केन्द्रीय संस्करण
जनप्रतिनिधि संवाद

महानगरका ‘प्रतिपक्षी’ उपमेयर : जसले आफ्नै संस्थाविरुद्ध पटक पटक आन्दोलन गरिन्

मेयर शाक्यको मनोमानी, बोर्ड बैठकको एजेन्डा किन ढिलो दिइन्छ ?– उपमेयर हरिप्रभा खड्गी, काठमाडौं महानगरपालिका

person explore access_timeकात्तिक २३, २०७७ chat_bubble_outline0


 

पछिल्लो समय रत्नपार्कमा कोरोना संकटका कारण मजदुरी गुमाएकाहरुलाई खाना खुवाउने काम बन्द गर्न खोजेपछि काठमाडौं महानगरपालिका आलोचित बनेको छ ।

त्यसअघि रानीपोखरी पुर्ननिर्माणको विषयमा होस् वा खुलामञ्चमा सटरसहितको पसल खोल्न दिएको विषय वा बागदरबार भत्काउने निर्णय – यी लगायतका विभिन्न काम कारवाहीमा  महानगरपालिकाको भूमिका विवादास्पद र आलोचनात्मक बनेको छ ।

मोनोरेल र मेट्रोरेलको कुरा गर्ने तर महानगरभित्रका सामान्य समस्यापनि हल गर्न नसकेको भनेर आलोचना खेपिरहेको महानगरपालिका किन जनताले खोजेजस्तो हुन सकिरहेको छैन ?

यसको कारण महानगरपालिले योजना अघि सार्दा पर्याप्त छलफल नहुने, दीर्घकालीन योजनाको अभाव, विज्ञसमूहको अभाव जस्ता कारण रहेको उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ) बताउँछिन् । 

महानगरपालिकामा उपमेयरको जिम्मेवारी सम्हालेको झन्डै साढे ३ बर्ष हाराहारी हुँदा पनि आफूले निरन्तर संघर्ष गर्दै अगाडि बढ्नुपरेको उनले बताइन् । रानीपोखरी पुनर्निर्माण, रत्नपार्क अतिक्रमण गरेर बनाएको टहरा हटाउन, बागदरबार बचाउन लगायतका विषयमा मेयर शाक्यसँग संघर्ष गर्नुपरेको उपमेयर खड्गीको भनाई छ । 

रत्नपार्कमा खुवाउनु गलत हैन, मैले पनि दिएको छु 

कोरोना संकटपछि खुल्लामञ्चको छेउमा कोरोना संकटबाट प्रभावितहलाई गत चैतदेखि नै खाना खुवाउने क्रम चलेको थियो । पछिल्लो समयमा आएर महानगरका मेयर विद्यासुन्दर शाक्यको ठाडो पहलमा महानगरको बेइज्जत भएको भन्दै खाना खुवाउन बन्द गर्न लगाउँदा बिरोध भयो । त्यसपछि उनले पार्टी प्यालेसबाट खाना खुवाउन सुझाए ।

उपमेयर हरिप्रभा खड्गीले अहिले कोरोना संकटले रोजगारी दिन नसकिएको बेला महानगरको तर्फबाट कोरोनाका कहर खेपिरहेका र संकटमा परेका जनताको मन दुख्ने गरी त्यस्तो व्यवहार हुनु गलत भएको बताउँछिन् । उनले भनिन् – ‘सबै असहाय, अशक्तलाई परिचयका आधारमा महानगरले नै व्यवस्थापन गर्नुपर्छ । जुन–जुन संघ संस्थाले खाना खुवाइरहेका छन्, उहाँहरुलाई पनि धन्यवाद दिनुपर्छ ।

उपमेयर हरिप्रभा खड्गीले अहिले कोरोना संकटले रोजगारी दिन नसकिएको बेला महानगरको तर्फबाट कोरोनाका कहर खेपिरहेका र संकटमा परेका जनताको मन दुख्ने गरी त्यस्तो व्यवहार हुनु गलत भएको बताउँछिन् । उनले भनिन् – ‘सबै असहाय, अशक्तलाई परिचयका आधारमा महानगरले नै व्यवस्थापन गर्नुपर्छ । जुन–जुन संघ संस्थाले खाना खुवाइरहेका छन्, उहाँहरुलाई पनि धन्यवाद दिनुपर्छ । उहाँहरुले दुःख गरेर, खतरा मोलेर खाना खुवाइरहनुभएको छ । कहाँबाट ल्याए कसरी खुवाए, कसैले १ बोरो चामल दिए होला । म आफैले पनि कोरोना संकटमा परेका मजदुरहरुलाई खाना खुवाउन सहयोग गरेको छु ।’

लकडाउन सुरु भएयता आफूले पनि बानेश्वर तथा ठमेलमा अप्ठेरोमा परेका मजदुरहरुलाई खाना खुवाउने समूहलाई सात–आठ बोरा चामल, दाल, तेल  दिएको उपमेयर खड्गीले बताइन् । उनले भनिन्– ‘हामी पकाएर खुवाउन सक्दैनौं, जो खटिएका छन् उनीहरुलाई खुवाउन भनेर दिएको छु । तर उनीहरुलाई त्यसरी खाना खुवाँउदा लाजमर्दो भयो भन्ने शब्द प्रयोग गर्नु भएन । ती जनता को हुन् ? हाम्रै नेपाली दाजुभाइ, आफ्नै परिवार सरह हुन् । उनीहरुलाई बाटोमा खुवाउने अवस्था किन सिर्जना भयो त ? त्यो हुनुको कारण अहिलेको संकटपूर्ण अवस्थामा हामीले उनीहरुलाई राहत तथा रोजगार दिन सकेनौँ । पेटको समस्या हल हुन सकेन भने बाध्यतामा मान्छे मर्न–मार्न पनि तयार हुन्छ । त्यसैले यसबारेमा बोल्दा हामीले सचेत ढंगले सोचेर मात्र कुरा गर्नुपर्छ ।’

प'रानै शैलीमा रानीपोखरी बनाउँन उपमेयरको लडाइँ

२०७४ सालमा स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधि आएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय तहलाई पनि पुनर्निर्माणमा सहभागी गराउने नीति बनायो । सोही अनुसार रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको जिम्मा काठमाडौं महानगरले पायो ।

जिम्मेवारी पाएपछि महानगरले आधुनिक निर्माण सामग्री प्रयोग गरेर कफी सफ, पार्कसहितको स्वीमिङ पुल शैलीको अत्याधुनिक पोखरी निर्माणको थ्रीडी नक्सा सार्वजनिक गर्‍यो । लगतै ठेक्का दिएर पोखरीमा कंक्रिटको पर्खाल लगाउन थाल्यो । इतिहासलाई नामेट पार्दै, पुरानो मौलिकस्वरुप र शैली मासिने गरी निर्माण कार्य भएपछि सम्पदाप्रेमीहरुले त्यसको विरोध गरे । तर काठमाडौं महानगरपालिकाले त्यो विरोधको वास्ता गरेनन् । संयोग नै भन्नुपर्छ : सम्पदाप्रेमीहरुको न्यायोचित आवाजको पक्षमा उपमेयर खड्गी उभिइन् । उनको नेतृत्वमा गएको टोलीले रानीपोखरीको गेटमा ताल्चा लगाइदियो र उनले तत्काल निर्माण कार्य रोक्न लगाइन् ।

इतिहासलाई नामेट पार्दै, पुरानो मौलिकस्वरुप र शैली मासिने गरी निर्माण कार्य भएपछि सम्पदाप्रेमीहरुले त्यसको विरोध गरे । तर काठमाडौं महानगरपालिकाले त्यो विरोधको वास्ता गरेनन् । संयोग नै भन्नुपर्छ : सम्पदाप्रेमीहरुको न्यायोचित आवाजको पक्षमा उपमेयर खड्गी उभिइन् । उनको नेतृत्वमा गएको टोलीले रानीपोखरीको गेटमा ताल्चा लगाइदियो र उनले तत्काल निर्माण कार्य रोक्न लगाइन् ।

त्यो बेलाको घटना स्मरण गर्दै उनले भनिन्– ‘सबैभन्दा पहिला हामीले हाम्रो ऐतिहासिक संस्कृति, सम्पदा र कलालाई बचाउनुपर्छ । हाम्रो यो पहिचानका कारण नै हामी देश विदेशमा चिनिने हो । नेपाल हेर्न पर्यटक आउनुको कारण पनि यही हो । ठूला ठूला घर हेर्न आउने त हैन ।’

उपमेयर खड्गी नेतृत्वको समूहले ताल्चा लगाउने र मेयर शाक्यको टोलीले काट्ने गरेपछि रानीपोखरी पुनर्निमाणको विषय राष्ट्रिय मुद्दा बनेको थियो । परम्परागत सामग्री, शैली र सीप प्रयोग गरेर मल्लकालीन शैलीमा रानीपोखरी बनाउनुपर्छ भन्ने सम्पदाप्रेमीहरको पक्षमा उपयमेयर खड्गी अडीग रहेकी थिइन् । त्यसबेला मेयर शाक्यमाथि चाहिँ आधुनिक निर्माण सामग्री प्रयोग गरेर कफी सप सहितको लभर्स पार्क बनाउने योजनाका साथ अघि बढेको आरोप लागेको थियो ।

उपमेयर खड्गीले भनिन्–‘चुनाव जितेर आएपछि मैले हाम्रो मुख्य दायित्व नै महानगरभित्र रहेको धरहरा र रानीपोखरी बनाउन प्राथमिकता दिनुपर्छ भनेर बोर्ड बैठकमा कुरा राखेको थिएँ । तर मैले पुरातात्विक सम्पदाको मर्म अनि जनभावनालाई आघात गर्ने गरी कफी सप र एउटा लभर्स पार्कको रुपमा विकास गर्न खोजिएको जस्तो रानीपोखरी चाहेको थिइनँ । यो भनेको त हाम्रो इतिहास हो । हाम्रो पुर्खाले छोडेर गएको सांस्कृतिक सम्पदा हो । यही हेर्न बिदेशबाट पर्यटकहरु आउने हुन् । पर्यटक आउनु भनेको हाम्रा युवाहरुले रोजगारी पाउने, होटल व्यावसायहरु फस्टाउने अवसर सिर्जना हुनु पनि हो ।’

सम्पदाप्रेमी इन्जिनियर सुसन बैद्य लगायत रहेको संस्थाले गरेको कार्यक्रममा डा. सुर्दशन तिवारीले रानीपोखरी स्वीमिङ पुल बन्न लागेको भन्दै तपाईहरु कहिले जाग्नुहुन्छ भनेर गरेको प्रश्नले उनलाई निक्कै चिमोट्यो । त्यहाँ छलफल भएको भोलिपल्ट नै बिहान १० बजे उनी रानीपोखरी गइन् । कंक्रिट प्रयोग गरेर पोखरीको पर्खाल लगाइरहेको कामलाई तुरुन्तै काम रोकिदिएको बताइन् । ‘आफ्नो नेतृत्वमा गएको टोलीले त्यसदिन ताल्चा नलगाएको भए रानीपोखरी अहिलेको अवस्थामा नआउने’ उनको भनाइ छ ।

सम्पदाप्रेमी इन्जिनियर सुसन बैद्य लगायत रहेको संस्थाले गरेको कार्यक्रममा डा. सुर्दशन तिवारीले रानीपोखरी स्वीमिङ पुल बन्न लागेको भन्दै तपाईहरु कहिले जाग्नुहुन्छ भनेर गरेको प्रश्नले उनलाई निक्कै चिमोट्यो । त्यहाँ छलफल भएको भोलिपल्ट नै बिहान १० बजे उनी रानीपोखरी गइन् । कंक्रिट प्रयोग गरेर पोखरीको पर्खाल लगाइरहेको कामलाई तुरुन्तै काम रोकिदिएको बताइन् ।

उनले भनिन्– ‘मलाई घचघचाउने काम गरेकोमा संम्पदाप्रेमीहरुलाई म धन्यवाद दिन चाहन्छु । उहाँहरुको संघर्षको बल र मेरो समेत पहलका कारण नै आज रानीपोखरी बँच्न सफल भएको छ । ग्रासरुटबाट राजनीति गरेर आएको हुनाले मलाई कहिले पनि काठमाडांै महानगरपालिकाको उपमेयर हुँ भनेर घमण्ड छैन । राम्रो कुराका लागि सडकमा उत्रिनुपर्ने पनि पनि हुन्छ । त्यसै अनुसार नै म अघि बढेको छु ।’

घाँस उपहार सकारात्मक

रानीपोखरी मौलिक स्वरुपमा निर्माण गर्न माग गर्दै २०७५ असारमा रानीपोखरीमा उम्रिएको घाँस काटेर स्थानीयहरुले उपमेयर खड्गीलाई उपहार दिएका थिए । परम्परागत शैली–शिल्पमा रानीपोखरी बन्नुपर्छ भनेर सम्पदाप्रेमीले गरेको त्यो कामलाई आफूले सकारात्मक रुपमा लिएको उनले बताइन् ।

उनले भनिन्– ‘बरु त्यसबारेमा मेयरसावले किन लिएको भनेर आलोचना गर्नुभयो । रानीपोखरी बनाउन ढिला भयो घाँस उम्रियो भनेर युवाहरुले घच्घच्याएको हो भनेर मैले भने । हामी अभिभावकको रुपमा रहेको भएर त उनीहरुले घच्घचाउन आएका थिए ।’ 

रानीपोखरीको मौलिकता मासिने गरी रानीपोखरी बनाउन मेयर शाक्य कस्सिएर लागेका बेला आफूले डा.सुर्दशन तिवारीसँगको छलफलपछि बालगोपालेश्वर मन्दिर मल्लकालीन शिखर शैलीमा बनाउनुपर्छ भनेर महानगरका हरेक बैठकमा अडान लिएको उल्लेख गरिन् । 

उनले भनिन्– ‘पोखरीमा ६–६ करोड लिटर पानी ट्याङ्करबाट हाल्ने कुरा पनि आएको थियो, मैले मेलम्चीको पानी काठमाडौं आउने भएपछि रानीपोखरीका लागि पनि पाइपलाइन जोड्नुपर्छ भनेर अडान लिएँ ।’

टुँडिखेल बचाउन आन्दोलनकारीको भूमिका

रत्नपार्कको पुरानो बसपार्कमा भ्यू टावर बनाउने ठेक्का पाएको जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स नामका ठेकेदार कम्पनीका मनोजकुमार भेटवालले खुलामञ्चमा सटर बनाएका थिए । जसले एउटै सटरको ११ लाख सलामी लिएका थिए । २०७६ बैशाख १३ गते खुलामञ्चमा खडा गरिएका ५१ वटा सटरहरु भत्काइएको थियो ।  त्यो सटर भत्काउने कामको पृष्ठभूमीको आन्दोलनमा आफूपनि सामेल रहेको उपमेयर खडगीले बताइन् ।

एकदिन उनको टोलको एकजनाले खुलामञ्चको एउटा सटरमा ब्यवसायका लागि मिलाइदिन आग्रह गरे । उनले टुँडिखेलभित्र सटर राखेर पसल खोलेको छ भनेर फोटो पनि पठाए । रातारात ५१ वटा सटर हालेर व्यापार व्यावसाय नै सुरु गरेको पाएपछि यो कसको अनुमतिमा राखियो भनेर आफूलाई निद्रा नलागेको उनले बताइन् । त्यसबारेमा महानगरपालिकामा बोर्ड बैठकमा त्यसबारे कुनै निर्णय नै नभएको उनले बताइन् ।

उनले भनिन्– ‘भेटवालले निर्माण गर्न लागेको कम्प्लेक्सका लागि सामान राख्न सानो तिनो टहरो बनाउन लागेको होला भन्ने सोचेका थियौँ तर त्यहाँ पसल राख्न अनुमति दिइएको थिएन । हामीलाई झुक्याइयो । बोर्ड बैठकमा सत्य तथ्य ढंगले एजेण्डा नआउने समस्या त्यो सन्र्दभमा पनि देखिएको उनले बताइन् । 

उनले भनिन्–‘खुलामञ्च अतिक्रमण गरेपछि अब चुप लागेर बस्नुहुँदैन, केही न केही कदम चाल्नुपर्छ भन्ने निर्णय गरेँ । मेयरसावले गलत गरेको कुरामा मैले सति जानुपर्छ भन्ने छैन । सबै एकजुट भएर उठ्नुपर्‍यो भनेर सम्पदाप्रेमी दाजुभाइहरुलाई अगाडि बढाएँ । यही क्षेत्रको जनप्रतिनिधि भएको हिसावले उहाँहरुलाई भीमसेनदास प्रधानलाई ज्ञापन पत्र बुझाउन लगाएँ । गत बैशाख १२ गते त्यो दिन भूकम्प दिवस थियो । त्यो दिन कालमोचन घाटमा हामी प्रधानमन्त्रीसहित अवलोकन गर्न गएका थियौँ ।’

‘त्यतिबेला मैले एउटा चतुर्याइँ गरेकै हो । देश बचाउँनका लागि कहिलेकाँही यस्तो पनि गर्नुपर्ने आवश्यकता पर्छ । म उपमेयर भएपनि आन्दोलनकारीको रुपमा पनि थिएँ । मैले प्रधानमन्त्री आउँदै हुनुहुन्छ, टुडिखेल बचाउन उहाँको अगाडि तपाईहरुले नाराबाजी गर्नैपर्छ, नत्र यो बेवास्ता गरेर मिचिन्छ  भनेर सम्पदाप्रेमी दाजुभाइहरुलाई भने ।

उनले भनिन्– ‘त्यतिबेला मैले एउटा चतुर्याइँ गरेकै हो । देश बचाउँनका लागि कहिलेकाँही यस्तो पनि गर्नुपर्ने आवश्यकता पर्छ । म उपमेयर भएपनि आन्दोलनकारीको रुपमा पनि थिएँ । मैले प्रधानमन्त्री आउँदै हुनुहुन्छ, टुडिखेल बचाउन उहाँको अगाडि तपाईहरुले नाराबाजी गर्नैपर्छ, नत्र यो बेवास्ता गरेर मिचिन्छ  भनेर सम्पदाप्रेमी दाजुभाइहरुलाई भने । मेयरसावलाई ज्ञापनपत्र दिन भीमसेनदास प्रधानसहित सम्पदाप्रेमीले समय माग्नुभएको रहेछ, उहाँले आज म भ्याउदिन भन्नुभएपछि मलाई ज्ञापन पत्र दिन आउनुभयो, मैले लिएँ । कार्यक्रममा प्रधानमन्त्री आउनुभयो । त्यहाँ खुलामञ्चमा सटर राखेर पसल खोलेको हटाउन माग गर्दै नाराबाजी भयो । प्रधानमन्त्रीको ध्यानाकर्षण भयो । यो विषयमा मिडियाहरुबाट पनि सहयोग भयो । आफ्नै पार्टीको मेयरले गरेको निर्णयविरुद्ध प्रधानमन्त्रीले निर्देशन दिन बाध्य हुनुपर्‍यो ।’

शुक्रबारको दिन नाराबाजी भयो शनिवार प्रधानमन्त्रीको निर्देशनमा डोजर लगाएर त्यहाँको सटर राखेर बनाइएको पसल हटाउन सकिएको उनले बताइन् ।

उपमेयर खड्गीले भनिन्– ‘ठेकेदारको भन्दापनि माथिको आर्शिवादका कारण सटर राखेको भन्दै मैले हटाउनैपर्ने अडान लिएको थिए । मैले त्यसबारेमा बुलन्द रुपमा आवाज उठाएँ । यूवाहरुलाई जागृत गराएँ । प्रधानमन्त्रीले आफ्नै मेयरले गरेको कर्तुमाथि डोजर लगाउन निर्देशन दिनुपर्‍यो ।’

पशुपतिको पछाडिको जंगलको बाटो बन्द

हिसिला यमी भौतिक पूर्वाधार मन्त्री भएका बेला पशुपति क्षेत्रको श्लेषमान्तक बनको बीचबाट बाटो खोलेकी थिइन् । विश्वसम्पदा सुचीमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्रबाट बाटो खोलेपछि यूनेस्कोले सो सुचीबाट हटाउन सक्ने भनेपछि आफूले त्यो बाटो बन्द गराउन पहल गरेको उनले बताइन् ।

उनले भनिन्– ‘सम्पदाप्रेमी गणपतिलाल श्रेष्ठ लगायतले स्थलगत निरीक्षणका लागि आग्रह गरे । आफैले स्थलगत अध्ययन गर्दापनि सो सडक फोहोर फाल्ने ठाउँ, बिकृति बिसंगती भइरहेको र निर्माण सामग्री ओसार्ने सडकको रुपमा रहेको  पाएँ ।  सुरुमा कागेश्वरी र गोकर्णेश्वर नगरपालिकाका मेयरले मानेनन् । छलफलपछि उनीहरुलाई सहमत गराएर रुख रोपेर बाटो बन्द गराइयो । अहिले त्यहाँ पहिलेजस्तै बन भएको छ ।’

उपमेयरको हैसियतमा अबको डेढ वर्षको काम निपक्ष भएर, सबैको राय सुझाव लिएर काम गर्ने उनले बताइन् । उनले भनिन–‘्मलाई इमान्दारितापूर्वक जनताको काम गर्नुबाहेक अरु कुनै कुराको मतलब छैन । आँखा झुकाउनुपर्ने गरी मलाई काम गर्नु छैन् । उपमेयरले पाएको अधिकारलाई पूर्णरुपमा सदुपयोग गरेर काम गर्छु ।’

बागदरबार संरक्षण गर्न अडान

भूकम्पपछि बागदरबार चर्किएपछि महानगरको आफ्नै भवन बनाउने र पुरानो बागदरबार भत्काउने निर्णय भएको थियो । चुनाव जितेर आउने बित्तिकै बागदरबार भत्काएर नयाँ महानगरको भवन बनाउने निर्णयमा हस्ताक्षर गरेपनि पछि बुझ्दै जाँदा ऐतिहासिक भवन भएकोले त्यसलाई भत्काउनको साटो संरक्षण गर्न ठीक हुने बुझाइमा पुगें । त्यसैले सो दरवारलाई नभत्काई रेक्ट्रोफिटको माध्यमबाट संरक्षण गरौं भनेर बोर्ड बैठकमा आफूले राखें– त्यसबेलाको घटना स्मरण गर्दै उनी बताउँछिन् ।

‘पन्ध्र बीस–करोड कति खर्च हुँन्छ त्यो आफ्नो ठाउँमा छ । पुरानो हाम्रो सम्पदा बचाएर राख्नुपर्छ, त्यो शैलीमा अहिले बनाउने हो भने त अरबौं रुपैयाँ खर्च हुन्छ । भएको हाम्रो ऐतिहासिक कुराको संरक्षण गरौँ । अहिले सम्पदाप्रेमी भाइ गणपतिलाल श्रेष्ठले अदालतमा रिट दायर गरेपछि त्यो रोकिएको छ । मेरो अडान भनेको बलियोसँग रेट्रोफिट गरौं, पछाडिको ५ रोपनी जग्गामा नयाँ भवन बनाऔं भन्ने छ ।’

उनले भनिन्–‘पन्ध्र बीस–करोड कति खर्च हुँन्छ त्यो आफ्नो ठाउँमा छ । पुरानो हाम्रो सम्पदा बचाएर राख्नुपर्छ, त्यो शैलीमा अहिले बनाउने हो भने त अरबौं रुपैयाँ खर्च हुन्छ । भएको हाम्रो ऐतिहासिक कुराको संरक्षण गरौँ । अहिले सम्पदाप्रेमी भाइ गणपतिलाल श्रेष्ठले अदालतमा रिट दायर गरेपछि त्यो रोकिएको छ । मेरो अडान भनेको बलियोसँग रेट्रोफिट गरौं, पछाडिको ५ रोपनी जग्गामा नयाँ भवन बनाऔं भन्ने छ ।’

महानगरका मेयर शाक्य जे पनि भत्काउन चाहने तर आफ पूरानो सम्पदा बचाउने पक्षमा भएकाले जहिलेपनि समस्या सिर्जना हुने उनले बताइन् ।

महानगरपलिका चलाउन एउटा विज्ञ छैन

महानगरको काम प्रभावकारी नहुनुमा विषय विज्ञहरुको अभाव रहेको उनले बताइन् । उनले भनिन्– ‘यत्रो महानगरपालिका चलाउन हालसम्म एउटा विज्ञ राखिएको छैन । हामी त राजनीतिक क्षेत्रबाट नेतृत्व गर्न यहाँ आइपुगेका हौं । हामी सबै कुरा जान्ने, सबै कुरामा बिज्ञता हासिल गरेका कहाँ हुन्छौं र ? महानगरपालिकाले गर्ने हरेक विषय क्षेत्रमा काम गर्दा त्यो क्षेत्रको विज्ञको सल्लाह सुझाव लिन आवश्यक छ । तर महानगरपालिकामा विज्ञ छैनन् । सिपिसी खोलेको छ तर त्यो सिपिसीले सबै कुरा गर्दैन् ।’

उनले महानगरमा विज्ञ समूह राख्न मेयरलाई कसले रोकेको छ भन्दै प्रश्न गरिन् । रानीपोखरीकै बारेमा सुरुमा विज्ञहरुसँग छलफल गरेर काम अघि बढाएको भए विवाद नै नहुने उनको भनाइ छ ।

उनले भनिन्–‘मैले निर्वाचित भएर आउने विक्तिकै महानगरपालिकाको पञ्चवर्षीय योजना बनाऔं भनेको थिएँ तर हासम्म त्यस्तो योजना बन्न सकेको छैन । म मेयर भएको हुन्थें भने काठमाडौं महानगरपालिकालाई साँच्चैको महानगरपालिका बनाउनका लागि पाँच–छ जनाको विज्ञ टोली बनाउने थिएँ ।’

मोनोरेल चाहिन्छ तर अहिले हैन

काठमाडौं महानगरपालिकामा नयाँ विकासभन्दा पनि अहिले भएको विकासलाई व्यवस्थापन गर्नुपर्ने उपमेयर खड्गीको धारणा छ ।

उनले भनिन्– ‘काठमाडौंमा विकास गर्नुपर्ने के छ र अब ? यो बनिसकेको शहरलाई ब्यवस्थित गर्ने काम मात्र छ । म पनि यहीँको जनता हो । जनताले के खोज्छन्, तत्काल पानी, बिजुली, ट्राफिक जामबाट मुक्त, त्यो आधारभूत कुरा पनि हामीले गर्न सकेका छैनौँ । त्यसकारण यतिबेला मनोरेलको नाम लिनु, यो गर्नु त्यो गर्नुभन्दा पहिला जनताको आधारभूत आवश्यकता पूरा गर्न पो लाग्नुपर्छ ।’

देश व्यवस्थित रुपमा विकसित भएको अवस्थामा मोनोरेल चाहिने भएपनि अहिले त्यसको आवश्यकता नरहेको उनले बताइन् । उनले भनिन्–‘अहिले काठमाडौंमा हेर्ने हो भने कार्यालय खुल्ने र छुट्ने बेला जाम धेरै हुन्छ । दिउँसो त बाटो खुला हुन्छ । जबसम्म हामीले हरेक घरका युवाहरुलाई रोजगारी दिन सक्दैनौं, उद्योग कलकारखानाहरु खोल्न सक्दैनौँ तबसम्म मोनोरेलको आवश्यकता छैन । गाडीमा १५ रुपैयाँ तिर्ने ठाउँमा मोनोरेलमा डेढ सय कसले तिर्छ ? त्यही अनुसार आम्दानी पनि हुनुपर्‍यो । मोनोरेल चलाउन त्यही अनुसार रोजगारी पनि सिर्जना गर्नुपर्‍यो, अनि पो जापान चीनमा जस्तै राती पनि मान्छे निदाउदै यात्रा गरेर काम गर्छन् ।’

हामीले हरेक घरका युवाहरुलाई रोजगारी दिन सक्दैनौं, उद्योग कलकारखानाहरु खोल्न सक्दैनौँ तबसम्म मोनोरेलको आवश्यकता छैन । गाडीमा १५ रुपैयाँ तिर्ने ठाउँमा मोनोरेलमा डेढ सय कसले तिर्छ ? त्यही अनुसार आम्दानी पनि हुनुपर्‍यो । मोनोरेल चलाउन त्यही अनुसार रोजगारी पनि सिर्जना गर्नुपर्‍यो, अनि पो जापान चीनमा जस्तै राती पनि मान्छे निदाउदै यात्रा गरेर काम गर्छन् ।’

धेरै किसिमका भ्रम छरेर जनताबाट भोट लिनुभन्दा आवश्यक र गर्न सक्ने काम मात्र भन्नुपर्ने आफ्नो मान्यता रहेको उनले बताइन् । 

मेयर शाक्यको मनोमानी, बोर्ड बैठकको एजेन्डा किन ढिलो दिइन्छ

काठमाडौं महानगरपालिकाले गर्ने काममा धेरैजसो जनविरोध आउनुको कारण मेयर शाक्यले कुनै पनि विषयमा निर्णय गर्नुअघि त्यसको एजेण्डाबारे समयमै जानकारी नदिनु रहेको उनको भनाइ छ ।

‘बोर्ड बैठकमा जति पनि एजेन्डा आउँछ त्यो अध्ययन गर्ने मौका नै दिनुहुन्न उहाँले । अगाडि नै अध्ययन गर्‍यो भने सबै कुरा थाहा हुन्छ भनेर पो नदिएको हो कि ?’ भन्दै खड्गी अगाडि भन्छिन्, ‘ जुन दिन बोर्ड बैठक हुन्छ त्यसको केही घण्टा अगाडि मात्रै एजेन्डा हाम्रो हातमा पर्छ । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुलाई एजेण्डाबारे अध्ययन गर्ने समय नै दिनुहुन्न । त्यसमा उहाँले चलाखी दाउ लगाइरहनुभएको हुन्छ ।’

कुनै पनि एजेण्डामा पर्याप्त मात्रामा छलफल गर्न नदिएका कारण महानगरले गरेका निर्णयहरु विवादमा पर्ने गरेको उनको ठम्याइ छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.