शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रत्नपार्कका भोकाहरुको पीडा: भोकै मर्नुभन्दा बरु सरकारले नै गोली ठोकोस् (भिडियो)

बुधबार, १९ कात्तिक २०७७, १९ : १२
बुधबार, १९ कात्तिक २०७७

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो बेइज्जत भएको ठानेर रत्नपार्कमा दैनिक हुने खाना खुवाउने काम रोक्न खोज्यो । तर अभियन्ता संघ–संस्थाहरुले खाना खुवाउने कामलाई निरन्तरता दिएका छन् । कोरोना संक्रमणपछि रोजगारी गुमाएका तथा असहायहरुलाई गत चैतदेखि नागरिकस्तरबाट सहयोग जुटाएर खाना खुवाउने क्रम जारी छ । हरेक दिन रत्नपार्कमा रोजीरोटी गुमाएकाहरु, काम गर्न नसक्ने बृद्धबृद्धा खाना खान जाने गरेका छन् । उनीहरुलाई दिउँसो १ पटक खाना खुवाउने गरिएको छ । 

घरबेटीले निकालेपछि पाटीको बास: बरु सरकारले गोली ठोकोस्

कोरोना संकट सुरु भएयता हरेक दिन चितवनकी बिना तामाङ र झापाका करण पोखरेल रत्नपार्कमा खाना खान जाने गरेका छन् । विगत ५ बर्षयता उनीहरु दुबैजना ज्यामी काम गर्थे । १ वर्षअघि भारी बोकेर हिँड्ने क्रममा लडेर बिनाको खुट्टा भाँचियो । त्यसपछि उनले काम गर्न सकिनन् । कोरोना संकट सुरु भएपछि त झन् समस्या भयो । श्रीमानको मृत्यु भएको बताउने उनलाई करणले हिँड्न सहयोग गर्ने रहेछन् । 

करणले भने–‘उनी भारीको बेलामा लडेकी थिइन् । पैसा नभएको उपचार गर्न सकिएको छैन । उनको श्रीमान बितेपछि मैले साहारा दिएको छु । एक्लै हिँड्न, दिसा, पिसाव गर्न जान पनि उनलाई समस्या पर्छ ।’ अहिले उनीहरुको बाँच्ने आधार भनेकै रत्नपार्कमा निःशूल्क वितरण गर्ने खाना भएको छ । लकडाउनपछि ४ महिनाको कोठा भाडा तिर्न नसकेपछि घरबेटीले कोठामा ताला लगाइदिए । महिनाको २५ सय भाडा तिर्नुपथ्र्यो, त्यो तिर्न नसकेपछि अहिले हनुमान ढोकामा रहेको पाटीमा बस्ने गरेको बिनाले बताइन् ।

अचेल दैनिक रत्नपार्कमा खाना खान आउने र बेलुका हनुमानढोकाको पाटीमा बस्न जाने गरेको उनले बताइन् ।  बेलुका पाटीमा छिट्टै सुत्न जाँदा पनि नगर प्रहरीले लखेट्ने गरेको उनीहरुले बताए । उनीहरुले भने–‘राती नौं–दश बजेपछि सुत्न जाने र बिहान ५ बज्नुभन्दा अगाडि नै उठ्नुपर्छ । नत्र नगर प्रहरीले लखेट्छ ।’ 

करण कोरोना संकटअघि कहिले पार्टी प्यालेसमा सरसफाई गर्ने, कहिले ज्यामी काम गर्थे । अहिले पार्टी प्यालेस पनि बन्द छ । ज्यामी काम गर्न जान कोरोना छ भनेर काम नदिने गरेको उनीहरुले बताए ।  रत्नपार्कमा वितरण गर्ने खाना बन्द गर्ने भनेपछि उनीहरु चिन्तामा छन् । करणले भने–‘यो सरकारले हामीलाई खाना रोक्छ भने कि गोली हानीदिओस् । भोकोलाई खाना रोक्ने सरकार हामीलाई चाहिँदैन । हामीले कमाएर खान पनि सकेका छैनौं । हामीलाई दिने खाना सरकारले बन्द गर्छ भने हामीलाई मारोस् । हामी यसैपनि भोकै मर्ने भएपछि बरु सरकारले नै गोली ठोकेर मारोस् ।’

रत्नपार्कमा एकदिन एक ब्यक्तिले अर्को दिन आएर बिनाको खुट्टाको उपचार गरिदिने बताएका थिए । निकैदिन ती मान्छे आएर उपचार गरिदिन्छन् कि भनेर पर्खिए पनि ती मान्छे नआएको उनीहरुले सुनाए ।  बिना र करणजस्तै आर्थिक समस्यामा परेका, रोजीरोटीका लागि कुनै काम नपाएकाहरुका लागि रत्नपार्क अहिले भोक मेट्ने एउटा स्थल भएको छ । 

गत चैतदेखि कोरोना संकटबाट रोजीरोटी गुमाएकाहरुलाई हन्ड्रेड ग्रुपका अभियन्ताहरु अन्सु यादव, बब्लु गुप्ताहरुको टिमले निःशूल्क खाना खुवाउँदै आएका छन् । पछिल्लो समय काठमाडौं महानगरपालिकाले खुल्लामञ्च क्षेत्रमा खाना खुवाउँदा महानगरपालिकाको बेइज्जत भएको भन्दै खाना खुवाउने काम बन्द गराउन प्रहरी पठाएको थियो ।  महानगरका मेयर बिद्यासुन्दर शाक्यको सो कदमको चौतफी रुपमा विरोध भएको छ । नेपाली काँग्रेसका सांसद गगन थापा, साझा पार्टी लगायतले महानगरपालिकाको सो कदमको विरोध गरेका छन् । 

रोगले भन्दा पनि भोकले मर्ने चिन्ता 
दीपा तामाङ र अनिता तामाङ पनि कोरोना संकटभन्दा पहिले ज्यामी काम गर्थे । सरकारले थालेको लकडाउनपछि उनीहरुले हालसम्म काम पाएका छैनन् । त्यसयता उनीहरुले रत्नपार्कमा वितरण गरिएको खानेकुरा खाँदै आएका छन् । अहिले महानगरले खाना बन्द गराउने भनेपनि उनीहरु आक्रोशित भएका छन् । 

दीपाले प्रश्न गरिन्– ‘खानेकुरा बन्द गराउन सरकारले यत्रो महिना हामीलाई नुनको ढिका दिएको थियो र ? त्यतिबेला यही संस्थाहरुले हामीलाई भात खुवाएको हैन ? किन बन्द गर्न दिने ? हामी बन्द गर्न दिँदैनौँ ।’ महानगरपालिकाले खाना वितरण गरेको ठाउँमा फोहोर भएको तर्क गरिहेका बेला उनले हातमा रहेको कुचो देखाउदँै नियमित रुपमा सरसफाई गरिरहेको बताइन् । 

उनले सरकारले यदि संस्थाहरुले दिने खाना बन्द गर्ने हो भने आफूलाई चाहिने चामल लगायतका खाने कुरा दिनुपर्ने माग गरिन् । कोरोनाका कारण कतै काम नपाइने भएकोले रोगले भन्दा पनि भोकले मर्ने चिन्ता रहेको उनले सुनाइन् । 

आफ्नो श्रीमानको मृत्यु भइसकेको बताउने उनले ७ छोरी १ छोरा रहेको र उनीहरुलाई रत्नपार्कबाटै लगेको खानेकुरा छोराछोरीलाई खाना खुवाउने बताइन् ।  यस्तै जेष्ठ नागरिक कान्छी भट्टराई डल्लुदेखि खाना खान आउने गरेकी छिन् । आफ्नो उमेर समेत थाहा नभएकी उनका आफन्तको नाममा कोही नभएको बताइन् । आफू मुटु र दमको रोगी भएको बताउँदै आफूले खाने औषधी समेत देखाइन् । आफू बिरामी भएको र काम गर्न नसक्ने भएका कारण खाना खान समेत समस्या भएको सुनाइन् । 

गोरखा घर भएका र काठमाडौंमा मजदुरी गर्दै आएका प्रेम रानामगर खाना रोक्ने कुराले दुःखी छन् । उनले सरकारले अप्ठेरोमा परेका जनतालाई आफूले पनि खाना नदिने, अरुले दिएको खाना पनि रोक्ने कामले दुखित भएको बताए । उनले भने– ‘कि उनीहरुले खाना खुवाउनुपर्यो, कि अरुले दिएको खाना रोक्नुभएन ।’ काठमाडौंमा एक्लै रहेका उनी पहिले घर बनाउने ठाउँमा काम गर्थे तर आजभोली काम नपाएर खाना खाने समस्या भएपछि रत्नपार्कमा आउने गरेको उनले बताए । 

अभियन्ताहरु भन्छन्–‘हामी खाना रोक्दैनौँ

रत्नपार्कमा खाना खुवाउँदै आएका एक अभियन्ता बद्री प्रसाद ढुङ्गानाले काठमाडौं महानगरपालिकाले एक्कासि आएर खाना खुवाउने काम बन्द गर भनेकोमा आश्र्चय चकित भएको बताए ।  दैनिक साढे २ सय हाराहारीलाई निशूल्क खाना खुवाउने गरेको उनको समूहले आफ्नो कामलाई निरन्तरता दिने भएको छ । 

उनले भने– ‘हामीले यति लामो समयदेखि खाना खुवाउँदा उहाँहरुले केही मतलब गर्नुभएन, हामीले केही कमीकमजोरी गरेका छौं भनेपनि त्यसलाई सुधार गरेर खाने कुरा खुवाउने कामलाई निरन्तरता दिन्छौं । यदि रत्नपार्कमा खाना खुवाउँदा उहाँहरुलाई अशोभनीय लागेको छ भने उहाँहरुले दिएको वैकल्पिक स्थानमा पनि खाना खुवाउन तयार छौँ । यहाँ खाना खाने सर्वसाधारणलाई पायक पर्ने स्थानमा जुनसुकै बेला हामी खाना खुवाउन तयार छौं ।’

कोरोना संकटपछि समस्यामा परेकाहरुलाई अन्सु यादव, बब्लु गुप्ता नेतृत्वको टोलीले रत्नपार्कमा खाना खुवाउने अभियान सुरु गरेको थियो । महानगरको दबावपछि हन्ड्रेड ग्रुपका अन्सु यादवले भने–‘उहाँहरुले रोक भनेर मात्र हाम्रो यो अभियान रोकिँदैन, यसलाई हामी निरन्तरता दिन्छौं । जेठ १४ देखि हालसम्म हामीले यसलाई निरन्तरता दिइरहेका छौँ । यो राज्यले सहयोग दिएर गरेको काम हैन । नेपाली दाजुभाई दिदी बहिनीले गरेको सहयोगबाट गरिएको हो । हामीले खाना खुवाएनौं भने आत्महत्या गर्छौसम्म भन्नुभएको छ, यो अभियानलाई हामी रोक्दैनौं ।’ दैनिक ३ सय देखि ५ सय जनासम्मलाई खाना खुवाउने गरेको यादवले बताए । 

उनले राज्यले गर्नुपर्ने काम आफूहरुले गरेको बताउँदै सरकारले आफूले पनि नगर्ने र अरुलाई पनि नदिने काम गरेको बताए । उनले भोको पेटमा लात हान्ने काम नगर्न आग्रह गरे ।  खुल्लामञ्चमा खाना नखुवाउन दबाव दिएको काठमाडौं महानगरपालिकाले खाना खुवाउने ठाउँमा बल प्रयोग नगर्ने बताएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाका मेयर शाक्यले बलपूर्वक खाना खुवाउने काम नरोक्ने बताएका छन् भने महानगरपालिकाले पनि २ लाख बढीमा निःशूल्क खाना खुवाएको दावी गरेका छन् । साथै उनले पाटी प्यालेसमा खाना खुवाउने ब्यवस्था गरे त्यसको भाडा बेहोर्ने पनि उल्लेख गरेका छन् । 

हेर्नुहोस् भिडियो:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप