आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बालुवाटारमा प्रधानमन्त्रीको ब्रिफिङ : मुलुक गम्भीर मोडमा

बिहीबार, २० कात्तिक २०७७, १२ : ५६
बिहीबार, २० कात्तिक २०७७

काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि चौतर्फी हमला भइरहेको भन्दै सरकारलाई काम गर्न नदिएर मुलुक गम्भीर मोडमा पुगेको बताएका छन् । 
बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई ब्रिफिङ गर्दै सरकारमाथि पार्टीभित्र र बाहिर दुवैतिरबाट हमला हुँदा  सोचेजति काम गर्न नसकिएको बताएका हुन् । 

‘पार्टी भित्रैबाट पनि सहयोग भएन । घेराबन्दी गरिन्छ, राजीनामा मागिन्छ । काम गर्न दिइँदैन । तर म राजीनामा दिने पक्षमा अझै छैन । कुनै हालतमा म पछि हट्दिनँ’ ओलीको भनाई उदृत गर्दै एक मन्त्रीले रातोपाटीसँग भने, ‘पार्टीभित्रबाट असहयोग हुँदा सोचेजति काम गर्न सकिएन । अस्थिरता निम्त्याउने काम मात्रै भयो । जसले मुलुक नै गम्भीर मोडमा पुगेको छ ।’ 

यसअघि ओलीले बुधबार पनि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै आफ्नो राजीनामा मागिएको तर कुनै पनि परिस्थितिमा आफु राजीनामा नदिने बताएका थिए । 
प्रधानमन्त्री ओलीले भनेका थिए्, ‘तपाईंहरु विचार गर्नुस के अहिले मैले राजीनामा दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरो लागि होइन, देशको लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन । त्यो मैले दोहो¥याएर भनेको छु, फेरि केहीले खोइ त राजीनामा भनेर मागिराखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु ।’
अहिले ओलीको राजीनामा कसैले नमागेपनि ओली आफैले राजीनामाको प्रसंग निकालेकोमा उनको आलोचना समेत भइरहेको छ । 

बिहीबारको मन्त्रिपरिषद् बैठकमा खासै महत्त्वपूर्ण निर्णयहरु नभएपनि प्रधानमन्त्री ओलीले लामो पुराण सुनाएको अर्का एक मन्त्रीले बताए । 
‘खासै त्यस्ता केही निर्णयहरु त भएनन् तर प्रधानमन्त्रीज्यूले समसामयिक विषयहरुमा आफ्ना कुराहरु राख्नुभयो । खासगरी उहाँले आफ्नो राजीनामा मागेर अस्थिरता निम्त्याउन खोजिएको भनेर ब्रिफिङ गर्नुभयो । त्यो सुनेर फर्केका छौ’ ती मन्त्रीको भनाइ छ । 

सत्तारुढ दल नेकपाभित्र विवाद र अन्तरविरोध चर्कदै गएका बेला यसअघि पनि अध्यक्ष समेत रहेका ओलीले विना प्रसंगका यस्ता अभिव्यक्तिहरु दिएर  विषयान्तर गर्ने गरेका थिए । 
नेकपाका एक नेता भन्छन्, ‘ओली एउटा झुट छोप्न अर्को झुट बोल्छन् । त्यसैले उनको बोलीको ठेगान नै हुन छाडेको छ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप