शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा विवादमा राष्ट्रपतिको चासो: वामदेवलाई भनिन्- पार्टी विभाजन रोक्न भूमिका खेलिदिनुुस्

मङ्गलबार, १८ कात्तिक २०७७, १९ : २६
मङ्गलबार, १८ कात्तिक २०७७

काठमाडौं । राष्ट्पति विद्यादेवी भण्डारी र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमबीच शितलनिवासमा भेटवार्ता भएको छ । मंगलबार अपरान्ह शितलनिवासबाट बोलाइएपछि गौतम राष्ट्पति भेट्न शितलनिवास पुगेका थिए । शितलनिवासमा गौतम र राष्ट्रपति भण्डारीबीच आधा घण्टा कुराकानी भएको गौतमका सहयोगी विश्वमणि सुवेदीले पुष्टि गरे ।

गौतम निकट स्रोतकाअनुसार भेटमा राष्ट्रपति भण्डारीले नेकपामा आएको विवादका बारेमा चासो राखेकी थिइन् । त्यसक्रममा उनले गौतमलाई पार्टी एकता भंग हुन लागेको भन्दै समन्वयकारी भूमिका खेल्न र पार्टी एकता जोगाउन आग्रह गरेकी थिइन् । ‘तपाईले विगतमा पनि पार्टी अप्ठ्यारोमा परेका बेला महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । अहिले पनि अवस्था जटिल छ’, राष्ट्पति भण्डारीले गौतमसँग गरेको सम्वादलाई उदृत गर्दै स्रोतले भन्यो, ‘यो पटक पनि तपार्इको भूमिका आवश्यक छ । त्यसका लागि तपाईले भूमिका निर्वाह गर्नुपर्यो ।’

जवाफमा गौतमले आफु जहिल्यै पार्टी एकताको पक्षमा रहेको भन्दै आफुले निर्वाह गर्ने भूमिका गर्न तयार रहेको बताएका थिए । ‘म सँधै एकताकै पक्षमा हो । अहिले पनि एकता टुट्नु हुँदैन भन्दै आएको छु’ गौतमले राष्ट्पतिलाई आश्वस्त पारेका थिए । 

पछिल्लो केही दिनयता नेकपाभित्र अन्तरविरोध चर्किएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओलीले पार्टी बैठकका निर्णय नमानेको भन्दै इतरपक्षबाट असन्तुष्टि जनाइरहेका बेला गत शनिबार ओलीले बरु पार्टी अलग गरौं भन्ने प्रस्ताव अघि सारेका थिए । ओलीको यस्तो प्रस्ताव सार्वजनिक भएपछि ओली आफै पार्टी विभाजन गर्न लागेको आशंका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गर्दै आएका छन् । प्रचण्डसँगको सम्वादमा ओलीले बैठक नराख्ने र पार्टी निर्णय पनि नमान्ने चेतावनी दिएपछि विवाद चर्कन पुगेको थियो । 

यही विवादका कारण पछिल्लो समय ओली र प्रचण्डबीच भेटवार्ता समेत हुन छाडेको छ । यही क्रममा विभिन्न तहका नेताहरु पार्टी विभाजन रोक्न लागि परेका छन् । तर ओली र प्रचण्ड समूह टसको मस बनेका छैनन् । ओली प्रचण्डसँग कुरा गरेर विवाद मिलाउनुपर्ने पक्षमा छन् भने प्रचण्ड एक्लाएक्लै वार्ता गर्दा समाधान ननिस्किएकाले सचिवालय बैठकमै विवादका विषयको छिनोफानो गर्नुपर्छ भन्ने मान्यतामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप