शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीलाई कमिसनको व्यवस्था हुँदा अपराध नियन्त्रणमा समस्या: प्रभु साह

मङ्गलबार, २५ कात्तिक २०७७, १३ : ४०
मङ्गलबार, २५ कात्तिक २०७७

रौतहट ।  नेपाल कम्युनिष्ट पार्टी, प्रदेश २ का अध्यक्ष तथा संघीय सांसद प्रभु साहले नेपाल प्रहरी कमिसनको चक्करमा परेका कारण अपराध नियन्त्रणमा समस्या हुनेगरेको टिप्पणी गरेका छन् । प्रदेश २ का नेकपा अध्यक्ष साहले रातोपाटीसँग कुरा गर्दै अहिले चाडपर्वको समय भारतसँग सीमा जोडिएका प्रायः सबै जिल्लाका प्रहरीहरु तस्करी नियन्त्रणमा मात्र केन्द्रित भएका कारण तराईका जिल्लामा अपराध बढिरहेको आरोप लगाए ।

राज्यको तलब खाएर जनताको सेवामा समर्पित भएकाहरुलाई कमिसनको समेत व्यवस्था गर्दा प्रहरीको आचरणमा नकारात्मक प्रभाव परेको भन्दै उनले पछिल्लो समय प्रहरी सेवामुखीभन्दा पनि कमिसनमुखी भएको टिप्पणी गरे । यस्तो व्यवस्थालाई परिमार्जन गर्न समेत उनले सरकारसँग माग गरेका  छन् । 

आम नागरिकको हकमा भने सुराकी दिएबापत प्रोत्साहनस्वरुप  कमिसन दिने व्यवस्था कायम राख्नुपर्ने भएपनि प्रहरीलाई त्यसरी कमिसन दिन नहुने सांसद साहको भनाइ छ । ‘देशमा गौरवशाली इतिहास बोकेको नेपाल प्रहरीको क्षेत्राधिकार भनेकै देशमा शान्ति सुव्यवस्था कायम गर्नु र अपराध नियन्त्रण गर्नु हो,’ उनले भने, ‘नेपाल प्रहरीका कयौं सक्षम अफिसरले प्रशंसनीय काम पनि गर्दै आएका छन् । तर कतिपयले आफ्नो कार्य क्षेत्रभित्र शान्ति सुव्यवस्थालाई कसरी कायम गर्ने, अपराध नियन्त्रण र अनुसन्धान कसरी प्रभावकारी बनाउने भन्नेतर्फ ध्यान दिएका छैनन् ।’ 

दिनदिनै भइरहेका आपराधिक घटनाको न्यूनीकरण कसरी गर्नेजस्ता महत्वपूर्ण मुद्दामा ध्यान केन्द्रित गर्नुको सट्टा हाल प्रहरी राजस्व छली र चोरी निकासीका सामान पक्राउ गर्नमै बढी केन्द्रित भएको उनको गुनासो छ ।  उनले भन्सार र राजस्व छलीमा व्यक्तिसहित सामान बरामद गरेमा ३० प्रतिशत, मालसामान मात्र बरामद भएमा २० प्रतिशत पुरस्कार, सूचनामात्र दियो भने १५ प्रतिशत पुरस्कार पाउने व्यवस्था सरकारले गरेको स्पस्ट पारेका छन् । 

‘यसरी अवैध मालसामान प्रहरीले बरामद गरेमा उसले ४५ प्रतिशतसम्म पुरस्कार पाउँछ,’ उनले भने, ‘यहाँ विचार गर्नुपर्ने मुख्य कुरा हो भने भने ती प्रहरी, जो कर छलीमा केन्द्रित हुन्छ, मैले महान् काम गरेँ भनेर पत्रकार सम्मेलन गरेर देखाउँछ, ऊ साँच्चै देशको सेवामा समर्पित छ कि दाम कमाउनमा केन्द्रित छ ?’

देशमा कयौं आपराधिक घटनाका अपराधीहरु अझै पत्ता लाग्न नसकेको अवस्थाले प्रहरी संगठनकै दक्षतामा प्रश्न उठाउने गरेको उनको भनाइ छ । यस्ता घटनामा अपराधीलाई पत्ता लगाउने र संगठनमाथि उठेको प्रश्नलाई मेटाउन कसरत गर्नुपर्नेमा जिल्लाका, प्रदेशका, संघका घुमुवा प्रहरीहरु समेत  किसानले जोखिम मोलेर खेती गर्न भारतबाट किनेर ल्याउने गरेका मलखाद समातेर बहादुरी देखाउने गरेको उनले बताए । ‘यसलाई महान काम भन्ने कि अपराध भन्ने हो ?,’ उनले भने, ‘म आम नागरिकको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रहरीले साँच्चै कर्तव्यनिष्ट भएर काम गरिरहेको हो भने प्रहरी प्रधान कार्यालयले नै प्रहरी कर्मचारीहरुले कुनै पनि सामान बरामद गर्दा कमिसन नपाउने घोषणा गर्नुपर्ने उनको भनाइ छ । सरकारले रासायनिक मलको जोहो गर्न नसकेकै कारण किसानले आफ्नो बलबुतामा भारतबाट मल ल्याउँदा तस्करीका नाममा नियन्त्रण लिने काम गर्नुअघि प्रहरीले पनि किसानको पीडा बुझ्नु पर्ने सांसद साहको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप