बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ओलीले बैठक बोलाउन नमाने के गर्लान् नेकपाका ‘पाँच भाइ’ ?

शनिबार, २२ कात्तिक २०७७, १७ : ४७
शनिबार, २२ कात्तिक २०७७

सत्तारुढ दल नेपाल कम्युस्टि पार्टी (नेकपा)का नेताहरुबीचको आन्तरिक विवाद चरमोत्कर्षमा पुगेको छ । केन्द्रीय सचिवालयका नेताहरुले पार्टी बैठक बोलाउन पटक पटक गरेको आग्रहलाई प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेपछि नेकपा विभाजनको दोसाँधमा पुगेको धेरैको अनुमान छ । 

यद्यपी बोलीमा पार्टी विभाजन रोक्नुपर्ने दुवै पक्षको भनाइ रहेपनि विभाजन रोक्न भन्दा पनि विभाजनलाई बल पुग्ने व्यवहार र गतिविधि तीव्र बन्दै गएका छन् । नेकपा विवादमा खासगरी २ वटा केन्द्र छन् । बालुवाटार र धुम्बाराही गरी २ केन्द्रको दुई नेताले नेतृत्व गरेका छन् । बालुवाटार केन्द्रको ओली र धुम्बाराही केन्द्रको प्रचण्डले नेतृत्व गरेका छन् । 

यही जिकज्याकका बीच बैठक राख्न माग गर्दै सचिवालयका बहुमत सदस्यहरु शनिबार लिखित पत्र बोकेर ओलीलाइ भेट्न बालुवाटार पुगे । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले ओलीलाई दुई पेज लामो पत्र थमाउदै तत्काल बैठक बोलाउन अल्टिमेटम नै दिए । तर, बहुमत नेताहरुको माग र भावनाअनुसार ओली बैठक राखिहाल्न र मिति तोक्न तत्कालै तयार देखिएनन् । बरु, ओलीले पुरानै शैलीमा बैठकको औचित्य नै देखेनन् र भने, ‘बैठक किन राख्ने, राख्दिन ? गुटबन्दी गर्दै हिँड्ने अनि म बैठक राख्ने ?’ 


ओलीको यस्तो रुखो जवाफ सुनेका नेताहरुले त्यहीं प्रतिवाद त गरे तर उनको जिद्धीका अघि केही गर्न सक्ने अवस्थामा थिएनन् ।

‘गुटबन्दी हामीले होेइन, बरु तपाईंले नै गर्नुभयो । प्रदेश १ का नेताहरुसँग के भन्नुभयो ? जबज र मदन भण्डारी फाउन्डेसको वकालत गरेको हामीले कि तपाईंले ?’ प्रचण्डलगायतको यसरी प्रतिवाद गर्दा ओली मौन रहे ।

बैठकको माग गर्न लिखित प्रस्तावसहित बालुवाटार पुगेका ५ शीर्ष नेता र ओलीबीच शनिबार झण्डै २ घण्टा यस्तै सवाल जवाफ गरेर समय बित्यो र उनीहरु बाहिरिए । शुक्रबार प्रचण्डसहितका ५ जना नेताहरु धुम्बाराहीस्थित पार्टी कार्यालयमा भेला भएर ओलीलाई बैठक राख्न लिखित आग्रह गर्ने निष्कर्षमा पुगेका थिए । 

ओलीले नमाने के गर्छन् ‘५ भाइ’ ? 
ओलीलाई पत्र बुझाएर बालुवाटारबाट बाहिरिने क्रममा प्रवक्ता समेत रहेका नेता नारायणकाजी श्रेष्ठले एकदुई दिनभित्रै बैठक बोलाउन नेताहरुले गरेको आग्रहमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले मिति तोक्न अस्वीकार गरेको प्रतिक्रिया दिए । 

‘सल्लाह गरेर बसौँला मात्रै भन्नुभयो तर मिति तोक्न मान्नुभएन’, श्रेष्ठको भनाइ थियो । यदि एक दुई दिनभित्र पनि ओली बैठक बोलाउन तयार नभए के गर्नुहुन्छ भन्ने रातोपाटीको प्रश्नमा श्रेष्ठले अहिले त्यसबारे सोच्ने बेला नभएको औपचारिक प्रतिक्रिया दिए । 

‘हामी त्यसरी सोेच्दैनौँ । बैठक नबोलाए के गर्ने ? भनेर सोच्ने बेला यो होइन, सबै मिलेर बैठक गर्ने र बैठकमा नै सम्पूर्ण विषयमा छलफल गर्दै सकारात्मक निष्कर्ष निकाल्ने आजको आवश्यकता हो भन्ने हामीलाई महसुस भएको छ’, श्रेष्ठको जवाफ छ । तर, ओलीले सोमबारभित्र पनि बैैठक राख्न तयार नभए के बैठक माग गर्ने नेताहरु चुप लागेर बस्लान त ? नेकपाका एक नेता भन्छन्, ‘अव चुप लागेर बस्ने त कुरा सम्भव नै छैन ।’ 

उसो भए के गर्छन् त ? ती नेताका अनुसार ‘नेकपाको ९ सदस्यीय सचिवालयमा प्रचण्डसहित ५ भाइ एकातिर र ओलीसहित ४ चार भाइ एकातिर छन् । अर्थात बहुमत संख्या ओली विरोधी खेमामा रहेका ‘पाँच भाइ’को रहेको छ । यो हिसावमा कार्यकारी अध्यक्ष प्रचण्डले बैठक डाक्नुको’ विकल्प हुन्न ।


प्रचण्डसहितका नेताहरुले गत भदौ २६ मा सम्पन्न स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन, कोभिडको अवस्था, राष्ट्रियताको विषय र संघीयताका मुद्दामा छलफल गर्न आवश्यक भएको भन्दै ओलीको समेत सहमति खोजिरहेका छन् । तर ओली भने बैठकको औचित्य नै देखिरहेका छैनन ।

नेकपामा गुटबन्दी गर्नेचाहिँ को–को छन् ? 

अहिले नेकपामा एक पक्षले अर्को पक्षलाई गुटबन्दी गरेको आरोप प्रत्यारोप चलिरहेको छ । ओलीले प्रचण्डलगायतका ५ नेता गुटवन्दीमा लागेको बताइरहेका छन् भने, प्रचण्डसहितका ५ नेताले हामीले होइन ओलीले चाहिँ गुटबन्दी गरिरहेका छन् भन्ने दावी गर्दै आएका छन् ।

प्रचण्ड पक्षको भनाइ छ,‘प्रदेश १ का नेताहरुलाई जुम भेलामार्फत खुलमखुला जबज र मदन भण्डारी फउन्डेसनमार्फत गतिविधि गर्न निर्देशन दिनु गुटबन्दी हो ।’ उता ओली पक्ष भने खुमलटार, कोटेश्वर र भैसेपाटीमा नेताहरु भेला भएर छलफल गर्नुलाई नै गुटबन्दी भनिरहेको छ । आखिर गुटबन्दी कसले गर्यो त ? यो प्रश्नको जवाफ कुनै नेता वा विश्वलेषकले खोज्नु भन्दा पनि नेकपाका ८ लाख कार्यकर्ताले नै खोज्न उपयुक्त हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप