सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

लाङटाङ मध्यवर्ती क्षेत्रका होटलहरु आलोपालोमा सञ्चालन हुँदै : सिन्डिकेट कि बाध्यता ?

शुक्रबार, २१ कात्तिक २०७७, १७ : ३६
शुक्रबार, २१ कात्तिक २०७७

काठमाडौं । लाङटाङ मध्यवर्ती क्षेत्रमा सञ्चालित होटलहरुले सिन्डिकेट लागू गरेर पर्यटक ठग्ने काम गरेको आरोप लागेको छ । लाङटाङ मध्यवर्ती क्षेत्र ‘गोसाइँकुण्ड’मा जम्मा चार वटा होटलहरु सञ्चालित छन् । होटल पिसफूल, होटल लेकसाइड, होटल टिबेट माउण्टेन भ्यू र होटल गोसाइँकुण्ड नमस्ते रहेका छन् । यी नै चार होटलहरुले धार्मिक एवम् पर्यटकीय क्षेत्र गोसाइकुण्डमा आउने पर्यटकहरुको खानपान र बसोबासको जिम्मा लिएका छन् । यी चार होटल बाहेक सो क्षेत्रमा अन्य होटलहरु छैनन् ।

अहिले ४ होटलले आलोपालो होटल सञ्चालन गर्ने गरी ४/४ दिनमा एउटाको पालो आउने गरी दैनिक एउटा मात्र होटल सञ्चालन गरिरहेका छन् । यसको मतलब गोसाइँकुण्ड जाने जो कोही पर्यटक अहिले निर्विकल्प एउटै होटलमा बस्न बाध्य छन् । पर्यटकका लागि सेवा र मूल्यको आधारमा होटल छनोटको कुनै सुविधा छैन । गत सातादेखि यसै गरी यो क्षेत्रमा होटल व्यवसाय सञ्चालन हुँदै आएका छन् ।

त्यसो त गोसाइँकुण्डमा मात्र नभएर लाङटाङ मध्यवर्ती क्षेत्र भित्रै पर्ने गोसाइँकुण्ड मार्गको चोलाङपाटी र लौरीविनायकका होटलहरुले समेत सोही आलोपालोको सिस्टम चलाएका छन् । चोलाङपाटीमा दुईवटा र लौरीविनायकमा तीनवटा होटलहरु छन् ।

आखिर किन चलाइयो आलोपालोको सिस्टम ?

४/४ दिनको रोलक्रममा एक दिन एउटा मात्र होटल सञ्चालन गर्दैआएका गोसाइँकुण्डका होटल व्यवसायीहरु आलोपालो सिस्टमा जानु आफुहरुको चाहना नभएर बाध्यता रहेको बताउँछन् । जाडोको सिजन त्यसमाथि पनि पर्यटकहरुको अत्यन्त न्यून चापका कारण व्यवसायिक सहजताका लागि आफुहरु आलोपालोको सिस्टममा जानु परेको होटल पिसफूल गोसाइँकुण्डका सञ्चालक सोनाम लामाले रातोपाटीसँग बताए ।

‘आलोपालोको सिस्टमा जानु हाम्रो चाहना होइन, बाध्यता हो । त्यसैपनि चिसो ठाउँ त्यसमाथि पनि झन् पर्यटकको आगमन अत्यन्त न्यून हुँदा व्यवसायमा टिक्न निकै सकस भइरहेको छ । यस्तो अवस्थामा व्यवसायिक सहजताका लागि हामीले आलोपालोको सिस्टम लगाएका हौं ।

४/४ दिनको रोलक्रममा आउने आफ्नो पालामा ४ दिन एउटा व्यवसायीले व्यवसाय सञ्चालन गर्छन् र बाँकी अरु दिन अन्य काममा लाग्न पाउछन् । जसले व्यवसायिक सहजता पनि हुने र समयको बचत पनि । नत्र महिनौं दिन होटल रुङ्ग्यो नत व्यापार राम्रो हुन्छ नत अरु काम नै गर्न पाइन्छ । आलोपालो सिस्टमले सबै व्यवसायीहरुलाई राहत मिलेको छ,’ व्यवसायी लामाले भने ।

त्यसो त अहिले मात्र होइन यस क्षेत्रका होटल व्यवसायीहरुले पहिले पहिले पनि यस्तै आलोपालोको सिस्टम चलाउने गथ्र्ये । तर पहिले अफसिजनमा मात्र चलाउने गरेको आलोपालोको सिस्टम अहिले व्यवसायीहरुकै मिलेमतोमा सिजनमा नै चलाइएको छ ।

यो कुरा सहर्स स्वीकार्दै लामा भन्छन्, ‘अहिले मात्र हामीले व्यवसायमा आलोपालोको सिस्टम लगाएका होइनौं । पहिलेपहिले पनि हुने गथ्यो । फरक यत्ति हो, पहिलेपहिले अफसिजनमा मात्र आलोपालो हुन्थ्यो अहिले सिजनमै गर्नु परेको छ । यो हाम्रो बाध्यता हो । पर्यटक नै कम लागेपनि यसो गर्नु परेको हो’ उनले भने ।

तर यता रसुवा जिल्लाकै एक स्थानीय होटल व्यवसायी भने उक्त क्षेत्रका होटल व्यवसायिहरुको बाध्यता नभएर मौकाको फाइदा उठाउने गतिलो मेलो भएको आरोप लगाउछन् । कोभिड–१९ प्रभाव लामो समय बन्द रहेको व्यवसायको घाटा एक्कैपटक उठाउने जुक्ति व्यवसायीहरुले रचेको उनको आरोप छ ।

‘अहिले रसुवा जिल्लाको कुनैपनि क्षेत्रमा आलोपालो होटल व्यवसाय सञ्चालन गर्नु पर्ने अवस्था छैन । पर्यटकहरुको राम्रो फ्लो छ । त्यसैपनि दैनिक ७०–८० जना स्वदेशी तथा विदेशी पर्यटकहरु जिल्लामा भित्रिरहेका छन् । विशेषतः यी पर्यटकहरु जाने भनेको मध्यवर्ती क्षेत्र लाङटाङ, गोसाइँकुण्ड नै हुन् । फेरि किन आलोपालोको सिस्टम लगाउनु प¥यो ? यो केही होइन मौकाको फाइदा एक्कै चोटी कमाउ भन्न खोजिएको हो’ उनले भने ।

त्यसो त भेडा बाख्रा झैँ एउटै होटलमा कोचिनु परेपनि पर्यटकहरुले शुल्क भने होटलले जति भन्यो त्यति तिर्न बाध्य हुन्छन् । मौकाको फाइदा एकै रातको एक जना बराबर अधिकतम दुई हजार देखि ३ हजारसम्म होटलले उठाउने गरेको गुनासाहरु आएका छन् । जब कि सो क्षेत्रमा एक रातको न्यूनतम ८ सय रुपैयाँ देखि अधिकतम एक हजार दुई सय रुपैयाँ सम्ममा लिन पाउने नियम छ ।

तर दिनमा एउटा मात्र होटल खुल्दा विना प्रतिस्पर्धा एउटै होटलले मनोमानी रुपमा शुल्क असुलिरहेको छ । जसको नकारात्मक प्रभाव अहिले सिंगो जिल्लाकै पर्यटन क्षेत्रमा पर्न गएको रसुवा होटेल तथा पर्यटन व्यवसायी संघ रसुवाका अध्यक्ष निशान गजुरेलले रातोपाटीसँग बताए ।

मध्यवर्ती क्षेत्रमा समस्या रहेको आफुहरुले जानकारी पाएपनि सो क्षेत्रका होटलहरु संघमा आवद्ध नरहेकाले केही भन्न र गर्न नसक्ने उनले बताए । यसका लागि सम्बन्धित निकुञ्ज र प्रशासनले ध्यान दिनु पर्ने गजुरेलको भनाईछ । यी होटलहरू लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत दर्ता भएर सञ्चालित होटलहरु हुन् ।

निकुञ्ज प्रसाशन वेखबर

मध्यवर्ती क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्ज अन्तरगत दर्ता भएर सञ्चालन भएका यी होटलहरुले मनोमानी रुपमा व्यवसाय सञ्चालन गरिरहेपनि सो घटना बारे निकुञ्ज प्रशासन भने वेखबर छ ।

निकुञ्जअन्तरगत दर्ता भएर सञ्चालित होटलहरुले आलोपालोको नाममा सिन्डिकेट लगाएर पर्यटक ठग्ने गरेको भन्ने सूचना आएको छ नी के हो ? भन्ने हाम्रो प्रश्नमा निकुञ्ज प्रशासनले आफुहरुलाई सो बारे जानकारी नै नरहेको जवाफ दिएको छ । उक्त घटनाबारे निकुञ्जमा कुनै गुनासा तथा उजुरी नआएको लाङटाङ राष्ट्रिय निकुञ्ज प्रमुख सुष्मा रानाले रातोपाटीसँग बताइन् ।

‘मध्यवर्ती क्षेत्रका होटलहरुमा यस्तो समस्या आएको निकुञ्जलाई कुनै जानकारी छैन । होटलहरुको समस्यालाई लिएर नत आजको दिन सम्म नकुञ्ज प्रशासनमा कुनै उजुरी परेको छ नत कुनै गुनासा नै । त्यसैले हामीलाई थाहाँ हुने कुरै भएन ।

कोभिडका कारण पर्यटकहरुको आगमन नै कम हुँदा व्यवसायीहरुले व्यवसायिक सहजताका लागि आलोपालो गरेका होलान् । तर निकुञ्जलाई त्यसको जानकारी छैन,’ रानाले भनिन् ।

हाल मध्यवर्ती क्षेत्रमा निकुञ्जअन्तरगत दर्ता भएर ५४ वटा होटलहरु सञ्चालनमा छन् । जस मध्य ३ वटा होटलहरु २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त हुँदा अहिले ५१ वटा मात्र होटलहरु सञ्चालनमा छन् । यी होटलहरुबाट निकुञ्जले वार्षिक रुपमा रोयल्टी उठाउँदै आएकोछ ।

न्यूनतम दुईजनादेखि १५ जनासम्मको समूहमा नेपाली पर्यटक आउने गरेको पाइएको छ । स्वदेशी पर्यटकले न्यूनतम पाँच हजारदेखि १५ हजारसम्म खर्च गर्ने गरेका छन् ।

जसका कारण पर्यटन व्यवसायी र होटेल व्यवसायीलाई फाइदा पुगेको व्यवसायीहरूले बताएका छन् । जिल्लामा साना–ठूला गरी डेढ सयको हाराहारी होटेल सञ्चालनमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप