शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपामा फुटको खतरा : के भन्छन् जिल्लाका नेता तथा कार्यकर्ता ?

‘व्यक्तिवाद हावी भएकै कारण पार्टी बारम्बार संकटमा’
मङ्गलबार, १८ कात्तिक २०७७, १४ : ०२
मङ्गलबार, १८ कात्तिक २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्व तहमा देखिएको विवाद गम्भीर मोडमा पुगेको टिप्पणी भइरहेको छ । त्यसो त, पार्टी एकता यता यस्ता विवाद पटक–पटक सतहमा नआएका होइनन् । आन्तरिक शक्ति संघर्षका कारण पार्टी फुटको सँघारमै पुगिसक्यो भन्दाभन्दै पनि विगतमा त्यस्ता जोखिमहरु टार्न नेतृत्व सफल भएकै हो ।

केन्द्रीयस्तरका नेताहरुले पार्टीभित्रको विवादबारे बारम्बार आफ्ना धारणा राख्दै आएका छन् । तर तल्लको तहका पार्टी कमिटीमा रहेर जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेका अगुवा कार्यकर्ताहरुले पार्टीभित्रको विवादलाई कसरी हेरिरहेका छन् भन्ने विषय महत्वपूर्ण हुने भए पनि ती आवाज ओझेलमा पर्दै आएका छन् ।

रातोपाटीले नेकपाका गाउँ÷नगर कमिटीका केही अध्यक्ष र सचिवमार्फत स्थानीय तहका कार्यकर्ताहरुको भावना बुझ्ने प्रयास गरेको छ । संगठन समायोजनका क्रममा स्थानीय कमिटीका अध्यक्ष र सचिव पदमध्ये एउटा पक्षले अध्यक्ष र अर्को पक्षले सचिव पद लिने गरी पूर्व एमाले र पूर्व माओवादी पक्षबाट भएको जिम्मेवारी बाँडफाँट गरेका कारण एउटै कमिटीका दुवै पदाधिकारीलाई समेटेर प्रतिक्रिया लिइएका कारण दुवै धारको विचारले समान स्थान पाएका छन् । यद्यपि अधिकांशले पार्टीभित्र देखिएको विवाद वैचारिक वा सैद्धान्तिक नभइ व्यक्तिगत स्वार्थमा आधारित रहेको टिप्पणी गरेका छन् । उनीहरुले पार्टी विभाजन हुने पो हो कि भन्ने चिन्ताले स्थानीय तहका नेता–कार्यकर्तालाई सताउन थालेको उल्लेख गर्दै कसैको व्यक्तिगत स्वार्थका आधारमा पार्टी विभाजन गर्न नहुने र त्यस्तालाई जनता तथा कार्यकर्ताले कुनै पनि हालतमा साथ नदिने दावी पनि गरे ।

नेकपाको इटहरी उपमहानगरपालिका नगर कमिटी अध्यक्ष बहादुरसिंह तामाङ ‘ज्वाला’ पार्टीको विधान, सिद्धान्त मान्यता र विचारलाई मान्ने, त्यसको प्रयोग गर्ने वा अनुसरण गर्नेभन्दा पनि व्यक्तिवाद हावी हुन खोजेका कारण पार्टीभित्र विवाद देखिएको टिप्पणी गर्दछन् ।

‘पार्टीमा बस्ने तर पार्टीको निर्णय नमान्ने भन्ने हुँदैन,’ उनले भने, ‘अहिले त बैठक पनि नबोलाउने भन्ने एक अध्यक्षको कुरो आइरहेको छ । त्यो प्रवृत्ति नेकपाको सिद्धान्त र लेनिनवादी संगठनात्मक सिद्धान्तको पनि विपरित हो ।’ सरकारमा पुग्न पार्टी चाहिने तर सरकारमा पुगिसकेपछि पार्टी नचाहिने र निर्णय मान्दिन भन्नु अराजकताको नमुनामात्र हुने उनको भनाइ छ । ‘समस्या यसैमा देखिएको हो भन्ने लाग्छ,’ उनले भने, ‘सम्बन्धित कमिटीको बैठक बसेर निकास निकाल्नुको विकल्प छैन । तर समस्या प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अहिले मिटिङको पनि आवश्यकता छैन भनेपछि भएको हो ।’

लेनिनवादी संगठनात्मक सिद्धान्तमा बहुमतको निर्णय अल्पमतले मान्ने भन्ने नै रहेको उनले बताए । ‘त्यसकारण कि त उहाँ (प्रधानमन्त्री ओली)ले लेनिनवादी संगठनात्मक सिद्धान्त नै मन्दिनँ भन्नुप-यो । होयन भने, विचारमा फरक भए पनि कामकारवाहीमा एकरुपता ल्याउनुपर्छ ।’

उनका अनुसार कम्युनिस्ट पार्टी साुमहिकतामा विश्वास गर्ने र विधिमा चल्ने गर्छ भनिन्छ । ‘त्यसैअनुसार सरकार पनि चल्ने हो भनिन्छ,’ उनले भने, ‘पार्टीको निर्णय र बुझाइलाई सरकारले कार्यान्वयन गरेर जुन वर्गका लागि राजनीति गरेको हो, त्यो वर्गलाई स्थापित गर्ने, निमुखा वर्गहरुलाई माथि उठाउनुपर्नेमा आपसी खिचातानी र स्वार्थ स्थापित गर्न खोजेपछि त्यसले अवश्य निराशा छाउँछ ।’

उनले अगाडि भने, ‘पार्टी कमिटीहरु विधानअनुसार चल्न सबै पार्टी कमिटीको अधिवेशन गर्नुपर्ने हुन्छ तर त्यो कुरा नै मान्दिनँ भनेपछि समस्या सिर्जना भएको हो ।’

केन्द्रमा देखिएको यस्तो विवादले स्थानीय तहसम्मै असर पर्ने उनले बताए । आम कार्यकर्ता र जनतामा समेत वामपन्थी शक्तिहरुको एकता भएपछि मुलुकको सम्मृद्धि हुन्छ भन्ने जुन अपेक्षा थियो, त्यसमा तुषारपात हुन्छ कि भन्ने भय देखिन थालेको उनको भनाइ छ । ‘जुन पार्टीबाट अपेक्षा गरिन्छ, त्यो पार्टी नै आन्तरिक समस्यामा फसेपछि नयाँ कामहरु अघि नबढ्ने हुँदा कार्यकर्ताहरुमा वितृष्णा बढ्छ,’ उनले भने ।

सोही नगर कमिटीका सचिव काशीनाथ दंगाल पार्टीलाई विधिमा चलाउने र विधिभित्र पनि आफ्नो कुरा स्थापित गर्न खोज्दा नेताहरुबीच द्वन्द्व देखिएको बताउँछन् । ‘मुलतः पार्टीलाई विधिमा हिँडाउने र नेताहरुको शक्ति सन्तुलनलाई पनि मिलाएर लाने हिसावमा जाँदा विवाद देखिएको हो भन्ने लागेको छ,’ उनले भने, ‘केन्द्रमा देखिएको यस्तो विवादले स्थानीय तहमा निराशा ल्याउँछ ।’

उनका अनुसार कम्युनिस्ट पार्टी साुमहिकतामा विश्वास गर्ने र विधिमा चल्ने गर्छ भनिन्छ । ‘त्यसैअनुसार सरकार पनि चल्ने हो भनिन्छ,’ उनले भने, ‘पार्टीको निर्णय र बुझाइलाई सरकारले कार्यान्वयन गरेर जुन वर्गका लागि राजनीति गरेको हो, त्यो वर्गलाई स्थापित गर्ने, निमुखा वर्गहरुलाई माथि उठाउनुपर्नेमा आपसी खिचातानी र स्वार्थ स्थापित गर्न खोजेपछि त्यसले अवश्य निराशा छाउँछ ।’

तर पनि कम्युनिस्ट पार्टीभित्र यस्ता द्वन्द्वले ऊर्जा उत्पादन गर्छ भन्ने बुझाइ राख्नुपर्ने र सकारात्मक सोचका साथ निकास खोज्नुपर्ने उनको सुझाव छ ।

पार्टीभित्र अहिले देखिएको विवाद वैचारिक नभइ नेताहरुले स्वार्थ अनुकुल भागवण्डाको विवादमात्र रहेको उनको दावी छ । राजनीतिक संस्कारको परिचय दिँदै विवाद समाधान गर्नुपर्ने उनको भनाइ छ । ‘कसैलाई फुटने अधिकार छैन, यदि फुटिहाले भने जनताले छुट दिने छैनन्,’ उनले भने, ‘यो विवाद गम्भीर छ । तल्लोस्तरका नेता तथा कार्यकर्तालाई चिन्तित बनाएको छ ।’

नेकपा बुटवल उपहानगर कमिटीका अध्यक्ष बावुराम पन्थी नेकपाभित्र अहिले देखिएको विवाद विचार वा सिद्धान्तमा आधारित नरहेको बताउँछन् । ‘नेतृत्वको लडाईले पार्टीको तल्लो तह हुँदै समग्र देशलाई असर पार्दैछ, उनले भने, ‘अहिले कोभिड महामारीकोबीच नेतृत्वमा यस्तो समस्या आउँदा समग्र देश र जनतालाई कुनै न कुनै रुपमा असर पर्ने निश्चित छ ।’

जनताले ५ वर्षका लागि काम गर्न म्यान्डेट दिएको पार्टीभित्र किचलो आउँदा जनअपेक्षाअनुसारका काम हुन नसक्ने उनले बताए । ‘यो अवस्था भनेको देश र समग्र कम्युनिस्ट आन्दोलनको लागि दुर्भाग्य हो,’ उनले भने, ‘यो समस्यालाई पार्टी सचिवालय, अझ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल बसेर समाधान गनुपर्छ ।’

उनले यसअघि भएका पार्टी निर्णयहरु कार्यान्वयन नहुँदा समस्या देखिएको टिप्पणीसमेत गरे । ‘पार्टीले पनि सरकार सञ्चालन गर्ने वातावरण सिर्जना गर्नुपर्छ र पार्टीको महाधिवेशनमा जाने वातावरण तयार पार्नुपर्छ,’ उनले भने ।

नेकपा बुटवल उपमहानगर कमिटीका सचिव नारायण बन्जाडे जसले जहाँ गल्ती गरेको छ, त्यहीँबाट सच्याउन पहल गर्नुपर्ने बताउँछन् । ‘नेकपाको खास उद्देश्य समाजवादी बाटोतर्फ जाने हो । त्यसमा कार्यशैली कतै चुकेको छ,’ उनले भने, ‘त्यसकारण समस्याहरु बाहिर आएका हुन् । कम्युनिस्ट पार्टीमा त्याग, बलिदान, समर्पण हुन्छ भनेर  बुझिन्छ ,त्यो अनुसार पार्टी जानुपर्ने हुन्छ । तर यहाँ कतै न कतै समस्या देखियो ।’

अहिले आफूहरुको तहसम्म केन्द्रीय नेतृत्वले वैचारिक छलफल र बहस नल्याएको उनले बताए । ‘महाधिवेशनमा आउला तर अहिलेसम्म हाम्रो लेबलसम्म केन्द्रीय नेतृत्वले आफ्ना वैचारिक धार छलफलका लागि ल्याएका छैनन्,’ उनले भने ।

पार्टीले लिएको सिद्धान्त अनुसार नै सरकार चलाउनुपर्ने उनको तकए छ । पार्टी नेतृत्वले नै अहिलेको विवाद साम्य पार्न सक्ने र साम्य पार्नैपर्ने उनले बताए ।

नेकपाका धनगढी उपमहानगर कमिटी ईन्चार्ज निर्मल शाह नेकपाभित्र उत्पन्न राजनीतिक विवाद नेपाली जनताका लागि निकै दुर्भाग्यपूर्ण रहेको बताउँछन् । ‘नेकपामाथि जनताले जसरी आशा र अपेक्षा गरेका थिए, त्यसमाथि तुषारपात हुँदैछ,’ उनले भने, ‘नेकपाको झण्डै दुईतिहाई बहुमतको सरकारप्रतिको जनअपेक्षामाथि पनि तुषारपात हुने संकेत देखिँदैछ, राजनीतिक बेइमानी हुँदैछ ।’

केन्द्रको खिचातानीले भने कार्यकर्तामाझ निराशा पैदा गराएको उनले बताए । पार्टीका शुभचिन्तकहरुमा पनि एक खालको संशय पैदा गराएको उनको भनाइ छ । ‘हिजो दुई तिहाईको सरकार बनाउनका निम्ति, स्थायी सरकार बनाउनको निम्ति, राजनीतिक स्थायित्वको निम्ति, आर्थिक समृद्धिको निम्ति र अर्को पटक आउँदा दुईवटै पार्टीको एउटै चुनाव चिन्ह लिएर, एउटै पार्टी बनाएर हामी तपाईंहरुको अगाडि आउँछौं भनेर जनतालाई हामीले भनेका थियौं,’ उनले भने, ‘त्यो भनेको आज साढे दुई वर्ष पनि बितेको छैन । दुई/दुई महिनामा, तीन/तीन महिनामा यस प्रकारको अन्तरद्वन्द्व सुरु भएको छ, यसले स्वाभाविक रुपमा राम्रो गरेको छैन ।’

पार्टीभित्र अहिले देखिएको विवाद वैचारिक नभइ नेताहरुले स्वार्थ अनुकुल भागवण्डाको विवादमात्र रहेको उनको दावी छ । राजनीतिक संस्कारको परिचय दिँदै विवाद समाधान गर्नुपर्ने उनको भनाइ छ ।

‘कसैलाई फुटने अधिकार छैन, यदि फुटिहाले भने जनताले छुट दिने छैनन्,’ उनले भने, ‘यो विवाद गम्भीर छ । तल्लोस्तरका नेता तथा कार्यकर्तालाई चिन्तित बनाएको छ ।’

अहिले नेतृत्व तह रुपान्तरणको पक्षमा नदेखिएको उनले बताए । ‘स्वार्थका कारण अहिलेको यो समस्या सतहमा आएको हो जस्तो लाग्छ,’ उनले भने, ‘संकेत राम्रो देखिएको छैन तर हामी के कुरामा ढुक्क छौँ भने नेतृत्वमा एकता हुन्छ । नेतृत्व रुपान्तरण हुनुपर्छ, यदि भएन भने पार्टी ध्वस्त हुनेछ । जनता तथा कार्यकर्तामा राजनीतिक वितृष्णा पैदा हुनेछ र प्रतिकृयावादीहरु हावी हुनेछन् ।’

नेकपा धनगढी उपमहानगर कमिटीकै सह–ईन्चार्ज तेजेन्द्र थापा पार्टीमा विवाद भईरहेको भन्ने कुरा जिल्ला र नगरका कार्यकर्ताले पत्रपत्रिकाबाट थाहा पाउने गरेको बताउँछन् । ‘विवाद पहिला पनि हुन्थे, आज पनि हुँदैछ । ठुलो पार्टी भएकाले यस्ता आरोह अवरोह हुनु सामान्य नै हो,’ उनले भने, ‘हामीलाई के लाग्छ भने नेताहरुले सबै कुराको समाधान गर्नुहुन्छ । विवादका धेरै चरण पार भईसके । यो विवादले पार्टी फुटिहाल्छ जस्तो मलाई लाग्दैन ।’

यदि दुर्भाग्यवस् पार्टी फुटेमा त्यसले नेपालको कम्युनिस्ट आन्दोलनमात्र नभई देश र जनतालाई पनि ठुलो क्षति हुने उनी बताउँछन् । उनले भने, ‘त्यो अवस्थामा धेरै वर्षपछि भएको पार्टी एकताको औचित्य,उपलब्धि सबै ध्वस्त भएर जानेछन् ।’ 

नेकपाको पोखरा महानगर कमिटी अध्यक्ष दीपक पौडेलले पार्टी कुनै पनि हालतमा फुट्न नहुने बताए । पार्टी फुट्दा यसले दीर्घकालीन रुपमा बामपन्थी आन्दोलनलाई नै समस्या पार्ने उनको धारणा छ ।

‘हाम्रो नगर कमिटी अहिलेसम्म बनेको छैन । अध्यक्ष र सचिव दुई जनामात्रै छौं, हामीले हाम्रो काम निरन्तर गरिरहेका थियौं,’ उनले भने, ‘असार १० गते स्थायी कमिटीको बैठक प्रारम्भ भयो, भदौ २६ गते बैठक सकियो । ३० गते १५ बुँदे अन्तरपार्टी निर्देशन आयो । असोज १ गतेबाट त्यो निर्देशनलाई हरेक वडा कमिटीमा लैजान १५ वटा वडा कमिटीका बैठक राखेर, निरन्तर त्यहीमात्रै विश्लेषण गर्दै हामी हाम्रो कमिटीमा पुग्यौं ।’

पोखरा महानगर कमिटीका सचिव विश्वप्रकाश लामिछाने भने पार्टी विधि र पद्धतिबाट चल्नुपर्ने मत राख्छन् । ‘हाम्रो आग्रह के हो भने पार्टी विधि, पद्धति र सिस्टममा चल्नु प-यो । कम्युनिष्ट आन्दोलनको मुख्य समस्या भनेकै विचारको समस्या हो भन्ने लाग्छ मलाई । सबै चिज विचारबाटै निर्देशित हुन्छ,’ उनले भने ।

केन्द्रको खिचातानीले भने कार्यकर्तामाझ निराशा पैदा गराएको उनले बताए । पार्टीका शुभचिन्तकहरुमा पनि एक खालको संशय पैदा गराएको उनको भनाइ छ । ‘हिजो दुई तिहाईको सरकार बनाउनका निम्ति, स्थायी सरकार बनाउनको निम्ति, राजनीतिक स्थायित्वको निम्ति, आर्थिक समृद्धिको निम्ति र अर्को पटक आउँदा दुईवटै पार्टीको एउटै चुनाव चिन्ह लिएर, एउटै पार्टी बनाएर हामी तपाईंहरुको अगाडि आउँछौं भनेर जनतालाई हामीले भनेका थियौं,’ उनले भने, ‘त्यो भनेको आज साढे दुई वर्ष पनि बितेको छैन । दुई/दुई महिनामा, तीन/तीन महिनामा यस प्रकारको अन्तरद्वन्द्व सुरु भएको छ, यसले स्वाभाविक रुपमा राम्रो गरेको छैन ।’

स्थायी कमिटीले गरेको १५ बुँदे निर्णय अनुरुप यसैको परिधिभित्र रहेर तलबाट माथिसम्म त्यो आचारसंहिता भित्र रहेर अघि बढ्नुपर्ने उनको जिकिर छ ।

पोखरा महानगर कमिटीका सचिव विश्वप्रकाश लामिछाने भने पार्टी विधि र पद्धतिबाट चल्नुपर्ने मत राख्छन् । ‘हाम्रो आग्रह के हो भने पार्टी विधि, पद्धति र सिस्टममा चल्नु प-यो । कम्युनिष्ट आन्दोलनको मुख्य समस्या भनेकै विचारको समस्या हो भन्ने लाग्छ मलाई । सबै चिज विचारबाटै निर्देशित हुन्छ,’ उनले भने ।

समाजवादी बाटोमा जाने या यथास्थिति बाटोमा जाने, यी दुईबीचको लडाईं नै आजको मुख्य समस्या रहेको उनको टिप्पणी छ । ‘मुख्य समस्या, कम्युनिष्टहरु २१ औं शताब्दीमा समाजवादी यात्रामा कसरी जानुपर्छ भन्नेमा देखिएको द्वन्द्व नै आजको समस्या हो,’ उनले भने ।

गुल्मीको मुसिकोट नगर कमिटीका अध्यक्ष खुमबहादुर थापा पार्टी एकता गर्दा दुई अध्यक्षबीच भएको सहमति पालना नहुनु नै केन्द्रमा दुई अध्यक्षबीचको खटपटको मुख्य जड रहेको बताउँछन् । ‘पार्टी एकता गर्दा उहाँहरुबीच के सहमति भएको थियो भन्ने कुरा हामी तलका कार्यकर्ता कसैलाई थाहा छैन,’ उनले भने, ‘उहाँहरु दुबैले जे सहमति गर्नु भएको थियो, त्यो पालना नहुँदाको उपज नै अहिलेको विवाद हो भन्ने हामीलाई लाग्छ ।’

जिल्ला सचिवालय सदस्य समेत रहेका थापा तलका कार्यकर्ताहरु चाहे त्यो पूर्वएमाले होस् वा पूर्वमाओवादी, कदापी फुटका पक्षमा नरहेको बताउँछन् । ‘केका लागि पार्टी एकता गर्नु भयो उहाँहरुले ? कि मिलेर चुनावमा जाने र सत्ता हत्याउनेमात्रै खेल थियो भने सत्ता एकातिर वैचारिक लडाइ अर्कोतिर पनि हुन सक्छ,’ थापाले थपे, ‘होइन भने महाधिवेशनसम्म हिजो गरिएका सहमति पालना गर्दै अगाडि बढ्नु पर्छ ।’

‘कसैले गल्ती गरेको भए पार्टी कमिटीले कारबाही गर्नु पर्दथ्यो, होइन भने कार्यकर्ता र जनतालाई यसरी निरास पार्ने काम गर्नु हुँदैनथ्यो,’ उनले भने । अब पनि पार्टी फुट्नु भनेको विगतदेखि कम्युनिस्ट आन्दोलन टुटफुट र गुटको इतिहास दोहरिनु शिवाय अरु केही नहुने उनको भनाइ छ ।

मुसिकोट नगर कमिटीकै सचिव अग्निधर लोहनीले नेकपाका दुई अध्यक्षले जनताको आशामा तुषारपात गरेको बताए । ‘सैद्धान्तिक मतभेद केही देखिँदैन, ब्यक्ति र शक्तिको लडाइँ हो भन्ने तलका कार्यकर्ताको बुझाइ छ,’ उनले भने । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले अलग हुन गरेको प्रस्ताव ‘कलंकित विचार’ भएको जिकिर गर्दै उनले कार्यकारी अध्यक्ष प्रचण्डको भूमिका पनि अस्थिर रहेको टिप्पणी गरे ।

‘कसैले गल्ती गरेको भए पार्टी कमिटीले कारबाही गर्नु पर्दथ्यो, होइन भने कार्यकर्ता र जनतालाई यसरी निरास पार्ने काम गर्नु हुँदैनथ्यो,’ उनले भने । अब पनि पार्टी फुट्नु भनेको विगतदेखि कम्युनिस्ट आन्दोलन टुटफुट र गुटको इतिहास दोहरिनु शिवाय अरु केही नहुने उनको भनाइ छ ।

रौतहटस्थित कटहरिया नगरकमिटीका नेकपा अध्यक्ष योगेन्द्र साह पार्टी एकतामा आँच आउन नहुने बताउँछन् । ‘म सबै अग्रज नेतालाई भन्न चाहन्छु, यतिका दिनको त्याग, तपस्या र बलिदानीबाट पाएको बहुमतको सरकारलाई संकटमा पार्ने वा पार्टीलाई फुटाउने चाहना जनता तथा कार्यकर्तामा छैन,’ उनले भने, ‘नेकपाका केही अग्रज नेताले आफनो स्वार्थको निमित्त पार्टी फुटाउन खोज्नुहुन्छ भने त्यो अत्यन्त दुःखद् कुरा हो ।’

पार्टीका प्रमुख नेतालाई पार्टी र सरकारलाई कसरी स्थापित गर्ने भन्ने सोच लिएर अगाडि बढ्नुपर्ने उनको सुझाव छ । ‘यो बाटो पहिल्याउन सक्यौँ भनेमात्र देशले एउटा बलियो पार्टी र नेपाली जनताले राम्रो अनि स्थिर सरकार पाउन सक्छन्,’ उनले भने ।

पार्टी फुटाउने र गुट उपगुटको मनसाय त्याग्न उनले पार्टीका प्रमुख नेताहरुलाई आग्रह गरे ।

कटहरिया नगरकमिटी सचिव चन्दन कुश्वाहा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्माको पछिल्लो अभिव्यक्तिले सिंगो देशलाई दुःखी बनाएको टिप्पणी गर्छन् । ‘मिलेरै पार्टी फुटाउँ भन्ने हिसाबले प्रधानमन्त्री ओलीले जसरी अभिव्यक्ति दिनुभएको कुरा बाहिर आएको छ, यसले गाउँस्तरका सबै कार्यकर्ता, नेकपाका समर्थक र आम जनतालाई दुःखी बनाएको छ,’ उनले भने, ‘देश र जनताले यो पार्टीप्रति ठुलो आशा राखेका छन् तर प्रधानमन्त्रीकै पछिलो अभिब्यक्तिले नेपाली जनतामा नकारात्मक सन्देश दिएको छ ।’

पार्टीलाई समेटेर एक साथ अघि बढ्नुपर्ने समयमा नेतृत्व तहमा रहेका जिम्मेवार व्यक्तिले नै पार्टी विभाजनसम्मको परिकल्पना गर्नु भनेको चिन्ताको विषय रहेको उनले बताए । नेताले आफनो स्वार्थमा पार्टीलाई विभाजन गर्न नहुने उनको भनाइ छ ।

(बुटवलबाट तेजेन्द्र केसी, पोखराबाट श्याम राना मगर, धनगढीबाट टंक कुँवर, गुल्मीबाट प्रेम सुनार, रौतहटबाट संजय मिश्रा र सुनसरीबाट ध्रुव ढकालको सहयोगमा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप