपचारबाट समेत हात झिकेकै हो । लाखौं सर्वसाधारण बेरोजगार भएका छन्, विदेशबाट अलपत्र परेर फर्किएका छन् । ती निमुखालाई रोजगारी छैन । किसानलाई मल छैन । दर्जनौँ आयोगमा नियुक्ति छैन । भ्रष्टाचार खुलेआम छ । सेक्युरिटी प्रेस खरिददेखि ओम्नीसम्म, वाइडबडीदेखि यतिसम्मका काण्डहरु दङदङ गन्हारहेका छन् । भनसुन भएन भने पद्धति, प्रणालीले कहिँ कतै काम गर्दैन । सत्ता सञ्चालकहरुकै आपराधिक मानसिकता र उच्छृङ्खलताले समाज आक्रान्त छ । प्रधानमन्त्री ओलीज्यू, साँच्चै तपाईं यी विषयमा जानकार हुनुहुन्न ? हुनुहुन्छ भने खोइ सुशासन ? 

प्रधानमन्त्रीज्यू, तपाईंलाई जनताले भारी मत दिएर कार्यकारीको सर्वोच्च कुर्सीमा पुर्‍याए ? तपाईंले ती निमुखा जनतालाई फगत नारा र ओठे जवाफबाहेक के दिनु भयो ? यो पंक्तिकारले यति लामो पृष्ठभूमि बाँध्नुको कारण तपाईंलाई तपाईंको विगत स्मरण गराउँ भन्ने हो । तर, तपाईंका भित्रियाहरुले सुनाउँछन्, तपाईं ‘भो विगतका कुरा नगरौँ । विगत नसम्झौँ’ भन्नुहुन्छ । अहिले तपाईंलाई विगतमा गरिब भएकोप्रति पश्चाताप छ ? त्यो हो भने तपाईंले जीवनलाई चारैतिरबाट हेर्न बिर्सनुभयो । अभावसँग जुधेर प्रधानमन्त्रीको पदमा पुग्नु लाजको कुरा होइन, गर्वको विषय हो ।  

उपचारको अभावमा आमाको अकाल मृत्यु, नख्खु कारागारको द्वारमा हजुरआमाको अभावको आँसु देखे/भोगेका छन् ओलीले । अनि राधिका शाक्यले देखाएको उदारता र मानवीयताले प्रधानमन्त्रीको तातो कुर्सीमा आइपुगेका हुन् । उपचारको अभावमा आमाको मृत्यु भएकाले पनि ओलीले आफ्नो नेतृत्वमा सरकार रहेका बेला उपचार गर्न नसक्ने, असहाय गरिब नेपालीलाई सहज र नि:शुल्क उपचारको व्यवस्था गर्न हतारिनुपर्ने हो । हजुरआमाको वृद्ध शरीरबाट जेलको ढोकामा अभावको आँसु झरेको देखेकाले पनि आफ्नी हजुरआमा जस्तै भरपेट खान अभाव भएकाहरुलाई खानाको बन्दोबस्त गर्नुपर्ने गुरुत्तर दायित्व बोक्नु पर्ने हो ओलीले । 

आमाको उपचारको अभावको शोक, दु:ख र पीडाहरुलाई प्रधानमन्त्री ओलीले बारम्बार स्मरण गरिरहनु पर्ने हो । न कि बिर्सने प्रयास ∕ प्रधानमन्त्री ओलीको हजुरआमा यस धर्तीका छैनन् । तर, हजुरआमाको आँसुले ओलीलाई बिपन्नहरुको आँसु पुछ्न निरन्तर प्रेरित गरिरहनुपर्ने हो । तर खै ? 

प्रधानमन्त्री ओलीज्यू, तपाईंले हजुरआमाको आँसु भुल्नु भयो ? 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.