बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लघुकथा:   झाडाबान्ता

सोमबार, १७ कात्तिक २०७७, २० : ०७
सोमबार, १७ कात्तिक २०७७

-भरत सिग्देल

गोठमा गाईगोरु पालिन्थ्यो। बा आफ्नै गोठमा जन्मेका बाच्छा दाएर खेतबारी जोत्नुहुन्थ्यो। आमा कुँडेमा गाईको दूध तताएर दही बनाउने, मही पार्ने र घ्यु सङाल्ने गर्नुहुन्थ्यो। गाईको दूध र घैयाको भातको स्वाद ऐलेसम्म जिब्रोमा झुण्डिराछ।गाईको घ्यु ठोक्के मर्क्या ठाउँमा घसेर सेक्दा इलाज हुन्छ भनेर माग्न आउनेलाई नि:शुल्क दिनुहुन्थ्यो। म सानै छँदा आफ्नै घरमा जन्मेर हुर्क्या  जोभाने गोरु माघे सङ्क्रान्तिमा जुधाउँदा सिरानघरे जिम्मलबाका गोरुलाई ग्वाँ !  ग्वाँ  ! पारेर लडाको दिन हजुरबा कम्ता खुशी हुनुभाथेन। जोभाने गोरुले जित्या खुशियालीमा टोलभरिका सबैलाई बोलाएर  आमैले फुरौला,सेलरोटी र तीलको छोप बनाई भोज ख्वा  नि अस्ति जस्तो लाग्छ।

खेतबारी जोत्न ट्रयाक्टरको जमाना आयो। दूध नि गाईले भन्दा भैँसीले धेरै दिन्छ भनेर एकदिन बेलुका बाले गाई, गोरु सबै बेच्ने कुरा गर्नुभो। त्यसपछि सबैभन्दा बढ्ता पीर आमालाई पर्यो ।आमाले भन्नुभो, `` खेतबारी त ट्र्याक्टरले जोत्नुहोला। दूध खान नि भैँसी ल्याउनुहोला। जुठो लोटाउन के गर्नुहुन्छ नि गाईगोरु मासेर?´´ ``गाईगोरु बेची आ पैसाले सिमन्टी ढलान गर्या घर बनाउनी । अनि त जुठो लोटाउनै पर्दैन नि लाटी ! सलल्ल पानीले पखाल्यो , सफा चट् ।´´, बाले आमालाई मनाउने जुक्ति लाउनुभो। ढलान गर्या घराँ बस्न पाइने भएपछि  आमालाई नि के चाइयो? बुरुक्क उफ्रेर सहमति जनाइहाल्नुभो।

चार दिनको लागि पुग्ने गोबर त आमाले गाईगोरु बेच्ने दिनमै टिपेर राख्नुभाथ्यो। पाँचौँ दिन पर्यो फसाद। गोबर नि सकियो। ढलान गर्या घर नि बना छैन। आमा भुत्भुताउँदै बालाई सराप्न थाल्नुभो। बा जुरुक्क उठेर घरबाट निस्कनुभो।  एकछिनपछि बारीतिरबाट टिपनटापन गरेर एक पोल्टो सुकेका गुइँठा खोजेर ल्याउनुभो।  ``यो सुक्या गुइँठाले जुठो लोटाउन मिल्छ त बुढा ?´´ आमाको समस्यामूलक प्रश्नमा बाले भन्नुभो,``धत् लाटी ! हजुरबाले मुक्तिनाथबाट ल्याउनुभा एक सिसी जलमा पँधेरा पानी मिसाएर गाउँले सबैलाई बाँड्नुभा बिर्सिस् ?  हामी नि गाईको सुक्या गुइँठामा भैँसीको आलो भकारो मिसाएर लोटाउने । चोखो भैहाल्छ नि।´´ बाको चतुर्‍याइँ देखेर आमा नि छक्क पर्दै भन्नुभो, `` सही कुरो ,बूढो बोरो ... सही कुरो । ´´

भैँसीको भकारोमा गाईको गुइँठा मिसाई बनाइएको नयाँ  गोबरले जुठो लोटाउन थाल्या दिनदेखि चुलो,चौका र मझेरीमा अरिङ्गालको गोलो जत्तिकै  झिँगा भुन्भुनाउन थाले। घर पूरै दुर्गन्धित भयो।
एकपछि अर्को गर्दै सबैलाई  झाडाबान्ता लाग्न थाल्यो। गाईगोरु बेच्या पैसाले उपचार खर्च नधान्ने कुरा आयुर्वेदिक औषधालयका वैद्य र हस्पिटलका डाक्टरहरूले बताएपछि अचेल हाम्रा बा थाल खाऊँ न भात खाऊँ भएर फत्र्याकफत्र्याक पर्नुभा छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा