शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वामदेव कड्किँदा ओली सिताङ्ग !

शनिबार, २२ कात्तिक २०७७, २० : ५६
शनिबार, २२ कात्तिक २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुबीचको दन्तबजान रोकिएको छैन । बैठक बोलाउने कि नबोलाउने भन्ने जस्ता सामान्य विषयमा नेताहरु महिनौँसम्म अल्झेका छन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली बैठक बोलाउन अनिच्छा प्रकट गरिरहेका छन् भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ जना नेताहरु बैठकको माग गर्न छोडेका छैनन् ।

नेकपामा यो क्रम झण्डै एक महिनायता चलिरहेको छ । सोही क्रममा शनिबार बैठकको माग गर्दै लिखित पत्र लिएर बालुवाटार पुगेका कार्यकारी अध्यक्ष प्रचण्डसहितका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री समेत रहेका ओलीबीचको २ घण्टे संवाद भनाभन र घोचपेचपूर्ण बनेको छ । 

शनिबार बालुवाटारमा ६ जना नेताहरुबीचको संवादमा ओलीको कार्यशैली र व्यवहारका विरुद्ध सवैभन्दा बढी आक्रोेश उपाध्यक्ष वामदेव गौतमले पोखेका थिए । ओलीले बैठकको मिति तोक्न नमानेपछि गौतमले झोक्किँदै उनको कार्यशैलीको चर्कोे आलोचना गरेका थिए  ।

‘तपाईं अरुलाईमात्रै गुटबन्दी र के-के गरे भन्नुहुन्छ । गुटबन्दी अरुले होइन, तपाईंले नै गर्नुभएको छ । तपाईंले त षड्यन्त्र बाहेक केही जानेको रहेनछ । तपाईंको समय २४ सै घण्टा षड्यन्त्रमै बित्छ । अनि किन बैठक राख्न चासो देखाउनुहुन्थ्यो र ?’गौतमको भनाई उदृत गर्दै श्रोतले भन्यो, ‘मैले पहिला पनि ६ बुँदेमार्फत तपाईंलाई सहयोग गरेकै हो । तर अब म तपाईंसँग रहन्नँ र सहयोग गर्न पनि सक्दिनँ’, आफ्नो पक्षमा बोल्छन् कि भनेर अपेक्षा गरेका ओली गौतमले यस्तो बताएपछि सिताङ्ग बनेका थिए । 

‘अप्ठ्यारो परेको बेला सहयोग हुन्छ कि भनेर उहाँ गौतमलाई राष्ट्रिय सभा सदस्य र उपाध्यक्ष पनि बनाइयो, तर केही काम लाग्ने देखिएन । उल्टै मलाई षड्यन्त्र गरेको देख्न थाल्नुभयो’, प्रधानमन्त्री ओलीले आफूनिकट नेताहरुलाई ब्रिफिङ गर्दै गौतमले सहयोग नगरेकोमा दु:खेसो पोखेका थिए । 

स्रोतका अनुसार वामदेवपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि चर्को स्वरमा बोलेका थिए । ‘कि तपाईंको दास हुनुपर्ने कि तपाईंलाई मान्नुपर्ने, सामुहिक निर्णय गर्ने कम्युनिस्ट पार्टीमा त्यस्तो पनि हुन्छ ?,’श्रेष्ठले ओली कार्यशैलीको विरोध गरेका थिए । वरिष्ठ नेता झलनाथ खनालले भने ओलीलाई सम्झाउने शैलीमा ‘तपाईंले कहिल्यै आफ्नो कमजोरी सुधार्ने प्रयास गर्नुभएन । गल्ती सुधार्ने भन्दा ढाकछोप गर्न नै लाग्नुभयो । यसले राम्रो गर्दैन’, खनालको भनाइ थियो । 

नेता माधवकुमार नेपालले पनि खनालको भनाइमा समर्थन जनाउँदै गल्ती स्वीकार नगर्नु नै ओलीको कमजोरी रहेको बताएका थिए । संवादकै क्रममा ओलीले अरु नेताहरुलाई भाँडभैलो मच्चाउन लागि परेको आरोप लगाएपछि प्रचण्डले प्रतिवाद गर्दै ‘बैठक बसौँ भन्दा पार्टी फुटाउँछु भन्ने को ?’ भनेर प्रश्न गरेका थिए । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप