बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गोदावरीमा यस्तो बन्दैछ ३ हजार सिट क्षमताको सम्मेलन केन्द्र

६५ प्रतिशत काम सकियो (भिडियो)
मङ्गलबार, १८ कात्तिक २०७७, ०९ : १५
मङ्गलबार, १८ कात्तिक २०७७

नेपालमा ठूला प्रकारका सभा सम्मेलनका लागि सुविधासम्पन्न सभाहलको समस्या परिरहेका बेला आगामी माघदेखि भने त्यो समस्या हट्ने भएको छ । ललितपुरको गोदावरीमा शहरी विकास मन्त्रालयले बनाइरहेको ३ हजार व्यक्ति अट्ने क्षमताको सम्मेलन केन्द्रको काम ६५ प्रतिशत सकिएको छ । आगामी माघसम्ममा सम्पूर्ण काम सक्ने गरी धमाधम काम भइरहेको निर्माण कम्पनीका परियोजना प्रवन्धक महेश भट्टले रातोपाटीलाई जानकारी दिए । हाल कायम रहेका सभाहलमध्ये सबैभन्दा ठूलो सभाहलको रुपमा रहने निर्माणाधीन  सभाहलको हालै प्रधानमन्त्री केपी शर्मा ओलीले स्थलगत अवलोकन समेत गरेका थिए ।

४३ रोपनी १५ आनामा बनेको सभाहलको कूल लागत ६५ करोड ८१ लाख ६५ हजार ४ सय ६० रुपैयाँ रहेको छ । केसी–समानान्तर जेभी निर्माण व्यवसायीले सम्मेलन केन्द्रको निर्माण गरिरहेको छ । अगामी ३ महिनाभित्र सम्पूर्ण निर्माणको काम सक्ने लक्ष्य लिइएको सम्मेलन केन्द्रका लागि आवश्यक पर्ने साउन्ड सिष्टम, फर्निचर लगायतका सामग्रीहरु खरिद गरिसकेको परियोजनाका प्रवन्धक भट्टले जानकारी दिए ।

४३ रोपनी १५ आनामध्ये ११ रोपनी १४ आनामा सिटीहल तथा सम्मेलन केन्द्रको भवन रहेको छ । ३ रोपनी ३ आनामा आन्तरिक सडक संरचना रहेको छ भने १६ रोपनी २ आनामा बगैचा तथा हरियाली क्षेत्र रहेको छ । साथै १३ रोपनी १ आनामा पार्किङ क्षेत्र रहेको छ ।

३ हजार सिट क्षमताको सम्मेलन केन्द्र÷सिटी हलमा न्यूनतम ३ हजार ब्यक्ति बसेर कार्यक्रम गर्न मिल्ने सुविधा सम्पन्न एक मुख्य हल रहनेछ । मुख्य हलभित्र प्रवेश गर्नुअघि उत्तर र दक्षिण दिशामा साना दुई बहुउद्देश्यीय हलहरु निर्माण भइरहेको छ । यसका साथै सम्मेलन केन्द्रमा अतिविशिष्ट कक्ष, सहायता कक्ष, चेन्जिङ रुम निर्माण भइरहेको छ ।

मुख्य हलमा प्रवेश गर्नुअघि उत्तर र दक्षिण दिशामा दुई तल्ला बराबरको उचाइँ भएको दुई बहुउद्देश्यीय हल निर्माण भइरहेको छ भने कार्यालय कक्ष, विशिष्ट कक्ष, सहायता कक्ष भएको ब्लक ३ तलाको हुनेछ । साथै आवश्यकता अनुसार शौचालयको निर्माण कार्य भइरहेको छ ।

हलको अग्रभागमा प्रस्तुतिकरणका लागि मञ्चको व्यवस्था गरिएको छ । कार्यक्रमको आकार अनुसार मञ्चलाई सानो–ठूलो बनाउन सकिने परियोजनाका प्रवन्धक भट्टले जानकारी दिए । 

यो सम्मेलन केन्द्र बनेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ठूला सभा सम्मेलन गर्न सहज हुने भएको छ  ।

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप