अमेरिकी निर्वाचनः ट्रम्प हारे, ट्रम्पवाद हारेन
एजेन्सी । अमेरिकी राष्ट्रपति चुनिनका लागि आवश्यक २ सय ७० भन्दा धेरै इलेक्टोरल मत जो बाइडेनको पक्षमा गइसकेको छ । त्यसैले, अधिकांश सञ्चारमाध्यमले उनी विजयी भएको प्रक्षेपण गरे । विश्वका धेरै देशका राष्ट्रप्रमुखबाट उनलाई बधाई प्राप्त भइसकेको छ । ७ करोड ५२ लाखभन्दा धेरै पपुुलर भोट बटुलिसकेका बाइडेन इतिहासमै सर्वाधिक धेरै मत ल्याउने राष्ट्रपति समेत हुन् । यद्यपि, बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले हार स्वीकारेर बधाई दिएका छैनन् । बरु, कानूनी लडाइँ लड्दैछन् । पराजित हुँदाहुँदै पनि अमेरिकी समाजमा अहिलेसम्मकै ठूलो विभाजन निम्त्याउन ट्रम्प सफल भए ।
इतिहासमै सर्वाधिक मत खसेपनि यस निर्वाचनमा डेमोक्रेटहरुले सोचे जसरी ट्रम्पविरोधी लहर चलेन । अधिकांश राज्यमा उनले बाइडेनलाई कडा टक्कर दिए । चार वर्षअघि निर्वाचित हुने क्रममा ६ करोड ३० लाख हाराहारीमा मत ल्याएका ट्रम्पले यसपटक चुनाव हारेपनि ७ करोडभन्दा धेरै पपुलर भोट ल्याए, बाइडेनपछि अमेरिकी इतिहासमा यति धेरै मत ल्याउने उनी दोस्रो उम्मेदवार हुन् ।
राष्ट्रपति दौडमा छिनछिनमै परिवर्तन भएका मत अनि अनपेक्षित निर्वाचनको नतिजा र प्रभावबारे धेरैको ध्यान तान्योे, तर संसदीय दौडमा के भइरहेको छ भन्ने पनि हामीले बिर्सन हुँदैन । राष्ट्रपति दौडभन्दा हाउस अफ रिप्रिजेन्टेटिभ (तल्लो सदन) र सिनेट (माथिल्लो सदन) को नतिजा कम महत्वको छैन । डेमोक्रेटहरुले तल्लो सदनमा आफ्नो बहुमत कायमै राखेपनि रिपपिब्लिकनहरुले गत निर्वाचनको तुलनामा त्यहाँ आफ्नो उपस्थिति बढाएका छन् । अमेरिकी सिनेटमा कसको बहुमत आउँछ भन्ने अहिलेसम्म अनिर्णित छ, अहिलेको नतिजा हेर्दा बराबरीको अवस्था छ ।
सारमा, बाइडेनले जितेपनि रिपब्लिकनको चुनौती सोचेजस्तो कमजोर भएन । निर्वाचन अघिका विभिन्न सर्वेक्षणले ट्रम्पलाई जति कमजोर देखाएका थिए, त्यसभन्दा उनको प्रस्तूति राम्रो देखियो । कोभिड १९ को असफल व्यवस्थापन, कमजोर अर्थतन्त्र र ठूलो राजनीतिक विभाजनको समयमा समेत ट्रम्पको पक्षमा यति धेरै मत आउनुले रिपब्लिकन पार्टी र अमेरिकी समाजको जरैसम्म ट्रम्पवाद फैलिएको संकेत गर्छ ।
कडा प्रतिस्पर्धा
चुुनाव हारेपनि ट्रम्प राजनीति छाडेर अन्यत्र कतै जानेछैनन् । उनी र उनका अनुयायीहरु अमेरिकामा ठूलो राजनीतिक दस्ता हुन् । कुल ७ करोडभन्दा धेरै मत ल्याएका ट्रम्पले महत्वपूर्ण स्विंग स्टेट फ्लोरिडामा सन् २०१६ भन्दा धेरै मतान्तरले जिते, यहाँ उनले क्युवेली–अमेरिकीहरुमाझ आफ्नो समर्थन बढाएका छन् । र, अधिकांश राज्यमा उनी झिनो मतान्तरले हारेका छन् ।
निर्वाचन हुनभन्दा केहीअघि ट्रम्पले पेन्सिलभेनिया, मिन्नेसोता, मिसिगन, लोवा, नर्थ क्यारोलिना, जर्जिया र फ्लोरिडामा धमाकेदार र्याली गरेका थिए । पैसा कमाउनका लागि डाक्टरहरुले मृतकको संख्या बढाएका छन् भन्ने षडयन्त्रका सिद्धान्त, देशका अग्रणी संक्रामक रोग विज्ञ डाक्टर एन्थोनी फाउचीलाई बर्खास्त गर्ने धम्की, मास्क लगाएको भन्दै फक्स न्युजका प्रस्तोता लाउरा इन्ग्राहामको विरोधलगायत तर्क ट्रम्पले र्यालीको समापनमा गरेका थिए । निर्वाचनका अन्तिम दिनहरुमा मतदाता संख्याको धेरै अर्थ रहने भएकाले आफ्नो आधारक्षेत्र जोगाउन ट्रम्पले यस्तो तिकडम गरेका थिए, जो केही हदसम्म सफल पनि भयो ।
यद्यपि, किर्तिमानी संख्यामा मतदान भएपछि हामीमध्ये धेरैले यो डेमाक्रेटिकको लहर हुनसक्ने अनुमान गरेका थियौं, त्यो गलत साबित भयो । पक्कै पनि, ठूलो मतदाता संख्या र पोस्टल मतपत्रमार्फत गरिएको मतदान बाइडेनलाई ह्वाइटहाउस पुुर्याउन निर्णायक बन्यो, तर, सिनेट वा तल्लो सदनमा आशा गरेजसरी ठूलो मतान्तरसहितको जित मिलेन ।
अर्थतन्त्र
कोभिड १९ र आर्थिक मन्दीका बाबजुद निर्वाचन अवधिभर मतदातामाझ स्थापित गर्न खोजिएको एउटा दृष्टिकोण अर्थतन्त्रका लागि ट्रम्प राम्रो भन्ने हो । विभिन्न सर्वेक्षणहरुका अनुसार बाइडेनको तुलनामा ट्रम्पले अर्थतन्त्रलाई राम्ररी व्यवस्थापन गर्नसक्छन् भन्ने विचार मतदाताहरुको थियो । धेरै मतदाताहरुको बुुझाईमा कोभिड १९ अघि अर्थतन्त्र राम्रो अवस्थामा थियो र धेरैले कोभिडका कारण गिरेको अर्थतन्त्रको दोष ट्रम्पलाई नजाने दृष्टिकोण राखेका थिए । कोभिड अघिको अर्थतन्त्र, स्टक मार्केटका उपलब्धि र न्युुन बेरोजगारी दरको प्रचार गर्नेमा वर्षदिनभर ट्रम्पको रणनीति केन्द्रीत रह्यो, विशेषगरी अन्तिम दिनहरुमा ।
उनले समाजवाद, कम्युनिष्ट र अतिवादी बामपन्थको भूूत आर्थिक पुुनर्निर्माणमा खतरा रहेको औंल्याइरहे । महामारी व्यवस्थापनको आफ्नो जिम्मेवारी पूरा गर्न नसकेका ट्रम्पले कोरोनाका लागि चीनलाई दोष दिए । अक्टुबर ३१ मा उनको अप्रुुभल रेटिङ झरेर ४४ प्रतिशतसम्म पुुगेको थियो, यद्यपि कोरोना महामारीका कारण बढ्दो मृतक संख्या र अन्य समस्याहरुबाट ग्रस्त भएको अवस्थामा उनको रेटिङ जति घट्ने अनुमान गरिएको थियो, त्यस्तो भएन ।
पुरातनवादी एजेन्डा अझै लोकप्रिय
धेरै मतदाताले आफुुसँग सम्बन्ध रोज्ने एक वा दुुईवटा नीतिगत एजेन्डाका आधारमा ट्रम्पलाई मतदान गरेको देखिन्छ । बन्दुक अधिकारसम्बन्धी दोस्रो संशोधन र गर्भपतनविरोधी अधिकार विधेयकको प्रचार, यी एजेन्डालाई समर्थन गर्ने पुरातनवादी न्यायाधीशहरुलाई संघीय न्यायालयका सबै तहमा नियुक्ति । समलिङ्गी विवाहको विपक्षमा अडान, एलजिबिटिक्वुुआईए अधिकारमाथि नियन्त्रणजस्ता एजेन्डा यसमा समावेश छन् । ट्रम्पले निर्णायक पुरातनवादी मान्यताहरुमा प्राथमिकता दिएकाले नै उनी बाइडेनलाई कडा टक्कर दिन सफल भएका हुन् । धेरै अर्थबाट, विशेषगरी पुरातनवादी संघीय न्यायाधीशहरुको नियुक्तिमार्फत ट्रम्पले रिपब्लिकन पार्टीमा आफ्नो वाचा कायम राखेका छन् ।
रिपब्लिकनद्धारा अल्पसंख्यकमाथि दमन
विभाजनको आगोलाई फैलाउन र भय बढाउन रिपब्लिकन पार्टी र विशेषगरी ट्रम्पले स्वेत सर्वोच्चता र रंगभेदलाई प्रयोग गर्छन् । कोभिड १९ बाहेक प्रहरी दमन, संस्थागत रंगभेद र स्वेत सर्वोच्चताका कारण यस वर्ष अमेरिकी जीवन राजनीतिक र सामाजिक विभाजनले खल्बलियो । ट्रम्पले आफ्नो पहिलो राष्ट्रपतीय बहसका क्रममा स्वेत सर्वोच्चताको निन्दा गरेनन्, किनकी ठूलो संख्यामा उनका समर्थकहरु यही सिद्धान्त अंगिकार गर्छन् । हामीले यस निर्वाचनबारे ध्यान दिनुपर्ने अर्को ठूलो पक्ष अल्पसंख्यक मतदातामाथिको दमनको विषय पनि हो । डेमोक्रेट्सहरु मतदाता संख्या र त्यसमा पनि अल्पसंख्यकहरुको भोट बढाउन चाहन्छन्, जबकि रिपब्लिकन पार्टीले प्रणालीगत रुपमै अल्पसंख्यक मतदातालाई बाहिर राख्ने लक्ष्य राख्छ, किनकि धेरैजसो अवस्थामा यसले उनीहरुको विजय हुने सम्भावनालाई कमजोर बनाउँछ ।
संस्थागत रंगभेदको इलेक्टोरल रणनीति रिपब्लिकनहरु विजयी हुने प्रमुख आधार हो । अफ्रो–अमेरिकी मतदातालाई वास्तविक दमनबाट बचाउनका लागि १९६५ मा ल्याइएको मतदान अधिकार ऐनको मुख्य पाटोमाथि सन् २०१३ मा सर्वोच्च अदालतले कैची चलाइदियो, जसकारण ९ वटा राज्यहरुलाई संघीय अनुमति नलिई आफ्नो निर्वाचन कानून परिवर्तन गर्ने स्वतन्त्रता मिल्यो ।
त्यसयताका वर्षमा रिपब्लिकनहरुले अल्पसंख्यकको मतदान शक्ति कमजोर बनाउनेगरी लबिङ गर्ने, कडा भोट आइडी कानून बनाउने, अर्ली भोटिङमा कडाई गर्ने, मतदान केन्द्रहरु बन्द गर्नेलगायत कडा नियम ल्याउने गरेका छन् । यस्ता नियमले अमेरिकीहरुलाई मत खसाल्न कठिन बनाइदिएको छ, विशेषगरी अल्पसंख्यक समुदायमा ठूलो असर परेको छ । यी सबै चुनौतीका बाबजुद यसपटक कीर्तिमानी मत खस्यो र डेमोक्र्याटहरुलाई ह्वाइट हाउसको बाटो खुल्यो ।
ट्रम्पवाद रहनेछ
नयाँ राष्ट्रपतिको टुुंगो लागेपनि सिनेटमा कसको बाहुल्यता रहने भन्ने अझै टुंगिएको छैन । अर्को कुरा स्पष्ट छ– बाइडेनले जितेपनि डोनाल्ड ट्रम्प र रिपब्लिकनहरुले निर्वाचन अघिका सर्वेक्षण र पूर्वानुमानहरुलाई चुनौती दिएका छन् । र, हामीले सर्वेक्षणहरुमा विश्वास गर्न हुँदैन भन्ने प्रमाणित गरेका छन् । हामीमध्ये धेरैले जसरी ट्रम्पवाद र रिपब्लिकन पार्टी परास्त हुने सोचेका थियौं, त्यस्तो भएन । बरु, ट्रम्पले मलजल गरेको ‘स्वेत सर्वोच्चतावाद’ नामक सामाजिक विभाजनको बिऊ अमेरिकी समाजमा वनमारा झार जसरी नै फैलने खतरा देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘घुस आरोपले भारतीय धनाड्य अदानी समूहलाई धक्का’
-
वायनाडमा प्रियङ्का गान्धीलाई तीन लाखभन्दा बढी मतको अग्रता
-
नेपालमा भ्रष्टाचार कोरोना भाइरस जस्तै फैलिएको छ : विप्लव
-
धनीहरूको क्लबमा ‘इगो प्रोब्लम’, शेष घले भर्सेस बद्री केसी !
-
कर दिवस : जनकपुरमा उत्कृष्ट चार उद्योग सम्मानित
-
इन्भेस्टमेन्ट कम्पनीको सेयर कारोबारसम्बन्धी नयाँ प्रावधान