बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीले अभिभावक गुमाएका बालबालिकाको बिजोग

शनिबार, १५ कात्तिक २०७७, १३ : २७
शनिबार, १५ कात्तिक २०७७

बाग्लुङ । भुजिखोलाको बाढीले बगाएर बेपत्ता बाग्लुङ्गको बोबाङ्ग गाउँका ३० वर्षीय जीतबहादुर घर्तीको अवस्था अझै अज्ञात छ ।
गत भदौ १७ गतेको बाढीमा बेपत्तामध्ये उनी पनि एक हुन् । तीन जनाको जीवितै उद्धार भएको थियो भने २२ जनाको शव फेला प¥यो । तर १५ जना अझै बेपत्ता छन् ।

‘सास न लास’ को अवस्थामा जीतबहादुरको काजकिरिया गरिसके उनको परिवारले । घरबास नभएपछि बुहारी माइतीमा गएर बसेको जीतबहादुरकी आमा हुमी घर्तीले बताइन् । शुक्रबार विदेशमा रहेका बोबाङ्गबासीले राहतस्वरुप पठाएको खाद्यान्न सामग्री लिन ढोरपाटन नगरपालिका–९ को वडा कार्यालयमा आएकी जीतबहादुरकी आमा हुमी घर्तीलाई टुहुरा नातिनातिना हुर्काउन सकस छ ।

बाढी पहिरोमा ३० वर्षीया खिमकुमारी घर्तीले ज्यान गुमाएकी थिइन् । उनका श्रीमान ध्रुव घर्ती त्यस रात ढोरपाटन भएकोले बाँचे । खिमकुमारीका ९ महिनाकी छोरी र ३ वर्षका छोरालाई खिमकुमारीकी आमा सुनिमाया पुनले मातृत्वको कमी हुन दिएकी छैनन् । 

त्यस दिनको बाढीमा परेर बाबुआमा सहित एकै परिवारका ८ जना आफन्त गुमाएर एक्लै बाचेका १२ वर्षीय बालक मनोज विक सबैभन्दा बढी बेसहरा छन् । सहयोग रकम जुटेपछि उनी आफैले दसैँको किनमेल गरे । ‘दाइको घरमा बस्ने गरेको छु, दसैँमा मोम्ला बजार गएर यी कपडा किनेको हुँ,’ उनले भने, ‘मावल गएर दसैँ मनाएँ ।’

मनोजले बाबुआमासहित स–परिवार गुमाएपछि स्कुल जान पनि छोडेका छन् । उनले ४० वर्षीय बाबु हेमबहादुर विक, ४२ वर्षीय आमा दिलमाया विक, ९ वर्षका भाइ मनोज र ९ महिनाकी बहिनी बाढीमा गुमाएका हुन् ।
त्यस्तै उनका जेठाबुबा करकबहादुर विक, जेठीआमा हस्तमाया विक र उनीहरुका एक छोरासहित एकै परिवारको ८ जनाको ज्यान जाँदा मनोज भने बाँच्न सफल भएका थिए ।

यीसहित बाढीले २३ जना बालबालिका टुहुरा भएको ढोरपाटन नगरपालिका ९ का वडाध्यक्ष हरिबहादुर घर्ती मगरले जानकारी दिए । टुहुरा भएका यी बालबालिकाका लागि अध्ययन, लालनपालन लगायतमा दिगो सहयोगको खाँचो देखिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप