शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा खुल्यो पर्यटन, तर खुलेनन् व्यवसायी

बिहीबार, २० कात्तिक २०७७, १८ : ०४
बिहीबार, २० कात्तिक २०७७

पोखरा । दसैंको टिका सकिएको भोलिपल्टै पोखराको आकाश प्याराग्लाइडिङले भरिभराउ देखिए । दसैं बिदामा जोखिम मोलेरै भए पनि घुम्न निस्किएका आन्तरिक पर्यटकहरु प्याराग्लाइडिङ गर्न ताँती नै लागेका थिए ।  पोखरा पर्तिरकै पदयात्रा मर्दीमा पनि हप्तादिन यता घुम्न जानेको लर्को नै लागेको छ । छेउछाउकै पदयात्रा बन्द हुँदा मर्दी भने खुल्लै थियो ।

पर्यटकको बाक्लो घुँइचो लागेपछि मर्दी प्रवेश गर्न अहिले पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । त्यो पनि ७२ घण्टा भित्रको । दिनमै ४–५ सय पदयात्री भित्रिन थालेपछि मर्दीमा यो नियम लागू गरिएको हो । अब कात्तिक २१ गतेदेखि मर्दी प्रवेश गर्न पिसिआर रिपोर्ट अनिवार्य लैजानु पर्नेछ । 

अन्त नखुल्दा मर्दीमा घुँइचो 

पोखरामै पनि खुलेको गन्तव्य प्याराग्लाइडिङ नै हो । शान्ति स्तुपा, बिन्धबासिनी, महेन्द्रगुफा, पर्वतीय संग्रहालयजस्ता मुख्य–मुख्य पर्यटकीय गन्तव्य अझैं पनि बन्दै छन् । होटल तथा रेष्टुराँ पनि पूर्ण रुपमा अझैं खुल्न सकिरहेका छैनन् ।  असोज अगावै पर्यटक भित्रिनै मुख्य सिजन ताकेर पदयात्रा खुलाउने योजना बनाएका एबीसी र घान्द्रुकका व्यवसायी संक्रमणको दर ह्वात्तै बढेपछि पछि हटेका थिए । जोखिम मोलेरै व्यवसाय गर्न व्यवसायीहरु पूर्ण रुपमा तयार भएकै छैनन् । 

व्यवसाय सञ्चालन गर्न व्यवसायी पूर्ण रुपमा तयार नहुनुमा टानका नवनिर्वाचित उपाध्यक्ष कृष्ण आचार्य सरकारको स्पष्ट खाका नआउनु नै बाधक मान्छन् । केही नीति ल्याए पनि ती स्पष्ट नहुँदा सबै अस्तव्यस्त बनेको उनको मत छ । ‘लगभग ८ महिनादेखि बन्द भई सकेपछि केन्द्र सरकारले स्पष्ट खाका ल्याएको छैन । केही प्रोटोकल प्रकाशन गरे पनि स्ट्रोङली पालना नभएको हुनाले धेरै ठाउँमा अस्तव्यस्त छ । मर्दी बाहेकका ठाउँमा पनि स्थानीय व्यवसायीले स्थानीय सरकारको निर्णयअनुसार बन्द गरि रहनुभएको छ । त्यसले चाही धेरै जटिल समस्या निकालेको छ,’ उनले भने । 

अस्ति मात्रै सबै मापदण्ड पालना गरेर अन्नपूर्ण बेसक्याम्प जान दुई जना आउनुभएको थियो । उनले अघि सुनाए, ‘बेसक्याम्प नखुलिसकेको हुनाले क्लाइन्टहरु फर्किनुभएको छ ।’ केन्द्र सरकारले खोल्ने भने पनि प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा व्यवसायी अलमलमा परेको उनको जिकिर छ । ‘त्यही भएर स्थानीय सरकारले संघ सरकारले फलो गरेको कुरा स्थानीय सरकार र प्रदेश सरकारले फलो गरेन भने यसको म्यासेज राम्रो जाने छैन । अलि अलि केही चलायमान भएको छ । यो राम्रो इन्डिकेट हो । तर, यतिले मात्र पूर्ण हुँदैन’ उनले सुनाए । 

दसैंको बिदा भएकाले पनि पछिल्ला केही दिनमा पर्यटकको राम्रै चहलपहल बढेको उनी सुनाउँछन् । ‘प्यारग्लाइडिङ गर्न एकदमै धेरै आईरहनुभएको छ । तैंपनि यतिले सफल हुँदै हुँदैन । सरकारले बन्दाबन्दीपछि स्पष्ट नीति र कार्ययोजना ल्याएन भने हामीलाई काम गर्न गाह्रो छ । यसले नराम्रो म्यासेज पनि बाहिर फाल्छ’ उनले भने । 

आन्तरिक पर्यटन चलायमान बनाउने विषयमा प्रदेश सरकार, केन्द्रीय सरकार  र स्थानीय निकाय एउटै भएर अघि बढ्नुपर्ने उनको मत छ । सरकारी निकायको समन्वय नहुँदा लकडाउनपछि रोकिएका बुकिङहरु होल्डमै बसेको उनी बताउँछन् । ‘उहाँहरु आउन आतुर हुनुहुन्छ । बारम्बार हामीलाई के छ कस्तो छ ? त्यहाँको प्रोटोकल ? नेपाल सरकारको मापदण्ड कोभिडको अवस्था के छ, कस्तो छ ? भन्ने कुराहरु उहाँहरुले बारम्बार सोधी रहनुभएको छ,’ उनले भने, ‘उहाँहरु एकदमै सचेत हुनुहुन्छ । तैंपनि अझैं सरकारले स्पष्ट धारणा ल्याउन नसकेको कारणले त्यो क्लियर भिजन दिन सकिरहेका छैनौं, अझैं पनि वेट एण्ड सीमै छौं ।’ 

सरकारबाट स्पष्ट नीति नआउँदा नयाँ बुकिङ लिन गाह्रो भएको उनले बताए । जोखिम मोलेरै भए पनि पर्यटकहरु आउन उत्सुक रहेको उनी सुनाउँछन् । जोखिम मोलेरै भए पनि टुरिजम रिभाइभ गर्नकै लागि भएपनि विदेशी पर्यटक आउन इच्छुक रहेको उनले बताए ।  यता टानका पूर्वअध्यक्ष समेत रहेको होटल व्यवसायी रामचन्द्र शर्माले जोखिम मोलेर आफैंल पनि पाहुना राख्न नसेको बताउँछन् ।

‘मैले उहाँहरुलाई राख्दा एक दिन राख्ने एक दिन नराख्ने गर्न पनि मेरो जति स्टाफ लगायतका खर्च उठ्छ त्यो मैले उहाँहरुबाट लिन सक्ने अवस्था पनि छैन । त्यो हिसाबले गर्दा म जस्ता यहाँ सयौं होटलहरु छन् । जसले होटल खोलेर पनि मान्छे नराखेको अवस्था छ,’ उनले भने, ‘होला एक दुईजना मान्छे राखेको देखिन्छ । तर पर्यटक तत्कालै आउने अवस्था छैन ।’

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन चाडवाडले आंशिक रुपमा आन्तरिक पर्यटकले पोखरामा चहलपहल बढाए पनि व्यवसायीहरु तयार नभई सकेको बताउँछन् । चाडबाडको छेको पारेर पोखरासहित अन्य क्षेत्रमा घुम्ने योजनाका साथ पोखरा आएपनि अन्य गतिविधि आंशिक रुपमा खुलेको उनले बताए । 

लामो समयको लकडाउनपछि (महामारीपछि) आगमन बढ्नु राम्रो भएको उनी सुनाउँछन् । ‘मान्छेहरु जोखिम लिएर घुम्ने योजना बनाएको राम्रो रुपमा लिएका छौं । विस्तारै क्रमिक रुपले आगमन बृद्धि हुने विश्वास छ । पछिल्लो समय विदेशी पर्यटक पनि खुलेका छन् । तर, निकै सानो संख्यामा छ,’ उनले भने । 

लामो समयको लकडाउनले दसैं अघिसम्म होटल तथा रेष्टुरेन्ट बन्दै रहे पनि क्रमिक रुपमा आवागमन बढेपछि विस्तारै खोल्ने प्रक्रियामा रहेको उनले बताए । यसरी अघि बढे पोखरा लगायत अन्य क्षेत्रमा आन्तरिक पर्यटक बढ्ने उनको विश्वास छ । ‘खोल्नुको कुनै विकल्प छैन । यसरी बन्द गरेर राखेर कहिलेसम्म हो ? संक्रमण पनि बढी रहेको हुँदा सुरक्षा सावधानी सबैले अप्नाउएर पर्यटन व्यवसाय चलायमान बनाउनुपर्छ,’ उनले भने ।

पोखरा आसपास अन्य गतिविधि पनि बन्द भएकाले आशातित चहलपहल नभएको उनी बताउँछन् । पदयात्रा निक्लिन खोज्ने पर्यटकरु पदयात्रा बन्द हुँदा यस्सै फर्किनुपरेको उनले सुनाए ।  नीजि क्षेत्रले माग बढेको अवस्थामा खुलाउन तयार रहें पनि  खोल्नको लागि सरकारी क्षेत्रबाट त्यति सहयोग नभएको उनको गुनासो छ ।

‘केन्द्र सरकारले खुल्यो भन्ने । तर, प्रदेश र स्थानीय सरकारले त्यसलाई समन्वय नगरिदिँदा ठप्प भएजस्तो स्थिति छ,’ उनले भने, ‘खुल्नको लागि त्यहाँका नागरिक र व्यवसायीलाई सरकारले आश्वस्त पार्नुपर्ने छ । तयारी पनि गर्नुपर्छ । पर्यटक आउँदा भवितव्य पनि आइलाग्यो भने त्यसलाई सामना गर्ने गरि तयारी पनि गर्नुपर्ने हुन्छ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप