शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनकै बीच भित्रियो २७ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी

औद्योगिक क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढ्यो
बुधबार, १९ कात्तिक २०७७, ०९ : ३६
बुधबार, १९ कात्तिक २०७७

काठमाडौं । नेपाली औद्योगिक क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दो छ । सोही क्रममा लकडाउनकै बीच पनि कुल १३७ प्रोजेक्टका लागि २७ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी भित्रिएको उद्योग विभागले जनाएको छ ।

गत चैतदेखि असोज अन्त्यसम्ममा कृषि, पर्यटन, सूचना÷प्रविधि, उद्योग तथा विविध सेवा क्षेत्रमा गरी गत कुल २७ अर्ब १५ करोड रुपैयाँ बराबरको विदेशी लगानी भित्रिएको विभागले जनाएको छ ।

गत वर्षको सोही अवधिमा विविध २०० प्रोजेक्टका लागि कुल ३१ अर्ब ३३ करोड रुपैयाँ विदेशी लगानी नेपाल भित्रिएको थियो ।

त्यसो त चालु आर्थिक वर्षको तीन महिनामा मात्र औद्योगिक क्षेत्रमा २० अर्ब रुपैयाँ बराबरको विदेशी लगानीले स्वीकृति पाएको विभागले जनाएको छ ।

कृषि क्षेत्रमा ३२ करोड ९० लाख, सूचना तथा प्रविधिको क्षेत्रमा एक अर्ब ४० करोड, उद्योग क्षेत्रमा ३२ करोड ५० लाख, विविध सेवा क्षेत्रमा ८ अर्ब ५० करोड र पर्यटन क्षेत्रमा अधिकतम १६ अर्ब ६० करोड रुपैयाँ बराबरको लगानी आएको विभागले जनाएको छ ।

उक्त लगानी विभिन्न समयमा विभागमा स्वीकृतिका लागि प्रस्ताव आएकोमा हालैमात्र विभागले स्वीकृति प्रदान गरेको विभागको विदेशी लगानी शाखाका अधिकृत निर्देशक उदयकुमार गुप्ताले बताए ।

यसको अलावा हाइड्रोपावरको क्षेत्रमा समेत विदेशी लगानीको आकर्षण उच्च रहे पनि ठूला आयोजनाका लागि लगानी बोर्डमार्फत लगानी हुने हुँदा विभागले नहेरेको उनले बताए ।

हाल चैत्र ११ यता साना, मझौला तथा लघु घरेलु गरी कुल १३७ प्रोजेक्टका लागि २७ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी विभागबाट स्वीकृत भएको गुप्ताले जानकारी दिए ।

प्रमुख आकर्षणको केन्द्र ‘पर्यटन’

उद्योग विभागको तथ्याङ्क अनुसार वैदेशिक लगानीको प्रमुख आकर्षणको केन्द्रमा पर्यटन क्षेत्र छ । कुल २७ अर्ब रुपैयाँ बराबरको लगानीमध्ये लगभग दुईतिहाई अर्थात् १६ अर्ब माथिको लगानी पर्यटन क्षेत्रमा मात्र भित्रिएको छ । विभागको तथ्याङ्क अनुसार गत चैत यता पर्यटन क्षेत्रमा मात्र कुल १६ अर्ब ५९ करोड ९० लाख रुपैयाँ लगानी स्वीकृत भएको छ ।

पर्यटन सम्बद्ध विभिन्न ७८ वटा परियोजनाका लागि कुल १६ अर्ब ६० करोड ४५ लाख लगानीमध्ये १६ अर्ब ५९ करोड ९० लाख रुपैयाँ विदेशी लगानीले विभागबाट स्वीकृति पाएको हो ।

उक्त प्रोजेक्टको कुल स्थिर पुँजी १० अर्ब ९३ करोड ३५ लाख रहेको छ भने व्यावसायिक पुँजी ५ अर्ब ६७ करोड रहेको विभागले जनाएको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा मात्र पर्यटन क्षेत्रमा ५८ प्रोजेक्टका लागि कुल १३ अर्ब ८० करोड रुपैयाँ विदेशी लगानीले स्वीकृति पाएको छ ।

६ अर्बसम्मको लगानीमात्र विभागले हेर्ने

औद्योगिक क्षेत्रको लगानी तथा लगानी स्वीकृतिमा विभागले अब ६ अर्ब रुपैयाँसम्मको प्रोजेक्टमात्र हेर्ने भएको छ । लगानी बोर्डको गठन भएसँगै ६ अर्ब रुपैयाँमाथिको सबै ठूला प्रोजेक्टहरु लगानी बोर्डले हेर्ने भएपछि विभागले ६ अर्बसम्मको लगानीमात्र हेर्ने भएको हो ।

त्यसो त मुलुक संघीय संरचनामा गएसँगै उद्योग व्यवसायको दर्ता स्वीकृति, सञ्चालन, व्यवस्थापन तथा नियमको अधिकार प्रदेशलाई हस्तान्तरण गर्ने नीति अनुरुप १५ करोडसम्मको प्रोजेक्ट प्रदेशको भागमा परेको छ ।

औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार प्रदेशले स्वनिर्णय अनुसार उद्योग तथा लगानी प्रवर्द्धन बोर्ड गठन गर्न सक्ने र प्रदेशभित्र दर्ता भई सञ्चालन हुने उद्योगमा लगानी प्रवर्द्धन गर्न सक्ने व्यवस्था छ । प्रदेशलाई १५ करोडभन्दा माथिको लगानीका प्रोजेक्ट हेर्न र विदेशी लगानी स्वीकृत गर्ने अख्तियार ऐनले नदिएको विभागका निर्देशक भक्तराज जोशी बताउँछन् ।

‘हाल प्रदेश र संघीय सरकारको बीचमा औद्योगिक लगानी तथा सञ्चालन सम्बन्धि केही असहमति छन् । कानुनतः १५ करोडभन्दा माथिको लगानी प्रदेशले हेर्न नपाउने भनिए पनि प्रदेश सरकारले उक्त व्यवस्थासँग बाझिनेगरी बोर्ड मार्फत प्रदेश कानुनहरु बनाइरहेका छन् ।

‘विभाग त सेवाग्राहीहरुकै सहजताका लागि हो । हामीलाई अधिकार चाहिएको होइन बरु कसरी उद्योग व्यवसायिहरुलाई सहजीकरण गर्न सकिन्छ, के कसरी अझ बढी फ्यासिलेट गर्न सकिन्छ भनेर लागिरहेका छौं । व्यसायीहरुको सेवा नै हाम्रो मुख्य ध्येय हो,’ जोशीले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप