शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खुमलटारमा प्रचण्डको ब्रिफिङ : बैठक बोलाउने कुरा गर्दा ओलीले गरे पार्टी फुटाउने कुरा

आइतबार, १६ कात्तिक २०७७, १९ : १८
आइतबार, १६ कात्तिक २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक राजनीति गम्भीर मोडमा पुगेको छ । खासगरी पछिल्लो समय अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहमा ध्रुवीकृत नेकपाको राजनीति गम्भीर मोडमा पुगेको महासचिव विष्णु पौडेल स्वयम‍्ले सार्वजनिक रुपमै स्वीकार गरेका छन् ।

उनले एकीकृत नेकपाको अस्तित्व नै संकटमा परेको भन्दै जोगाउन नेता, कार्यकर्ता र सबै सदस्यहरुलाई अपील समेत गरेका छन् । हत्तपत्त पार्टीको आन्तरिक विषय सामाजिक सञ्जालमार्फत व्यक्त नगर्ने महासचिव पौडेलले आइतबार फेसबुक र ट्वीटरमा पार्टी फुटको संघारमा पुगेको आशयसहितको गम्भीर चिन्ता व्यक्त गरेपछि नेकपाभित्र केही न केही खिचडी पाकिरहेको छ भन्ने पुष्टि गरेको छ ।

‘पार्टी महासचिवबाटै यो खालको स्ट्याटस् आउनु भनेको पार्टी गम्भीर मोडमा पुगेको छ भन्ने बुझिन्छ’, एक स्थायी समिति सदस्य भन्छन्, ‘यो पार्टीमा दुई अध्यक्ष मात्रै छैनन् । सचिवालयका अरु सदस्य के गर्दैछन् । के सचिवालयका अरु सदस्यहरु मुकदर्शक भएर बस्न मिल्छ ? स्थायी समितिका सदस्यहरु र केन्द्रीय समिति सदस्यहरुले के हेर्दैछन् ? के उनीहरुको भूमिका छैन, हुनुपर्दैन ?’ उनले आफ्नो नाम उदृत नगर्न आग्रह गर्दै भने, ‘अन्य पार्टी कमिटीहरु जिउँदो लाश बन्न मिल्दैन ।’

खुमलटारको निषकर्ष पार्टी फुट्न नदिने 

यसैबीच पार्टीभित्र चर्को अन्तरविरोध बढेपछि ओली र प्रचण्ड समूहले भावी रणनीतिका बारेमा बालुवाटार र खुमलटारमा आफू निकटका नेताहरुसँग छुट्टाछुट्टै छलफल  गरेका छन् । आइतबार साँझ प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा प्रचण्डसहित ६ जना सचिवालय सदस्यहरु सहभागी थिए । 

जसमा प्रचण्डले ओलीसँग भएको संवादबारे ब्रिफिङ गरेका थिए । त्यसक्रममा प्रचण्डले ओलीले पार्टी अलग–अलग गरेर जाउँ भनेर गरेको प्रस्तावबारे अन्य सदस्यहरुलाई ब्रिफिङ गरेका थिए । त्यसक्रममा पार्टी नेताहरुले समेत बैठक राख्न माग गरेकाले ओलीसँग बैठक राखेर छलफल गर्न गरेको प्रस्तावमा ओलीले बैठक नराख्ने जवाफ दिएको नेताहरुलाई जानकारी गराएका थिए । 

‘बैठक किन राख्ने ? बैठक सैठक चाहिँदैन । बैठकको निर्णय मान्ने मान्छे म हुँ ? बैठक पनि म राख्दिनँ र तपाइँहरुले बैठक राख्नुभयो भने त्यसको निर्णय पनि म मान्दिनँ । टाउको गनेर बहुमत जुटाएर केन्द्रीय समिति, स्थायी समिति र सचिवालय बैठक गर्नुस् तर म मान्दिनँ’ भन्ने जवाफ दिएको प्रचण्डको ब्रिफिङ सुनेका एक नेताले भने, ‘र तपाइँहरुले छुट्टै बैठक गर्नुभयो भने त्यसको बदला म ठूलो एक्सन लिन्छु । त्यसैले बरु पार्टी अलग अलग गरौं ।’ 

ओलीको यस्तो भनाइपछि अध्यक्ष प्रचण्डले त्यस्तो बाटोमा जान नहुने जवाफ दिएका थिए । आइतबार बिहान मात्रै पनि ओलीले अध्यक्ष प्रचण्डलाई फोन गरेर कर्णालीका सन्दर्भमा पार्टी फुटाऔँ भनेको प्रचण्ड निकट एक नेताले जानकारी दिए । 
आइतबार खुमलटारमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुुर थापा ‘बादल’ सहभागी थिए ।  खुमलटारमा सहभागी सचिवालय सदस्यहरुको भेलाले पार्टी फुटाउन नहुने निष्कर्ष निकालेको छ । 

‘पार्टी कुनै हालतमा फुट्न दिनुहुँदैन । अहिलेको आन्दोलनको आवश्यकता, कार्यकर्ताको चाहना र जनताको जनादेश अनुरुप हामी जानुपर्छ त्यो फुट होइन’, खुमलटारमा भएको छलफलको निष्कर्ष रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘त्यसैले बैठकबाटै निष्कर्ष निकाल्ने र पार्टी एकता बचाउने अचुक अस्त्र पार्टी निर्णय सबैले मान्नुपर्ने निष्कर्ष निकालेका छौ’, श्रेष्ठको भनाइ छ । 

बालुवाटारमा ‘हार्डकोर’ छलफल

पार्टीभित्र आन्तरिक समस्या बल्झँदै गएपछि नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच कार्तिक ४ पछि प्रत्यक्ष भेटवार्ता भएको थिएन । त्यसलाई तोड्दै झण्डै ११ दिनपछि शनिबार दिउँसो दुई अध्यक्षबीच भेटवार्ता त भयो तर उनीहरुबीच पार्टीभित्रको समस्या समाधान गर्ने विषयमा एकरुपता हुन सकेन ।

प्रधानमन्त्री समेत रहेका ओलीलाई कार्यकारी अध्यक्ष प्रचण्डले दुई अध्यक्षको संवादले मात्रै समस्याको निकास नआउने भन्दै सचिवालय बैठक बोलाउन र त्यही छलफल गर्न प्रस्ताव गरेका थिए । त्यसलगत्तै अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका ओलीले आफू निकटका हार्डकोर नेताहरुलाई बालुवाटार डाकेर अब पार्टी फुटबाट जोगिन नसक्ने भन्दै तयार रहन संकेत गरेका थिए ।

‘अब भेडा भेडातिर र बाख्रा बाख्रासँग हुनुको विकल्प छैन’, ओलीको संकेत थियो । त्यस्तै आइतबार बिहान पनि बालुवाटारमा सोही समूहको बैठक बसेको थियो । जसमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी समिति सदस्य शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री तथा स्थायी समिति सदस्य पृथ्वी सुब्वा गुरुङ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार समेत रहेका विष्णु रिमाल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतको उपस्थिति थियो । उक्त गोप्य भेटघाट र छलफलमा ओली पक्षले पूर्व माओवादी पक्षका केही नेताहरुलाई समेत राखेर कित्ता क्लियर गर्न भनेको थियो ।

गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’समेत उक्त गोप्य बैठकमा सहभागी भएको बालुवाटार स्रोतको दावी छ । ‘आइतबार बिहान पनि प्रधानमन्त्री ओली निकट प्रायः सबै नेताहरु निवास छिर्नु भएको थियो । भित्र के–के कुरा भयो भन्ने त थाहा भएन तर, अन्तिमतिर महासचिव पौडेल पनि आइपुग्नुभएको बुझिएको छ’, बालुवाटार श्रोतले रातोपाटीलाई भन्यो, ‘कोर टिम बसेपछि औपचारिकताका लागि महासचिवलाई बोलाइएको हुनसक्छ ।’ 

यसबारेमा महासचिव पौडेललाई पटक–पटक फोन सम्पर्क गर्न खोज्दा उनको फोन उठेन ।  गएको भदौ २६ को स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन,मन्त्रिपरिषद् हेरफेर, कर्णाली प्रदेशको पार्टी विवाद र भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखको नेपाल भ्रमणले ओली र प्रचण्डबीचको विवाद थप उत्कर्षमा पुगेको थियो । यो विवादमा प्रचण्ड पक्षलाई वरिष्ठ नेता माधवकुमार नेपाल समूहको समेत साथ रहेको छ । 

कर्णालीमा मन्त्री हेरफेर स्थगित

उता, आइतबार नै कर्णाली प्रदेशमा मन्त्रीहरुको हेरफेरको तयारी भए पनि अन्तिम समयमा रोकिन पुगेको थियो ।  कर्णालीमा प्रचण्ड पक्षले चाल्ने स्टेप हेरेर त्यसको काउन्टरमा ओली पक्षले अर्को कदम चाल्न सक्ने बुझेपछि मुख्यमन्त्री शाही तयारीबाट पछि हटेका हुन् ।

सोही कुरा बुझेर बालुवाटारमा ओलीले भावी स्टेपबारे निकटका नेताहरुसँग छलफल गरेका हुन् । तर, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पार्टी दुर्घटनामा पर्नसक्ने भन्दै आइतबार गर्ने भनेको मन्त्रीहरुको हेरफेर तत्काललाई स्थगित गरिसकेका छन् । ‘तत्काल कर्णाली प्रदेशमा मन्त्री हेरफेरको सम्भावना छैन’, शाही निकट स्रोतले भन्यो–‘गृहकार्य पुरा नगरी हुँदैन ।’

के थियो बालुवाटारको तयारी ?

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकारका मन्त्रीहरु हेरफेर गर्दा आफ्ना पक्षका दुई मन्त्री हटाउन सक्ने ओली पक्षको बुझाइ छ । त्यसरी आफ्ना पक्षका मन्त्रीहरु हटाइए वा हट्न बाध्य पारेमा त्यसको काउन्टरस्वरुप नेकपा संसदीय दलका मुख्य सचेतक देव गुरुङलाई हटाउने योजनाअनूरुप ओली पक्षले तयारी गरेको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप