बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बुधबारदेखि काठमाडौंबाट पर्यटकीय बस सेवा शुरु हुने

सोमबार, १७ कात्तिक २०७७, १७ : ४५
सोमबार, १७ कात्तिक २०७७

काठमाडौं । देशदर्शन बस सेवा प्रालिले कोभिड–१९ को बढ्दो सङ्क्रमणका बीच स्वास्थ्य मापदण्डलाई लागू गर्दै बुधबारदेखि पर्यटक बस सेवा शुरु गर्ने भएको छ ।  कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई पुनःस्थापित गर्नका लागि देश दर्शन बससेवा प्रालिले कात्तिक १९ गते बुधबारदेखि औपचारिकरुपमा देशका प्रमुख पर्यटकीयस्थलमा दिवा तथा रात्रि पर्यटक बससेवा सञ्चालन गर्न लागेको हो । 

प्रालिले काठमाडौँ–पोखरा दिवा तथा रात्रि, काठमाडौँ–जनकपुर रात्रि, काठमाडौँ–वीरगञ्ज रात्रि, काठमाडौँ–लुम्बिनी दिवा तथा रात्रि, काठमाडौँ–चितवन दिवा, चितवन–पोखरा दिवा सेवामार्फत पर्यटकलाई सेवा प्रदान गर्न लागेको छ । उक्त बस सेवा काठमाडौँको बौद्धबाट सोह्रखुट्टे हुँदै छुट्नेछन् । 

पछिल्लो समय विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सङ्क्रमण नेपालमा समेत बढ्दै गएपछि झण्डै आठ महिना लामो बन्दाबन्दी र निषेधाज्ञाले बन्द रहेको यातायात क्षेत्रमा पर्यटकलाई लक्षित गरेर दिवा तथा रात्रिकालीन सेवा शुरु गर्न लागिएको प्रालीका कार्यकारी निर्देशक श्रीकान्त आचार्य बताउछन् । 

“रु १२ करोड लगानीमा १६ बस खरिद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित सेवा प्रदान गर्न लागेका छौँ”, उनी भन्छन् । प्रालीले मुख्यमुख्य पर्यटकीयस्थललाई लक्षित गरेर दिवा तथा रात्रिकालीन बस सेवा सञ्चालन गर्न लागेको कार्यकारी निर्देशक आचार्यको भनाइ छ । 

आन्तरिक तथा बाह्य पर्यटकलाई बस चढ्नु अगाडि शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक यात्रुलाई मास्कको अनिवार्य व्यवस्था गर्ने, बसभित्र सेनिटाइजर गर्नेलगायतका सम्पूर्ण व्यवस्था मिलाएको प्रालीका बजार व्यवस्थापक प्रहलाद लोहनी बताउँछन् । 

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण स्थगित गरिएको थियो । प्रालिले शुभारम्भको एक साताका लागि काठमाडौँदेखि देशका विभिन्न स्थानमा जानका लागि भाडादरमा ५० प्रतिशत छुट र काठमाडौँ भित्रिने यात्रुका लागि भाडादरमा २० प्रतिशत छुटको व्यवस्था गरेको बजार व्यवस्थापक लोहनी बताउँछन् । 

अहिले काठमाडौँदेखि मुख्य पर्यटकीयस्थललाई लक्षित गरेर झण्डै १०० पर्यटकीय बसले सेवा प्रदान गर्दै आइरहेका छन् । हाल काठमाडौँको सोह्रखुट्टे सडकबाट पर्यटकलाई बोकेर पर्यटक बस पोखरा, चितवन, लुम्बिनी र जनकपुर ओहोरदोहोर गर्दै आएका छन् । 

पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्यासमेत परेको व्यवसायी बताउँछन् । व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टेको सडकमा पर्यटक बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् । रातको समयमा भने ग्यारेजमा शुल्क तिरेर राख्नुपर्ने बाध्यता छ । 

कोभिड–१९ को सङ्क्रमणभन्दा पहिला पर्यटक बसले दैनिक झण्डै तीनदेखि चार हजार हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पुर्याउँदै आएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप