बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपामा कचिङ्गल : दुवै पक्ष ‘वेट एन्ड वाच’को रणनीतिमा

फुट्ने अवस्था आयो भने पनि हामी रोक्छौँ : नेम्वाङ
मङ्गलबार, १८ कात्तिक २०७७, २१ : ४४
मङ्गलबार, १८ कात्तिक २०७७

काठमाडौँ । ‘सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको कचिङ्गल कसरी मिल्ला ?’ यो प्रश्नको जवाफ अहिले कार्यकर्ता तहमा मात्रै होइन शीर्ष नेतृत्वसँग पनि छैन । सतहमा नेकपाभित्रको कचिङ्गलका पात्रहरु अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखिए पनि यसको अन्तर्य भने अलि फरक रहेको नेकपाकै नेताहरुको बुझाइ छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्षले पार्टीले सरकारले गर्ने हरेक कुरामा हस्तक्षेप गर्ने विधि पद्धति हुन नसक्ने दाबी गरेको छ भने अर्कातिर प्रचण्ड र माधवपक्ष पार्टी बैठकले गरेका कुनै पनि निर्णय कार्यान्वयन नगर्दा समस्या आएको बताइरहेको छ ।

के हो त अन्तर्य ?

नेकपामा विवाद आएको पहिलो पटक भने होइन, बरु तेस्रो पटक हो । यसअघि पनि यस्तै विवाद आउँदा गत भदौमा पार्टीभित्र कार्यदल बनाएर टुट्नै लागेको नेकपा जोडजाम गरिएको हो । कार्यदलको प्रतिवेदनका आधारमा भदौ २६ गते बसेको स्थायी समिति बैठकले पारित गरेको प्रस्ताव कार्यान्वयन गर्ने भनेर गरिएका प्रतिबद्धता उल्लङ्घन भएपछि र कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आएपछि असोज अन्तिम साताबाट नेकपामा पुनः विवाद चर्कन पुगेको हो । यो विवादलाई कतिपयले बालुवाटार भर्सेस खुमलटार र पदका लागि झगडा भने पनि खासमा त्यो विधि, पद्धति र प्रक्रियाको लडाइँ भएको दुवै पक्षका नेताहरुको भनाइ छ । तर विधि र पद्धतिका बारेमा पनि दुवै पक्षको आफ्नै व्याख्या र बुझाइ छन् ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्षले पार्टीले सरकारले गर्ने हरेक कुरामा हस्तक्षेप गर्ने विधि पद्धति हुन नसक्ने दाबी गरेको छ भने अर्कातिर प्रचण्ड र माधवपक्ष पार्टी बैठकले गरेका कुनै पनि निर्णय कार्यान्वयन नगर्दा समस्या आएको बताइरहेको छ ।


नेकपाको झगडामा नौ सदस्यीय सचिवालयमा ओलीसहित महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल एकातिर छन् भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ अर्कोतिर छन् । विगतमा जस्तै रामबहादुर थापा बादल भने यस पटक पनि कुनै पक्षमा खुलेका छैनन् । मिल्न नसक्ने अवस्था आए बरु पार्टी नै अलग गरेर जाऊँ भन्ने अध्यक्ष ओलीको प्रस्ताव सार्वजनिक भएपछि नेकपामा आएको तरङ्गले केन्द्रदेखि स्थानीय तहसम्मै हलचल पैदा भएको छ । यद्यपि पार्टी नै फुट्ने अवस्था भने नरहेको कतिपय नेताहरुको भनाइ छ । बरु यो तरङ्गपछि एक पक्षले अर्को पक्षका गतिविधि नियाल्ने र थप रणनीति तय गर्ने योजनामा लागेका छन् । कर्णाली विवादमा प्रचण्ड पक्षले के रणनीति चाल्छ भनेर ओली पक्ष हेरिरहेको छ भने प्रचण्ड पक्ष पनि ओली पक्षले केही कदम चालिहाल्छन् कि भनेर हेरिरहेको बताइन्छ । 

बैठकबाटै समस्याको निदान

पार्टीमा देखिएको विवाद समाधान गर्ने भनेको बैठकबाटै हो । तर बैठक नै नबस्ने घोषणा भएकाले समस्या उत्पन्न भएको नेताहरुको भनाइ छ । नेकपामा बौद्धिक नेता मानिने स्थायी समिति सदस्य डा. बेदुराम भुसाल त नेकपामा देखिएको यो विवादलाई संसारमै नहुने कुरा भएकाले बुझ्नै कठिन भएको बताउँछन् ।

नेता भुसालले यो विवादले पार्टी के हुन्छ भन्न नसकिने भन्दै केही दिन पर्ख र हेरको स्थिति नियाल्नुबाहेक केही उपाय नरहेको बताए । उनले समस्या समाधान गर्ने थलो भनेको पार्टी कमिटीको बैठकबाहेक अरू हुनै नसक्ने भन्दै अहिले नै पार्टी फुट्छ या मिल्छ भन्न सक्ने अवस्था नरहेको बताए ।

‘पार्टीमा सङ्कट पर्यो । त्यो सबैलाई थाहा छ । तर पार्टी बैठक नबस्ने भन्ने कुरा हुन्छ ? यस्तो भएपछि कसरी बुझ्ने ? यस्तो संसारमा हुन्छ ? हुनै सक्दैन,’ डा. भुसालको भनाइ छ । संसारका जुनसुकै पार्टीमा पनि सङ्कट पर्दा बैठक बसेर निकास निकालिने भए पनि हाम्रोमा त्यो अभ्यास नहुँदा समस्या थप बल्झिएको भुसालको भनाइ छ ।

‘पार्टीमा सङ्कट पर्दा त बैठक बसेर र छलफल गरेर पो समाधान खोजिन्छ तर हाम्रोमा बैठक नै बस्न हुँदैन र बस्दैन भनेपछि कसरी समाधान आउछ त ? भनेर अलमलमा पर्नु स्वाभाविक छ’, उनको भनाइ छ ।

नेता भुसालले यो विवादले पार्टी के हुन्छ भन्न नसकिने भन्दै केही दिन पर्ख र हेरको स्थिति नियाल्नुबाहेक केही उपाय नरहेको बताए । उनले समस्या समाधान गर्ने थलो भनेको पार्टी कमिटीको बैठकबाहेक अरू हुनै नसक्ने भन्दै अहिले नै पार्टी फुट्छ या मिल्छ भन्न सक्ने अवस्था नरहेको बताए ।

‘अहिले नै यसै हुन्छ भन्न सक्ने अवस्था छैन । यदि प्रधानमन्त्रीले बाहिर आएकै कुरा गरेकै हो भने बेग्लै कुरा, होइन त्यसलाई बढाइचढाइ गरेको हो भने फरक हुन्छ’, उनले भने, ‘वास्तविकता के हो ? भन्ने कुरोको पहिचान गर्न जरुरी छ । त्यो काम अहिले भइरहेको छ । त्यसैले अहिलेको अवस्था भनेको ‘वेट एन्ड वाच’कै अवस्था हो ।’

नेम्वाङ पहिला दुई अध्यक्षबीच भेटवार्ता गरेर पार्टी कमिटी बैठकमार्फत निकास निकाल्न सकिने बताउँछन् । ‘विभिन्न तहमा कुराकानी भइरहेका छन् । यसक्रममा कुनै पनि तहको बैठक बस्न पहिला उहाँहरु दुई जना कुराकानी हुनुपर्छ’, नेम्वाङको भनाइ छ ।

अर्का नेता तथा स्थायी समिति सदस्य सुवास नेम्वाङ नेकपामा आएको विवादले तरङ्ग ल्याए पनि अहिले तत्काल केही हुने सम्भावना नरहेको दाबी गर्छन् । नेता नेम्वाङ विवाद मिलाउने प्रयास भइरहेको भन्दै पार्टी नै फुट्ने भनेर गरिएको हल्लालाई सत्य सावित गर्न नदिने बताउँछन् । त्यसतर्फको गृहकार्य भइरहेको भन्दै उनी दुई अध्यक्षका कारण पार्टी फुट्छ भनेर कल्पनासमेत गर्न नसक्ने बताउँछन् । ‘यदि त्यो अवस्था आयो भने पनि हामी रोक्छौँ’ नेम्वाङले रातोपाटीसँग भने, ‘दुई अध्यक्षबीच सोमबार मात्रै पनि टेलिफोन वार्ता भएको छ । यो अवस्थामा पार्टी फुट्ने वा दुर्घटना हुने भनेर चिन्ता हुनु स्वाभाविक भए पनि त्यो अवस्था आउन दिँदैनौँ ।’

नेम्वाङ पहिला दुई अध्यक्षबीच भेटवार्ता गरेर पार्टी कमिटी बैठकमार्फत निकास निकाल्न सकिने बताउँछन् । ‘विभिन्न तहमा कुराकानी भइरहेका छन् । यसक्रममा कुनै पनि तहको बैठक बस्न पहिला उहाँहरु दुई जना कुराकानी हुनुपर्छ’, नेम्वाङको भनाइ छ ।

‘अध्यक्ष केपी ओलीको नेतृत्व नेकपाको सरकार पाँच वर्ष चल्छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपा चल्छ । सहमतिका आधारमा मन्त्रिपरिषद् पुनर्गठन हुन्छ र सबै असहमतिहरूको समाधान कमिटीका बैठकहरूबाट खोजिन्छ’, रिजालको दाबी छ ।

नेकपाका केनद्रीय सदस्य विष्णु रिजाल त नेताहरूको मनस्थिति र वर्तमान परिस्थितिका आधारमा नेकपा कुनै हालतमा फुट्दैन भनेर ढुक्क भएर भन्न सकिने बताउँछन् ।

‘अध्यक्ष केपी ओलीको नेतृत्व नेकपाको सरकार पाँच वर्ष चल्छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपा चल्छ । सहमतिका आधारमा मन्त्रिपरिषद् पुनर्गठन हुन्छ र सबै असहमतिहरूको समाधान कमिटीका बैठकहरूबाट खोजिन्छ’, रिजालको दाबी छ ।

पार्टी निर्णय नमान्ने ओलीको सङ्केत

अधिकांश नेताहरुले पार्टी निर्णय मान्ने वित्तिकै समस्या समाधानतर्फ जाने बताए पनि ओली पक्ष अझै पनि पार्टी कमिटीका निर्णय मान्न तयार हुन सकेको देखिँदैन । ओली निकट मानिएका सचिवालय सदस्य ईश्वर पोखरेलको भनाइबाट पनि ओली पार्टी बैठकका निर्णय मान्न तयार नभएको बुझ्न सकिन्छ । ‘सरकारका कामसँग एउटा एउटा र साना साना कुरामा के पार्टी कमिटी बसेर कसलाई राजदूत बनाउने कुरा हो कि नीतिगत निर्देशनको कुरा हो ? यो त नीतिगत निर्देशन गर्ने कुरा हो’ पोखरेलको भनाइ छ ।

‘प्रधानमन्त्री बनाउने कुराको जिम्मेवारी हामीले दिइसकेपछि उसलाई जे गर्दा कम्फर्टेबल हुन्छ पार्टीको बोर्डर र नीतिको फ्रेमभित्र रहेर त्यो स्वतन्त्रता पाउनुपर्छ । नत्र सरकार चल्न सक्दैन’, पोखरेलको जोड छ ।

केपी ओली प्रधानमन्त्री भएर मात्रै आफूले यसो नभनेको भन्दै प्रधानमन्त्री भएर सरकार चलाउनलाई जो भए पनि जसरी सजिलो हुन्छ त्यो छुट दिनुपर्ने पोखरेल बताउँछन् ।

‘प्रधानमन्त्री बनाउने कुराको जिम्मेवारी हामीले दिइसकेपछि उसलाई जे गर्दा कम्फर्टेबल हुन्छ पार्टीको बोर्डर र नीतिको फ्रेमभित्र रहेर त्यो स्वतन्त्रता पाउनुपर्छ । नत्र सरकार चल्न सक्दैन’, पोखरेलको जोड छ । पोखरेल पार्टीले सरकार चलाउनुपर्छ भन्ने कुराको अर्थ के हो भनेर प्रश्न समेत गर्छन् । ‘पार्टीले सरकार चलाउनुपर्छ भनेको अर्थ के हो ? त्यो भनेको नीतिगत रूपमा पार्टीबाट निर्देशित हुने नै हो । चुनावी घोषणापत्र, सरकारले जारी गरेका नीति तथा कार्यक्रमबाट निर्देशित हुने र राष्ट्रिय अन्तराष्ट्रिय विषयमा प्रभाव पार्ने कुरामा छलफल गर्ने हो । अनि एउटा एउटा कुरामा पार्टीमा निर्णय लिएर र निर्देशन दिएर मात्रै गर्ने कुरा हो भने त किन छानिरहनुपर्यो प्रधानमन्त्री जोसुकैलाई बनाइदिए भो नि ?,’ पोखरेलको जिकिर छ ।

नडगमगाउन नेता नेपाललाई दबाब

शनिबार अध्यक्ष ओलीसँगको भेटवार्ताबारे कार्यकारी अध्यक्ष प्रचण्डले आइतबार ६ जना सचिवालय सदस्यलाई सहमतिमै पार्टी अलग गरौँ भनेर भनेको ब्रिफिङ गरेका थिए । त्यसपछि सोमबार प्रचण्ड निकटका स्थायी समितिका सदस्यहरुसँग पनि ओलीसँग भएको संवादबारे प्रचण्डले ब्रिफिङ गरेका थिए । उता सोमबारै माधव नेपाल निकट स्थायी समिति सदस्य पनि कोटेश्वरमा भेला भएर वास्तविकता बुझ्ने प्रयास गरेका थिए । त्यसक्रममा नेता नेपालले ओली प्रचण्डबीचको संवादपछिका घटनाक्रमबारे जानकारी गराएका थिए । त्यसमा नेताहरुले वरिष्ठ नेता नेपाललाई विधि, विधान र पद्धतिको अडानबाट नडमगाउन सुझाव दिएको एक स्थायी समिति सदस्यले रातोपाटीलाई जानकारी दिए । ‘सहभागी सबैले विधि, विधानबाट पार्टी चल्नुुपर्छ । त्यसका लागि पार्टी निर्णय सबैले मान्नुपर्छ । पद्धति बसाल्नु अहिलेको आवश्यकता हो । त्यसबाट पछि नहट्न हामीले नेता नेपाललाई सुझाव दिएका छौँ’, माधव नेपाल निकट एक स्थायी समिति सदस्यको भनाइ छ । वार्ता र संवादका साथै संवादबाट पनि निकास ननिस्के के गर्ने भन्नेमा दुवै पक्ष भित्रभित्रै भावी रणनीति तय गर्र्न व्यस्त छन् । त्यसका लागि ओलीले मङ्गलबार पनि आफू निकटका नेताहरुसँग बालुवाटारमा परामर्श गरेका छन् भने प्रचण्ड नेपालबीच पनि खुमलटारमा परामर्श भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप