सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

नयाँ जनावरमा कोरोनाभाइरसको म्युटेसन भेटिएपछि निर्माणाधिन खोपहरु निष्प्रभावी बन्ने खतरा !

डेनमार्कमा लकडाउन, १.७ करोड मिङ्क मारिँदै
शुक्रबार, २१ कात्तिक २०७७, ०७ : ५२
शुक्रबार, २१ कात्तिक २०७७

मिङ्क नामक जनावरमा कोरोनाभाइरसको म्युटेसन भएको स्ट्रेन पाइएको छ । उक्त जनावरबाट सो भाइरस मान्छेमा पनि सर्न सक्ने पाइएको हो । यस जनवारको रौँको ठूलो उत्पादक डेनमार्कले देशमा रहेका सबै मिङ्कलाई मार्ने जनाउँदै नयाँ म्युटेसनलाई फैलन नदिन केही भागमा लकडाउनसमेत गर्ने जनाएको छ ।

डेनिस सरकारले यो म्युटेसनले निर्माण प्रक्रियामा रहेका कोरोनाभाइरसविरुद्धको सम्भावित खोपलाई निष्प्रभावी बनाउन सक्ने चेतावनीसमेत दिएको छ । उत्तरी जुटल्याण्डका सात नगरपालिकामा शुक्रबारबाट लागू हुने लकडाउन ३ डिसेम्बरसम्म जारी रहनेछ । देशमा रहेका करिब १.७ करोड मिङ्क मार्ने घोषणा गरेसँगै लकडाउनको घोषणा गरिएको हो ।

बिहीबार विश्व स्वास्थ्य संगठनले मिङ्क ‘कोरोनाभाइरसको राम्रो रिजरभोयर’ भएको पाइएको बताउँदै आर्थिक क्षतिका बावजुद डेनमार्कले चाल्न लागेको कदमको प्रशंसा गरेको छ । डेनमार्क मिङ्कको रौँको सबैभन्दा ठूला उत्पादक हो । त्यहाँबाट चीन र हङकङमा उत्पादनहरु निर्यात हुने गर्छ ।

प्रधानमन्त्री मेट फ्रेडरिक्सनले स्वास्थ्य अधिकारीहरुको सल्लाहअनुसार मुटुमाथि ढुङ्गा राखेर मिङ्कलाई मार्ने निर्णय गर्न लागिएको बताए । ‘हाम्रो जनतातर्फ ठूलो जिम्मेवारी रहेको छ तर म्युटेसन फेला परेपछि विश्वका लागि हाम्रो झन् ठूलो जिम्मेवारी रहेको छ,’ उनले भने ।

युरोपमा महामारी सुरु भएयता नेदरल्याण्ड र स्पेनका मिङ्कका फार्महरुमा कोरोनाभाइरस भेटिएको छ । यिनीहरुमध्ये डेनमार्कमा यो तीव्र गतिमा फैलिरहेको छ । हालसम्म जुटल्याण्डका २०७ फार्म यसबाट प्रभावित भएको छ । यसमध्ये भाइरसको नयाँ स्ट्रेनका पाँच केसहरु भेटिएका छन् । अधिकारीहरुका अनुसार हालसम्म १२ जना म्युटेसन भएका नयाँ स्ट्रेनबाट संक्रमित भएका छन् ।

उनीहरुको शरीरमा एन्टिबडीको प्रभाव कम भएको पाइएको कोपनहेगनमा रहेको स्टाटेन्स सेरम इन्सिटिट्युटले जनाएको छ । यसले हाल बन्न लागेका खोपको प्रभावकारितालाई नै प्रभावित गर्न सक्ने खतरा रहेको औँल्याएका छन् ।

स्वास्थ्यमन्त्री म्यागनस हिउनिकले भने उत्तरी डेनमार्कमा फेला परेका ७८३ जना संक्रमितमध्ये आधा मिङ्क फार्मसँग सम्बन्धित भाइरसको स्ट्रेनससँग जोडिएको बताएका छन् ।

बीबीसी/सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप