बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

मोरङमा पछिल्लो १८ घण्टाभित्र कोरोनाबाट १० जनाको मृत्यु

मङ्गलबार, २५ कात्तिक २०७७, १७ : २६
मङ्गलबार, २५ कात्तिक २०७७

मोरङ । मोरङमा पछिल्लो १८ घण्टाका अवधिमा कोरोना सङ्क्रमणबाट १० जनाको मृत्यु भएको छ । विराटनगरका विभिन्न अस्पतालमा आठ र दुई जनाको होम आइसोलेसनमा मृत्यु भएको छ । मृत्यु हुनेमा आठ पुरुष र दुई महिला रहेका छन् । विराटनगरको नोबेल शिक्षण अस्पतालमा आज पाँचजना कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ भने कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा दुई, न्यूरो कोभिड अस्पतालमा एक र होम आइसोलेसनमा दुईजनाको मृत्यु भएको हो । 

नोबेल शिक्षण अस्पतालमा तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय सङ्क्रमित पुरुषको आज मृत्यु भएको छ । मृतकलाई कोरोना पुष्टि भएपछि यही कात्तिक २२ गते उपचारका लागि भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । सोही अस्पतालमा झापा गौरादह–५ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । मृतकको पोजेटिभ रिपोर्ट आएपछि उपचारका लागि यही कात्तिक १३ गते अस्पताल भर्ना गरिएको थियो । यस्तै झापाको हल्दिबारी–४ का ७० वर्षीय सङ्क्रमित पुरुषलाई यही कात्तिक १५ गते उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएकामा आज मृत्यु भएको छ भने उदयपुरको त्रियुगा–३ का २१ वर्षीय सङ्क्रमित युवाको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको छ । मृतक युवालाई कोरोना पोजिटिभ आएपछि यही कात्तिक २२ गते उपचारका लागि भर्ना गरिएका  प्रबन्धक दाहालले बताए । 

नोबेलमा मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय सङ्क्रमित वृद्ध पुरुषको मृत्यु भएको छ । मृतकलाई यही कात्तिक २२ गते उपचारका लागि अस्पताल भर्ना गरिएका थियो । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा सुनसरी इटहरी–५ का ६९ वर्षीया वृद्धा महिलाको मृत्यु भएको केन्द्रका प्रमुख व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । मृतकलाई  कात्तिक १३ गते पोजिटिभ आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै, सोही केन्द्रमा विराटनगर–३ का ७७ वर्षीय वृद्ध पुरुषको पनि उपचारका लागि भर्ना गरिएकामा मृत्यु भएको छ । मृतकलाई कोरोना पुष्टि भएपछि यही कात्तिक २२ गते केन्द्रमा भर्ना गरिएको थियो । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ की ७७ वर्षीया वृद्धा महिलाको आफ्नै घरमा मृत्यु भएको छ । मृतकलाई यही कात्तिक २४ पोजिटिभ देखिएको र होम आइसोलेसनमा बसेको नगरपालिकाले जनाएको छ । विराटनगर–३ का ८९ वर्षीय सङ्क्रमित पुरुषको होम आइसोलेसनमा सोमबार राति मृत्यु भएको छ ।

कोरोना सङ्क्रमणपछि मृतक होम आइसोलेसनमा बसेका परिवारले जनाएको छ । न्यूरो कोभिड अस्पताल विराटनगरमा मोरङको कटहरी–२ का ५० वर्षीय पुरुषको सोमबार राति  मृत्यु भएको छ । मृतकलाई यही कात्तिक २१ उपचारका लागि भर्ना गरेको दिन पोजिटिभ देखिएको  अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले बताए । मृतकहरुमा ज्वरो, निमोनिया, श्वासप्रश्वास, उच्च रक्तचाप, फोक्सो, मिर्गौला र मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप