शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संक्रमण मुक्त भएलगत्तै शिक्षामन्त्री पोखरेलको सन्देशः कोरोनालाई हल्का रुपमा लिनु हुँदैन

शुक्रबार, २१ कात्तिक २०७७, २३ : १५
शुक्रबार, २१ कात्तिक २०७७

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेल कोरोना संक्रमण मुक्त भएका छन् । मन्त्री पोखरेलले शुक्रबार सामाजिक सञ्जालमार्फत आफुले २१ दिनपछि कोरोनालाई जितेको जानकारी दिएका हुन् । मन्त्री पोखरेलले असोज २५ गते कोरोना संक्रमण पुष्टि भएलगत्तै पाटन अस्पतालमा उपचार गरेका थिए । अस्पतालमा १० दिनसम्म उपचार गराएका उनी त्यसपछि होम आइसोलेसनमा बस्दै आएका थिए ।

संक्रमित भइसकेपछि पुनः परीक्षण गर्दा समेत परिणाम पोजेटिभ आएपछि थप एक हप्ता होम आइसोलेसनमा बसी २१ दिनपछि तेश्रोपटकको परीक्षणमा भने रिपोर्ट नेगेटिभ आएको मन्त्री पाख्रेलले बताएका छन् । उनले कोरोनालाई ख्याल ख्याल नगर्न समेत सबैलाई आग्रह गरेका छन् । उनले भनेका छन्ः ‘मेरो अनुभवमा कोरोनालाई हल्का रुपमा लिनु हुँदैन तर संक्रमीत भएमा आत्तिहाल्नु पनि हुँदैन।’ मन्त्री पोखरेलले आफु संक्रमित भएपछि सहयोग गर्ने पाटन अस्पतालका चिकित्सक लगायत स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिएका छन् । उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने पार्टीका नेताहरुदेखि मन्त्री, कार्यकर्ता, पत्रकार र सर्वसाधारणहरुलाई समेत धन्यवाद दिएका छन् । 

कोरोना संक्रमण मुक्त भएलगत्तै उनको प्रतिक्रिया यस्तो छः 

लाई असोज २२ गते देखि उच्च ज्वरो आउन थाले पछि  २४ गते पाटन अस्पताल भर्ना भएको थिएँ । कोभिडको परिक्षण गर्दा २५ गते रिपोर्ट पोजेटिभ आयो। अनन्ततः म पनि माहामारीको रूपमा विश्वभरी फैलिएको कोभिड–१९ बाट संक्रमित हुन पुगे ।  स्वास्थ स्थिति प्रतिकूल हुँदै गएपछि डाक्टरहरुको टिमले प्रोटोकल अन्तर्गतको औषधि चलाउने निर्णय गर्नुभयो । ७ दिनको डोजले स्वास्थ केही सहज भएपछि १० औं  दिन होम आइसोलेसनमा बस्ने सर्तमा पाटन अस्पतालबाट घरमा फर्केको थिएँ। संक्रमित भएपछि पुनः परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ आएपछि थप एकहप्ता होम आइसोलेसनमा बसी २१ औं दिनपछि तेस्रोपटक परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो र कोरोना संक्रमणबाट मुक्त हुन पुगेको छु। 

पाटन अस्पतालका डाक्टरहरुको उपचार, आयुर्वेदिक औषधि र योग ध्यानको माध्यमबाट मैले कोरोनाको दुष्प्रभावलाई कम पारेको मेरो बुझाई छ। तथापि कोरोनाको कारण स्वास्थ्यमा परेको अन्य असरबारे स्वयं अवलोकन र  डाक्टरहरुसङ्ग परामर्शमै रहेको छु। 

यस्तो जटिल परिस्थितिमा पनि अग्रपंक्तिमा रहेर काम गरिरहनु भएका स्वास्थकर्मीहरुको भूमिका र उहाँहरुको अप्ठ्यारो थाहा थियो नै। अस्पतालको बसाईको क्रममा अझ नजिकबाट उहाँहरुको मेहनत र निरन्तर खटाई बुझ्ने अवसर मिल्यो। संक्रमित भएर फेरि काममा फर्केर निरन्तरता दिएको उहाँहरुको युद्धस्तरको काम गराइलाई नजिकबाट अनुभूति गर्ने अवसर मिल्यो। अस्पतालमा कार्यरत स्वास्थकर्मीहरु र उनका परिवारजन समेत संक्रमित भएका कारण जनशक्ति अभावका बीच पाटन अस्पतालले गरेको ब्यबस्थापन उच्च मूल्यांकनयोग्य छ। 

उपचारको क्रममा प्रत्यक्ष सहयोग पुर्याउने पाटन अस्पताल परिवार विशेष गरी डा.पारस आचार्य, डा.युवराज शर्मा,डा.केशव सिग्देल,डा.मार्क जिम्बर लगायत सम्पूर्ण डाक्टरहरुको टिम साथै नर्सिङ प्रमुख शान्ता डंगोल, नर्स शुभद्रा गौतमसहित सम्पूर्ण स्वास्थकर्मीहरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु। साथै निरन्तर परामर्श दिनु हुने डा.रामकण्ठ मकाजु,डा.श्रीकृष्ण गिरि, डा.दिनेश चन्द्र पोख्रेल,डा.सुजन बाबू मरहठा,डा.राजेन्द्र कोजु,डा.सन्तोष शाक्यलाई आभार व्यक्त गर्दछु।

त्यस्तै नरदेवी आयुर्वेदिक अस्पतालका डा.सिद्दार्थ ठाकुर,किर्तिपुर आयुर्वेदिक अनुशन्धान केन्द्रका डा.रामआधार कापर र डा.निर्मल भुसाल,आयुर्वेद क्याम्पसका डा.बिरेन्द्र यादव,ओजस अस्पतालका नारायण आचार्य, होलिस्टिक हेल्थ तथा वेल्नेस कोच प्रेरणा शाहहरुको सल्लाह र सहयोग मेरो लागि महत्वपूर्ण रह्यो। पाटन अस्पतालमै रहेको बेला फोक्सोको फिजियोथेरापी सिकाउनुहुने वीर अस्पतालका सुजित सिंह र श्याम यादवलाई पनि धन्यवाद दिन चाहन्छु। होम अईसोलेसन र अस्पतालमा उपचारको क्रममा आवश्यक ब्यवस्थापन गर्नुहुने शिव फुयाल, सुशीलाजी, आफू संक्रमित रहँदारहँदै  हेरचाह गर्ने छोरी अस्मि लगायत आधारशिला परिवारका सदस्यहरुलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। 

आईसोलेसनमा रहेको बेला स्वास्थ्य लाभको कामना गर्नुहुने सम्माननीय राष्ट्रपति, सम्माननिय प्रधानमन्त्री, सम्माननिय सभामुख, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा,नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश लगायत नेताहरु ,उप–प्रधानमन्त्री ईश्वर पोख्रेल, लगायत माननीय मन्त्रीज्यूहरु, पूर्व सभामुखहरु सुभाष नेम्वाङ र कृष्णबहादुर महरा, सांसदहरु, कुटनीतिक नियोगका प्रमुखहरू देशभित्र र बाहिरका मेरा प्रियजनहरु ,परिवारजनहरु,पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरु,पत्रकार मित्रहरु, मन्त्रालयका सचिवहरु साथै विभिन्न तह र तप्कामा रहनुभएका कर्मचारी मित्रहरू, सचिवालयको टीम लगायत विभिन्न माध्यमबाट शुभकामना सन्देश पठाउने सबै–सबैमा हार्दिक आभार  ब्यक्त गर्दछु। साथै अस्पताल र होम आईसोलेसनमा रहँदा अन्लाईन मिटिङ्गमार्फत मन्त्रालय सम्बद्ध काममा सहजीकरण गरिदिनुहुने मन्त्रालयका सचिवहरु लगायत सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु । 

नेपालभित्र संक्रमितको संख्या बढिरहेको अहिलेको अवस्थामा हामी अप्ठ्यारो स्थितिमै छौ। सरकारले लागू गरेको मापदण्डहरुलाई अक्षरशः पालना गर्दै अधिकतम सचेतना अपनाएर यो महामारीमाथि जित हासिल गर्नु हामी सबैको मुख्य दायित्व रहेको छ। मेरो अनुभवमा कोरोनालाई हल्का रुपमा लिनु हुँदैन तर संक्रमितत भएमा आत्तिहाल्नु पनि हुँदैन।

उमेरअनुसार कोरोनाको प्रभाव फरक रहेकाले ज्वरो आउने बित्तिकै नजिकैको अस्पतालमा सम्पर्क गर्नु अति आवश्यक छ। अस्पतालले बनाएको मापदण्डलाई कठोर अनुशासनमा बसेर पालना गर्दा कोरोनालाई जित्न सकिने रहेछ। अझ फोक्सोमा समस्या भएका संक्रमतिले उचित विधि अप्नाएर फोक्सोको स्थिति यकिन गर्दै फोक्सो सम्बन्धि फिजियोथेरापी गर्नु उपयुक्त हुन्छ। अस्पतालको मापदण्ड ,योग ध्यान र आयुर्वेदलाई समेटेर समग्रमा कोरोना संक्रमणलाई जीवन पद्धति परिवर्तन गर्ने अवसरको रुपमा लिँदा कोरोनामाथि जित हासिल गर्न मद्द्त मिल्छ भने दीर्घकालीन रुपमा समेत हितकर रहन्छ। 

सचेत रहँदा रहँदै पनि म लगायत  मन्त्रालयका १६ जना साथीहरु संक्रमित हुन पुग्यौं । एउटा सानो गल्तीले पनि ठुलो संकट निम्त्याउने रहेछ भन्ने पाठ कोभिडले हामिलाइ दिएको छ। त्यसैले हामी सबै उच्च सतर्क बनौं, स्वस्थ रहौ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप