शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शाहरुख खानः ५५ वर्षका भए ‘किङ अफ रोमान्स’

सोमबार, १७ कात्तिक २०७७, १० : २१
सोमबार, १७ कात्तिक २०७७

बलिउडमा किङ अफ रोमान्स मानिने सुपरस्टार शाहरुख खान नोभेम्बर २ तारिखमा ५५ वर्ष पुगेका छन् ।

उनका प्रशंसकका लागि यो दिन कुनै उत्सवभन्दा कम हुँदैन । हरेक वर्ष हज्जारौंको संख्यामा शाहरुखका प्रशंसक उनको जन्मदिनमा आफ्नो सुपरस्टारको एक झलक पाउनका लागि उनको घर ‘मन्नत’ को अगाडि घण्टौं उभिने गर्छन् ।

र शाहरुख खान पनि उनीहरुलाई दुःखी नबनाई आफूलाई माया गर्नेहरुलाई अभिवादन गर्न बाहिर निस्कने गर्छन् ।

तर यो वर्ष कोरोना महामारीका कारण शाहरुख खान आफ्ना प्रशंसकलाई भर्चुअली नै भेटघाट गर्ने तयारीमा छन् ।

टिभीको सुनौलो समयमा अभिनयको दुनियाँमा कदम राख्ने शाहरुद खानले फौजी र सर्कसबाट आफ्नो करियरको सुरुवात गरेका थिए ।

आफ्नो ३० वर्षको फिल्मी करियरमा शाहरुख खानले थुप्रै अविष्मरणीय फिल्ममा अभिनय गरेका छन् जसले हिन्दी फिल्म उद्योगमा गहिरो छाप छोडेको छ ।

फिल्म मामलाका जानकार तथा इतिहासकार अमृत गंगरले बीबीसीसँगको विशेष कुराकानीमा शाहरुख खानका केही उत्कृष्ट फिल्मबारे कुराकानी गरेका छन् जसले शाहरुख खानलाई एक भिन्न प्रकारको सुपरस्टार बनायो ।

‘बाजीगर, डर र अंजाम’

दिव्या भारती र ऋषि कपुरसँग ‘दिवाना’ फिल्मबाट बलिउडमा कदम राख्ने शाहरुख खानले सन् १९९३ मा केही यस्ता फिल्ममा अभिनय गरे जुन त्यतिबेलाका हिरोले गर्दैनथे ।

निर्देशक अब्बास–मस्तानको फिल्म ‘बाजीगर’ मा शाहरुख खान यस्तो हिरोको भूमिका निभाउँछन् जसले आफ्नो हिरोइन (शिल्पा शेट्टी) लाई मारिदिन्छन् ।

यस्तै, यश चोपडाको ‘डर’ मा शाहरुख खानले एकतर्फी प्रेमीको भूमिका निभाएका थिए जुन प्रेममा पागल झैं थिए र कुनै पनि हदसम्म जान सक्दथे । ‘आई लभ यू...क...क...क किरण’ डायलगले आज पनि त्यो ‘डर’ कायम गर्दछ ।

अमृत गंगर भन्छन्, ‘बाजिगरमा शाहरुख खानले एक चलाख किसिमको हिरोलाई लञ्च गरे । त्यसै वर्ष शाहरुख खानले ‘डर’ मा नकारात्मक भूमिका गरे जुन त्यतिबेलाको परम्परागत हिन्दी फिल्म हिरोका लागि एक ट्याबु अर्थात् वर्जित कुरा मानिन्थ्यो ।’

तर शाहरुख खानले लिकबाट हटेर नकारात्मक भूमिका जारी राख्दै फिल्म ‘अंजाम’ मा एक पागल प्रेमीको भूमिका निभाए जो आफ्नी प्रेमिका (माधुरी दीक्षित) को पिछा गर्छन् र उनलाई अपहरण गर्छन् ।

‘एकातिर बाजिगरका लागि शाहरुख खानले फिल्मफेयरको पहिलो उत्कृष्ट हिरोको अवार्ड पाए भने अर्कोतर्फ अंजामको भूमिकाका लागि शाहरुख खानले फिल्मफेयरको उत्कृष्ट भिलेनको अवार्ड पनि पाए । ’

अमृत गंगरका अनुसार १९ औं शताब्दिका दुई फ्रेन्च र रुसी उपन्यासको शाहरुख खानको फिल्मी करियरका अभिनेताको रुपमा निकै ठूलो योगदान छ ।

महान रुसी उपन्यासकार फ्योदोर दोस्तोवस्कीको १९ औं शताब्दिको उपन्यास ‘द इडियट’ मा आधारित टिभी फिल्ममा शाहरुख खान देखिएका थिए । त्यो जमानाका चर्चित निर्देशक मणि कौलले यो फिल्म बनाएका थिए ।

निर्देशक मणि कौल नौजवान शाहरुख खानको अभिनयको बुझाईसँग यति प्रभावित भए कि उनी शाहरुखसँग एक फिल्म बनाउन चाहन्थे जुन उनको अभिनय क्षमताको एउटा निकै ठूलो पहिचान थियो ।

यस्तै केतन मेहताको फिल्म ‘माया मेमसाब’ पनि १९ औं शताब्दिको फ्रान्सेली उपन्यासकार गुस्ताव फ्लोबेर्टको उपन्यास ‘मदाम बोवेरी’ मा आधारित थियो जसमा शाहरुख खानले महत्वपूर्ण भूमिका निभाए । यो फिल्ममा उनको अभिनयको निकै तारिफ भयो ।

‘दिलवाले दुल्हनिया ले जाएंगे’ र ‘किङ अफ रोमान्स’ को जन्मः

हालै दिलवाले दुल्हनियाले जाएंगे’ ले आफ्नो रिलिजको २५ वर्ष पूरा गर्यो । यो फिल्मलाई हिन्दी फिल्म इन्डष्ट्रिको सबैभन्दा रोमान्टिक फिल्म भनिन्छ । सन् १९९५ मा रिलिज भएको यो फिल्मले थुप्रै रेकर्ड तोड्यो र रातारात शाहरुख खानलाई सुपरस्टार बनायो ।

‘दिलवाले दुल्हनिया ले जाएंगे’ मा शाहरुखको अभिनयबारे अमृत गंगर भन्छन्, ‘शाहरुख खानको अभिनयमा यस्ता थुप्रै खुबी थिए जुन पहिले कहिल्यै देखिएको थिएन । एक किसिमको प्रेम थियो, संवेदनशीलता पनि थियो । जहाँ ओठमा अचम्मको भाव थिए । यस्तै डायलग डेलिभरीको एउटा एक्सपेरिमेन्ट थियो । एक नौजवान र चकचके युवाको आचरण पनि थियो । दिलवाले दुल्हनिया ले जाएंगेले एक नयाँ किसिमको सिनेमालाई जन्म दियो । जहाँ भारत नयाँ मार्केट इकोनोमी र उपभोक्तावादका लागि खुल्ला भइरहेको थियो, धेरैभन्दा धेरै मध्यम वर्गीय भारतीय परिवार विदेश यात्रा गरिरहेका थिए । जहाँ नयाँ पीढी पश्चिमी संस्कृति अपनाइरहेका थिए र पुरानो पीढी परम्पराको जगेर्नामा थिए, त्यतिबेला शाहरुख खान यी सबै परिवर्तको एक प्रतिकात्मक अनुहारको रुपमा उदाए ।’

‘दिलवाले दुलहनिया ले जाएंगे’ को सफलतापछि शाहरुख केही यस्ता रोमान्टिक फिल्मको हिस्सा बने जसले उनलाई ‘किङ अफ रोमान्स’ बनायो । यी फिल्ममा समावेश छ यश चोपडाको ‘दिल तो पागल हे’, सुभाष घईको फिल्म ‘परदेस’ र करण जोहरको फिल्म ‘कुछ कुछ होता है’ जसमा एकपटक पुनः ‘दिलवाले दुलहनिया ले जाएंगे’ को जोडी शाहरुख खान र काजोल सँगै देखिए जसलाई दर्शकले निकै मन पराए ।

वरिष्ठ पत्रकार अजय ब्रम्हात्मजका अनुसार यसै बेला ट्वींकल खन्नासँग आएको फिल्म बादशाहपछि शाहरुख खानलाई ‘बादशाह खान’ वा ‘किङ अफ बलिउड’ को नामले बोलाउन थालियो । यद्यपि, बादशाह फिल्म फ्लप रह्यो ।

शाहरुख खानको रोमान्टिक अवतार ठूलो पर्दामा जारी रह्यो । आदित्य चोपडाको फिल्म ‘मोहब्बतें’ मा उनी अमिताभ बच्चनविरुद्ध प्रेमको लडाईंमा देखिए जुन दर्शकलाई निकै मनपर्यो । करण जोहरले सन् २००१ मा तीन पीढीका अभिनेता अमिताभ बच्चन, शाहरुख खान र नयाँ पीढीका नयाँ अभिनेता ऋतिक रोशनलाई फिल्म ‘कभी खुशी कभी गम’ मा सँगै ल्याएर दर्शकलाई एक ब्लकबस्टर दिए ।

सन् १९९५ मा शाहरुख खान निर्देशक–निर्माता प्रेम लालवानीको फिल्म ‘गुड्डु’ को हिस्सा बने जसबाट कमाएको पैसाले उनले मुम्बईमा आफ्नो पहिलो फ्ल्याट लिए । सन् २००१ मा शाहरुख खानले १३.३२ करोडमा बान्द्राको समुद्र किनारामा भएको ‘विला वियना’ लिए जसको नाम जन्नत राखे । यो घरमा आएपछि उनको सबै ‘मन्नत’(भाकल) पूरा हुन लागे, त्यसैले घरको नाम परिवतर्न गरेर उनले ‘मन्नत’ राखे ।

सन् २०१२ मा शाहरुख खान यश चोपडाको अन्तिम फिल्म ‘जब तक हे जान’ मा देखिए । फिल्म हिट भयो तर यश चोपडा यो संसारबाट बिदा भए । शाहरुख खान–यश चोपडाको अभिनेता–निर्देशकको जोडीमा विराम लाग्यो । शाहरुख खानलाई किङ अफ रोमान्स बनाउन यश चोपडाको फिल्मको निकै ठूलो योगदान रह्यो । यी फिल्ममा समावेश थिए ‘दिल तो पागल हे’, ‘वीर जारा’ र ‘जब तक है जान’ ।

डन र नेगेटिभ हिरोको एन्ट्रीः

दिलीप कुमारको सन् १९५५ मा बनेको फिल्म ‘देवदास’ को यादा ताजा गर्दै सन् २००३ मा शाहरुख खान संजय लीला भंसालीद्वारा निर्देशित ‘देवदास’ मा ऐश्वर्या राय बच्चन र माधुरी दीक्षितसँग देखिए ।

फिल्मले असाध्यै वाहवाही बटुल्यो । शाहरुख खानको रोमान्टिक हिरोको छवी यथावत् रह्यो फिल्म ‘कल हो ना हो’, ‘चलते चलते’, ‘वीर जारा’ मार्फत् ।

सन् २००६ मा शाहरुख खान नयाँ पीढीका लेखक निर्देशक फरहान अख्तरको फिल्म ‘डन’ मा देखिए । यो फिल्म महानायक अमिताभ बच्चनको सन् १९७८ मा बनेको हिट फिल्म ‘डन’ को रिमेक थियो । शाहरुख खानले एकपटक पुनः दर्शकलाई नकारात्मक भूमिका अपनाए र फिल्म हिट भयो । यो फिल्म शाहरुख खानका लागि उनको रोमान्टिक हिरोको छविलाई परिवर्तन गर्ने फिल्म बन्यो जसलाई दर्शकले निकै रुचाए ।

‘माइ नेम इज खान’:

निर्देशक करण जहोरले शाहरुख खान र काजोलको जोडी एकपटक पुनः ल्याए ‘माई नेम इज खान’ मा जसमा शाहरुख खान एस्पर्गर्स सिन्ड्रोमसँग जुधिरहेका रिजवान खानको भूमिकामा देखिए । सन् २०१० मा बनेको यो फिल्मलाई अमृत गंगर आज पनि समयसामयिक मान्छन् ।

उनी भन्छन्, ‘यो फिल्ममा शाहरुख खानले मुस्लिम पात्र रिजवान खानमार्फत् अभिनयको कौशल देखाएका छन् । यो एउटा मेलोड्रामा थियो जुन विभिन्न देश, महाद्वीप र धर्मलाई दर्साउँदै मानवतावादी सन्देशका साथै सहनशीलता र एकताको सन्देश दिन्छ । जहाँ पूरा विश्व कोरोनाद्वारा प्रभावित छ र अमेरिकामा राष्ट्रपति भइरहेको छ, यो फिल्म आजको समयमा पनि प्रासंगिक छ ।’

‘रईस’ शाहरुख खान र परिवर्तित छविः

फिल्म इन्डष्ट्रिका तीन ठूला खान शाहरुख खान, सलमान खान र आमिर खान सन् २०१५ मा ५० वर्षका भए । यो हिन्दी फिल्म इन्ष्ट्रिको पहिलो पीढी थियो जो ५० वर्षको उमेरमा पनि हिरोको भूमिका निभाइरहेका थिए । उनीहरु हिरोइनसँग रोमान्स गरिरहेका थिए र दर्शकले उनीहरुको बढ्दो उमेरलाई कुनै वास्ता नै गरेनन् ।

शाहरुख र काजोल एकसाथ पुनः सन् २०१५ मा रोहित शेट्टीको लभ एक्सन फिल्म ‘दिलवाले’ मा देखिए तर फिल्मले त्यो जादु देखाउन सकेन जुन शाहरुख–काजोलका पहिला रिलिज भएका फिल्मले देखाएका थिए ।

नयाँ पीढीका निर्देशक मनिष शर्माको सन् २०१६ मा आएको फिल्म ‘फ्यान’ मा शाहरुख आफ्नै फ्यान गौरव चांदनाको भूमिकामा देखिए । शाहरुखको यो परिवर्तन रुप दशर्कलाई निकै मनपर्यो ।

सन् २०१७ मा शाहरुख खान राहुल ढोलकियाद्वारा निर्देशित फिल्म ‘रईस’ मा देखिए । यो पात्र उनको छविभन्दा निकै भिन्न थियो । फिल्ममा शाहरुख खान अभिनेता नवाजुद्दीन सिद्दीकीसँगै देखिए जसलाई दर्शकले निकै मन पराए । फिल्मको डायलग पनि निकै चर्चित रह्यो ।

शाहरुख खान सन् २०१७ मा निर्देशक इम्तियाज अलीको फिल्म ‘ह्यारी मेट सेजल’ र सन् २०१८ मा आनन्द रायको फिल्म ‘जिरो’ मा देखिए । दुबै फिल्म दर्शकलाई मन परेन ।

अमृत गंगर भन्छन्, ‘शाहरुखले आफ्नो करियरमा बहुमुखी प्रतिभा देखाउँदै विभिन्न पात्र र शैलीलाई पार गरेर आफूले आफैंलाई एक उत्कृष्ट अभिनेता प्रमाणित गरे र सुपरस्टार बने । यसको चमक आज पनि यथावत् छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप