शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘सांगीतिक डमी अभियान’ बाट ट्राफिक नियम नजान्नेले सिक्ने मौका पाउँछ : डीआईजी पोखरेल

शनिबार, २२ कात्तिक २०७७, १२ : ४५
शनिबार, २२ कात्तिक २०७७

काठमाडौँ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’ प्रभावकारी हुने दावी गरेका छन् । 

शनिबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा आयोजित शुभारम्भ कार्यक्रममा बोल्दै पोखरेलले ‘सांगीतिक डमी अभियान’ बाट ट्राफिक नियम नजान्नेले सिक्ने मौका पाउने बताए । 

बुझ्नेले जानीजानी ट्राफिक नियम मान्दैन भने सांगीतिक डमीबाट लज्जित तुल्याउने पोखरेलको भनाइ छ । २१ औं शताब्दीमा आएर डमीबाट ट्राफिक नियम सिकाउनुपर्दा लज्जाबोध हुने पोखरेलले बताए । 

‘गर्वसँगै लज्जाबोध पनि भएको छ,’ डीआईजी पोखरेलले भने, ‘०३९ सालमा काठमाडौँ आउँदा जस्तो थियो, अहिलेसम्म राजधानी काठमाडौँको ट्राफिक अवस्था त्यस्तै छ ।’

कार्यक्रममा महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) भिमप्रसाद ढकालले आम सर्वसाधारणलाई ट्राफिक नियम सम्बन्धि जनचेतना फैलाउन उपत्यकाका विभिन्न ठाउँबाट ‘सांगीतिक डमी अभियान’ सुरु गरिएको बताए । 

एसएसपी ढकालका अनुसार पहिलो चरणमा काठमाडौँ उपत्यकामा ५ स्थानरत्नपार्क, कोटेश्वर, कलंकी, नयाँ बानेश्वर र नयाँ बसपार्कमा सांगीतिक डमी अभियानको शुभारम्भ गरिएको छ । 

उपत्यकाका विभिन्न चोकमा राखिएको डमीमा ट्राफिक नियम सम्बन्धि विभिन्न गीतहरु बजाएर ट्राफिक नियमको बारेमा जानकारी दिइने ढकालले जानकारी दिए । ट्राफिक नियमबारे नागरिकलाई सुसुचित गर्ने र नियमको पालना भए दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने ढकालको विश्वास छ । 

विश्वका अन्य देशहरुमा जस्तो विद्यालयमा शिक्षामा ट्राफिक नियम सम्बन्धि पाठ्यक्रम नसमेटिएको अवस्थामा ट्राफिक प्रहरीले आफ्नो पहलमा विभिन्न कार्यक्रम गर्दै सचेतना फैलाइरहेको ढकालले बताए । 

ट्राफिक उज्यालो अभियान, जथाभाबी बाटो काट्नेलाई २० मिनेट कक्षा लिने अभियान, ठाउँ ठाउँमा सारङ्गी टोली घुमाउने र स्वयमसेवक समेत परिचालन गरी ट्राफिक नियम सम्बन्धि जनचेतना फैलाउने काम समेत भइरहेको ट्राफिक प्रहरी प्रवक्ता रामेश्वर यादवले बताए । 

अभियानबाट प्रतिदिन तीन हजार र एक महिनामा तीन लाखलाई ट्राफिक नियम सम्बन्धि सचेतना जगाउने लक्ष्य ट्राफिक प्रहरीले लिएको यादवले जानकारी दिए । 

अहिले एक जना ट्राफिक प्रहरीले प्रतिदिन ११ सय सवारी हेर्नुपर्ने बाध्यता रहेको छ । करिब १२ लाख सवारी रहेको उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि १५ सय ट्राफिक प्रहरी कार्यरत रहेका छन् । 

केही समयअघि जनचेतनामुलक सन्देश सहित ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न ठाउँमा ट्राफिक डमी राखिएको थियो । त्यो अभियानले सकारात्मक सन्देश दिएको ट्राफिक प्रहरीको भनाई छ ।

कार्यक्रममा बरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवशं आचार्य, कलाकार दिपाश्री निरौला, जितु नेपाल ‘मुन्द्रे’, काठमाडौँ महानगरपालिकाका शहरी सुशासन विभाग प्रमुख हरि पकुँवरलगायतको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप