आयातमुखी अर्थतन्त्रले देशअघि बढ्न सक्दैन
वीरेन्द्र रावल
प्राकृतिक सम्पदामा धनी हुँदाहुँदै नेपाल विश्वका विकसित मुलुकहरूको दाँजोमा र्आिर्थक र सामाजिक रूपले निकैनै पछाडि परेको देश हो ।
नेपाली जनताको जीविकोपाजर्नको मुख्य आधार भनेकै कृषि क्षेत्र हो । विगतमा नेपाललाई कृषिप्रधान देशका रूपमा चित्रण पनि गरिन्थ्यो । दुई दशक पहिलेको नेपाली कृिष प्रणाली र अहिलेको कृषि प्रणालीमा आकाश पातालको परक रहेको छ ।
दुई दशक पहिले नेपालको पूरा अर्थतन्त्र कृषिले धानेको अवस्था थियो भने पछिल्लो समयमा आएर नेपालको अर्थतन्त्र रेमिट्यान्स, भन्सार र वन क्षेत्रले धानेको छ । नेपालको अर्थतन्त्रलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपले भारतीय र चिनियाँ बजार व्यवस्थाले चलाइरहेको छ ।
नेपालमा रहेका सबै औद्योगिक निगमहरू विस्तारै राजनीतिकरण हुँदै धारासायी बनेको अवस्था देखिन्छ ।
नेपालमा उत्पादन हुने कागज, जुट, छाला जुत्ता, चिनी उद्योग, फलाम खानी, तामा खानी, सिमेन्ट उद्योगलगायतका ठूल–ठूला उद्योग, मिल कलकारखानाहरू बन्द भएका कारण आज सारा नेपाल र नेपालीको अर्थतन्त्र विदेशी बजारमा विलिन हुन पुगेको छ । नेपाली जनताको रोजगारी, समृद्धि र विकाससँग सरोकार राख्ने सबै कलकारखाना, उद्योग धन्दाहरू निजीकरण हुँदै बन्द हुने अवस्थामा पुगेका कारण पनि नेपालको अर्थतन्त्रमा निकै ठूलो ह्रास उत्पन्न हुन पुगेको छ ।
नेपालको तराईका जिल्लाहरू अन्न भण्डारका रूपमा हेरिन्छ । पहाडी जिल्लाको तुलनामा तराईका जिल्लाहरूमा बढीजसो धान, गहुँखेतीलगायतका उत्पादनहरू हुने गर्छ भने सम्भावना पनि निकै बढिरहेको देखिन्छ । किसानहरूले बडो मिहिनेत गरेर धान, गहुँ वा अन्य कुनै पनि तरकारीदेखि फलफूल खेतीबाट उत्पादन गर्ने गर्छन् ।
ल्हासामा सुन छ कान मेरो बुच्चै भनेझैँ नेपालको तराईका जिल्लामा उत्पादन हुने तोरी, लसुन, पहाडमा फल्ने विभिन्न जातका फलफुल, पशुपालन, चौपाया, गाई भैँसीको घिउ, नेपाली पहिचान दिने खालका विभिन्न जातका पसु, चौपायादेखि लिएर खाद्यान्न र अन्य नेपाली उत्पादनको बजार व्यवस्थापनका लागि राज्यबाट कुनै प्रकारको पहल नभएका कारण नेपाली किसानदेखि लिएर आम उपभोक्ताले निकै ठूलो सास्ती खेप्नुपर्ने गरेको देखिन्छ ।
हाल नेपालमा अलैँची, चिया, कफी, अदुवा, टिमुर, हल्दी, विश्वमा नपाइने विभिन्न खालका जडीबुटी पनि नेपालमानै पाइन्छन् ।
उच्च हिमालमा पाइने यार्चागुम्बा, जटामासीलगायतका जडीबुटी, उच्च हिमालमा पाइने चौँरी र त्यसबाट बन्ने चीज, तराईका फाँटमा फल्ने धान, गहुँ, मै, मध्यपहाडमा पाइने धान, गहुँ, मकै विभिन्न तरकारी, पसुपालनलगायतका प्रशस्तै सम्भावनाका बारेमा नेपालका शासकहरूलाई जानकारी भएकै विषय हो ।
उत्खनन् हुन नसकेका पलाम, तामा, सुन, पेट्रोल र मिथेन ग्याँसको भण्डार पनि नेपालमै छ । यसका बाबजुद पनि पछिल्लो पटक त नेपाललाई जलस्रोत र वनक्षेत्रमा धनी राष्ट्रका रूपमा हेरिँदै छ ।
दक्षिण एसियामा नेपाल गरिब मुलुकमा पर्छ । नेपाल र नेपालीको आयस्रोत अन्य देशका जनताको तुलनामा निकै कम देखिन्छ । २० वर्ष पहिले देश जहाँ थियो अहिले नेपाल त्यही स्थानमा छ । मानिसको चेतनामा स्तरमा वृद्धि भए पनि त्यसको वैज्ञानिक व्यवस्थापन नभएका कारण सारा नेपालीले अभाव र गरिबीले सृजना गरेको सास्ती खेप्न बाध्य छन् ।
हाम्रा नेता, सामाजिक आन्दोलनका अगुवा, सञ्चारजगत र शासक र प्रशासकदेखि आम उपभोक्तालाई गिज्याइरहेको छ । थप उद्योग धन्दा र कलकारखानाको निर्माणको त कुरै छाडौँ भएका पनि बन्द गर्ने र लिलाममा चढाउने असफलता विगत र वर्तमान सरकारले गर्दै आएका छन् । यस कारण सारा नेपाली जनताले अखाद्य र अयोग्य विदेशी मालसमानको उपभोग जानी नजानी गर्न बाध्य भइरहेका छन् ।
उपभोगका लागि नेपाली उत्पादन छैन, खरिदका लागि भारतीय बजार जानुपर्ने नेपालीको नियति नै बनिसककेको छ । नेपाली उत्पादनमा सरकारले जोड लगाएको भए आज नेपालीको यो गति हुने थिएन । हरेक दिन नेपाली सीमावर्ती बजारमा इसका दाम कित्ना है, उसका दाम कित्ना है भनेर बजार तताउनु पर्ने अवस्था आउने थिएन ।
नेपालबाट बाहिरिने जडीबुटी, गलैँचा लगायतका मालसमान गुणस्तरयुक्त बनाएर बाहिर पठाइन्छ भने विदेशबाट नेपालमा ल्याइने वस्तुको गुणस्तर के हो ? भन्नेबारेमा जाँचबुझ गर्ने विशेष ल्याबको विकास र प्रबन्ध नभएका कारण पनि नेपालमा आयात हुने मालसमानको गुणस्तरका बारेमा आम सर्वसाधार मानिस र उपभोक्ता अनभिज्ञ रहन्छन् ।
अनुगमनको अभाव ः नेपाली बजारमा मालसमान भित्रिएपछि खासै अनुगम गरिँदैन । कमजोर अनुगमन संयन्त्रका कारण कतिपय व्यापारीले गुणस्तरहीन मालसमान फाइदाका लागि नेपाल भित्र्याउने गगरेको पाइन्छ ।
दक्ष जनशक्ति र प्रविधिको कमी ः भारतीय क्षेत्रबाट नेपालमा आउने गहुँ, धान, मकै, लाही र तोरी ढुवानीमा प्रयोग हुने साधनलाई सूक्ष्म ढङ्गबाट भन्सार र गुणनियन्त्रण कार्यालयले चेक जाँच गर्ने गरेको देखिँदैन । चेक जाँचमा झन्झट हुने भन्दा ट्रकमा रहेको मालसमानमध्ये १०, २० बोरा या अन्य समानहरू पछासडि देखिने र चेक गर्ने निकायले देख्न सक्ने ठाउँमा राख्ने गरेको भित्री कहानीलाई मिलेमतोमा प्रकृया मात्र पुगाउने भन्सार र गुणनियन्त्रणका कर्मचारीका कारण आद्य वस्तुहरू सहजै नेपाल भित्रिने गरेको पाइन्छ ।
स्वास्थ्य जस्तो कुरामा सौदाबाजी ः मानव स्वास्थ्य जस्तो गम्भीर कुरालाई भन्सार र गुणनियन्त्रणका कर्मचारीले आर्थिक प्रलोभनमा परेर भ्रष्ट र माफिया व्यापारीको चलखेल र कालोबजारीको सहयात्री बनेर सारा नेपालीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने खालका मालसमान नेपाल भित्र्याउने काममा सहयोगी बनिरहेका देखिन्छन् ।
नियमनकारी निकाय नै भ्रष्ट ः सहर बजारमा भैरहेको कालो बजारी नियन्त्रण, अवैध तस्करी रोक्ने र राष्ट्रिय राजस्वमा आइरहेको चुहावटलाई रोकथाम गर्ने महत्वपूर्ण जिम्मेवारी बोकेका गुणनियन्त्रण, वाणिज्य विभाग, प्रहरी, प्रशासनलगायतका नियमनकारी निकायले आफ्नो कर्तव्यलाई सही ढङ्गबाट पालना नगर्ने गरेका कारण नेपाली बजारमा अयोग्य र अखाद्य वस्तुहरूको बिक्री वितरण भइरहेको पाइन्छ ।
जनचेतनाको कमी ः दुर्गम पहाडी जिल्लामा त पेय पदार्थहरू, खाने, आँटा चामल, तेल, चाउचाउ, बिस्कुट, चियापत्ती, कपडालगायतका उपभोग्य वस्तुहरूको गुणस्तर समाप्त भैसकेको महिनौँ दिनसम्म पनि जनचेतनाको कमीका कारण उपभोक्ता अखाद्य र गुणस्तरहीन मालसमानको प्रयोग गरिरहेका देखिन्छन् । दुर्गममा जाने जोकोही मानिसले अखाद्य वस्तुहरूको उपयोग गर्नुपर्ने त्यहाँको बाध्यता नै बनिसकेको छ ।
अनुगमनको शैली मौसमी ः अनुगमन केवल दशैं तिहारमा मात्र गरिने परम्परागत परिपाटीका कारण यसले कर्मचारी र नियमनकारी निकायमाथि आर्थिक अनियमितताको आरोप लाग्ने गरेको छ । कर्मचारी वा नियमनकारी निकायलाई दशैं, तिहार, नयाँ वर्षको खर्च जोहो गर्नका लागि मात्र अनुगमन त्यो पनि देखावटी रूपमा मात्र गर्ने गरेको आरोप सुनिने गरेको छ ।
अरू दिनहरूमा छड्के अनुगमन नगरिनाले पनि आम उपभोक्ताहरू ठगिने गरेका देखिन्छ ।
पूर्वसूचना दिने गलत कार्य ः बजार अुगमनका क्रममा व्यापारिक प्रतिष्ठानसँग कर्मचारी, उपभोक्ता मञ्च वा प्रहरी प्रशासनको मानिस जोकोही भए पनि कोही न कोही चिनजान वा नातापाता जोडिएको अवश्य नै हुन्छ । त्यस्तो अवस्थामा बजार अनुगमकारी टोली आउँदैछ, मालसमान त्यस्तो केही छ भने बाहिर गराउ या लुकाइहाल भनेर अग्रिम सूचना दिने गलत कार्यले पनि उपभोक्ताको स्वच्छ र सफा अनि गुणस्तरयुक्त वस्तुको प्रयोगको अधिकार पूर्ण रूपले हनन् गर्ने कार्य भएको पाइन्छ ।
निष्कर्ष ः अब नेपालमा भएका उद्योग धन्दा कलारखाना सुचारु गर्ने र नेपालको जलस्रोत, कृषि र पर्यटनमा आधारित उद्योग धन्दाकारखानालाई विकास गर्दै जनतालाई आत्मनिर्भर बनाउन जरुरी छ । नेपाली जनता आत्मनिर्भर भएपछि मात्र देशको अर्थतन्त्रमा वृद्धि हुने छ । त्यसका लागि राज्यले आयातमुखी नभई निर्यातमुखी अर्थतन्त्रको विकास गर्न सक्नु पर्दछ । अनि मात्र देश आर्थिक, समाजिक र राजनीतिक रूपले स्थायित्वको बाटोबाट अगाडि बढ्न सक्दछ ।