शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विशिष्ट श्रेणीका चार सचिवको पद खाली तर बढुवामा आनाकानी

मन्त्री गुरुङ भन्छन् ‘बाहिरबाट तपाईंहरुलाई त्यस्तो टाउको दुखाइ किन पर्‍यो र ?’
बिहीबार, २० कात्तिक २०७७, १३ : ५६
बिहीबार, २० कात्तिक २०७७

नेपाल सरकारका दुृई जना सचिव (राजपत्राङ्गित विशिष्ट श्रेणी) ले असोज २२ गते अवकाश पाए । अवकाश पाउने सचिवहरु थिए, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका केदारबहादुर अधिकारी र सार्वजनिक खरिद अनुगमन कार्यालयका मोहनकृष्ण सापकोटा । उनीहरुले सचिवको पाँच वर्षे सेवा अवधि पूरा गरेपछि अवकाश पाएका थिए । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी पनि असोज २२ मै अवकाश पाउँदै थिए । सरकारले मुख्य सचिवको कार्यकाल २१ दिन बाँकी नै रहेका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गरेर असोज १५ गतेको मन्त्रिपरिषद् बैठकबाट त्यस पदमा बैरागीलाई बढुवा गर्‍यो । जो निजामती कर्मचारी ऐन र मर्म विपरीत थियो । दुई सचिवले अवकाश पाउनुअघि पनि सचिवको एउटा पद रिक्त थियो ।

जुन दिन दुई सचिवहरु अधिकारी र सापकोटाले अवकास पाएका थिए, त्यस दिन पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । यो बैठकले ‘राजपत्राङ्गित प्रथम श्रेणीका सहसचिव भरतराज पौडेललाई नेपाल परराष्ट्र सेवाको समूहीकरण (क्लष्टर) तर्फको राजपत्राङ्गित विशिष्ट श्रेणीको पदमा बढुवा गरी परराष्ट्र मन्त्रालयमा पदस्थापन गर्ने’ निर्णय गर्‍यो । निक्षेप तथा कर्जा सुरक्षणकोष संचालक समितिको अध्यक्षमा अर्थ मन्त्रालयका सचिव (राजश्व) रामशरण पुडासैनीलाई तोक्यो भने राष्ट्रिय युवा खेलकुद परिषदमा नौ जना सदस्यहरु नियुक्त गरिए । अरु पनि थुप्रै बढुवा र नियुक्तिहरुको निर्णय भयो ।

तर, रिक्त भइरहेको तीन सचिव पदमा कसैलाई पनि बढुवा गरिएन । जबकि त्यसअघि नै लोकसेवा आयोगले ६ पटक सचिव बढुवा सूचीमा सिफारिस गरिसकेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव एवं प्रवक्ता गोकर्णमणि दुवाडी, वरिष्ठताका आधारमा तथ्यांक विभागमा कार्यरत सुमन अर्याल र अर्का सहसचिव भरतमणि सुवेदीलगायत योग्य उम्मेदवारहरु थिए ।

असोज २९ गते बसेको मन्त्रिपरिषदको बैठकले मधुसुधन अधिकारी, खगराज बराल, देबेन्द्र कार्की, यादवप्रसाद कोइरालालगायत १० जना सचिवहरुको सरुवा गर्‍यो । केदारबहादुर अधिकारीले अवकास पाएर रिक्त भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत यादवप्रसाद कोइरालालाई सरुवा गरियो । जसलाई केही समयअघि मात्रै स्वास्थ्य मन्त्रालयबाट एकाएक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको थियो । मोहनकृष्ण सापकोटाको अवकाससँगै खाली भएको सार्वजनिक अनुगमन खरिद अनुगमन कार्यालयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्य गौतमलाई सरुवा गरियो । तर, योग्य उम्मेदवार र स्थान रिक्त रहँदा रहँदै पनि कसैलाई सचिवमा बढुवा गरिएन ।

हाल नेपाल प्रशासन सेवा अन्र्तगत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा एक जना एवम् नेपाल कानून आयोग र राष्ट्रिय सर्तकता केन्द्र गरी तीन जना सचिवको पद रिक्त छ । त्यसै गरी असोज ३० गते कृषि मन्त्रालयका सचिव राजेन्द्र भारी निवृत्त भएका छन् । यस पदमा भने नेपाल कृषि सेवातर्फबाटै सचिव बढुवा गरिन्छ । कृषि सेवाको सचिवका लागि वरिष्ठता क्रममा पहिलो सहसचिव योगेन्द्रकुमार कार्की, दोस्रो गोविन्द शर्मा, तेस्रो वन मन्त्रालयका कृष्ण आचार्य र चौथोमा कृषिकै विमलकुमार निर्मल छन् ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ भन्छन्,‘जहिले हुन्छ, त्यो त प्रस्ताव आएपछि भइहाल्छ नि । बाहिरबाट तपाईहरुलाई त्यस्तो टाउको दुखाई किन पर्‍यो र ?’

असोज २९ पछि कात्तिक ४ गते पनि मन्त्रिपरिषदको बैठक बस्यो । यस बैठकले नेपाली सेनाका महासेनानी दीपेशजंग शाहसहित तीन जनालाई प्रमुख सेनानीमा बढुवा गर्‍यो भने नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा आशिष गजुरेललाई नियुक्त गरियो । तर चार–चार वटा सचिव पद खाली हुँदा समेत त्यसतर्फ ध्यान दिएन । पद खाली रहँदा रहँदै पनि सरकारले बढुवामा किन आनाकानी गरिरहेको हो त ? एक जना सहसचिवका भनाइमा ‘जे गर्दा पनि हुन्छ भन्ने सरकारको हेलचेक्राईँ मानसिकताका कारण’ यस्तो गरिएको हो । उनी भन्छन् ‘सरकारले आफ्नो इसारामा नचाउन सकिने पात्र नभेट्टाएकाले बढुवा रोकिरहेको पो हो कि ?’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता एवं सहसचिव शंकर नेपाल बढुवाको प्रकृया सबै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने भएकोले आफूहरुलाई त्यसबारे जानकारी नभएको बताउँछन् । भन्छन्, ‘यसबारे सामान्य प्रशासन मन्त्रालयका प्रवक्तालाई सोधे बताउनुहोला ।’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले दुई पटक फोन उठाएनन् । एसएमएस गरेपछि फोन उठाएका अधिकारीले जरुरी बैठकमा भएकाले पछि फोन गर्नु होला भन्दै काटे । तर, डेढ घण्टापछिसम्म अवस्था उस्तै रह्यो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एक नारायण अर्यालको पनि फोन उठेन । 

कात्तिक ४ पछि आज २० गते मन्त्रिपरिषदको बैठक बसेको सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङ बताउँछन् । उनका अनुसार आजको मन्त्रिपरिषदमा कसैलाई बढुवा गर्ने निर्णय भएको छैन । चार रिक्त सचिवको पद खाली भएको लामो समय भइसक्यो । योग्य उम्मेदवार पनि छन् । परारष्ट्र मन्त्रालयमा जुन दिन सचिव अवकास पाए, त्यहीँ दिन बढुवा गरियो । तर, नेपाल प्रशासन सेवा र कृषि सेवाको रिक्त पदमा सचिवको बढुवा कहिले हुन्छ त ? प्रवक्ता गुरुङले त्यस बारेमा चासो नराख्न रातोपाटी प्रतिनिधिलाई सुझाउँछन् । ‘जहिले हुन्छ, त्यो त प्रस्ताव आएपछि भइहाल्छ नि’, मन्त्री गुरुङ भन्छन् ‘बाहिरबाट तपाईंहरुलाई त्यस्तो टाउको दुखाइ किन पर्‍यो र ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माधव बस्नेत
माधव बस्नेत
लेखकबाट थप