बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लण्डनमा मनाइयो रिमेम्बरेन्स सन्डे’ राजदूत सुवेदीले पनि चढाए ‘रिथ’

सोमबार, २४ कात्तिक २०७७, ११ : ३४
सोमबार, २४ कात्तिक २०७७

लन्डन । बेलायतमा नोभेम्बर ८ आइतबारका दिन एक विशेष समारोहकाबीच ‘रेमेम्बरेन्स सन्डे’ मनाइयो । बेलायतसहित कमनवेल्थ देशमा विश्वयुद्धपछि दिवंगत सैनिकहरुको सम्झनामा प्रत्येक वर्ष ११ नोभेम्बरलाई रिमेम्बरेन्स डे अर्थात ‘पप्पी डे’ को रुपमा मनाउने गरिन्छ । तर, प्रत्येक वर्ष नोभेम्बरको दोस्रो आइतबारलाई भने ‘रिमेम्बरेन्स सन्डे’ को रुपमा मनाइन्छ ।

लन्डनस्थित सेनेटाफ व्ह्वाइटहलमा आयोजना गरिएको उक्त कार्यक्रम कोरोना महामारी तथा लकडाउनका कारण केही विशिष्ट व्यक्तिहरुबीचमा मात्र सिमित रह्यो  । आइतबार बिहान आयोजित विशेष समारोहमा बेलायती महारानी एलिजावेश द्वितीय, प्रधानमन्त्री बोरिस जोन्सन, प्रतिपक्षी दल लेबर नेता सर कियर स्टारमर, पूर्व प्रधानमन्त्रीहरु टेरेजा मे, डेभिड क्यामरुन, टोनी ब्लेयर, सर जोन मेजर, सैन्य तथा राजनीतिक पार्टीका शीर्षस्थ नेताहरु, ब्रिटिश तथा कमनवेल्थ भेट्रान, कूटनीतिज्ञहरु लगायतको सहभागिता थियो ।

कालो टोपी र कोटमा सजिएकी महारानीले बेलायती विदेश मन्त्रालय (एफसीओ) अफिसको बाल्कोनीबाट अवलोकन गरेकी थिइन् । समारोहमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी पनि सहभागी भएर ‘रिथ’ चढाए । बेलायतका १८३ जना राजदूतमध्येबाट ७ जना राजदूतलाई मात्र निमन्त्रणा गरिएको उक्त समारोहमा नेपाल र आयरल्याण्डका राजदूत तथा माल्टा, मालावी, पपुवा न्यूगिनी र बंगलादेशका उच्च आयुक्तहरु समारोहमा सहभागी भए ।

प्रथम विश्वयुद्धको समापनसंगै युद्धमा लडेका र वीरगति प्राप्त गरेका सैनिक योद्धाहरूप्रति सम्मान व्यक्त गर्न यो दिवस मनाउन थालिएको हो । दुई विश्वयुद्धमा बेलायती साम्राज्यको रक्षार्थ धेरै गोर्खाहरुले पनि बलिदानी गरेका छन् । विगतमा दशौँ हजारको सहभागीता रहँदै आएपनि यसपालि भने  पहिलोपटक सर्वसाधारणलाई उपस्थित हुन रोक लगाइएको थियो । विगत वर्षहरुमा भूतपूर्व गोर्खा सैनिकहरु पनि आफ्नो पोशाक, टोपी र मेडलमा सजिएर परेडमा सहभागी हुने गरेका थिए ।

आइतबार बिहान ११ बजेको समयमा आफ्नै घरको ढोकामा गएर सर्वसाधारणले दुई मिनेट मौनधारण गरि  दिवगंत योद्धाहरुको स्मरण गरेका थिए  ।

लन्डन बरो हंस्लोमा पनि मनाइयो ‘ रेमेम्बरेन्स सन्डे ‘

आइतबार बेलायतका अन्य विभिन्न स्थनमा पनि ‘रेमेम्बरेन्स सन्डे’ मनाइयो । विगतका वर्षमा मार्च पाष्ट तथा परेडकासाथ धुमधाम गरेर मनाइने उक्त कार्यक्रमा योपटक सिमित व्यक्तिकाबीचमा सम्पन्न गरिएको लन्डनस्थित हंस्लो काउन्सिल अन्तर्गतको हानवर्थ क्षेत्र काउन्सिलर बिष्णु गुरुङले जानकारी दिए । सो समारोहमा मेयर काउन्सिलर टोनी लुकी तथा उनका प्रतिनिधि, काउन्सिलर तथा कम्युनिटी प्रमुखहरुले युद्ध स्मारकमा ‘रिथ’ चढाएका थिए । समारोहमा काउन्सिलर रघबिन्दर सिद्धु, डिपुटी मेयर, काउन्सिलर हनिफ खान, काउन्सिलर बिष्णु गुरुङ, परेड मार्शल जोन वेथर्स, एन्नी डोल्लरी, एम्मा सिद्धु लगायत केहि सर्वसाधारणको उपस्थिति रहेको थियो । कोरोना संक्रमणका कारण सामजिक दुरी कायम गर्दै सहभागीहरुले मास्कको प्रयोग गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप