नेकपा विवादमा अनुशासन आयोगको चासो : तत्काल बैठक बोलाउन आग्रह
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवादमा केन्द्रीय अनुशासन आयोगले चासो व्यक्त गरेको छ । आयोगका अध्यक्ष अमृत कुमार बोहोराले तत्काल पार्टी बैठक बोलाउन पार्टी अध्यक्षद्वयलाई आग्रह छन् ।
सोमबार एक विज्ञप्ति जारी गर्दै आयोग अध्यक्ष बोहोराले ‘पार्टीका जिम्मेवार नेतृत्वगण प्रति मेरो विनम्र आग्रह छ, पार्टी एकता आजको आवश्यकता हो । पार्टी एकताको विकल्पै छैन । समृद्ध समाजवादी समाज बनाउने ऐतिहासिक आवश्यकता पुरा गर्न यो एकता जरुरी थियो र भविष्यसम्म छ । फुट र विभाजन प्रतिगामी कुरा छन्’, बोहोराले भनेका छन्, ‘विगतमा हामीले पार्टी फुटको दुःखद कुरा व्यहोरिसकेका छौं । अब यस्ता गल्तीबाट शिक्षा लिनुपर्छ । त्यसैले कमरेडहरु, जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं । बैठक राख्ने विषयलाई कुनै प्रतिष्ठाको विषय नबनाऔं ।’
उनले पार्टी एकताका बाँकी सबै कामहरु छिटो पुरा गर्दै पार्टी एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई बैचारिक र संगठनात्मक रुपमा एकताबद्ध बनाउन पनि आग्रह गरेका छन् ।
‘पार्टीमा देखापरेका अनुशासन र पद्धतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिष्ट आचरणमा बिचलन जस्ता विद्यमान विकृति र विसंगतिलाई सघन वैचारिक संघर्षद्धारा परास्त गरौं । संयम्, धैर्यता र राजनीतिक सुझबुझसहित जनता र राष्ट्रका समस्याका ध्यान केन्द्रित गर्दै पार्टीलाई एकताबद्ध र गतिशील बनाउन नेतृत्वगण प्रति विशेष अनुरोध गर्दछु’, बोहोराले भनेका छन् ।
अमृत कुमार बोहरा
उनले लोकतान्त्रिक आन्दोलनमा नेकपाको भूमिका अत्यन्त महत्वपूर्ण रहिआएको भन्दै समाजलाई रुपान्तरण गर्ने प्रक्रियामा यसले गरेको संघर्षलाई कसैले इन्कार गर्न नमिल्ने स्मरण गराएका छन् ।
‘यस्तो महत्वपूर्ण भूमिका भएको पार्टीमा हिजो आज दिनहुँजसो सम्पूर्ण जनसमुदाय र आमपार्टीपंक्तिलाई निराश पार्ने “गालीगलौज” “निन्दा भत्सर्ना” “आरोप–प्रत्यारोप” र “पार्टी विभाजन” जस्ता सुन्नै नसकिने अत्यन्त अप्रिय कुराहरु सार्वजनिक सञ्चारमाध्यमबाट आउने गरेका छन् । यो हाम्रो लागि गम्भीर चिन्ताको विषय हो’बोहराले विज्ञप्तिमा भनेका छन् ।
आन्तरपार्टी विवाद सञ्चालनका निक्कै राम्रा मार्क्सवादी परम्परा रहेको भन्दै बोहोरोले विगतमा पार्टीमा उत्पन्न ठूलठूला विवादहरु पनि अन्तरपार्टी संघर्षका माध्यमबाट समाधान भएका धेरै उदाहरणहरु रहकाले त्यतातर्फे नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
उनले विधि, पद्दति पार्टी सञ्चालनका प्राण भएको पनि बताएका छन् । ‘विधि र पद्धति पार्टीका प्राण हुन । पद्धति र प्रणाली रहेनन् भने पार्टी जीवन रहँदैन । यी कुराहरु हामीले बुझेकै छौं । तर हामी किन पार्टी विधान अनुसार विधि पद्धतिको पालना गर्दैनौ ? बैठकको औचित्य र निर्णय पालनाको मर्मलाई किन बुझ्दैनौं ? जनता र राष्ट्रको हितभन्दा के हाम्रा अरु कुनै स्वार्थ छन् ? अनि हामीहरु किन निःतान्त आत्मकेन्द्रित भएर सोच्दछौं’, बोहोराले भनेका छन्, ‘हामीले यो कुरा बुझ्नुपर्छ, माक्र्सवादीहरु हरेक कुरामा खुल्ला–खुलस्त हुन्छन् । भित्र एउटा कुरा र बाहिर अर्काे कुरा गर्दैनन् । जालझेल र षड्यन्त्रलाई मनैदेखि घृणा गर्छन् । पार्टी र जनताका काममा कुनै गल्ती कमजोरी भए इमान्दारितापूर्वक आत्मालोचना गर्छन् र सच्याएर अघि बढ्छन् । एउटा कम्युनिष्टले अबलम्वन गर्नुपर्ने कार्यशैली भनेको यही नै हो । तर व्यवहारमा हाम्रो पार्टी यी कामहरुमा किन पछि परेको छ । सबैको मनमा प्रश्न उठिरहेको छ ।’
उनले पार्टीका निर्णयहरु आवश्यकताले कार्यान्वयनको लागि गरिने भन्दै पार्टी एकताका समयदेखि स्थायी कमिटी र केन्द्रीय कमिटीका धेरै निर्णयहरु आजसम्म कार्यान्वयन नभई निस्क्रिय बसेको बताएका छन् ।
‘पार्टीका सम्पूर्ण निकाय अनुशासन आयोग, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद र जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभागलगायत एकताका बाँकी कामहरु आजसम्म थाँतिरहेका छन् । यो दुःखद पक्ष हो । तीन महिना, एक महिना पन्ध्र दिन र दश दिनभित्र पूरा गर्ने भनेर भाखा राख्दै आएको पनि अहिले २९ महिना बितिसकेको छ’, बोहराले भनेकाछन्, ‘तर विधानले एकैछिन असंगठित राख्न नमिल्ने महत्वपूर्ण कमरेडहरु वर्षाैंसम्म जिम्मेवारीविहीन हुँदा पार्टी नेतृत्वलाई किन घोच्दैन, किन पोल्दैन र यति महत्वपूर्ण विषयलाई प्राथमिकता किन राखिदैन ? यति सम्म कि लामो रस्साकस्सी र विवाद पछि समाधान हेतु कार्यदले प्रस्तावको रुपमा ल्याएको तथा २६ भदौ २०७७ को स्थायी कमिटी बैठकले कार्यान्वयनको निमित गरेको निर्णय समेत आजप्रर्यन्त अल्पत्र छन् । निर्णय कार्यान्वयन गर्ने तत्परता कतै देखिएकै छैन । बरु त्यसलाई अनेकौ बहानामा पन्छाउने काम भइरहेको छ ।’
उनले पार्टी नेतृत्वको सोच सधै फराकिलो हुनुपर्ने भन्दै हृदयमा विशालता नभए त्यो कम्युनिष्ट हुँनै नसक्ने दावी समेत गरेका छन् । ‘संकृर्णता, आग्रह–पूर्वाग्रह, गुटबन्दी र रिस रागले पार्टी चल्न सक्दैन । उत्तेजना, आबेग र गालीगलौजले समस्याको हल हुँदैन । यसले त विवादलाई सरल होइन झन् जटिल बनाउँछ । तनावलाई सिथिल नगरी कि वार कि पार भन्ने ठाउँमा पु-याउँछ । विनाशको बाटोतर्फ जाने यस्ता कुराको कल्पना हामीले गर्न मिल्छ ? यो गल्ती हामीले कदापि गर्नु हुँदैन । पार्टीमा समस्या छन्, तिनलाई हामीले स्वीकार गर्नुपर्दछ । पार्टी विधान बमोजिम त्यसको समाधानमा पहल गुर्नपर्दछ’, बोहराको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा
-
निर्यात बढेपछि घट्यो देशको व्यापार घाटा
-
आज राजधानीमा नेकपाको जनसभा : विप्लवले सम्बोधन गर्ने
-
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्छ : मुख्यमन्त्री कँडेल
-
पूर्णबहादुरको सारङ्गी : ‘बा’को कथा कि गन्धर्व लोकजीवनको उजागर ?
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस