केन्द्रीय संस्करण

काठमाडौँ उपत्यकाका नगरपिताहरूलाई पत्र

person explore access_timeकात्तिक १८, २०७७ chat_bubble_outline0

 

नमस्कार ! उपत्यकाका नगरपिताज्यूहरू । विश्व सहर दिवस अक्टोबर ३१, २०२० को सेरोफेरोमा तपाईंहरूलाई विश्वका केही सुन्दर सहरबारे बताउन गइरहेको छु । विश्वका अधिकांश सहरलाई प्रकृतिले वरदान स्वरूप कहीँ समुन्द्र, कतै नदीनाला त कही पाखेरी र ताल दिएर त्यसका वरिपरि सुन्दर, रमणीय सहरहरू बनेका छन् । त्यति मात्र होइन प्रकृतिका वरदानले यी सहरहरू विश्वमा पनि चर्चित बनेका छन् । यी सहरहरू हेर्न लाखौँ लाख पर्यटक बर्सेनि आउने जाने गर्छन् । उदाहरणका लागि भारतको हरिद्वार, नैनीताल र काश्मीरको ताल धार्मिक र पर्यटकीय हिसाबले प्रसिद्ध छन् । त्यसैगरी अस्ट्रेलियाको सिड्नी सहर समुन्द्रको काखले सुन्दर बनेको छ भने नेदरल्यान्डको ऐमस्टर्डम सहरभित्रको डुङ्गा यात्रा पर्यटकका लागि स्मरणीय हुन्छ । अर्कोतिर पानी बीचको भेनिस सहर निकै रमणीय छ । त्यसैगरी भियतनामको होचिमिन सहरको धमिलो खोलाको डुङ्गा यात्राले हजारौँ पर्यटकलाई आकर्षण गरेको छ । न्युयोर्क सहरको हड्सन, लन्डनको थेम्स, रोमको टिबर, पेरिसको सेइन, मास्कोको मोस्कभा, बर्लिनको स्प्री नदीहरूले यी सहरहरूलाई विश्व मान चित्रमा परिचत बनाएका छन् । यी त केही उदाहरण मात्र हुन् । प्रकृतिका ती उपहारहरूलाई संरक्षण र सम्भार गरेर नै यी सहर पर्यटकलाई आकर्षित गरी मनोरञ्जन दिन सफल हुनुका साथै आम्दानीको महत्त्वपूर्ण स्रोत बनेका छन् । कुनै सहरले यी प्रकृतिका वरदानलाई बुझ्न नसकी तीनको संरक्षण र सम्भार गर्न नसकेर नदीनालामा ढल बगाउँदा राम्रा सुन्दर सहर कुरूप, दुर्गन्धित, प्रदूषित भएर यिनै नदीनाला रोगको मुहान बन्न पुगेका छन् ।

नेपालको सन्दर्भमा, काठमाडौँ उपत्यका विश्वको राम्रो सहरभित्र पर्छ । उपत्यकालाई सुन्दर बनाउन प्रकृतिले अन्य मुलुकको सहरमा जस्तै बागमती, विष्णुमती, मनोहरा नदी र अन्य खोलानालालाई बरदानको रूपमा दिएको छ । धार्मिक र सांस्कृतिक हिसाबले महत्त्वपूर्ण नदीको रूपमा यिनलाई लिइन्छ । तर वर्षौंदेखि राजनीतिक अस्थिरताले गर्दा अव्यवस्थित सहरीकरण भई यी हाम्रा प्राचीनकालीन सहरको नदीनालमा ढल बग्न थाले । उपत्यका अहिले बर्सेनि बढ्दो सवारी साधन, अनियन्त्रित जनसङ्ख्या वृद्धिले प्रदूषणले भरिएको, ट्राफिक जाम, अस्तव्यस्त  र असुरक्षित सहरमा परिणत भएको तपाईं नगरपिताहरूलाई थाहा नभएको होइन । यदि तपाईंहरूले समयमा नै काम थाल्नुभएन भने भविष्यमा काठमाडौँ उपत्यका एउटा मृत सहरमा परिवर्तन हुने देखिन्छ ।

अहिले आएर बस्तीका संरचना भत्काएर नयाँ बनाउन सम्भव छैन र गर्नु पनि हुँदैन । बनेका संरचनालाई व्यवस्थित गर्ने र खाली भएका ठाउँ र स्थानलाई राम्रो गर्ने नीति लिनुपर्छ । त्यसैले अब यहाँ रहेका नदी, खोलानाला र त्यसका दुवै किनाराहरूलाई विकास गरौँ । जसले गर्दा मृत घोषणा हुन बाँकी रहेको काठमाडौँ उपत्यकाका सहरलाई राहत मिल्ने थियो । यसले विश्व सामुदाय वातावरणीय प्रदूषणका विरुद्ध लडिरहेको अवस्थामा हामी पनि प्रदूषण विरुद्ध कटिबद्ध छौँ भन्ने सन्देश पनि जाने थियो ।  त्यसैले धेरै ठूलाठूला कुरा नगरी उपत्यकालाई कसरी सुन्दर सहर बनाउन सकिन्छ भनेर विश्व सहर दिवसको अवसरमा केही सुझाव तपाईंहरूलाई दिन चाहन्छु ।

अब बागमतीको सरसफाई सङ्घसंस्था र समूहले गरेर मात्र पुग्दैन । प्लास्टिक टिपेर, नदी खोलामा ढल बगाएर नदी कहिले सफा हुँदैन । समग्र रूपमा काठमाडौँ उपत्यकाभित्र भएका नदी, नाला, खोला कसरी स्थायी रूपमा सफा, सुन्दर, स्वच्छ बनाउन र राख्न सकिन्छ । त्यसका बारेमा सोचौँ र काम गरौँ । हाम्रा नदीनाला प्रयोगमा आएनन् वा ल्याउने सोच राखिएन । भनिन्छ प्रयोगमा नआएका घर, मेसिन, गाडी जुनसुकै वस्तु पनि चाँडो विग्रिन्छ किनकि त्यहाँ स्यहारा सम्भार हुँदैन । प्रयोगमा हुनु भनेको जीवित राख्ने हो । काठमाडौँ उपत्यकाका नदीनालालाई राम्रो कामका लागि प्रयोग गर्नुको सट्टा ढल बगाउने कार्यले आज प्राचीनकालीन धािर्मक सांस्कृतिक महत्त्व बोकेको नदीनाला बेवारिसे अवस्थामा छोड्दा हाम्रा पिढीले यस्तो दुर्दशा देख्नु प¥यो । अब यी नदीनालालाई अधिकतम प्रयोग गरेर मात्रै स्वच्छ, सफा र सुन्दरता कायम राख्न सकिन्छ ।

सर्वप्रथम नदी, खोलानालमा बाँध बानी (ड्याम) पानी जम्मा गरी ठूला–ठूला डुङ्गादेखि साना डुङ्गा चलाउने सुरुवात गरौँ । यी डुङ्गाहरू सार्वजनिक यातायातदेखि मनोरञ्जनका साधनको रूपमा प्रयोग गर्ने जसले गर्दा उपत्यकाको सवारी जामलाई कम गर्न केही हदसम्म मद्दत गर्नेछ । अर्कोतिर नदीनालामा डुङ्गा चल्न थालेपछि मानिसहरूले फोहर जथाभावि नदीनालमा फाल्ने छैन । नदीमा ढल बगाउने काम स्वतः नियन्त्रित भई व्यवस्थित हुनेछ । डुङ्गा चलाउने कम्पनीहरूले सरसफाइमा ध्यान दिने छन् । नदीका वरिपरि बिजुलीको व्यवस्थाले र राति अबेरसम्म मानिसको चहलपहलले लुकिछिपी फोहर गर्नेको सङ्ख्यामा विस्तारै कमी हुँदै जानेछ । जहाँ फोहर छ त्यहीँ नै फोहर गर्ने मानिसको स्वभाव हुन्छ । त्यसैले सफा भएपछिका नदीनालाई फोहोर गर्ने काम गर्दैनन् भन्ने मान्यता राख्नु गलत नहोला ।

त्यस्तै नदीनालाका दुई किनाराको सडकहरूलाई स्वदेशी र विदेशी पर्यटकलाई आकर्षण गर्ने खालका विभिन्न मनोरञ्जनात्मक गतिविधि सञ्चालन गर्न सकिन्छ । यी माथिका गतिविधि सञ्चालन गर्न नगरप्रमुखज्यूहरूले एउटा विज्ञहरूको टोली बनाई, कहाँ कहाँ बाँध बान्ने र पानी जम्मा गर्ने, कति गहिराइ र कति चौडाइ बनाउने, कहाँ–कहाँ पर्खाल, स्टेशन, डुङ्गा पार्किङ, बत्तिका पोल राख्ने, वर्षामा कति महिना बन्द गर्ने तथा सुरक्षाका कस्ता उपाय अबलम्बन गर्ने आदि सम्पूर्ण कार्य योजना बनाउन लगाउने । साथसाथै यसलाई सञ्चालन गर्न ऐन कानुन नियमावली बनाउन पनि उत्तिकै जरुरी हुन्छ ।

अन्त्यमा नगरपिताज्यूहरू तपाईंमध्ये कतिले युरोप भ्रमण गर्नु भएको होला । यदि गरेको छैन भने गर्नुस्, भ्रमण गर्ने इच्छा छैन भन्ने गुगलमा खोजी गर्नुस् वा युटुयबमा हेर्नुहोस् वा युरोपमा बसेका नेपाली वा युरोप भ्रमण गरेर फर्केका नेपालीसँग संवाद गर्नुस् । त्यहाँका नगरप्रमुखहरूले आप्mना नदीनालाको संरक्षण गर्दै त्यसका वरिपरि सहरहरूको विकास गरी, कसरी पर्यटकलाई आकर्षण गरेका छन् र सुरक्षित मनोरञ्जन दिई आर्थिक लाभ लिई राखेका छन् । त्यसबारे जानकारी हासिल गर्नुस् । अब सङ्कुचित विचार र रुढीबादी परम्पराले सहर र देशको विकास हुँदैन । अरू देशको सहरले गरेका राम्रा कुराहरूको नक्कल गर्नुपर्छ । परिर्वत गाह्रो कुरा हो, अप्ठ्याराहरू आउँछन् । युरोप पनि एक वर्षमा बनेको पक्कै होइन, सुरु गरौँ धेरै खर्चिलो छैन । पहिले एउटा नदीबाट सुरु गरौँ । वर्षौं–वर्षौंमा नभएको परिवर्तन केही वर्षमा हुनेछ । हाम्रा अग्रजहरूले यी कार्य सुरु नगर्दा आज हामीले यो अवस्था भोग्नुपरेको छ । यदि आज पनि हामीले गरेनौँ भने अब आउने नयाँ पिढीले ढल नै बगेका नदी देख्ने छन् । सुरु–सुरुमा कमी कमजोरी आउनेछन् । यसलाई सच्याएर अगाडि बढेमा स्वच्छ सफा, सुन्दर नदीनाला र जीवित सहरको रूपमा यो सुन्दर उपत्यकालाई विकास र सम्भार गर्न सकिने कुरा निश्चित छ ।

धन्यवाद ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.