शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गोकुल बाँस्कोटा भन्छन्– विपक्षीको भूमिका पनि सत्तारुढबाटै खेल्नु राम्रो होइन (अन्तरवार्ता)

सरकारका बारेमा अहिलेसम्म २० पटक जति अनावश्यक झमेला झिकियो होला
मङ्गलबार, २५ कात्तिक २०७७, १३ : ४७
मङ्गलबार, २५ कात्तिक २०७७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको किचलो साम्य भएको छैन । सचिवालयका बहुमत नेताहरुले बैठक बोलाउनका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई लिखित आग्रह गर्दा पनि उनी तयार भएका छैनन् ।
ओली निकट मानिएका पूर्व सञ्चारमन्त्री समेत रहेका गोकुल बाँस्कोटा भने नेतृत्व तहले नै सार्वजनिक अडान बनाएर बैठक माग गर्नु राम्रो नभएको बताउँछन् । नेकपा विवादबारे बाँस्कोटाको भनाइ के छ ?
प्रस्तुत छ, उनीसँग रातोपाटीले गरेको छोटो कुराकानी : 

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपा संकटमै पुगेको हो ?
– नेकपा संकटमा पुग्यो भनेर अहिले नै म भन्दिनँ । तर खटपट आवश्यकता भन्दा बढी नै भयो । यसले राम्रो सन्देश दिएन । किनभने चुनावी मोर्चाबाट दुईवटा पार्टीबीच एकता भएको थियो । त्यसो भएपछि पार्टी एकताको मर्म र भावना बुझेर पार्टी र राज्य सञ्चालन गर्ने कुरामा मिलेर काम गर्नुपर्दथ्यो । तर बाहिर होहल्ला गरेर, वातावरण असहज बनाएर शंका–उपशंका बढाउने कुरा राम्रो भएन । 

प्रधानमन्त्रीमाथि पानी नपिउनेगरी कारवाही गर्ने भन्ने हल्लाका बारेमा तपाईले पनि ट्वीट गर्नु भएको रहेछ, यस्तो सम्भव छ र ?
– त्यो कुरा अल्टिमेटम दिँदै हिँड्ने साथीहरुलाई सोध्नुस् । 

तपाईले चाहिँ कुन आधारमा ट्वीटरमा लेख्नुभयो त ? 
– भनिसकेँ त, बाहिर बैठक बसेर यही निर्णय मान्नुपर्छ भनेर अल्टिमेटम दिँदै हिँड्ने कुरा पद्धति र प्रक्रियाभित्र पनि पर्दैन होला नि ! अहिले के भइरहेको छ भन्ने त सबैले देखिरहेकै छ, मैले नै भन्नुपर्छ र ? 

कतै न कतै कमी–कमजोरी त भएकै हुनुपर्छ, अन्यथा यो संकट किन आउँथ्यो होला र ? तपाईको बिचारमा कसबाट कस्तो कमी कमजोरी भयो ?
– हिजो जनतालाई एउटा उत्साहजनक सन्देश दिइयो– अस्थिरताको अन्त्य गर्छौँ भनेर । राजनीतिक अस्थिरताको अन्त्य गर्छौँ र अब उत्पादनका लागि संघर्ष गर्ने हो, अधिकारको संघर्ष सकियो, लिपिवद्ध भयो भनेको हो ।
मुलुकको कानुुन र संविधान अनुसार देशलाई अगाडि बढाउने कुरामा सहमत भयौँ र ३÷३ महिना वा ६÷६ महिनामा सरकार बदल्ने कुराको अन्त्य गर्छौँ भनेर आयौँ । जनताले त्यो कुरालाई हार्दिक स्वागत पनि गरे । त्यसआधारमा चुनावी मोर्चा बनेर पार्टी एकतामा पनि त्यसलाई बदलियो । त्यति भइसकेपछि पनि सरकारका बारेमा अहिलेसम्म २० पटक जति अनावश्यक झमेला झिकियो होला । त्यो झमेला झिक्नुपर्ने स्थिति थियो र ? त्यो अवस्था त थिएन होलाजस्तो लाग्छ ।
कमी–कमजोरी भएका छन् भने औपचारिक फोरमहरुमा छलफल भएका छन् । केन्द्रीय कमिटीका दुई वटा बैठक बसेका छन् । स्थायी समितिका बैठक पनि बेलाबेला बसिरहेका छन् । सचिवालय बैठक त नियमितजस्तो नै बसिरहेको छ, भनेपछि पटकपटक अस्तिरताको कुरा किन गर्नुप-यो त ? मुख्य थिमबाट राजनीतिक नेतृत्व बेलाबेलामा किन बिच्कने र हच्कने भइरहेको छ ? यो प्रश्न आम रुपमा उठेको छ । त्यसकारण गल्ती कसको भन्दा पनि नेतृत्वले सार्वजनिक अडान बनाएर बैठकहरु गर्नु र आयोजना गर्न माग गर्नु राम्रो होइन । बैठकहरु आयोजित भएपछि आफ्ना विचार र दृष्टिकोण, तथ्य र तर्क गर्नु र त्यसअनुरुपको निर्णय गराउनु खोज्नु स्वाभाविक हुन्छ ।

औपचारिक फोरमबाट भएका निर्णयहरु नै कार्यान्वयन नगर्दा समस्या आएको भनेर नेताहरुले बारम्बार भनिरहेका छन् । त्यस्ता निर्णयहरु किन कार्यान्वयन हुँदैनन् ? 
– यो अर्मुत कुरा हो । के–के निर्णय कार्यान्वयन भएनन् ? त्यसको जवाफ छ ? भन्न सक्नुप¥यो नि, यो यो भएनन् भनेर ।
 
पछिल्लो भदौ २६ को स्थायी समितिको निर्णय कहाँ कार्यान्वयन भयो त ? 
– भदौ २६ को निर्णयमा सरकारले सरकार चलाउने र पार्टीले पार्टी चलाउने भन्ने भएकै छ त ! त्यो अनुसार पार्टीले महाधिवेशनको तयारी थाल्ने कि अरु मुद्दा उठाउने ? निर्णय त चैतमा महाधिवेशन गर्ने भन्ने पनि त हो ! त्यो निर्णय कार्यान्वयन गर्न कार्ययोजना बनाउने, सदस्यता लगायतका विषय टुंग्याउने, एकता प्रक्रियाका बाँकी काम सक्नेमा किन ध्यान नपुगेको त ? यो पनि त समस्या हो नि ! अहिले त संक्रमणकाल जस्तै छ । यसकारण पनि संक्रमणकाल जस्तै छ कि एउटा पार्टीको दुईवटा अध्यक्ष छन् । महाधिवेशनपछि त यस्तो हुँदैन भन्ने बुझ्नुप¥यो नि ! पार्टीले नीतिगत ओरेन्टेसन गरेको कुरामा सरकारले के मानेन भनेर भन्नुप¥यो नि !

मन्त्री र राजदुत नियुक्ति गर्दा एकपक्षीय भयो भन्ने त देखिएकै हो नि ? 
– भित्र एउटा कुरा, बाहिर अर्को कुरा गरिएको छ यसमा । सार्वजनिक खपतलाई एउटा कुरा भन्ने, यो तरिका नै ठिक भएन । मन्त्रीका लागि प्रधानमन्त्रीले नाम मागिरहनुभएको त बोल्नु भएकै छ । अनि नामै नदिएपछि प्रधानमन्त्रीले नौ–नौ महिनासम्म मन्त्रालय खाली राख्ने कुरा पनि ठिक नहोला नि !
 
चुनाव अघि दुई पार्टीबीच गठबन्धन बनाएर उम्मेदवारी दिएका कारण कम्युनिस्टहरुले सहज बहुमतका साथ सत्ताको नेतृत्व गर्ने अवसर प्राप्त गरे, अहिले खोलो त¥यो, लौरो बिर्सियो भनेजस्तो चुनावमा जितिसकेपछि, पार्टी एकता भइसकेपछि त्यसलाई टिकाउन जरुरी नठानिएको हो ?
– फेरि पनि स्थिरताको कुरा आउँछ । यो प्रश्न उठाएर जनताको बीचमा जाने र जनताको जनमत लिएर अघि बढेपछि त्यसैका आधारमा आफ्ना समग्र सोच, दृष्टिकोण, विचार कार्यविधि अघि बढाउनुपर्छ । त्यसमा सधैँ शंका गरेर हिँड्ने होइन । १० पल्टभन्दा बढी प्रधानमन्त्रीको राजीनामा किन माग्नुप-यो त ? हुँदा न खाँदाका विषयमा तिललाई पहाड किन बनाएको त ? जस्तो कि, नेपाल नाम राख्यो भनेर किन हिड्नुप¥यो ? नेपाल नै हो, अनि नेपाल नाम त राखिहालिन्छ नि ! कि अर्को नाम छ भने भन्नुप¥यो । त्यसैले विपक्षीको भूमिका पनि सत्तारुढबाटै खेल्नु राम्रो होइन । एकता चाहिएन भनेर अहिले कसले भनेको हो र ? दुबैलाई चहिएर न एकता भएको हो ! तत्कालीन माओवादी केन्द्रलाई पनि एकता चाहिएको थियो, एमालेलाई पनि चहिएको भएर नै एकता भएको हो । 

सौताको रिसले लोग्नेको काख ... जस्तो भइरहेको छ । पार्टी एकता भङ्ग भयो भने त भोलि तपाईहरु पनि कुन अनुहार लिएर जनतामाझ जानुहुन्छ ? 
– पार्टी फुटाउने कुरा प्रधानमन्त्रीले कुनै हालतमा गर्नुहुन्न । अरुले फुटाए भने त्यसको जवाफ जसले दिनुपर्ने हो, उसैले दिनुपर्छ । हरेकको जवाफ त एकजना प्रधानमन्त्रीले दिएर साध्य लाग्दैन । जसले सधैँ अस्थिरता र अप्ठ्यारो कुरा गरिरहन्छ, त्यसको मकसद के हो त ? कता लान खोजेको हो ? पार्टी एकता सुदृढ गर्न खोजेको वा महाधिवेशन नै नगरेर झन् अन्योल बनाउन खोजेको हो ? 

सचिवालयका ५ जना नेताले बैठक बोलाउन सहमति दिनुस् भनेर प्रधानमन्त्रीलाई अनुनय विनय गरेको ग-यै छन् । तर प्रधानमन्त्रीले बैठक बोलाउन मान्नुभएको छैन । उहाँलाई बैठकप्रति किन यस्तो एलर्जी भएको होला ? 
– विधानअनुसार बैठक बोलाउने, बैठक बसाल्ने कुरा गरेकै छ त ! अनि ५ जना नेताको छुट्टै अर्को निर्णय हुनुपर्छ र बैठक बोलाउन ? भेटेरै भन्दा नि भइहाल्यो नि ! बाहिरी दबाब किन दिनप¥यो ? हिजो एकताका बेला त दुई जना बस्दा कुरा मिल्ने, आजचाहिँ किन नमिल्ने ? सधैँ घेराबन्दी र समीकरण गरिराख्नु भएन, त्यो आभास दिनु भएन । त्यसले शंका र मनमुटाव मात्रै बढाउँछ । त्यो कुरा बन्द गरेपछि बाँकी अरु सबै सल्टिँदै जान्छ । 

पार्टी विधि, विधान र पद्धति अनुसार चल्नुपर्छ भनेर नेताहरुले बैठकको कुरा गर्दा अध्यक्ष ओलीलाई किन सँधै कन्पारो तातेर आउँछ ? 
– विधि अनुसार गरेको भए बाहिर मिटिङ गरेर बैठक बोलाउने माग गर्न मिल्छ त ? मेरो भनाइ पार्टी एकता नेताहरुका लागि मात्रै होइन, जनताका लागि पनि हो । त्यो भनेको देशको स्थिरताका लागि हो । आइडोलोजी मिल्ने पार्टीहरु फुट्नुभन्दा जुट्नु नै राम्रो हो । जबज भन्यो भनेर कराएर हुन्छ त ? जबज भन्दा बाहेक के प्रयोग भएको छ त अहिले ? यो त मैले पहिले पनि भनेको, तिम्रो सबै कुरा मनप¥यो तर तिम्रो नामचाहिँ मन परेन भनेजस्तै गर्नुभएन । त्यस्तो भएपछि के माया पिरती बस्छ र ? 

भनेपछि मायापिरती टुट्ने नै देख्नुहुन्छ ? 
– म त्यस्तो देख्दिनँ । एउटा कुरा बाहिर हल्ला भएपछि दबाब पर्छ । पार्टी कार्यकर्ताहरु एकताकै पक्षमा छन् भने नेतृत्वले कसरी अर्को बाटो लिन सक्छ र ? यदि त्यसरी दुर्घटनाको बाटो रोजियो भने विनाश अवश्य हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप