आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘मेरो गीतले राजादेखि सर्वसाधारणसम्मको मन जित्यो’

शनिबार, २२ कात्तिक २०७७, १६ : १६
शनिबार, २२ कात्तिक २०७७

वरिष्ठ लोक गायक बमबहादुर कार्कीको नाम सुन्ने सायदै होलान् । उनका ‘पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात’, ‘भेटै नहुने’, ‘झ्याइँ पर्यो’, ‘पिपलु पातै फरर’लगायतका बोलको गीत आजपनि उत्तिकै लोकप्रिय छन् ।  लोकगीतका एक हस्ती कार्की नेपालमा लोकदोहोरी गीतको क्यासेट सुरुवात गर्ने पहिलो व्यक्ति पनि हुन् । नेपालमा तीजको गीत सुरुवात गराउने श्रेय समेत उनलाई जान्छ । रेडियो नेपालमा २०३४ मा स्वर परीक्षा पास गरेका कार्कीले औपचारिक गायनको सुरुवात भने २०३९ बाट थालेका थिए । सो समयदेखि अहिलेसम्म पनि उनी गायन क्षेत्रमा उत्तिकै सक्रिय छन् । 

कार्कीको पछिल्लो गीत ‘के होला दबाइ’ कोरोनाको विषयमा रहेको थियो । बालकदेखि ९० वर्षका वृद्धासम्म छमछम नाच्ने गीत बनाउन माहिर कार्कीले ‘के होला दबाइ’ गायिका शिवा आलेसँग गाएका थिए । जसले अहिले धेरैको मन जित्न सफल समेत भएको छ । रेडियो नेपालमा कर्मचारीको रुपमा जागिर गरेपनि देशविदेशमा लोक गायकको रुपमा चर्चित कार्की पछिल्लो समय लोकगीतमा छाएका विकृति हटाइनुपर्नेमा जोड दिन्छन् । नेपाली पहिचान सहितको नयाँ लोक गीत निर्माण होस् भन्ने चाहना राख्ने कार्कीको अन्तर्राष्ट्रिय फोरममा नेपाली लोकसंगीतले प्रतिस्पर्धा गरेको हेर्ने सपना समेत रहेको छ । उमेरले बुढ्यौली छोएपनि नेपाली लोक गीतसंगीतको क्षेत्रमा अझै केही गर्नुपर्छ भन्ने सोच र अटोट बोकेका कार्कीको जीवनका विभिन्न पाटाहरु रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमार्फत केलाउने प्रयास गरिएको छः
 
मेरो खाना
नेपाली खाना दालभात, तरकारी र अचार मेरो मनपर्ने खाना हो । पहिले मासु धेरै खान्थेँ । अहिले विस्तारै कम गर्न थालेको छु । मासु धेरै खानु ठिक रहेनछ । अहिले बुझेँ । मन नपर्ने खाना अहिलेसम्म केही छैन ।
पहिले रेष्टुरेन्ट धेरै जान्थेँ साथीभाइ, परिवारसँग । पछिल्लो समय त्यति जान्नँ । रेष्टुरेन्टको बढी मनपर्ने खानेकुरा मासुका परिकारहरु नै हुन् । मलाई पकाउन पनि रुचि छ । घरमा आवश्यक पर्दा सबै परिकार पकाउन सक्छु ।

मेरो फिट्नेस
मानिसमा जहिल्यै पनि स्वस्थ देखिने चाहना हुँदोरहेछ । तर घरमा एक्सरसाइजका सामानहरु त्यस्तो केही राखेको छैन । हल्का एक्सरसाइज र खानपिनमा ध्यान दिन्छु । मुख्यतः म योगा गर्न रुचाउँछु । गर्दै पनि आएको छु ।

मेरो पोसाक
पहिले अफिसको औपचारिक कार्यक्रममा धेरैजसो दौरासुरुवाल लगाएर हिँडियो । दौरासुरुवाल धेरै मनपर्छ । कमिज, सर्टपाइन्ट र वेस्टकोट मेरो मनपर्ने पहिरन हुन् । शीरमा ढाका टोपी म कहिल्यै छुटाउदिनँ ।
पहिरनमा मनपर्ने कलर यही भन्ने छैन । पसलमा गएर हेर्दा जुन मनपर्यो त्यही किन्छु । ब्राण्डेड खोज्ने मेरो बानी छैन । आनौठो लागेको किन्छु । पहिरन प्रायः सिलाएर लगाउँछु । पहिरन धेरै परिवर्तन गर्ने बानी नभएकोले १०–१५ हजारको पहिरन खर्च भए वर्षभरि पुग्छ ।

मेरो अध्ययन
अध्ययन मेरो रुचिको विषय हो । केही न केही अध्ययन गरिरहेको हुन्छु । पत्रिका, मोबाइलमा धेरै पढ्छु । सबैकुरोको अपडेट राख्नुपर्छ भन्ने मेरो मान्यता हो ।
पुस्तक पनि पढिरहेको हुन्छु । कसैले सिफारिस गरेको, चर्चामा आएको, साथीहरुले निकालेको पुस्तक पढ्छु । पछिल्लो समय  फेरि राममायण पढ्न मन लागेर सुरु गरेको छु । यसबाट धेरै नीतिगत कुराहरु सिकिँदो रहेछ । 

मेरो फुर्सद
अहिले त फुर्सद नै छ । किनभने जागिर, बन्द व्यापार केही छैन । यो फुर्सदको समय घुम्ने, साथीभाइ भेट्ने र गीतसंगीतमा सृजनामा समय दिने गर्दछु । घरपरिवारलाई काम समेत सघाउँछु ।

मेरो खेलकुद
पहिले एसएलसीसम्म भलिबलको राम्रो खेलाडी थिएँ । त्यतिबेला स्कुलस्तरीय प्रतियोगिताहरु खेल्थेँ । अहिले हेर्न मात्र मनपर्छ ।  खेल्न छाडियो । फुटबलका विभिन्न चर्चित प्रतियोगिता र क्रिकेट हेर्ने गरेको छु । 

मेरो मोबाइल
मसँग दुई वटा मोबाइल छ । एउटा सामसुङ ब्रान्डको लेटेस्ट भर्सन । अर्काे सामान्य । मोबाइल बिग्रियो भने मात्र चेन्ज गर्छु । अनलाइन समाचार हेर्न, इमेल, फेसबुक, ट्वीटरलगायत चलाउन, केही कुरा लेख्न प्रयोग हुँदै आएको छ ।
विश्व परिवेशका गीतसंगीतका परिवर्तन थाहा पाउन र अपडेट रहन समेत मोबाइल प्रयोग गर्छु ।

मेरो टिभी
मेरो घरमा पुरानो खालको सोनी ब्राण्डको टिभी छ । टिभीमा समाचार, अन्तरवार्ता, म्युजिक भिडियोहरु हेर्छु । 

मेरो चलचित्र
फिल्म हेर्छु । कहिलेकाहिँ परिवारसँग बसेर पनि हेर्छु । नेपाली, हिन्दी सबै प्रकारको हेर्छु । फिल्म हेर्दा रमाइलो लाग्छ । केही अगाडि टिभीमा ‘सोले’ हेरेको थिएँ । पहिले पहिले हलमा गएर पनि फिल्म हेर्थेँ । अहिले घरमै हेर्छु ।
पछिल्लो समय हलमा गएर हेरेको फिल्म दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छ माया छपक्कै’ थियो । फिल्म निकै राम्रो लाग्यो ।

मेरो गीत संगीत
गीत संगीत मेरो रुचिको विषय हो । एक किसिमले भन्ने हो भने पेसा पनि । २०३९ सालदेखि म गीतसंगीतमा नियमित छु । त्यतिबेला रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गरेर मात्र कलाकार बन्न सकिन्थ्यो । मैले पनि २०३४ मा स्वर परीक्षा पास गरेको थिएँ ।

म सानैदेखि गीत गाउथेँ । तर, त्यतिबेला गीत गाएको परिवार र समाजले राम्रो मान्दैन थिए । बाहुन क्षेत्रीका परिवारले गीत गाउँनु हुँदैन भन्थे । विद्यालय, कलेजका कार्यक्रममा भने छुट थियो ।
२०३४ मा स्वर परीक्षा पास भएपछि २०३९ मात्र मैले गीत रेकर्ड गराएका थिएँ । ‘दिनदिन सम्झना पनि, मन डढेर भैसक्यो खरानी’ बोलको गीत मेरो रेकर्ड भएको पहिलो गीत थियो । त्यसपछि सूचना, सन्देश मुलक गीतहरु धेरै गाएँ ।

अहिलेसम्म मेरो ८२ वटा एल्बम, ६ वटा भिसिडि र ५ वटा  सिडि निस्किएका रहेछन् ।  यसमा मेरो धेरै लोक गीत, केही भजन र केही सन्देशमुलक, केही घटनाका, केही देउसी गीतहरु रहेका छन् ।
मैले स्वास्थ्य सम्बन्धी ५२ रोगको गीत बनाएको छ । ‘पानको पात माया तिम्लाई सम्झन्छु दिनको रात’, ‘भेटै नहुने गीत’ , अर्काे ‘झ्याइँ पर्यो’ लगायत मेरा कयौँ गीत कालजयी भएका छन् । ‘
भेटै नहुने गीत’ को मेरो एल्बम नेपालकै पहिलो एल्बम हो । मेरो धेरै गीत रमाइला नै छन् ‘पानको पात’ बोलको गीत त्यतिबेला राजादेखि सर्वसाधारणले समेत मनपराएका थिए । 

मेरो पेसा
मेरो मुल पेसा सरकारी जागिर भयो । अध्ययन कानुन । सर्वाेच्च अदालतमा दुई वर्ष पनि काम गरेँ । २०३९ सालमा शाखा अधिकृत पास गरेर रेडियो नेपालमा जागिर सुरु गरेको मैले २९ वर्ष त्यहाँ बिताएँ । ४ वर्ष शहरी विकाश मन्त्रालयमा उपसचिवको रुपमा पनि काम गरे । अनिवार्य अवकास हुुनुभन्दा अगाडि स्वेच्छिक अवकास लिएँ ।

रेडियोमा हुँदै २०४५ देखि २०४७ सम्म बिबिसिमा पनि काम गरेँ । त्यहाँ समाचार बाचन, समाचार सम्पादन, करेन्ट इस्यु हेरेँ । एक किसिमले म निजामती कर्मचारी नै हो । तर मलाई कर्मचारी भनेर मानिसले शहरी विकाश मन्त्रालयमा पुगेपछि मात्र चिनका थिए । त्यस अगाडि सबैले गायकको रुपमा मात्र चिन्दथे ।

मेरो सुख
आफूले निकालेको गीतसंगीलाई सबैले हाइहाई गर्दिए । राम्रो भन्दिए । त्यो नै सुख हो । आफूले गाएको गीतमा संगीत मिल्यो, स्वर म्याच गर्यो, शब्दले छोयो भने गायकका लागि यो नै सबैभन्दा ठुलो सुख लाग्दो रहेछ । मैले ‘पानको पात..’ गीत गाउँदा सबैबाट यस्तै प्रतिक्रिया पाएको थिएँ ।
मैले गाएको गीत सुनेर ९० वर्षका वृद्ध प्रफुल्लित हुँदै ‘गायक बमबहादुर कार्की चिनाइदेउ’ भनेको सुन्दा निकै खुसी लाग्यो । पछि मैले उहाँलाई नै गीतमा मोडल बनाएँ । गीतसंगीत सुन्न भने मलाई सांस्कृतिक पक्ष बोकेको मनपर्छ । 

मेरो सपना
लोक संगीतमा क्षेत्रमा मैले अहिलेसम्म जे दिएँ । जस्तो सुरुवात भएको छ, त्यो नभत्कियोस् । यसले राम्रो बाटो समातोस् । नेपालको लोकगीत विश्वमा गुन्जियोस् ।
नयाँ नयाँ लोकगीतमा नेपाली पहिचान सहितको निर्माण होस्, बन्न सकोस् । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि प्रतिस्पर्धा गर्न सकोस् भन्ने सपना छ । 

मेरो रोग
भगवानको कृपाले अहिलेसम्म त्यस्तो रोग केही छैन । सानोमा गाउँतिर हिँड्दा मर्किएको खुट्टाले अहिले पनि समस्या दिइरहेको छ । अन्य रोगको औषधि खाएको केही थाहा छैन । 

मेरो प्रेम
मेरो विवाह २०४४ सालमा भएको हो । आफ्नै ढंगले चिनजानको आधारमा विवाह गरेको हुँ । म कलाकार थिएँ । उनीसँग कलाकारिताको सिलसिलामा एउटा गाउँ जाँदा चिनजान भएको थियो । मन मिल्यो विवाह गर्यौँ । केही वर्षको प्रेमपछि हामीले विवाह गर्यौँ भनेर भन्दा पनि हुन्छ । त्यतिबेला प्रेम भन्ने अहिलेको जस्तो थिएन । 

मेरो मापसे 
मैले पहिले मापसे धेरै गरेँ । अहिले धेरै गर्दिनँ । पहिले पनि धेरै भन्नाले सधैँ मातिएर हिँड्ने त होइन । तर, कसैले बसौं भने नाइँ नभन्ने बानी थियो । मेरो विचारमा मापसेमा सकभर बानी नबसाल्दा राम्रो । 

मेरो भुल 
जीवनमा नजानी नजानी भुल धेरै भयो होला । जानेर, पछुतो लाग्ने अहिलेसम्म भुल गरेको छैन ।

मेरो राशि
मेरो राशि वृष हो । ग्रहदशामा पहिले विश्वास लाग्दैन थियो । अहिले लाग्छ । हेराउने, जुराउने गरेको पनि छु । म आफै पूजापाठ गरेर हिँड्दिन । तर, पूजापाठ गरेको देख्दा आनन्द लाग्छ । मन्दिर भने जान्छु । मनलाग्छ ।

मेरो मृत्यु
मृत्यु एक अन्तिम सत्य हो । यो स्वभाविक प्रक्रिया पनि हो । मृत्यु कहिले र कसरी हुन्छ भन्न सकिन्न । कहिलेकाहिँ मानिसले आफै मृत्य रोज्छन् । त्यसलाई आत्महत्या भनिन्छ ।
मर्नुपर्छ भनेर सबैलाई थाहा छ । तर, डराएर बस्नुपर्ने अवस्था भने अहिले छैन । जन्मनु नै मर्नका लागि हो । यो सत्य बुझ्न सक्यो भने मृत्युबाट डर हँुदैन । कसको कसरी मृत्यु हुन्छ भनेर कसैले भन्न सक्दैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप