शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भोलिको केन्द्रीय समिति बैठकका लागि काँग्रेस शीर्ष नेताबीच बैठक बस्दै

बिहीबार, २० कात्तिक २०७७, १० : २९
बिहीबार, २० कात्तिक २०७७

काठमाडौं । नेपाली काँग्रेसका शीर्ष नेताको बैठक आज (बिहीबार) बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा दिउँसो १ बजे शीर्ष नेताबीच छलफल हुने नेता एनपी साउदले रातोपाटीलाई जानकारी दिए ।

पार्टीका सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएपछि मंगलबारलाई स्थगित भएको बैठक आज बस्न लागेको हो । केसीको निधनको शोकमा मंगलबार दिउँसो १ बजेलाई निर्धारित शीर्ष तहका नेताको बैठक स्थगित भएको थियो ।

पार्टीमा उत्पन्न विवादको समधानका लागि सोमबार पनि काँग्रेस शीर्ष नेताहरुबीच छलफल भएको थियो । सोमबारको बैठक विना निष्कर्ष टुंगिएको थियो ।

१४ औं महाधिवेशनको कार्यतालिका, पार्टी केन्द्रीय विभागको गठन, तिनमा भएका मनोनयन, भ्रातृ तथा शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समिति र क्रियाशील सदस्यताको वितरणसँग सम्बन्धमा काँग्रेसभित्र लामो समयदेखि मतमतान्तर छ ।

विभाग गठन–मनोनयन, भ्रातृ तथा शुभेच्छुक संस्थाको म्याद थप र महाधिवेशन तथा क्रियाशील सदस्यताको वितरणका सन्दर्भमा भएका विधानविपरीत  निर्णयहरू भएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष विरोधमा छ ।

पौडेल पक्षले असोज १२ गते उक्त विषय समेटर पार्टी कार्यालयमा ज्ञापनपत्र समेत दर्ता गरेको थियो । सोमबार पौडेल पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूसमेत गरी २७ जनाले हस्ताक्षर गरेर पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएको ज्ञापनपत्रमाथि छलफल केन्द्रित भएको थियो ।

सोमबारको बैठकमा उपसभापति विमलेन्द्र निधिले पौडेल पक्षले दर्ता गराएको ज्ञापनपत्रको बुँदागत व्याख्या गरेका थिए भने असोज १७ गते पनि उक्त विषयमा महामन्त्री पूर्णबहादुर खड्काले पनि बुँदागत व्याख्या गरेका थिए ।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगन थापा लगायतलाई कोरोना संक्रमण पुष्टि भएपछि छलफल स्थगित हुँदा विवाद थाति रहेको थियो । अहिले पनि संस्थापनपक्षीय नेताहरूले पौडेल पक्षको ज्ञापनपत्रमाथि प्रष्टिकरण मात्र दिएपछि विवाद समाधान हुन सकेको छैन ।

२१ कात्तिकमा केन्द्रीय कार्यसमितिको बैठकअघि विवादित विषय टुङ्ग्याउन छलफलको निरन्तरता स्वरुपमा नेताहरुबीच छलफल भइरहेको छ ।

उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काको प्रष्टिकरणबाट इतरपक्ष सन्तुष्ट हुन सकेको छैन ।

सोमबारको बैठकमा सभापति शेरबहादुर देउवाले पनि विभाग गठन बाहेकका विषयमा मात्र छलफल गर्न तयार रहेको बताएपछि विवाद थप चर्किने देखिएको छ । तर संस्थापन पक्ष नेता साउँदले भने असहमतिका धेरै विषय नरहेको भन्दै आजको बैठकमा सहमति जुट्ने बताए । विभाग बाहेकका विषय सम्झौता गरेर जान सकिने उनको भनाइ छ । आजको बैठकमा सभापति देउवाले आफ्नो धारणा राख्ने बुझिएको छ ।

यद्यपि यसअघिका बैठकमा पनि देउवाले बीचबीचमा बोल्दै आफूले सबै काम विधानअनुसार नै गरेको दाबी गरेका थिए । जसलाई पौडेल पक्षले सकारात्मक रुपमा लिएको छैन ।

तर आफूले उठाएका विषयमा छिनोफानो नभइ महाधिवेशनको तालिकाका विषयको छलफल हुन नदिने पौडेल पक्षको अडान छ ।

यता संस्थापन पक्ष भने पौडेल पक्षले उठाएका विषय वास्तविक नभइ चुनावी मुद्दा मात्रै रहेको बताउँदै आएको छ । २१ गतेको बैठकको मुल एजेण्डा नै महाधिवेशनको कार्यतालिका रहेको छ ।

बैठकका लागि आज सबै केन्द्रीय सदस्यको पीसीआर परीक्षण गरिँदै छ । विहान ९ बजेबाट दिउँसो १ बजेसम्म पार्टी कार्यालय सानेपामा पीसीआर परीक्षणको व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप