बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच हजारका लागि मजदुरलाई जिउँदै जलाइयो

मङ्गलबार, २५ कात्तिक २०७७, १३ : ०७
मङ्गलबार, २५ कात्तिक २०७७

भारतको मध्य प्रदेशको गुना जिल्लामा एक मजदुरलाई कथित रुपमा पाँच हजार भारुको उधारो चुकाउन नसकेका कारण मट्टितेल खन्याएर जिउँदै जलाइएको छ ।

स्थानीय गैर सरकारी संगठनले यसलाई बँधुवा मजदुरीको घटना बताइरहेका छन् । यद्यपि, सरकारले यसलाई उधारोका कारण निम्तिएको घटना बताइरहेका छन् ।

‘मजदुरी गरेको रकम माग्दा खन्याइयो मट्टितेल’

घटना शुक्रबार रातीको हो ।

बँधुवा मुक्ति मोर्चा, गुनाका जिल्ला संयोजक नरेन्द्र भदौरियाले २६ वर्षका विजय सहारिया पछिल्लो तीन वर्षदेखि राधेश्याम लोधाको खेतमा बँधुवा मजदुरको रुपमा काम गरिरहेको र दुबै एउटै गाउँमा बस्ने गरेको जानकारी दिए ।

नरेन्द्र भदौरियाले भने, ‘विजयलाई निरन्तर काममा लगाइन्थ्यो । उसले त्यस दिन राधेश्यामलाई आफूले कतै मजदुरी गरेर उनको पैसा चुकाइदिने बताए । त्यसपछि उनले आफूले मजदुरी गरेबापत् पाइने पैसा मागे । तर यो कुरामा राधेश्याम उनीसँग असाध्यै रिसाए र राधेश्यामले विजयमाथि मट्टितेल खन्याएर आगो लगाइदिए ।’

विजय सहारियाको त्यसको भोलिपल्ट अर्थात् नोभेम्बर ७ मा अस्पतालमा मृत्यु भयो । राधेश्यामलाई भोलिपल्ट प्रहरीले पक्राउ गर्यो ।

आगो लगाएपछिको विजयको एक भिडियो पनि भाइरल भएको छ जसमा उनले आफूमाथि के भयो र राधेश्यामले उनीमाथि किन र कसरी मट्टितेल खन्याएको भन्ने जानकारी दिएका छन् ।

विजय आफ्ना आमा–बुवा, भाइ, श्रीमती रामसुखी र दुई सन्तानसँग गाउँमा बस्दथे । विजयका पिता कल्लूरामले उनको छोरा विजयले पाँच हजार भारुको उधारो लिएको जानकारी दिए ।

कल्लूरामले भने, ‘तीन वर्षसम्म काम गरेपछि न त उनी ऋणमुक्त भए न उनले कुनै पैसा नै पाए । त्यसैले केही दिनदेखि उनी काममा जान बन्द गरेका थिए ।’

‘त्यस दिन राधेश्यामले छोरालाई बोलाए र त्यसपछि उनीमाथि मट्टितेल खन्याएर उनलाई आगो लगाइदिए ।’

प्रहरी अधिकारी राजेश कुमार सिंहले भने, ‘यो घटनामा तत्काल कारवाही गर्दै अभियुक्तलाई पक्राउ गरिएको छ । मृतकको परिवारलाई पनि आर्थिक सहायता उपलब्ध गराइसकिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप