सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

६० हजार मेट्रिक टन धान खरिद गर्ने तयारीमा खाद्य कम्पनी

२५ हजार मेट्रिक टन चामल पनि खरिद गरिने
आइतबार, १६ कात्तिक २०७७, १५ : ५५
आइतबार, १६ कात्तिक २०७७

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले नयाँ धान खरिद गर्न थालेको छ । आपूर्ति मन्त्रालय अन्तर्गतको खाद्य कम्पनीले विगतका वर्षमा जस्तै यस वर्ष पनि स्वदेशी धान खरिद प्रक्रिया अघि बढाएको हो ।
कम्पनीले यस वर्ष ६० हजार मेट्रिक टन स्वदेशी धान खरिद गर्ने योजना बनाएको छ ।

चालु आर्थिक वर्षका लागि धान खरिद गर्न एक अर्ब ७९ करोड ३१ लाख ५५ हजार रुपैयाँ बजेट छुट्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस वर्ष लोकल मोटा धानसहित मध्यम र मसिना गरी ६० हजार मेट्रिक टन धान खरिद गर्न लागेको हो ।

तोकिएको समर्थन मूल्य अनुरुप धान उत्पादन हुने चार जिल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुरबाट यस वर्ष अधिकतम ६० हजार मेट्रिक टन धान खरिद गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका महानिर्देशक नेत्रप्रसाद सुवेदीले रातोपाटीलाई बताए । 

‘गत वर्षहरुमा जस्तै यस वर्ष पनि खाद्यले धान खरिद कार्य सुरु गरिसकेको छ । यस पटक हामीले पश्चिमबाट धान खरिद सुरु गरेका छौं,’ महानिर्देशक सुवेदीले भने, ‘मेरै निर्देशनमा पहिलो चरणमा पश्चिम राजापुरबाट धान खरिद सुरु भएको छ ।’

सुवेदीका अनुसार सो क्षेत्रबाट खाद्यले पहिलो दिन नै ५ हजार ८ सय क्वीन्टल धान खरिद गरेको छ । त्यस्तै, प्राथमिकताका आधारमा धान पाकिसकेका अन्य क्षेत्रहरुमा पनि धान खरिद प्रक्रिया अघि बढेको उनले बताए ।
स्थानीय सरकार, जिल्ला प्रशासनको रोहवरमा धानको खरिद प्रक्रिया अघि बढाइने महानिर्देशक सुवेदीको भनाइ छ ।

समर्थन मूल्यमै धान खरिद हुँदै
खाद्यले सरकारद्वारा निर्धारित न्यूनतम समर्थन मूल्यमा नै धान खरिद कार्य शुरु गरेको छ । गत असारमा सरकारले तोकेको न्यूनतम् मूल्यअनुसार मोटा धान प्रतिक्वीन्टल २ हजार ७ सय ३५ रुपैयाँ र मध्यम धान २ हजार ८ सय ८५ रुपैयाँमै खरिद गरिएको कम्पनीले बताएको छ । 

कम्पनीले मोटा धान बर्दिया, बाँके, पर्साबाट खरिद गर्नेछ भने मध्यम खालका धान सिरहा, कैलाली, कञ्चनपुर, रुपन्देही र दाङबाट खरिद गर्नेछ ।
सरकारले गत असारमै धानको समर्थन मूल्य तोेकेको थियो । सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल दुई हजार ७३५ रुपैयाँ र मध्यम धानको मूल्य दुई हजार ८८५ रुपैयाँ तोकेको थियो । आर्थिक वर्ष २०७६÷७७ को तुलनामा यस वर्ष धानको मूल्य प्रतिक्विन्टल दुई सय रुपैयाँले बढी तोकिएको हो । 

किसानको लागतका आधारमा उत्पादनको उचित मूल्य प्राप्त गर्ने गरी कृषि उपजको बजारीकरणको प्रबन्ध गरिने सरकारी नीति अनुरुप नै यस वर्ष बाली लगाउनुअघि नै मूल्य तोकिएको कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए ।

जुम्लाको मार्सी धान पनि खरिद गरिने
खाद्य कम्पनीले यस वर्ष जुम्लाको मार्सी धानसमेत खरिद गर्ने योजना बनाएको छ । लोकल धान खरिद, प्रशोधन तथा विक्रीवितरणको व्यापार गर्दै आएको कम्पनीले यस वर्ष मार्सी धानको समेत व्यापार गर्ने योजना बनाएको महानिर्देशक सुवेदीले बताए । तर मार्सीको खरिद–बिक्री भने बजारको मागका आधारमा मात्र हुने सुवेदीको भनाइ छ । 

हाल सहरी क्षेत्रमा जुम्लाको मार्सी चामल लोकप्रिय बन्दै गएसँगै पहिलो पटक कम्पनीले मार्सीको व्यापार गर्न लागेको हो । 

२५ हजार मेट्रिकटन चामल किन्ने तयारी
योसँगै कम्पनीले यो वर्ष २५ हजार मेट्रिक टन चामल खरिदका लागि करिब एक अर्ब २६ करोड ९२ लाख रुपैयाँ छुट्याएको छ । कम्पनीले तत्काल १० हजार मेट्रिक टन चामल खरिद प्रक्रिया अघि बढाइसकेको कम्पनीका सूचना अधिकारी शर्मिला अधिकारी न्यौपानेले जानकारी दिइन् ।

कम्पनीले यस वर्षदेखि धान, चामलको अलावा नुन, तेल, चिनी लगायत अन्य दैनिक उपभोग्य वस्तुहरुको समेत कारोबार गर्न लागेको उनले बताइन् ।  
‘मुलुकभित्र जस्तोसुकै अभावमा पनि खाद्यान्नको संकट नपरोस् र सर्वसाधारण उपभोक्तालाई राहत पुगोस् भन्ने हेतुले कम्पनीले यस वर्षदेखि ठूलो परिमाणमा धान लगायतका खाद्यवस्तुको कारोबार गर्न लागेको छ,’ उनले भनिन् ।

बजारमा मूल्य नियन्त्रण गर्दै आमउपभोक्तालाई राहत उपलब्ध गराउने उद्देश्यले नै खाद्यान्न खरिदमा जोड दिँदै आएको कम्पनीले जनाएको छ । त्यसो त गत वर्षदेखि कम्पनीले सार्क खाद्य सुरक्षा भण्डारणमा समेत खाद्यान्न मौज्दात गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप